Subscribe:

Ads 468x60px

04 May 2008

पहिलो माया...


'रातपछि दिन आयो दिनपछि रात
समयसँगै वर्षौँ बित्यो तर बितेन तिम्रो याद
तिमी नै हौ मेरो-
पहिलो माया... ...'

आजको टेलिभिजन-पुस्तामाझ मनोरञ्जनात्मक कार्यक्रमबाट अलग्गै किल्ला गाडेका आसिफ शाहको यो गीत अरु बेला पनि सुनिन्थ्यो यदाकदा । पपको सुर र ताल उसो त मलाई उति रुच्दैन । तर, अप्रिल १९ को शनिबार मेरै लागि बजिरहेको थियो पहिलो माया...., म्युजिकको फाइलमा त्यही भाका खोज्दै मेरो औँला सलबलाएर बल्ल टक्क थामिन पाएको थियो । आफ्नो निवासको चार भित्तामा खोइ कुन संवेदनाले निचोरेर हो, म पहिलो मायाको कुरामा नियोजित रुपमै फस्न पुगेको थिएँ । र, यो फस्नुमा स्वेच्छाले नै सुमसुम्याएर धकेलेको थियो ।


यसअघि शुक्रबारको रातमा उनै पहिलो माया सर्मिलालाई सम्झिन पुगेको थिएँ । भेटघाटको देखादेख त परको कुरा, करिब १० महिनाको मौन व्रतपछि हाम्रो फोन सम्पर्क जोडिएको थियो बल्ल । हाम्रो पछिल्लो भेट सम्झिन्छु यतिखेर, नेपालको अर्थ-राजनीतिक ज्वरोलाई नाप्ने हिसाबमा खट्दै गरेको आजको अभियान साप्ताहिकमा म संलग्न रहेको बेला लामो अन्तरालमा उनको सान्निध्यता मिलेको थियो । त्यो २०६४ को साउनताका मलाई नै भेट्न राजधानीको कोल्टे पाखोमा रहेको कालिकास्थानमा सहेली आकृतिसँग पुगेकी थिइन् उनी । त्यो फौजीजीवनको तालिमी कालमा उनको मुडुलो टाउको, त्यति नै बेला म उनको विगतको रूपरङ कल्पँदै थिएँ । सिमसिम पानीमा सर्मिलाले मेरो हातमा बालकलाईझैँ थमाइदिएको चकलेट..., म फुरुङ्ग परेको थिएँ ।


यद्यपि त्यो सम्बन्धको हाँगा अब त कहाँ-कहाँ भाँचिइसकेको छ, र पनि मानव हुनुको मानवीय प्रकृतिले आत्मीयताको जरुवा कहाँ नभुलभुलाउन दिँदो रहेछ र ? उसै पनि जिन्दगी भनेको मियोमा दाइँको लागि लस्करै बाँधिएको गोरु पनि होइन, जो रहोस् चुपचाप उही लयमा र नियमित चक्करमा घुमिरहोस् । एकाएक मलाई दशकअघिको समयमा दिमाग निफन्न मन लाग्छ, देख्छु- एकाबिहानैको ट्यूसन पढाइमा टल्किने रुमालले बेरिएर ढोकाबाट सामुन्नेमा चियाइरहेको एउटा किशोरी शिर । देख्छु- स्कुलका आम आँखाहरूको भयले अनकनाउँदै बडो कष्टसाथ कोठाभित्र र बाहिर आफूहरू दुईलाई विभाजन गरी सुरू भएको टुटफुट सञ्चार ।


झन् देख्छु- बैशाख/जेठको हपहपी गर्मीमा कुन भुलभुले मूल छुटिरहेको स्नेहले डोर्‍याएर मकैबारीको आलीमा गराएको क्षणिक प्रेमवार्ता र भावी हाम्रो बाजे-बज्यैको स्वप्नखेती । अझै देख्छु- भोलिपल्ट स्कुलको प्राङ्गणमा हिजोको मकैबारी-मिलनलाई अतिशयोक्ति गरी लज्जास्पद काण्डको रुप दिइएको गजबको फोहोरा ताल र हामी दुईलाई बेसोमती केटाकेटीको भाकामा घुरिरहेका हजार आँखाहरू ! हामी दुवै कति बिचरा थियौँ भने सङ्कुचित समाजमा यस्तो अफवाह उरन्ठेउला ठिटाहरूको कर्तुत हो भन्ने जान्दाजान्दै पनि हाम्रो निरीह उमेरका कारण मूकदर्शक हुन विवश भएका थियौँ । र, त्यही अफवाह काण्ड र हामी दुईको लाटोसुधोपन त थियो हाम्रो सम्बन्धमा दन्किएको सरल आगलागी । अहिलेकोझैँ बलियो मनस्थिति त्यसबेलामा भएको भए टुक्रिने शीशा कहाँ हुनुपर्थ्यो र ?


