काठमाडौंको तापमान धरहरामा उक्लिँदैछ । तर कतिबेला चिसो हावा चल्छ र कतिबेला हप्प हुन्छ, यहाँको मौसमको कुनै ठेगान हुन्न । टन्टलापुर घाम लागेर छ्याङ्ग खुलेको दिन अकस्मात् झरी बर्सिन्छ । आकाश धुम्मिएको देखेर घरबाट छाता बोकेर निस्कयो, त्यो दिन छिटा पानी पर्दैन । अनि भोलिपल्ट मौसमको सामान्य अवस्था देखेर निर्धक्क खाली हात हिंड्यो, पानीले चुटेर मुसो बनाउन बेर लगाउँदैन । यस्तो अवस्था धेरै पटक खेप्नुपर्छ राजधानीका बासिन्दाले ।
गर्मी जसै बढ्दै जान्छ, न्युरोड इन्द्रचौकको एउटा कुनाको मौसममा भने सधैं उस्तै रौनक देखिन्छ । एकनासको गति । पङ्क्तिबद्ध मानिसहरू धाराको पानी थाप्न लाइन लागे झैं एकसुरमा देखिन्छन् । झरी बर्सिएर मानिसहरू ओत लागेका पनि होइनन् । नजिकै खुला रूपमा खोलिएका ओढ्ने पसलहरूमा बर्कोको मोलमोलाइ पनि कोही गरिरहेका छैनन् । बरू आफ्नो रुखो आँतलाई शान्त पार्न लस्सी खानेहरूको त्यहाँ भीड लागेको पाउनुहुनेछ । घमाइलो दिनमा तपाईँ त्यहाँ पुग्नुभयो भने गुरुम्म भीडले सेतो गिलास समाएर ठाडो घाँटी पारिरहेको देख्न सक्नुहुन्छ । जनकपुर दही लस्सी भण्डारको के छ त्यस्तो विशेषता, एकचोटि स्वाद चाखेपछि फेरि-फेरि त्यो रुट हिंड्दा त्यो चिनाजाना स्वाद लिन मन लागिहाल्छ । (विज्ञापन नै गरे जस्तो भयो है :-) राम्रो कुरा सबैलाई जानकारी दिँदा विज्ञापन हुन्छ भने त्यो नै सही !)
त्यो लस्सी भण्डारको प्रभाव कस्तो छ भने, त्यसको सिको गरेर अलि पर अर्को लस्सी भण्डार खुलेको छ । जहाँ बिचरा पसलेले लस्सी पसलको नक्कल गरे पनि त्यो गुणस्तर भने आफ्नोमा कायम गर्न सकेको छैन । नचाहेको हो या नसकेको हो, कमसल गुणस्तर बेचेरै ग्राहकलाई उल्लू बनाएर पल्लो छेउको असली लस्सीलाई छेड हानिरहेझैं लाग्छ । कसैले कुनै काम वा व्यवसायमा राम्रो गर्यो भने, गहिरो गरी नविचारी हत्त न पत्त त्यही काम नक्कल गरिहाल्ने हामी नेपालीको प्रवृत्ति लस्सी पसलले पनि चरितार्थ गर्यो ।
जनकपुर लस्सी भण्डारमा झुम्मिने मान्छेहरू साँगुरो सडकमा ठोक्किइहालूँला भने झैँ गुडिरहने सवारी साधनको भय पचाएर लाम लागिरहेका हुन्छन् । ठूलो गिलासको ३० र सानोको २० रुपैयाँमा पाइन्छ लस्सी । भड्डुको भाँडामा दही, आइस, चिनी मिसाएर घोलेर लस्सी बनाउँदै गिलास भर्दै गरेका भेटिन्छन् मोटे दाइ । तपाईँको गिलासमा सोझै लस्सीको झोल मात्र आइपुग्दैन; काजु, किसमिस, रावडी र क्रिम पनि सरक्क माथितिर तरपरिएको पाउनुहुनेछ ।
यस हिसाबले स्वादिलो मात्र होइन, पोषिलो पनि मान्नुपर्ला लस्सीलाई । आइस मिसाएकाले केही बिगार चाहिँ गर्ला कि ? नत्र प्रायजसो दही वा कागती-चिनी-पानीको सर्बत र मोही खाने स्वाद बसेको हाम्रो जिभ्रोले पक्कै नौलो स्वाद पाउनेछ लस्सीबाट । कुनै दिन गर्मीले रुखिंदै न्युरोडको इन्द्रचौक पुग्नुभयो भने लस्सी स्वाद लिएर आफैं पारख गर्नुहोला । स्वादको गलत व्याख्या गरेको रहेछु भने कारबाहीको भागीदार बनूँला । :-)
------------------
अपडेट : दूधको मूल्य बढेसँगै चैत १४ गतेबाट लस्सीको भाउ पनि बढेछ है । ठूलो गिलासको ४० र सानो गिलासको २५ रूपैयाँ पुगेछ । छेउको कमसल स्वादवाला लस्सी पसलले पनि मूल्यवृद्धिको सिको नगर्ने कुरै भएन ! महँगीले लस्सी धरीलाई छाडेन बा !