Subscribe:

Ads 468x60px

03 September 2009

हराउनु र आउनुहरू

केही गुमाउनु र केही पाउनुहरू
झट्टै हराउनु र फेरि आउनुहरू ।
अन्त्यानुप्रासमा सर्लक्क मिलेका हाम्रा यी- 'हरू' कर्म र कर्तुत ।

यी थुप्रै हरूमध्ये यतिबेला चाहिँ मलाई मेरै एकवचन कथाको पेटारो खोल्न हतार छ ।

हुन त कसैले सोधेको छैन, किन हराएको भनेर ? (नसोधिनु आफैँमा पनि यतिन्जेल मेरो बचाउको रक्षाकवच छँदै थियो) ;) तैपनि भन्न मन लागेको छ हराउनु र आउनुभित्रका यावत् कथा-व्यथा । अचम्म पनि लाग्दैछ, सोधाइबिना जवाफको बटुलो लिएर एकाएक आउने म संसारको प्रथम प्राणी त बनिनँ ? र पनि खोइ कुन अनुभूतिको पहाडमा उचालिएर हो, म आफ्नै आकाशमा प्रश्‍नको बादल-गुम्फन बनेँ, र आफ्नै आकाशमा यतिखेर उत्तरको बतास-ताजगी लिएर हलुका हुन खोज्दैछु । के त उसोभए प्रश्‍नोत्तरी खेलमै पूर्ण हुने रहेछ सृष्‍टिको लीला !? लीला अपरम्पार !

फुर्सदी मान्छे कुनै काममा अल्झिएपछि केही समय माकुरेजालमा फसेको माखोसमान हुँदो रहेछ । ठीक त्यस्तै नियति मेरो भयो पछिल्लो समय । फुर्सदको बेला जे-जे कुरामा मनमौजी समयको टिकट च्यात्दै बस्यो, व्यस्तताको काँडेतारमा उनिएपछि समयको त्यो च्यातिने टिकटलाई जोड्दै-जोड्दै लैजानुपर्ने हत्तेको अभ्यासमा रत्तिनुपर्ने रहेछ । एक समय थियो, व्यस्त कामकाजी दुनियाँबाट फुर्सदको दुनियाँमा 'फर्किनुपर्दा' म पागल झैँ बनेथेँ । यो 'पर्ने' कुरा आफ्नो हातमा नहुनु पनि ठूलो लीला हो ।

अँ त, म काममा फर्किएँ । एउटा नियमित रूटिन, नुनको सोझो बन्ने 'भान्सा', जिम्मेवारीमा बाँधिएको प्रहर जे भन्नुस् । त्यसअघि एउटा मासिक म्यागेजिनमा काम गर्थेँ, (अहिले पनि गर्दैछु) तर पेटको दमाहा त्यसले नबज्ने, साथीभाइसँग बसिबियाँलो र आत्मीयताको सहयात्रामा त्यो एउटा मनखुसी काम थियो, निरन्तरता दिएँ । पत्रकारिताको नशा उतार्ने भूत सवार भएपछि कोठामा कैद भएर बसिरहूँ भने पनि त नहुने, मन नमान्ने । अलिअलि दैनिक र मासिक पत्रिकाहरूतिर बेलाबेला रचनात्मक बिस्कुन छर्थेँ, र बटुल्न पाएको थोरतिनो पारिश्रमिकले कुनै असम्भव युद्ध जिते झैँ उत्सव मनाउथेँ । पत्रपत्रिकामा पढेर मान्छेहरूले मलाई चिन्थे, तर अस्तित्वको लडाइँमा मैले सम्मानजनक रूपमा मैँलाई चिन्न सक्ने अवस्थामा तैनाथ गराउन बाँकी नै थियो । मानौँ, म त दौडिरहने तर कतै नपुगिने र डेग नचल्ने चिप्लेटी म्याराथन-सतहमा थिएँ ।

र अहिले म पाइला बग्ने त्यो गोरेटो पैल्याउने प्रथम मोडमा छु भन्ने सोच्दैछु । यति निजी कुरा यो ब्लगमा लेख्दा यस्तो लाग्दैछ, मेरो आदिम प्रेम, जोसँग म नसाको हाँगाहाँगासम्म गाँसिएको छु, उसैलाई सुनाउँदैछु मुटु टक्टक्याएर आफ्ना कुरा ।

जागिर खानु सबथोक होइन, जीवनको सम्पूर्णता होइन, तर नखानु जीवनको अपूर्णता त रहेछ । यति मैले भोगेको सत्य । कोही स्वरोजगार गर्छन्, उद्यमशीलताको अपूर्व नमूना बन्छन्, लघु व्यवसाय र घरेलु उद्योगबाट त्यस क्षेत्रमा सम्मानजनक परिचयसँगै अर्थलाभ गरेका छन् । मलाई भने बाजे-जीबाले नपैल्याएको नौलो काम गरेर नामको तृप्‍ति लुट्ने नशा र लोभ जाग्यो, र पसेँ अक्षरको खेतमा । पत्रकारिताको औपचारिक पढाइले कुत्कुत्यायो फेरि रहर र पेट दुवै हाँस्ने लेखनकै हरियालीतिर । यो हरियो फाँटमा मैले मेरो दुब्लो कायामा पनि अथाह भरिलोपन देखेँ, यसैले लोकसेवा पढ्ने पारिवारिक करकर एक कानले सुन्दै अर्कोले उडाएर आफ्नो पेसागत सोचबाट टसको मस भइनँ ।

