Subscribe:

Ads 468x60px

11 March 2010

सपनाको काटिएको प्वाँख

"हाई", 
च्याटमा उसले उताबाट टेक्स्ट ठेलेपछि चिमोटे जस्तो भयो, जुन चिमोटाइ म पर्खिरहेथेँ । 

ऊ युवती थिई, म युवक थिएँ, यतिले मात्र  रोचक लय हामीमाझ तरङ्गिएको थिएन । मादकता घोल्ने रसायन लैङ्गिक पाटोमा मात्र कहाँ लुकेको हुन्छ र ? कुराको मेलो अझ लम्बिँदै गयो । सुरुको चिमोटाइले अहिले भने उग्र रूप लिन थाल्यो । चिमोट्ने कुरा युवाहरूको साझा मुद्दा थियो : करिअरको दौडधुपमा बतासिएको जिन्दगीको रथ । ऊ आफूलाई त्यस्तै रथसँग तुलना गर्दै थिई । हे दैव, म पाङ्ग्रा थाम्ने ओटको ढुङ्गा बन्न सक्ने कहाँ त्यस्तो थिएँ र ?

चलनचल्तीको बोलीचालीमा हेर्दा सात समुद्रपारिको  दूरी हामीमाझ फैलिएको थियो । कुरै गर्ने हो भने त एक झलक देखेको सम्म छैन उसलाई । हो, तस्बिर दर्शन गरेर भने  उसको केशका जरीजरीसम्म गाडिएको जीवनको तनाव नापेको छु मैले । बेलाबेला अनलाइनमा म भावनाको पसल खोल्छु । बेलाबेला इन्टरनेट आकाशमा ऊ भक्कानोको भाका टाँग्छे । बेलाबेला उसको लीला म बुझ्दिनँ । बेलाबेला मेरो पागलपनमा ऊ पिठिउँ फर्काउँछे । म उसको दु:खलाई  आफ्नै दु:खमा रूपान्तर गरेर कस्तो अध्याय गाँस्दैछु आफ्नो जीवनमा, पटकपटक अलमलिन्छु । 
खासमा यसो सोच्दा अलमलैको घुम्ती त हो नि यात्रा । स्पष्‍ट चित्र देख्‍नलाई त जीवन कुनै भिजुअल मेसिन वा चित्रकला हो र ? यसैले यो अलमल मलाई प्रिय छ क्यार ! यसैमा अभ्यस्त हुँदैछु ।

ठीक यतिखेर भने  उसको पढाइ र कामको समानान्तर जीवनरेखाको साक्षी बस्न पुगेको छु । यसरी संघर्षमा हेलिने संसारमा ऊ मात्र एक्ली नमूना होइन । कतिपय चरम सास्तीमा जीविकाको मेलो हाँकिरहेकाहरूको अघि उसको धाईधपेडी नगन्यै होला ।  तर भोक्ताको रूपमा उसले बाँचिरहेको पल  नितान्त दुर्लभ हो । परदेशिनुको पीडा त उसले च्याटमा कोरल्दै गरेका अक्षरहरूमा रगताम्मे झल्किरहेको देख्‍दै थिएँ म । स्वदेशमै उसले जीवनलाई प्रयोगशालाको रूप दिएर हेरेकी नै हो । प्रोजेक्टमा काम गरी । मिडियामा टस बसाउन खोजी । राजधानीको निसास्सिँदो हाँडीमा ऊ पड्किएकी नै हो । नत्र ठेट्ना मकै झैँ उछिट्टिएर ऊ कहाँ विदेश पुग्थी र ? जिल्लाबाट आएर  राजधानीमा बाफिँदै संघर्ष गर्दा सबै जना फूल मकै झैँ भरिपूर्ण हुने ग्यारेन्टी कहाँ हुन्छ ? नत्र  साँझ-बिहान दाजु-दिदीको 'भान्से बज्यै' भएर अनि दिनभर अफिसमा फाइलको चाङसँग खेल्दै लोथ हुँदा पनि किन उसको जीवनले ढुक्कको किनार भेटेन ?

