बाहिर चैते झरीको ठट्यौली लीला जारी छ, भित्र कोठामा म छु, अक्षरको बलेंसी सम्हाल्दै फुरुङ्गिँदै । धेरैपछि लेखेँ आज गजल र टाँस्न हतार लागिहाल्यो । सुर त अरू नै केही लेख्ने थियो, तर बगेको मन फर्किएन । आज तीनवटा गजल लेखियो, गन्ती गर्नुको के नै तुक हुन्छ र ! र पनि धेरै समय बाँझिएको जग्गामा बाली लाग्दा किसान मक्खिए जस्तै रमाउँदो रहेछ मन । बालीमा कोसा-गेडी मजैले लाग्यो कि लागेन, पछि आँक्ने कुरा हो । म पनि लेखिएका गजल कतिविघ्न रसिला-कसिला रहेछन्, कोट्याउने क्रममै छु, अझै पालिस लगाउने ठाउँ कता छ, जोखाना हेर्दैछु । एउटा गजल भने तात्तातै CaFe मा भतेर लाउने हुटहुटी लागिहाल्यो र मध्यरातको बत्ती उछिन्ने तर्खरमा धर्ना बसेको छु ।
यो मेरो हेराइमा औंसत गजल हो, सामान्य विषयमा सामान्य ढाँचाले लेखिएको । त्यसो यसलाई उच्चस्तरीय कमसल पनि नभनिहालूँ, मध्यमस्तरीय कमसल भने यो पक्कै हो :-)
यसो हेर्दा यस गजलमा कसैले अर्तीको बाक्लै ध्वनि गुन्जिएको पाउला । आजको उत्तरआधुनिक तनावमा अर्तीको के नै मोल र महत्ता होला र ! खासमा गजलको भावमा यो मैले मैंलाई गरेको साउती र सम्झाउनी हो । यो साउती हरू धेरैसँग मेल खाला र मेल नखानेहरूमा पनि रचनागत सामीप्यता राख्ला बनेर बाँड्ने मन भयो । खुलेरै भन्दा ब्लगर मित्रहरूलाई मेरो निजी मामिला थोपरेर के बहको बोझ दिऊँ ! तर केही समययता म अलि बिथोलिएको छु, त्यसैको मलमपट्टी गर्नतिर आफैँ लागेको छु । यो गजल त्यसै प्रयासको एउटा चक्की हो ।
साइनोको मोडमा पीडाको तोड नपरिरहन कसरी पो सक्छ र ? सम्हालिन्छु भन्दाभन्दै पनि जाकिएको किला खियादार चिस्यान उमारेर भित्रभित्रै भुलभुलाउँछ र रन्थनी छुट्छ । यस्तो भावनात्मक मनोदशामा मान्छेले सामाजिक, सांस्कृतिक र पारिवारिक र अन्य नसनातो र सरोकार आदि केही कुराको वास्ता राख्दैन रहेछ । मग्न त होइन, भग्न हुँदो रहेछ मान्छे । यस्तोमा, सबै कुरा एउटै चोटको केन्द्रविन्दुमा फिक्री मान्दै परिक्रमारत हुन्छ । कति मान्छेले कति साह्रो हण्डर र व्यथा झेलेका छन् र पनि सामान्य लयमा उही दैनिकीमा बाँचेकै छन् , म भने किन यस्तो ? आफैँलाई थर्काउँछु र चक चोरेर कक्षाको डेस्कमुनि लुक्ने विद्यार्थीलाई मास्टरबाबूले खबरदारी औंलाले लुचुक्क बनाए जस्तै आफैँलाई चूप लगाउँछु । र पनि चुइँक्क बोल्न पुग्छु यस्तै गजलमार्फत -
----------------------------------------------------
भाँचिँदैमा एउटा छाता जीवनभरि भिजिन्न साथीटुट्न सक्छ गाढा साइनो संसार सारा रितिन्न साथी !
पाइलैपिच्छे थपक्कन ओइरिदिन्छन् शिखरहरू,
उक्लिँदैमा कुनै शिखर समग्र यात्रा जितिन्न साथी !
यस्तै हो यो जीवन-संसार सिक्छ कहिले सिकाउँछ,
पला-पला घोटिनैपर्छ हत्त न पत्त सिकिन्न साथी !
एकै भेट भरपूर कुनै बारम्बार भेट्दा शून्य केही,
कोटा र गन्ती हिसाब गर्दै आत्मीय फोटो खिचिन्न साथी !
पश्चिमबाट आएँ म बग्दै तिमी पूर्वै लागेछौ अझै,
सोचाइ-रोजाइ बेग्लेपछि बलैले दुई मिलिन्न साथी !
*तस्बिर: ट्राभेल.वेबसट्स.कम