Subscribe:

Ads 468x60px

08 August 2008

FRIENDS FOREVER !

अगस्ट ३ को आइतबारे मधुरो साँझमा काठमाडौँको आकाशमुनि माइतीघर चौकमा 'मैत्री फोटो सेसन' चल्दै थियो । माइतीघर मण्डलाको सामुन्नेमा चियापसलभित्र र सडककिनाराको रेलिङलाई आड बनाएर क्यामेराको पिलिक्-पिलिक्‌मा हाम्रो मुहार सामुहिक उज्यालोमा प्रस्टिँदै थियो (हेर्नुस् चिया स्टेशन र सडकको रेलिङलाई हाँक दिँदै खिचिएका केही तस्बिर-झाँकीहरू) । त्यसअघि थापाथलीको मार्टिन चौतारीमा मस्कामस्की रौनक सुरु भइसकेको थियो । यो मस्कामस्की थियो आत्मीय साथीभाइबहिनीहरूको । 'फ्रेन्डसिप डे' भनेर हिसाब नराखिए पनि दिनको उज्यालोले साथीहरूको मुहारमा अतिरिक्त ताजा रङ देख्‍न पाइएको थियो । ग्रेडको तलमाथि भए पनि एउटै कलेजमा पढ्ने तीर्थ, प्रभाकर, अभिनय, अनितासँगको यो भेट पहिलेभन्दा अलि फुर्सदिलो पनि थियो ।
त्यसअघि चौतारीले चलाउँदै आएको पुस्तक छलफल कार्यक्रममा पछिल्लो साहित्यिक माहौलमा चर्चाको चुस्की चाखिरहेको जगदीश घिमिरेको कृति 'अन्तर्मनको यात्रा' माथिको अन्तर्क्रियाभित्र हामी जुटेका थियौँ । अनि त पालो हाम्रै हल्लाखल्लाको । चौतारीमा आएर पनि हल्लाखल्ला नहुनु, यो त असम्भवै थियो । घिमिरेज्यूले अन्तर्मन कृतिलाई साँच्चिकै बाफ छुट्दै गरेको ताजा प्लेट तुल्याएर सबै इन्द्रिय खुलाउने प्रस्ट परिकार बनाएका छन् ।

कार्यक्रम अवधिभर पलेँटीसँगै बाँधिएको हाम्रो मन छलफलको किताबका कृतिकार घिमिरेज्यूको स्वास्थ्यप्रति ढल्किएर मल्टिपल माइलोमा क्यान्सरको निर्दयी दाउपेचमा मात्र चुकचुकाएन । बरु अनुभूतिको माझिएको झरनाले परिपुस्ट 'अन्तर्मनको यात्रा'को सबलतामा झन् खुलेरै त्यो मन पाठकीय शीतलता ओइर्‍याउन एकसुर भइरहृयो ।

छलफल सकिएपछि चौतारीको आँगनमा विचरण गर्नु त त्यहाँ गएपिच्छेको 'नित्य कर्म' नै हो । त्यसै मेसोमा उस्तै हिस्सी पोख्दै मित्र कैलाशजी सामुन्ने हाजिर हुनुभयो । छलफल कार्यक्रमभरि विभिन्न अनुहारको भाव, अवस्था र सज्जालाई क्यामरामा लिपपोत गर्नमा खिचिक् खिचिक् औँला चलिरहेका कैलाशजीका अब ओठहरू चल्न थाले ।
खम्बासमान उभिएर गफिँदागफिँदै हाम्रा शब्दहरू भने गतिमा देखिए । ब्लगर साथीहरूको चिनापर्ची सन्दर्भ, आपसी लेखनशैलीको सीमा र सम्भावना, 'कविता किन लेखिएन हौ ?' (कैलाशजीलाई मेरो घेराबन्दी प्रश्‍न आदि विविध कुरामा दर्जनभन्दा बढी संवादहरू वारपार गरेर हामीले तृप्ति खोज्यौँ । मिठासे हृदयले मित्रतालाई पोषण दिने सवालमा कुनै साइतको के कुरा, तर मित्रता दिवसकै दिनमा कैलाशजीसँग सम्बोधन बाँडिँदा हर्षको झिल्को आँखाभरि पोतियो । चौतारीमै भएका अरु साथीहरूसँग पोतिनु बाँकी छँदै थियो ।

