सिड्नीकी साथी,
धेरै माया र सम्झना ।
तिम्रो कपाल र हाम्रो सम्बन्धले हातेमालो गरेछन् । दुवै छोटो । छोटो कपाल र छोटो समयमा झ्याङ्गिएको आत्मीयता । र पनि त्यसको असरदार प्रभाव छँदैछ आफ्नो ठाउँमा । कपाल छोट्याएको खबर सुनाएपछि म रिसाउँला भन्ने तिमीलाई हेक्का रहेछ । यो थाहा पाएर मनैमन खुब रोएँ हुरुक्क भएर, खुसीले । निकटताको अन्दाजमा तिमीले हालेको भर्याङ उक्लिँदै संसारको सबैभन्दा अग्लो मैँ भएको अनुभूतिमा रमाएँ । लामो र छोटो कपालको मेरो बयानदेखि दिक्किएर तिमीले मलाई राम्रैसँग मर्मत गर्थ्यौ, “तिमीलाई रुपसँग सरोकार रहेछ है !” सरोकार त मलाई जनताको वाहुलीबाट बन्ने मुलुककै पहिलो संविधानप्रति पनि थियो, तर के फरक पर्छ र !? म लोलाउँथेँ तिम्रो कुराले । अरूले थर्काउँदा मलाई उत्ति फरक पर्दैन, तिमीले चानचुने गाली गर्दा पनि किन म लोलाउँछु, थाहा छैन । म पनि तिमीलाई नै सताउँछु, बाटोछेउ माग्न बस्नेहरूसँग के साइनो हुन्छ र तिनलाई सताउनु ? आफ्नो बारेमा तिमीले मलाई छेकबार लगाए जस्तो लाग्यो । मानौँ, हिउँदको कष्टकर रातमा तिमीले मलाई ढोकाबाहिर उभ्याएराखेकी छ्यौ । त्यसो भए तिम्रो बारेमा मलाई केही सरोकार नहोस्, यो कसरी सम्भव छ ? जस्तो कि तिमीलाई नै यो पत्र लेख्दैछु, यो पत्र पठाउन पनि मलाई सरोकार नहोस् ? यो पत्रको शिर छैन, कपाल छैन, र पनि रूप त छ आखिर ! मलाई रुपको साँच्चै सरोकार छ प्यारी ।
पत्र लेख्दै गर्दा अनौठो अनुभूति भयो । लेख्नै नआए जस्तो अप्ठेरोपनले मनमा गाँठो परे जस्तो । हुन पनि मित्रतामा लहरिने धुनमा पत्र लेखनलाई छिमल्न थालेछौँ हामीले आफ्नो दैनिकीबाट । कति पो भइसकेछ तिमीलाई केही नलेखेको । खोई त, तिम्रो पनि एउटै सम्बोधन नपाएर म यति व्याकुल छु ।
पत्रमाथि यो कस्तो अन्याय ! जुन पत्रले हामीबीच पहिलो चिनारीको पुल हालेथ्यो, अझ निकटता र आत्मीयताको रेसा बाटेथ्यो, त्यही पत्रसँग हामीले साइनो तोड्यौँ । खासमा मानवीय प्रकृति भनेकै यस्तै होला – मुखभरि पानी उभाउने र अँजुलीलाई बिर्सिदिने ।
सिड्नीको आकाशमा बहकिएको हावामा तिम्रो कपाल कतिविघ्न सुहाउँदिलो झण्डा बनिरहेको होला ! म कल्पना गर्छु । कल्पनामै तिमी मुस्काउँछ्यौ, तिम्रो गालाको खाडलमा अनि त म भासिइहाल्छु । कल्पनाको रिल घुम्दै जान्छ । मैले मस्का मार्न थालेपछि तिमीले सातो खान्छौ – “हामी साथी मात्र हौँ के गधे !!” मानौँ म ट्राफिक नियम मिच्दै बीच सडकमा ढसमस्स उभिएको छु र तिमीले सिटी फुकेकी हौ ।
