गिजुभाई दर्शन : बच्चालाई हुर्काउने र पढाउने कसरी?

शिक्षक मासिकले प्रकाशन गरेको दिवास्वप्नको नेपाली अनुवाद जब पढें, गिजुभाई बधेका (सन् १८८५-१९३९)को नाम दिमागमा गढेर बसेको थियो। भारतका यी प्रख्यात शिक्षाशास्त्रीले यस पुस्तकमा बाल शिक्षण सम्बन्धी चिन्तन, प्रयोग र अनुभवलाई गुजरातको एक सानो नगरबस्तीको शैक्षिक परिवेश मार्फत रोचक र प्रेरक ढंगले कहेका छन्। 

पत्रकारिता यात्राका क्रममा म २०७३ सालमा अनलाइनखबर डटकममा पुगें। त्यसअघिसम्म डेस्कमै रहेर समाचार सम्पादन गरिरहेको थिएँ, त्यहाँ भने प्रमुख रूपमा रिपोर्टिङको जिम्मेवारी आयो। गर्दै गएँ। बढीजसो व्यक्तिको प्रोफाइल लेखें।

न्यूज पोर्टलको दुनियाँ, रोचक र धेरैभन्दा धेरै पाठक तान्ने सामग्री तयार पार्न पाए हुन्थ्यो भन्ने ध्याउन्न हुन्थ्यो। त्यसै क्रममा दिमागमा गढेर बसेका गिजुभाईका केही कुरा ल्याउन सकिन्छ भनेर गुगल-सागरमा गोताखोर भएँ। एउटा भारतीय ब्लगमा गिजुभाईको शैक्षिक सन्देश फेला पारें। त्यो ब्लग थियो, शिक्षा विमर्श। बालबालिकालाई कसरी हुर्काउने र शिक्षा दिने भनेर गिजुभाईले विभिन्न शीर्षकमा लेखेका दर्शनयुक्त सन्देश वा आह्वान रहेछन् त्यहाँ। जसमा मुख्य रूपमा अभिभावक र केही मात्रामा शिक्षकलाई पनि बालबालिकासँग गर्नुपर्ने व्यवहारबारे मार्गदर्शन गरिएको रहेछ। तिनलाई अनुवाद गरें।

शिक्षकका रूपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चेका गुजराती भाषाका शिक्षासेवी थिए, गिजुभाई। उनले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे। बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर धेरै पुस्तक लेखे। पुस्तकहरू मार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्त्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन्।

अनूदित सामग्री २०७४ वैशाखमा अनलाइनखबरमा प्रकाशन भयो। त्यसले धेरै पाठक पायो। प्रकाशित सामग्री अनलाइनखबरको फेसबूक पेज मार्फत राम्रै शेयर भयो। गिजुभाईको लोकप्रियताको बजार कतिसम्म रैछ भने, अनुवादलाई केही न्यूज पोर्टलले स्रोत दिएर/नदिएर प्रकाशन गरेछन्। तिनका फेसबूक पेजमा मूल अनलाइनको पेजमा भन्दा कैयौं गुणा बढी शेयर पनि देखें। राम्रो कुरा धेरैभन्दा धेरै मानिसमा पुग्यो भनेर खुशी मानें। 

त्यो सामग्री अहिले पनि उत्तिकै सान्दर्भिक र मननीय छ, जुन हाम्रा लागि पाठ र हाम्रा बाबुनानीका लागि बाटो बन्न सक्छ। यही सोचेर अनुवाद र प्रकाशनको सात वर्षपछि आफ्नो ब्लगमा समेटेको छु। 

पढ्नुस् र कस्तो लाग्छ भन्नुहोस् है। 

आफैं गर्न दिनुस्

बच्चालाई आफैं काम गर्ने रुचि हुन्छ

उसलाई रुमाल धुन दिनुस्

उसलाई भाँडामा पानी भर्न दिनुस्

उसलाई फूल सजाउन दिनुस्

उसलाई कचौरा मस्काउन दिनुस्

उसलाई मटरकोसाको दाना निकाल्न दिनुस्

उसलाई खानेकुरा पस्किन दिनुस्

बच्चालाई सारा काम आफैं गर्न दिनुस्

उसको आफ्नो मर्जीले गर्न दिनुस्

उसको आफ्नो ढंगले गर्न दिनुस्।


पहिचान

हाम्रो आँखामा अमृत छ वा विष,

हाम्रो बोलीमा मिठास छ या टर्रोपन,

हाम्रो स्पर्शमा कोमलता छ वा कठोरता,

हाम्रो मनमा शान्ति छ वा अशान्ति,

हाम्रो मनमा आदर छ या अनादर,

बच्चा यी कुरा तुरुन्तै पत्ता लगाउँछन्।

बच्चाले हामीलाई एकदम जानिसक्छन्।


दुश्मन

‘सुत, नत्र अहिले बाबाजी आउँछ!’