अब पालो सडकतिर बरालिने । तीर्थ, प्रभाकर, अभिनयसहित अफिस-समयभन्दा एक कदम अगाडि (उनकै शब्दमा 'भागेर') चौतारीको दैलोमा झुल्किएकी अनितासँग सडक-सफारीमा निस्किएँ । साथी रमेश सफर कुन सफरमा हराउन बाध्य थियो, उसको अभाव टड्कारो बिझ्दै थियो । माइतीघर चौकको छातीबाट तीनतिर भागेको सडक चिर्दै हाम्रो टोली थापाथलीबाट पारितिर फाल हान्यो । चिया पसलको खोजीमा दोस्रो गन्तव्यमा बल्ल टुङ्गो बनेपछि हामी गोलबद्ध भयौँ एउटा टेबलभरि । हाँसका टिउराझैँ हाम्रो हल्लाखल्ला छरिन थाल्यो-

भए कुरा पढाइ र परीक्षाका,
भए कुरा सङ्गीतका,
भए कुरा निद्रा र अनिद्राका,
भए कुरा आपसी प्रगति-दुर्गतिका,
भए कुरा... हुनुपर्ने सबै भए ।

झम्के साँझमा हामी गफको पुल जोडेर चन्द्रमाको शीतलता भेट्न लहसिइरहृयौँ । सम्झनामा केही तस्बिर खिचियो । अनिताको मोबाइल-क्यामेराले यो दिनको आत्मीयतामा चुम्बकको काम गर्‍यो । तर यस्तो चुम्बकीय धुनमा हामी एउटै समान ध्रुवमा मग्न भइरह्‍यौँ । चिया गफको तातोभित्र आत्मीयताको फिँज उठिरहृयो ।
त्यसै मेसोमा सम्झिएँ केही नामहरूः
मनु, कैलाश, रमेश, समृद्धि, जडित, वसन्त, विभोर, सुदीप, सुरेश, गनी, अर्जुन, प्रभात, अनुज, भीम, आभास, विरस..... सबै प्यारा मनहरूको गोलोले दिमागभरि क्षणभरमै चपक्क घर बनायो ।
भोलिपल्ट इमेल बाकस खानतलास गर्ने क्रममा 'सौभाग्यवश' जम्मा भएका इमेलका केही पाप्राहरू ओल्टाएँ, पल्टाएँ ।
एउटा लहरमा कैलाशजी भनिरहनुभएको थियो- 'हृयाप्पी फ्रेन्डसीप वीक !'

एक सप्‍ताहको के कुरा ! अवश्य पनि कैलाशजी, मित्रता दिवसको मङ्गल भावले सधैँ हामीलाई न्यानो आरती सेकाइरहोस् । एकदिनको यो औपचारिक बहानामा सबैलाई जीवनभरिको कामना छ है ।
तर पनि एक सप्‍ताहको त के कुरा ! हामी जुनीभरि एउटै भाँडोमा भुटिने फूल-मकै भइरहन सकौँ ।
***
अगस्ट ८, २००८ (नक्साल)

2 comments:

  1. दाम्लोबाट फुत्केको चौपाया लहलह बालीमा पुगेपछि मुख नबिसाई चरे झैं , तपाईंको लेखाईमा आँखा परेपछि झिम्म पनि हुन्छ कि हुंदैन कुन्नि ( अर्को पल्ट याद गर्छु ) ; पढिसक्दा मैले जस्तो महसुस गर्छु त्यो दाम्लोबाट फुत्केको चौपायाले अघाईसकेर पनि त्यस्तो महसुस नगर्ला । यसपटक त झन तपाईंले सम्झिनुहुने मित्रनामहरुमा आफुलाई समेत पाएर पनि होला बाली अघाउञ्जेल चरेको चौपाया पुन दाम्लोमा बाँधिएपछि आँखा चिम्लिएर उग्राउंदा जुन आनन्द पाउँछ त्यस्तै आनन्द महसुस गरें / गर्नेछु । मित्रता दिवश / सप्ताह आयो र गयो ,त्यो पुन आउला / जाला तर तपाईंले पूजाको अन्त्यमा घुमाईने आरतीझैं सबैको अगाडी पेश गर्नुभएको मित्रताको न्यानो आरती म संधै तापिरहन पाउँ र तपाईंले सम्झनुभएका सम्पुर्ण मित्रहरु त्यो आरतीको न्यानोमा सेकिईरहन सकुन ।

