December 5, 2010

टिक्न नदिने रानो माहुरी !

NarayanG.

कुनै नयाँ ग्रह हेर्न झुम्मिए जस्तै आँगनभरि गोलो लागेको थियो मान्छेहरूको । अगाडि श्‍यामश्‍वेत टीभीमा मन्द भाव बगिरहेको थियो । सानो छँदाको धेरै घटना फिल्मको पुरानो रिल जस्तै फिका हुन्छन् । त्यो घटना पनि यतिखेर धमिलो गरी आइरहेछ । यसो बुझ्‍दा उतिबेला टेलिभिजनको त्यो दृश्‍य नारायणगोपालको निधन सम्बन्धी थियो । र मन्द भावको बगाइ शवयात्राको थियो । मेरो सम्झनामा भएअनुसार टीभी हेर्नेहरू आँखा केही रसिलो पार्दै ठूलो क्षति भएको खासखुस गर्दै चुकचुकाइरहेका थिए ।

त्यो २०४७ साल मंसिर १९ गतेको घटना थियो । 

नारायण गोपाल बिदा भएको पनि आज २० वर्ष भइसकेको छ । तर त्यो कालजयी गलाको महक अझै जनजनमा गढेरै बसेको छ । नारायणपछि निकै प्रतिभाहरू उदाय नेपाली सङ्गीत फाँटमा, निकै पलायन भए । तर उनको सत्ता अद्यापि डगमगाएको छैन । बरू अरू गायक-गायिका साधना, लगन र दैवी प्रतिभाको समग्र हिसाबमा नारायणजत्तिकै खरो उत्रिन नसक्दा ती सबैको क्षतिपूर्ति समेत उनी नै भएर रहेका छन् । यस हिसाबमा कसैलाई टिक्न नदिने रानो माहुरीको संज्ञा दिन मन लाग्छ नारायण गोपाललाई । सङ्गीतको महासागरमा आफैँमा एउटा सागरको रूपमा रहेका छन् नारायण ।

यस्तो लाग्छ : उनको गीत नसुनी बहिरो भएको कुनै कान छैन, उनको भाका नभरिएको कुनै हार्डडिस्क छैन । पछिल्लो पुस्ताको एउटा हिस्सा भलै आधुनिकतम सङ्गीतको लट्ठाइमा नेपाली सङ्गीतको खास रङ पाइने नारायण गोपालकालीन सNgopal-Ticketङ्गीतबाट वञ्चित भएको छ । तर धेरै नेपाली स्रोताले उनको गलाको स्वादको परख गरेका छन् । 

काठमाडौंको नेवार परिवारमा नारायणगोपाल गुरुवाचार्यको रूपमा  १९९६ साल असोज १८ गते उनी जन्मिए । बुबा आशागोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको काठमाडौँ किलागलस्थित घरमा उनी हुर्किए । नारायण गोपाल यत्तिकै गाएर मात्रै ‘गायक’  भएका होइनन् । गीत छनोटमा उनको जुन गहिराइको खुबी थियो, शब्दको मर्म बुझ्‍न सक्ने र त्यसलाई उत्तिकै भावमा डुबेर गाउने कौशल अहिलेका विरलै गायक-गायिकामा पाउन सकिन्छ । त्यो बोझिलो गला आफैँमा अद्वितीय त हुँदै त । उनलाई सुनिसकेपछिको ह्याङओभरले पछ्याउनाले नै होला, अरू गलातिर हत्तपत्त मन पनि भरिन्न । यसैले पनि होला जनताले स्वत:स्फूर्त रूपमा ‘स्वर सम्राट्’को उपाधि दिएका ।

उनी जस्तै शैली लिएर आउने रामकृष्‍ण ढकाललाई त्यही आशापूर्ण दृष्‍टिले हेरिएको थियो । तर ढकालले जनआकाङ्क्षा थामिरहन सकेनन् सायद, परीक्षामा उनी फेल नै भए । बाटो बिराउँदै ‘सबै स्रोता र युवाहरूको समेत गायक हुँ म’ भन्ने भावमा पप सङ्गीतको ‘झ्याउँकीरी’मा समेत हेलिए ।   भर्सटायल गायक हुन सक्नु र त्यो सुहाउनु गजबको कुरा हो । हत्तपत्त त्यो कसैलाई मिल्दैन । तर आफ्नो प्रतिभा कुन हदसम्मको हो र आफू मूल रूपमा के का लागि हो भन्ने पनि खुट्याउनैपर्छ एउटा कलाकारले । त्यसलाई ढकालका समकालीनहरूले पैल्याउन सकेनन् । खुसीको कुरा हो, फेरि आफ्नो पुरानै शैलीमा भित्रिएको जनाउ दिँदै रामकृष्‍ण ढकाल ‘शैली’ एलबमका साथ आउँदैछन् । तर नयाँ पुस्ता जति नै जगमगाएर आए पनि नयाँ कलाकार र स्रोताले अग्रज कलाकारप्रति श्रद्धाभाव राख्‍नैपर्छ । त्यसको हकदार पनि छन् पक्कै नारायण गोपाल लगायतका पुराना गायक कलाकारहरू ।