र यस्तोमा सतर्क हुने पालो मेरो हुन्छ । हो त, साथी भइसकेपछि कुनै न कुनै रेखी हामीले आपसमा तान्नैपर्ने, त्यो पनि स्पष्ट किटानीका साथ । र म साइजमा आउँछु । साइजमा आउनु यो समयको अपरिहार्यता हो । प्रतिपक्षी दलको घुर्की र धम्कीले च्यापिएर सरकार साइजमा आए जस्तै स्वाभाविक प्रक्रिया ।
समय बदलीकै अर्को नाम हो । बदलीकै उडानस्वरूप हुत्तिएर तिमी परदेशी भयौ, उतै सुर्तायौ; बदलीको घानबाट वञ्चित भएर म स्वदेशमै थुनिएँ, यतै सुर्ताएँ । कस्तो विचित्र रङ छ जीवनको । सायद आफूभन्दा दोस्रो व्यक्तिलाई गजब होला भन्ने भ्रमको चुल्ठो बाटेर त्यसैमा पिङ खेलिरहेछौँ । हामी सबैजना । हाम्रा छोराछोरीको पुस्ताले झन् एक-आपसमा कस्तो भ्रममा अडेसा दिएर चित्त बुझाउनुपर्ने होला ? हे रामचन्द्र ! यस्तै थेगो जोडेर तिमी पनि पिरोलिँदैछ्यौ होला । आखिर पिरोलिने एउटा-एउटा बहानाको खाँचो पर्ने रहेछ । नत्र जिन्दगीको बाटो खर्च नचल्ने रहेछन् । बहाना = बाटो खर्च ।
तिमीले छोडेको काठमाडौँ त्यस्तै नै छ । सडकहरू उस्तै रापिला, तिनमा चलमलाइरहेका अटेसमटेस गोडाहरू उस्तै भोका । मानौँ सबका सब हिंस्रक सिकारका लागि सुर कसेर खनिएका हुन् । बरू अझ यो सहरको तनाव भयङ्कर बढेको छ, घट्ने नाम छैन । कामको लिकबाट फुत्किएर हत्तपत्त साथीहरूसँग कफीको एक सुरुप लिन नपाउनु नै यो सहरको विशेषता हो जस्तो लाग्न थालेको छ अचेल । घडीको सुइसँगै एकाकार भएर दौड वत्स भनेर समय बूढाले कता-कता आदेश दिइरहे झैँ सबैमा एकोहोरोपनको भूत सवार छ । यस्तोमा म पनि घानमा परेको मकै हुनबाट कसरी पो छुट्थेँ र ?
घरबाट टाढिएपछि घरसँगको नाता अझ गाढा हुने र महत्व अकाशिने अनुभूति सबैले गर्दा हुन् । घरबाट मस्यौरा, भटमासको पोका र कुराउनी भरिएको डब्बा जबजब सहर छिर्छ, अनि मात्र गाउँघरको सम्झनाले छातीमा मार हान्छ । यस्तो मुटु भइसकेको छ । यसलाई स्वार्थको जामा भिराए पनि हुँदो हो, सहरिया प्रभाव भने पनि हुँदो हो । चिमोट्दा पनि अब त छुसुक्क छोए जस्तो मात्र असर हुने हो कि जस्तो भइसक्यो शरीरमा । म यस्तै भएको छु । तिमी कस्ती भएकी छ्यौ, कस्ती हुँदैछ्यौ, यो सबैको साक्षी बन्न पाउँदा सन्तोष लागिरहेको छ । आफ्नोबारे सानो-सानो कुरा सुनाउने तिम्रो बानी मलाई आत्मबखान कत्ति पनि लाग्दैन, बरू त्यसले मलाई तिमीसँग एउटै सिरानीमा शिर पारिदिएको आभास हुन्छ । विरानोपनमा रुमल्लिए पनि एउटै साझा घरको बास झैँ तृप्तिको भक्कानोले छोपिन्छु म ।
अँ त, म कहिलेकाहीँ आत्तिन्छु- कतै हाम्रो भेटै नभई यो विश्व ध्वस्त त हुँदैन ?