खर्च गरेर र अनेक योजना बनाएर देश छाडेपछि त्यहाँ हण्डर खाए पनि हत्तपत्त रित्तो हात फर्किन नसक्नुको पीडा कसले बुझ्ने ? उसले जस्तै सयौँ युवाले भोगेका छन् । नेपालबाट बाहिर कतै नजाउन्जेल विदेशमा त पैसाको रुख फलेको हुन्छ कि जस्तो मानसिकताले हाम्रो टोल-समाजमा डेरा जमाएको पाइन्थ्यो केही समयअघिसम्म । अलि खर्च धान्न सक्ने र पढ्ने समेत योजना बनाउनेले यूके, अमेरिका, अस्ट्रेलिया ताके पनि नेपाली युवाको ठूलो बाढी कतार, मलेसिया, साउदी अरबको भुङ्ग्रोमा सेकिएको छ । रोजगारी र जीविकाको नयाँ मेलो भेट्ने ध्याउन्नमा । जानेमध्ये कमैले मात्र राम्रै गरी हरियाली भेटेका छन्, कोही नराम्रोसँग पीडित छन् ।

"म त्यसै त आउँदिनँ  नेपाल । नेपाल आएर पनि के गर्नु ! त्यहीँ हुँदा ट्राइ त उहिले नै मारेकी हुँ  केही गर्न ।", च्याट बक्समा अर्को लाइन खरर्र सरेको देखियो । म नाजवाफ । साथीमा म साथीसम्म पनि हुन नसकेको हुँ कि ? संविधान निर्माण र शान्ति प्रक्रियाको बेटुङ्गोमा अनिर्णयको बन्दी बन्दै गरेको देशभित्र संघीयताको राजमार्गमा अनेक थरी मनपरी 'पार्किङ' जातीयता र समूहको नाममा । झन् झन् विकराल अवस्था, राजनीतिक कचिङ्गल र तमासा खेल । यस्तो स्थितिमा बाँकी रहेका केही 'बीउ' युवाहरू पनि कतातिर पलायन हुन जाऊँ भनेर वाक्कदिक्क भएको बेला म कसरी उसलाई यही अस्तव्यस्त भन्ज्याङमा फिर्ता बोलाउन सक्थेँ ? केही गरूँ भन्ने सोचको भाँडो खिया नपरी रहन गाह्रो होइन निकै गाह्रो छ । विदेशमा रहँदा पनि अपेक्षा गरेजस्तो प्रगति हुन नसक्दा उसको सपना भरिने आँखामा आँसुको तह जम्छ । त्यसमा पौडी खेल्छन् व्यथाका मन नपर्ने भ्यागुताहरू । कहिले स्वदेश सम्झिन्छे  र सम्झिन्छे गाउँको घरमा अगेनुछेउ सपरिवार बसेर दाउरासँगै गफको अगुल्टोसमेत जोर्दै र आगो ताप्दै भात पकाएको । कहिले सम्झिन्छे आत्मीय स्वजनका प्यारा अनुहार । र विदेशको अत्याधुनिक सहरको फ्ल्याटमा भक्कानोमा पग्लिन्छे । उसले निराशा र उपायनास्तीको हाल पोखिरही ।

२६ वर्षीया युवतीमा यति बेचैनी ! बुढेसकालमा मुजा पर्न बाँकी उनको निधार अहिले नै ढाकिएला कि भन्ने चिन्ताले मलाई गलायो । उसलाई सहारा दिन त के सक्थेँ, फकाउनसम्म पनि शब्दको अभाव भयो । काठमाडौँमा हालैको दिनमा बढ्दो तापक्रममा उसको गरम उच्छ्‌वास पनि मिसिएर झन् तातो महसुस गरेँ । त्यतिबेलै  अनलाइन गफलाई 'यस्ता जैरै कुरा' भन्ठानेर बरफ-कुल्फीतिर मोडिने चिसो मन पनि आफूसँग भएन । एकोहोरो र निष्फल लगावमा बाँधिइरहेँ । न समाधानकारी उपायले उनको कान फुक्न सकेँ , न उनीबारे 'All is Well' भनेर आफ्नो छातीमा थपथपाउँदै ढाडस दिन सकेँ । एउटा जलनमा म सलाइको काँटीमा रुपान्तरित नभएको भए जिन्दगीको तावामा जल्नु कुन चरीको नाम हो, थाहा हुने थिएन ।