‘खाऊ, नत्र चोर आएर लैजान्छ!’

‘बाघ आयो!’

‘धोक्रेबूढा आयो!’

‘पुलिस आयो!’

‘चुप लाग, नभए कोठामा बन्द गरिदिन्छु!’

‘पढ्न बस, नत्र पिटाइ खान्छौ!’

जो यसरी बच्चालाई डर देखाउँछन्, उनीहरू बच्चाका दुश्मन हुन्।


पृथ्वीको स्वर्ग

हामीले बच्चाहरूलाई आफ्नो घरमा उचित स्थान दियौं भने

हाम्रो पृथ्वीमै स्वर्गको सृष्टि हुन सक्छ

स्वर्ग बच्चाको सुखमा छ

स्वर्ग बच्चाको स्वास्थ्यमा छ

स्वर्ग बच्चाको प्रसन्नतामा छ

स्वर्ग बच्चाको निर्दोष बदमासीमा छ

स्वर्ग बच्चाको गीत र गुनगुनाइमा छ।


महान् आत्मा

बच्चाको शरीर सानो छ, उसको आत्मा महान् छ

बच्चाको शरीर बढ्दो छ

बच्चाको शक्ति विकासशील छ

तर, उसको आत्मा त पूर्ण छ

हामी त्यो आत्मालाई सम्मान गरौं

आफ्नो गलत रीति र नीतिबाट बालकको शुद्ध आत्मालाई प्रदूषित नपारौं।


जानिराखौं

बच्चा सम्पूर्ण मनुष्य हो।

बच्चामा बु​द्धि छ, भावना छ, मन छ, आफ्नो बुझाइ छ।

बच्चामा भाव र अभाव छ, रुचि र अरुचि छ।

हामी बच्चाका इच्छा चिनौं।

हामी बच्चाका भावना बुझौं।

बच्चा अबोध र निर्दोष छ।

आफ्नो अहंकारको कारण हामी बच्चालाई तिरस्कार नगरौं।

आफ्नो अभिमानको कारण हामी बच्चाको अपमान नगरौं।


चाहना

बच्चालाई आफैंले खानु छ, तपाईं उसलाई नखुवाउनुस् ।

बच्चालाई आफैं नुहाउनु छ, उसलाई ननुहाइदिनुस्।

बच्चालाई आफैं हिँड्नु छ, उसको हात नसमात्नुस्।

बच्चालाई आफैं गाउनु छ, उसलाई गाउन नलगाउनुस्।

बच्चालाई आफैं खेल्नु छ, उसको बीचमा नआउनुस्।

किनकि बच्चा स्वावलम्बन चाहन्छ।


यति पनि नगर्ने?

गानाबजाना गर्ने ठाउँमा होइन, बच्चालाई बगैंचामा लैजानुस्।

गफमा अल्झिनुको साटो बच्चालाई चिडियाखाना देखाउन लैजानुस्।

अखबारमा मात्र अलमलिएर नबसी बच्चाका कुरा पनि सुन्नुस्।

राति सुत्ने वेला बच्चालाई राम्रा कहानी सुनाउनुस्।

बच्चाको हरेक काममा गहिरो चासो देखाउनुस्।


आत्मसुधार

बच्चालाई यस कारण सम्मान गर्नुस्, 

हामीमा आत्मसम्मानको भावना जागोस्।

बच्चालाई गाली गर्ने, तर्साउने नगर्नुस्,

जसले गर्दा गाली गर्ने र तर्साउने हाम्रो खराब बानी छुट्दै जाओस्।

बच्चालाई नपिट्नुस्,

जसले गर्दा मारपिट गर्ने हाम्रो पशु–वृत्ति नष्ट हुन सकोस्।

यसरी आफूलाई सुधारेर नै हामी आफ्ना बच्चालाई सही रूपमा विकास गर्न सक्छौं।


डर र लोभ

आमा, बुवा र शिक्षकले बुझिराख्नुस्

पिटेर वा लोभ देखाएर बच्चा सुध्रिन सक्दैनन्,

बरु उल्टै बिग्रिँदै जान्छन्।

पिटेपछि बच्चामा झन् उग्र भावना बढ्छ।

लोभ देखाउँदा बच्चा लालची बन्छन्।

डर र लोभका कारण बच्चा निर्लज्ज, थेत्तरो, जिद्दी र दीन-हीन बन्छन्।


घर

आमाबुवाले आफ्नो जस्तोसुकै आचरण भए पनि

बच्चालाई संस्कारी बनाउन सकिन्छ भन्ने सोच्छन् भने

त्यो ठूलो भूल हो।

आमाबुवा र घर- दुवै संसारका

सबैभन्दा ठूला र शक्तिशाली चिज हुन्।

घरमा बिग्रेको बच्चालाई भगवान्‌ले पनि सुधार्न सक्दैनन्!