केही समय भयो, तर युग भयो जस्तो लाग्दैछ ब्लगको दुनियाँबाट टाढिएको । जागिरे जीवनमा हेलिएसँगै मुहार पुस्टिए पनि मनमा भने चाउरीका पत्र खात लागिरह्‌यो ;) कतिखेर यो जागिरे उपद्रोबाट मौका मिलाएर ब्लगमा फैलिऊँ भन्ने सोचले आकुलव्याकुल बनाइरह्‌यो यस बीचमा । न आफ्नै ब्लग थपथाप गरेँ, न अरू साथीसङ्गीकै ब्लग जपजाप गरेँ । निमग्न म जागिरे हरिलट्ठक भएँ । पक्का तेल खाने मेसिन झैँ म जागिर खाने राष्‍ट्रिय जन्तु !

- समय छ्‌यालब्याल हुनु फुर्सदको जुम्राले तिरीमिरी खेलाउने महासङ्कट ।

- कामकाजी व्यस्ततामा च्यापिएर समय नहुनु बेफुर्दको जालोले गाँजेर मर्नु न गर्नुको उकुसमुकुस हालत ।

मुख्य कुरा हो- सन्तुलन मिलाउन सक्नु ।

फुर्सद र बेफुर्सदको बीचमै खेलिरहन सक्नु बच्ने उपाय हो ।

यही सूत्रमा रत्तिने प्रतिबद्धतापत्र हो मेरो यो हराउनु र आउनुको कथा ।

सुन्नेलाई सुनको माला ….

--------------------------------------------

* तस्बिर: एब्सेन्स एन्ड प्रेजेन्स.इन्फो

14 comments:

  1. धाइबा नियास्रो नमान्नुस् जिबन यहाँ यस्तै नै छ

    पाउनु मात्र जीवन हैन हराउनु पनि जीवन नै हो

    यस्तै सुस्केराहरु मैले एकदिन आफ्ना गुरु बा समक्ष्य राख्दा उहाले भन्नुभो हाम्रो जस्तो देशमा धेरै ठुलो महत्वाकान्क्षा पनि राख्नु हुन्न

    जीवन मा नैरास्य आउछन तर मान्छे हुनु को मौलिकता भनेको नैरास्यतालाई overcome गर्न सक्नु हो

    मैले overcome नै किन लेखेको भने नेपाली मा ठ्याक्कै अनुवाद मैले सोच्न भ्याइन र गुरुबा ले overcome नै भन्नुभाको थियो

    किन हामी आफुलाई असामान्य बनाउने लोभ राख्छौ ?

    हामीले सामान्य मनिस भएरै बाँच्न सकेको मा हास्न सकेकोमा किन गर्व नगर्ने ?

    ReplyDelete
  2. हा हा!! धाईबाजी हराए पनि कथा बन्छ र नहराए पनि कथा बन्छ यो ब्लकको दुनियामा। तपाई हराउनु भयो र कथा लिएर आउनु भयो, यहाँ नहराएर पनि कथाहरु बन्दैछन्। आखिर बन्नु त छदै छ नि कथाहरु।
    जीवन यस्तै रहेछ सायद।
    बेला बेलामा समय चाहीँ निकाल्नु होला है।

    ReplyDelete
  3. गज्जबको अनुभुति हामी माझ share गर्नु भएकोमा धाइबा जी प्रति आभार ब्यक्त गर्न चाहन्छु ।
    जीवनमा शिखर चढने चाहना र पेट पाल्नुको मजबुरी आ-आफ्नो ठाउँमा छदैछ झर्दै, उक्लदै भएपनी यात्रा त जारी नै छ र रहिरहनेछ । के गर्नु यस्तै रहेछ यहाँको चलन :)


    तर जे जस्तो भएपनी आत्मालाई सन्तुष्ट दिलाउन हरपल निरन्तरता दिइरहनु भयको छ र प्रयास उस्तै हराउनु र आउनुको खेलहरुमा बेजोड चलिरहेको छ भन्ने प्रमाण त तपाईंकै हरेक शब्दहरुले indicate गरिरहेका छन् ।


    अन्त्यमा आफ्नो लक्ष्यमा अघी बढ्दै बाँकी चिजहरुलाई सन्तुलनमा राखी
    सुत्रमा रत्तिने प्रतिबद्दतापत्र लाई कहिले नभुल्नुहोला भन्ने कामना सहित अहिलेलाई जदौ भन्नु पर्ला..

    ReplyDelete
  4. आफ्नो जीवनको वर्तमान क्षणहरुलाई हामीसंग पनि बाँडचूड गर्नु भएकोमा हार्दिक धन्यबाद! जागिरे जीवनमा तपाईँलाई सबै हिसाबले आत्मसन्तुष्टि मिलोस् भन्ने शुभकामना!