त्यसपछि कक्षाको अन्तरले सर्मिलालाई स्कुलमै छाडेँ मैले र छुट्यो यस्तैमा बिस्तारै साथ र हात । म राजधानीको सङ्‌घर्ष-यात्रामा हेलिएँ, उनी उदयपुरमै अध्ययनलाई निचोड रुप दिन थालिन् । हुनु यस्तै थियो, हामी किनाराहरूमा चिराचिरा भएर पछारियौँ । नत्र त उनी पनि स्कुले शिक्षा पूरा गरी राजधानी आएपछि भएको हाम्रो भेटको आपसी विमर्शबाट सम्बन्धले फेरि निरन्तरताको लिक भेट्न सक्थ्यो । समयक्रममा उनी पनि राजधानीको कठोर जीवनशैलीमा आफ्नै बलबुताले घस्रिँदै १०-६ को नाइट ड्यूटीमा आँखालाई स्वप्निल पार्न पुग्छिन् । बिस्तारै कस्तो महत्वाकाङ्क्षाले हुर्‍याएर हो नेपाली सेनाको अधिकृत तहमा काँध उचाल्न पुगिन् ।


'कसैको केही नबिगार्दा पनि कसले दियो श्राप ?'
'मान्छे आफूले सोचेजस्तो नहुने रहेछ ।'
'अब त राम्रो होला कि भन्यो फेरि उस्तै तातोपिरो...'
१० महिनापछिको भेटमा उनले मेरो मैत्री भरोसा मान्दै सामुन्नेमा छरेको दुःखको बिटाले म थिचिँदै थिएँ । अप्रिल २० को साँझ उनी मेरो कोठामा थिइन् । सर्मिलाको त्यो कैलो आँखा उहिलेजस्तै नरम पाउँदै थिएँ । पहिलो मायाको छाप लिएरै उनी मानौँ पहिलो पाइला मेरो दैलोमा हाल्दै थिइन् । अपराहृन साढे चार बजेको जम्काभेट जुराए पनि साढे पाँचमा मात्रै उनको दर्शन पाइयो । हेरेँ- फौजीको कडा तालिमपछि निकै झाटिएकी ऊ अहिले अलि सन्तोषलाग्दी भइछ, कपालले पनि त थोरै लामो पालुवा हाल्न पाएछन् । भूतपूर्व पलमा मलाई 'हेर लुरे भएको !' भनेर जिस्काउने ऊ मैँसमान लाइनमा आएकी थिई, दुब्ली भएर ।


भेट्नासाथै हकारपकारको नखरा देखाएँ- 'एक घन्टा ढिलो यस्तो पनि गर्ने हजुर ?' कोठामा साथै लिएर बसालेपछि जब कुराले दुखान्त मोड लियो, आफैँलाई गाली गरेँ- वित्थै हकारेछु । यति सङ्‌घर्ष गरेर सफलता पाएपछि पनि मान्छेले जिन्दगीमा किन तृप्तिको समथर गोरेटो पाउँदैन ? तुफानी वायुवेगबाट कसोकसो सम्हाल्दै जहाजलाई अवतरण गराउँदै गर्दा कसरी धर्तीमा धाँजा फाट्न सकेको ? स्टोन भएको किड्‌नीको अपरेसन गरेर फेरि केही समयपछि स्टोन देखापर्नासाथै उपाय नै नचल्ने हो र ? विकल्प यतिमै सकिएर तिम्रो फौजी जीवन दाउमा पर्ने र मानवीय जीवन बगरमा पछारिएको माछा बन्ने होइन मेरो साथी ! अझै धेरै गीत गाउनै छ, धेरै लुगा धुनै छ- सुकिलो सरगम यात्राको लागि । स्टोनको अर्को अपरेशनमै तिमी बूढी र चालू मैदानमा परेड खेल्नै नसक्नेगरी जीर्ण हुनेछैनौ, मान न !


असफल प्रेमपछि पनि कस्तरी सबैभन्दा नजिककी साथी हुन आएकी थिई ऊ मेरो वर्तमानमा । यस्तो आत्मीयता अवश्य कमैबीच हुन्छ । र, यस्तो उदारमना नारीलाई अर्को-अर्को परीक्षा ओछ्‌याइरहेछ नियतिले । तिमीलाई केही नहोस् सरु । तिमी धेरैधेरै बाँच, कम्तीमा पनि धुवाँ-धपेडी खेपेर तिमीले तुल्याएको आफ्नो भान्छालाई त तिमीले ढुक्कले मनाउनैपर्छ । एक्लोपनले वाफिएकी तिमीले धेरै अन्तरालको भेटमा सान्त्वना पाउनलाई होला, विरही लयमा भन्यौ- 'यत्रो छोटो जीवनमा पनि धेरै गहिरो पल बाँचे, अब यात्रा सकिइहाले पनि कुनै गुनासो छैन ।' तर मेरी प्यारी प्यारी साथी, विगतदेखि तिम्रो कष्टकर उडानको साक्षी रहेको मलाई तिमीले गुनासो गर्न दिइरहनूपर्दैन र ? मलाई जस्तै साथीप्रतिको पर्खाइको नशा तिमीलाई पनि लागिरहोस् । पहिलो मायाको सजीव उदाहरणीय स्वरूप नत्र मैले खोज्नु कहाँ ??...
कहाँ ???

***
अप्रिल २०, २००८ (नक्साल)

No comments:

Post a Comment