त्यो समय ठेगाना भएर पनि बरालिएर हिँडेको पर्यटक जस्तै थिएँ म । मियो भेट्टाएर पनि टिक्न नसकेको चञ्चल अवतार । जीवनमा कसैको आगमन भएको समय थियो त्यो । बाफ रे, खुबै व्याकुल हुने मन ! धड्कनका चरा एक मिनेटमा ७२ भन्दा बढी चोटि छातीको पर्खालमा भ्याट् भ्याट् ठोक्किएर मर्थे । शान्तिमा पनि त्यसै अशान्ति । उतिबेलाको व्याकुलताको छनक यो पत्रले दिन्छ । जीवनकै जस्तो विशृंखलता र विसंगतिको अंश पनि भेटिएला यहाँ । यो चिठी उनैको लागि लेखिएको थियो उतिबेला । तिनले पाइन् र जवाफ पनि दिंदै गइन् पश्नोत्तरी खेल जस्तो ।
आत्मीय नातालाई सम्पादक र लेखिकाको रुपमा ढाल्दै साहित्यिक रोगन दिँदा यस्तो लेखिएको थियो चिठी, जस्ताको तस्तै :
असोज ११,०६४
नक्साल
स्नेही लेखिका,
प्रेमिल कामना ।
तिम्रो प्रश्न र अनन्त विरक्तिको अनुहार लिएर सम्पादकलाई पत्र आउनुभन्दा धेरै अगाडि नै यो पत्र लेखिनुपर्थ्यो । तर समय हुने रहेछ कुनै पनि कुरा र काम आयोजनाको । भनौं न, भेट भएर पनि तिमी र म धेरै अन्तरालमा एक-अर्काको चाहनामा सराबरी मिल्यौं । पहिलो पत्र लेख्दै छु तिम्रो नाममा । र सायद तिम्रो जन्मसँगै यो पत्रको बीज फुटेको भए हुने थियो । तब तिम्रो आयुकै हाराहारीमा सोच र समझ राख्न पत्रले सामर्थ्य राख्ने थियो । पत्र जतनसाथ पढ, के थाहा पहिलो यो पत्रपछि अर्को पत्र सायद नलेखिएला । प्रेम हामीबीच कायम रहे पनि पत्रको खाँचो हामीलाई नपर्ला । मलाई गर्ने प्रेमजत्तिकै पत्रले पनि तिमीबाट छत्रछाया पाउने आस छ । नत्र लेख्नुको अर्थ नै के...।