प्रकृतिको आनन्द

प्रकृतिबाट टाढा रहने बच्चाले 

प्रकृतिको विविधताबारे कसरी थाहा पाओस् !

उज्यालो चन्द्रमा, 

कलकल बग्ने नदी,

खेतको माटो,

परालको घर, 

पहाडको ढुंगा, 

आकाशको रङ 

र खुला हावा,

यी सबै ती उपहार हुन्, जसलाई बच्चाले प्रकृतिबाट पाएका हुन्।

बच्चालाई मन लागुन्जेल प्रकृतिको आनन्द लिन दिनुस्।


गति

बच्चा पलपलमा बढ्ने प्राणी हो

बच्चाको दृष्टि हर समय प्रश्न सोध्ने खालको हुन्छ

बालकको हृदय केही बोलिरहने खालको हुन्छ

बच्चचाको व्याकरणमा प्रश्न र बोली हुन्छ।

तर पूर्णविराम कतै पनि हुँदैन।

बच्चाको अर्थ हो निरन्तर गति-

जहाँ अल्पविराम समेत हुँदैन।


झगडा

आमाबुवा र अरु ठूला मान्छेको झगडाले

घरको वातावरण प्राय: अशान्त रहन्छ।

यसले गर्दा बच्चा निकै दिक्क हुन्छन्।

अरु केहीका लागि नभए पनि आफ्नो बच्चाका लागि

घरमा हामी मिजासिलो भएर जिउन सकौं।

घरको शान्त र सुखद वातावरणमै

बच्चाले राम्रो शिक्षा पाउन सक्छ।


जीवित ग्रन्थ

जो पुस्तक पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरू शिक्षक बन्छन्।

जो बच्चालाई पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरू शिक्षाशास्त्री बन्छन्।

शिक्षाशास्त्रीको लागि प्रत्येक बच्चा

एक समर्थ, अद्वितीय र जीवित ग्रन्थ हुन्।


बालकको शक्ति

तपाईं सारा संसारलाई धोका दिन सक्नुहुन्छ,

तर, आफ्ना बच्चालाई धोका दिन सक्नुहुन्न।

तपाईं सबैलाई मूर्ख बनाउन सक्नुहुन्छ,

तर, आफ्ना बच्चालाई कहिल्यै मूर्ख बनाउन सक्नुहुन्न।

तपाईं सबैलाई सबथोक लुकाउन सक्नुहुन्छ,

तर, आफ्ना बच्चालाई केही पनि लुकाउन सक्नुहुन्न।

बच्चा सर्वज्ञ हुन्छन्, सर्वव्यापक हुन्छन्, सर्वशक्तिमान हुन्छन्।


बेकारका गफ

हामीले पढ्ने, सोच्ने र लेख्ने काम गर्दैमा

हाम्रो काम पूरा हुन्छ त?

हुँदैन, हामीले त शिक्षाको नयाँ-नयाँ मन्दिरको निर्माण गर्नु छ,

ती मन्दिरमा अहिलेसम्म अपुज्य रहेकी सरस्वती देवीको स्थापना गर्नु छ।

बच्चाहरूका लागि नयाँ युगको आरम्भ भएको छ

गफ मात्र गरेर केही पनि हुँदैन

केही गर्नुस्! केही गराउनुस्!!


चैन कसरी मिलोस्?

जबसम्म बच्चाहरूले घरमा पिटाइ खान्छन्,

र, विद्यालयमा गाली सुन्छन्

तबसम्म मलाई चैन कसरी मिलोस्?

जबसम्म बच्चाहरूका लागि विद्यालय, पुस्तकालय, बगैंचा र खेलमैदान बन्दैन,

तबसम्म मलाई चैन कसरी मिलोस्?

जबसम्म बच्चाहरूलाई प्रेम र सम्मान मिल्दैन, तबसम्म मलाई चैन कसरी मिलोस् ?


गिजुभाईका कुरा

बच्चाहरूले प्रेम दिएर मलाई समृद्ध बनाए।

बच्चाहरूले मलाई नयाँ जीवन दिए।

बच्चाहरूलाई सिकाउने क्रममा मैले पनि धेरै सिकें।

बच्चाहरूलाई पढाउने क्रममा मैले पनि निकै पढें।

बच्चाहरूको गुरु बनेर मैले उनीहरूको गुरु-पद बुझ्न सकें।

यो कुनै कविता होइन,

यो त मेरा अनुभवको कुरा हो।

Post a Comment

0 Comments