    आफ्नो भित्री मनको रुचि र पेटपालो कामलाई सन्तुलनमा राख्न गाह्रो त हुन्छ नै, पारिवारिक दायित्व पनि थपिएपछि तिन्टालाई सन्तुलनमा राख्न झन् गाह्रो हुनेछ। तर हामीसंग अरु उपाय छैन। त्यो सन्तुलन तपाईँलाई सहजतासाथ प्राप्त होस् भन्ने कामना!

    ReplyDelete
  5. रमाइलो कथा बनेछ, ब्यस्त हुनु, हराउनु र फर्कनुको ।

    ReplyDelete
  6. यो हो नि त तरिका !! मथिङ्गलको पिडा आखिरि ब्लगमै आइछाड्यो । हराउनु फर्कनु सामान्य कुरा हो । तर मान्छे हराउन चाहँदैन । ( off the record***टुँऽऽट***बरु आफ्नो नजरबाट हराओस् अरुको नजरबाट चाहिँ हराउन चाहँदैन ।)
    रमाइलो लाग्यो ।

    ReplyDelete
  7. जीवनकै अस्तब्यस्तताबाट पनि मान्छे यसैगरी फुत्त निस्कन्छ गफ गर्नलाई कार्यब्यस्ततालाई त ठेगान लगाउन सकिहालिन्छ नि हौ । जे होस् सुत्र अनुशार चलिरहोस जीवन रथ त्यती भए भै गो ।

    वर्तमान बाँडिचुँडी गर्नुभएकोमा मेरोपनि धन्यवाद !

    ReplyDelete
  8. धेरै दिन हराएर आउनु भयो ।
    आफ्नो रमाईलो अनुभुतीको साथ, बाढ्नु भएकोमा धन्यबाद!

    ReplyDelete
  9. मलाइ त लाग्यो थोरै हराएर पनि धेरै लिएर आउनु भयो । समयको यात्रामा जीवनको रथलाई हाँक्ने क्रममा प्रस्तुत गर्नुभएको भलाकुसारी सँगै बसेर सुने जस्तो लाग्यो मलाई । आखिर हराउनुमा नै आगमनको मिठो अनुभूति हुने रहेछ तर यसो भन्दैमा हराइहाल्न चाही पाइदैन है धाइबा जी ।
    मेरो बार्षिक यात्रामा तपाइको जन्मकुन्डली नै बदलिनगएकोमा क्षमा चाहन्छु र आइन्दा नदोहरिने प्रतिबद्धता पनि ब्यक्त गर्छु ।

    ReplyDelete
  10. Sarai mitho monologue...afno story yeti sajilo spasta sanga

    yeti dherai mitha bhawana haru...saglaera...lekhnu bhayo...

    Jatil sabda lai...milayera lekhnu tapai ko arko khubi dekhe maile yo post ma....ani tapai ma pani...

    ReplyDelete
  11. हराउनु,आउनु फेरी हराउनु त्यसपछि फेरी आउनु जीवनको वास्तविकता भन्नु नै यही हो,यहाँ सबैलाइ भ्याइ नभ्याइ छ, मनले एउटा कुरो भन्दाभन्दै समय चिप्लेर अगाडी पुगिसकेको हुन्छ अनि मनको कुरो मनमै गाठो परिदिनु पर्ने। जे होस् ब्यस्थताका बाबजुत पनि हामिलाइ यति मिठो मनोबाद पस्कनु भएकोमा आभारि छौ र आगामि दिनमा समयको तामझाम गतिलो तरिकाले मिलाउन सफल हुनुहोला र हामिलाइ बेजोडका तपाइका खुराकहरु पस्कने क्रम निरन्तर होस भन्ने कामना पनि।

    ReplyDelete
  12. साह्रै रमाइलो ब्लग रहेछ हजुरको! मिठो प्रस्तुतिसंग आउने मान्छे हराउदा हामीलाई फाइदा नै हुन्छ नि :)

    ReplyDelete
  13. धाइबा जी, आगमन पातलिदै जादा नजानिँदो नियास्रो अनायास बढ्दो रहेछ, तर समय मिलाएर ती सबै नियास्रो हरुलाई मेटाउने गरि यसरि नै आउनुस र बाडनुस आफ्नो हराउनुका भावनाहरु ...।

    झुल्किनु र नझुल्किनुले ल्याउने फरक र रित्तोपना त छदैछ -ब्लगर साथिहरुमा । तर त्यसमै अल्झेर धेरै गुनासो गर्दिन म , बरु धाइबा जी, अस्तित्वको दौडमा जुन मोडमा, जहाँ जहाँ पाइला टेक्नु हुन्छ - सधै सफलताको शुभकामना ।

    ReplyDelete
  14. धाइबा जी , खाने मेलो र गर्ने मेलो फरक पर्छ कहिलेकाही । हतास भइएन भने फेरि पाइला त फर्किहाल्छन ।
    सधैं नहोस तर कहिलेकाही अलिअली बिछोडिदा भेट्ने तिर्सना बढ्छ नि ।

    ReplyDelete