धन्न उसले डक्टर, पाइलट हुने त्यस्तो ठूलो सपना बुनिन । नत्र सोच्दासोच्दै, गर्दागर्दै आफ्नै आँखाअघि सपनाको काटिएको प्वाँख देख्‍दा ऊ मूर्च्छा पर्ने थिई सायद । कम्तीमा अहिले दुखेको दिमाग भए पनि होसमै त छे ! यहाँ, यसबेला त होसमा साबुत रहनु/रहन पाउनु नै भाग्यको कुरा छ !
यो सायद उसले बुझेकी छ ।

9 comments:

  1. मुटु छुने कुरा गर्नु भो ..एक ठाउं छोडेर अर्को ठाउं जाँदा अलिकति रिफ्रेश होला कि भन्ने मात्र हो ... न देश भित्र बाट बाहिर जाउँ वा बाहिर बाट भित्र आउँ.... उही ढोकाको चुकुल खोल्ने काम मात्र हो ...भित्र होस् या बाहिर दुवै तिर स्थिति उही छ ...

    धाईबाजीको जानदार शब्द खोतल्न थुप्रै छुटाएँछु... फुर्सदमा आउंदै गर्नेछु

    ReplyDelete
  2. देशभित्रै बसिरहेका र प्रवासीको रुपमा दुई भाग लागेका नेपालीहरु दुबैको ब्यथालाई सर्लक्क उतारेर आकार दिनुभएको छ धाइबाजीले। हामी नेपाली र हाम्रो देश नेपाल गलत राजनीतिको शिकार बनेका छौं। हामीसंग धेरै क्षमता छन् र अरु क्षेत्रमा खासै समस्या छैनन् तर राजनीति अत्यन्त छुद्र, दरिद्र चिन्तनग्रस्त र पत्रु छ।

    तपाईँ र तपाईँकी मित्रबीचको यो कुराकानीसंग एकाकार नहुने नेपाली कमै होलान्।

    ReplyDelete
  3. Piercing reality-- aru thapera bhanna ta sabdaharuko furmayashi matrai hola!

    ReplyDelete
  4. all is well भन्नेर चित बुझाउनु देखि बाहेक अरु कहि छैन ......
    मिलन जी ले भन्नु भए जस्तै .... भित्र होस या बाहिर दुवै तिर को स्थिति उस्तै छ !अनि बसन्त जी ले भन्नु भए जस्तै यो कुरा कानी संग एकाकार नहुने नेपाली कमै होलान भन्ने कुरामा कुनै दुइ मत देख्दिन म त !

    ReplyDelete
  5. Really Heart touching writing...

    ReplyDelete
  6. एकदमै मन छुने र यथार्थको नजिक रहेको पाएँ यो पोस्ट ।

    अन्तको
    कम्तीमा अहिले दुखेको दिमाग भए पनि होसमै त छे ! यहाँ, यसबेला त होसमा साबुत रहनु/रहन पाउनु नै भाग्यको कुरा छ !

    भन्ने वाक्य भने साँच्चै गम्भिर र सोचनिय छ ।

    ReplyDelete
  7. कस्तो चसक्क बिझायो कतै कुनामा - सपना काटिएका प्वाँखहरु कति झरे कति ....नदुख्ने अब त बानी पो भयो कि । यसरि नै अभ्यस्त भंइदो रहेछ । मैले पनि धेरै मिस गरेको छु धाइबाजीलाई र यो मनोहर क्याफेलाई । कति कुराहरु कहाँ आफुले भनेजस्तो हुँदा रहेछन र ?

    ReplyDelete
  8. "हो, तस्बिर दर्शन गरेर भने उसको केशका जरीजरीसम्म गाडिएको जीवनको तनाव नापेको छु मैले । बेलाबेला अनलाइनमा म भावनाको पसल खोल्छु । बेलाबेला इन्टरनेट आकाशमा ऊ भक्कानोको भाका टाँग्छे । बेलाबेला उसको लीला म बुझ्दिनँ । बेलाबेला मेरो पागलपनमा ऊ पिठिउँ फर्काउँछे । " felt so nice on reading....cool bro keep it up.

    ReplyDelete
  9. लेखले मन छुने कुरा त छँदैछ । शिर्षकले समेत मनलाई एकतमास छोयो । सपना छोडेर काटिएको प्वाँखकै मात्र कुरा गरेजस्तो गरेर आएको शिर्षकले प्वाँख काटिएको सपना बोलेको ।

    ReplyDelete