    ReplyDelete
  2. लभगुरूसँगको लुभुयात्राबारेको नियात्रामाथि सारमा चित्त बुझाइको टिप्पणी राखिदिनुभएकोमा ढिलै भए पनि जडितजीसँग हार्दिक खुसी साट्छु । मित्रता दिवसको हूलमूललाई बसिबियाँलोमा यसो के उनेथेँ, त्यसलाई पनि मन पराइदिनुभयो । अझ मलाई त साथीसँगीसँग साँझपख लहरिएको मेरो लहडे पाराको लेखमाथिको तपाईँको प्रतिक्रिया त मेरो लेखभन्दा पो उम्दा लाग्यो जडितजी ! कति कलात्मक शब्दको थुङ्गा वर्षाउनुभएको ! तपाईँको हेराइ नै विशेष, त्यसैले मेरो लेखाइ विशेष लाग्यो तपाईँलाई । त्यति ताली र स्याबासी थाम्न सक्ने म योग्य अझै नभइसकेको हो कि ? खोइ, जे होस् तपाईँको मीठो सम्बोधनको निम्ति मीठो तृप्‍ति जनाउँछु ।
    अनि जडितजीले यस CaFe ब्लगको उप-शीर्षक (सव-टाइटल) "अनित्य राग, अनित्य वैराग" माथि अस्ति नै प्रतिक्रिया राख्‍नुभएथ्यो, जसलाई यतिन्जेल मैले भुलिबसेछु । आज सम्झिएको बेला यही बोलीमा लोली थप्न मन लाग्यो । तपाईँले भन्नुभएको एकदम सही हो, "मान्छेको जीवन राग र वैरागको बीचैबीच हिँड्छ ।" त्यस क्रममा न त सधैँ राग, न त सधैँ वैराग । अर्थात् कहिले रागयुक्त भावनाको यात्रा र कर्म त कहिले वैराग (यसमा द्वेष पनि राखिदिऊँ, निक्खर वितरागको अवस्था त अर्कै उच्चता हो) युक्तको ।
    राग र द्वेष एकैचोटि गुजुल्टिएर आउने भावहरू होइनन् । कसैप्रति प्रेम-अनुरागको संवेदना जागृत भइरहँदा तपाईँ त्यतैतिर एकोहोरिएर सद्‍भाव-करूणा खन्याउन मग्न बन्नुहुन्छ, त्यतिबेलै प्रेमभावसँग बेरिएर फलानो तेस्रो व्यक्तिप्रति तपाईँमा रिसको भावना पनि जागेको हुँदैन । त्यस्तो भावना जाग्नु छ भने अघिको प्रेमालुपन क्षणभरकै लागि भए पनि तपाईँभित्र गायब भइहाल्छ, अनि मात्र क्रोधले जागिर धान्छ । यो एउटा उदाहरण मात्र दिएको ।
    मेरो लेखाइ (अनित्य राग, अनित्य वैराग) को सङ्केत पनि "मान्छेको जीवन राग र वैरागको बीचैबीच हिँड्छ " भनेझैँ ठीक त्यतैतिर हो । अर्थात् जीवनमा न सधैँ राग छ (हुन्छ), न त वैराग । राग तथा वैरागलाई च्याप्दै जीवनमा हामी सञ्चो र न्यानो पाएको भावमा लम्किरहन्छौँ । राग र वैराग दुवैबाट पार पाएको अवस्थालाई चाहिँ 'वितराग' भनिँदो रहेछ, जुन अवस्थामा आम मान्छे पुग्न निश्‍चय नै कठिन छ ।
    अवश्य नै हामीबीच आरतीको न्यानो फैलिरहनेछ ।

    ReplyDelete