मलाई अक्सर यही जिज्ञासाले खेदो गर्छ, आपसी दूरी नामेट पार्दै भेटघाट गर्नमा त्यस्तो के कुरा लुक्या छ, प्राणीजगत् किन मरिहत्ते गर्छ ? किन वर्षौँ पर्खिन्छे पहाडकी मसली खसम आउने आशमा ? किन मधेसको लछुनिया बेपत्ता छोरो भेट्ने आशमा राजमार्गछेउको जङ्गलमा चौध चक्कर लगाउँछ ? किन कहाँ-कहाँ पुगेर भाले चरा बेलुकीपख कोसौँ दूरको गुँड फर्किभ्याउने धुनमा पखेटा फतक्क गलाउँछ । किन म पर्खिनेछु यो पत्रको जवाफ ? मान्छेहरूले टेलिफोन वार्तामा “क्या हो, अचेल त भेटघाटै छैन” भन्ने गुनासो गर्नुमा कति तुक छ ? मान्छेले कसैको साथ र आडभरोसा खोज्नु पनि ऊसामु आफ्नो मान्यता स्थापित गर्नलाई रहेछ । अनि मान्छेले कसैलाई चिज गर्छ नि, त्यो पनि साटोमा आफूलाई उस्तै व्यवहार होस् भन्ने आग्रहभाव त हो । समाजको व्यावहारिक जीवनको यो नाङ्गो नाङ्गो सत्य लुकाएर पनि लुक्नेवाला छैन । कारण, हामी अहिलेसम्म यसैको अभ्यासमा छौँ ।
तिमीप्रति साह्रै नजिकिँदो यो पत्रभित्रको अभिव्यक्तिले सायद तिमी आत्तिनेछ्यौ । आत्मीयता भन्दैमा कति जतन नगरी फुकाएका कुराहरू भनेर त्यो चुली नाक अझै रिसले चुलिएको होला । अब धक फुकाएरै आत्तिए हुन्छ, रिसमा दरफराए हुन्छ, स्थिति सम्हाल्न हाजिर म छँदैछु ! देश सम्हाल्नुपर्ने नेताहरू भाङ खाएर आफ्नै बोलीको बेठेगानमा चकित हुने हाम्रो राष्ट्रिय परिवेशमा स्थिति सम्हाल्ने कोही जन्मिएकोमा कम्तीमा तिमी ढुक्क भए हुन्छ ।
विदेशको ठाउँ, थरीथरी आविष्कारिक रमिताले दङ्ग पर्ने तिमी यता मेरो मित्रताको पुनरावृत्तिको उकुसमुकुसबाट विरक्तिन्छौ होला यदाकदा । तिमीलाई विरक्तिन पनि छुट छ । यही विरक्ति तिम्रो साथी होला कहिलेकाहीँ । तिमी भने साथी हौ मेरो सधैँलाई । तिम्रो एक वर्षे जेठो अवतारले मलाई कान निमोठ्ने इजाजत पनि सुरक्षित राखेको छ । म पनि लिकमा हिँड्ने दबाबमा रहन पाउनेछु । तिम्रो जीवनमा पनि मैले हाँसो छर्ने बाटो देखेको छु ।
यति भएपछि रेल छुट्नेछैन । तिम्रो सङ्गतबाट अब म गयल हुन सक्नेछैन । रेल छुट्यो भने दुवैमध्ये कसैको जीवन ठेगानमा हुनेछैन सायद ।
र बाँच्नु हामी दुवैलाई छ ।
चाहे यसैगरी टाढिएर । चाहे आसपास रहेर ।
मायाले लेखेको हो पत्र, तर खोई कहाँ अड्कियो, असन्तुलित ट्याक्टर जस्तै थर्थरायो क्यार । मायाले पढ्नू । तिम्रो सजिलो मनले पढेपछि यसका खाल्टाखुल्टी टालिनेछ । मेरो बाटो पनि यसैगरी भर्न चाहान्छु ।
आजलाई यत्ति नै ।