हार्दिक श्रद्धा सुमन नारायण !

अन्त्यमा, नारायण गोपालको धेरै कालजयी भाकामध्ये एउटा भाका सुनौँ -

December 1, 2010

यस्तो गतिले आन्तरिक पर्यटन प्रवर्द्धन !?

7 र्चा गर्न लागेको कुरा सानो हो । त्यसो त, कलिलो तामा नै छिप्पिएर बाँस हुने भएकाले सानै कुराको पनि मूल्य हुने ठानेर यो फेहरिस्त उतार्न लाग्दैछु ।

सप्‍ताहान्तको एक दिन राजधानी नजिकैको चोभार डाँडातिर घुमघाममा निस्किएको थिएँ कार्यालयकै एक साथीसँग । कामकाजी दुनियाँमा रहेपछि फुर्सदले दिनचर्यामा हत्तपत्त चियाउने नाम नै लिँदैन । साप्‍ताहिक बिदाको बिसाउनी पनि कहिले त अतिरिक्त कार्यभारले स्वाहा हुन्छ !

आफ्नै वाहन नहुँदा पुरानो बसपार्कबाट दक्षिणकाली मन्दिर जाने बस रोजियो । शुक्रबारे दिन, मध्याह्‍नको मन्द समय । बिना कुनै तयारी, चोभारको टुङ्गो नै थाहा नभई घुम्ने थलो कता-कता भन्ने जानकारीबिनै अन्धाधुन्ध कुदेका थियौँ । यात्राको रोमाञ्चकता भनेको यो पनि हो एउटा, जानुपर्ने ठाउँको नामबाहेक केही थाहा नहोस् । अन्दाज र अव्यवस्थित पारामै लरखराउन पाइयोस् । स्वाभाविकै हो, अलपत्र पाराको हिँडाइले केही हैरानी त हुन्छ आफूलाई, तर त्यो सास्तीलाई रहस्यमय यात्राको मजाले कता हो कता उछिन्छ ।

कालिमाटी, बल्खु हुँदै कीर्तिपुर  विश्‍वविद्यालयको किनार हुँदै उकालो लाग्यो बस । यही हो चोभार भन्ने बसभित्रको हल्लाको पछि लागेर झरियो जङ्गल जस्तो ठाउँमा । तर अलिकता तलै झरिएछ, थोरै पैदल पेल्नुपर्‍यो । 

डाँडा-पाखाको विस्तारित फाँट रहेछ चोभार । पाखाबाट ओरालो हान्निँदै र कतै भित्ताको बाटो उक्लिँदै टहलिनमा रमायौँ । नाङ्गा पहाड भए पनि हामीलाई भने त्यही नै रुपसी लाग्यो ;)

8यस्तो थुम्काथुम्कीको सयर सहरमा कुँजिएको पखेटा फिजाउन काफी थियो

 

6 बसबाट उत्रिएपछि चोभारको मूल डाँडा चढ्नुअघि देखिएको काठमाडौँको सहरी फाँट

 4 घुमघामको लागि मात्र होइन, फिल्मको सुटिङको लागि पनि आकर्षक केन्द्र

 5सहरको पिंजडाबाट मुक्त भएपछि फुकेको पङ्ख 

 

2 ‘जोडी जङ्सन’को रूपमा पनि खुबै चल्तीको ठाउँ रहेछ चोभार

 

3अब पालो सुस्ताउने : यो चाहिँ क्यामेरा आफैँले क्लिक गरेको

 

1 भोकको बेला सिद्धेला भन्दै गनेर खानुपर्ने म:म: हामीले भने कनेर खायौँ

फर्किने बेला भोकले रन्थनिएको आँखालाई ‘कटेज रेस्टुरेन्ट’ ले लोभ्याए । घाम पनि छानामाथिबाट ओइलिएर गइसकेको ओसिलो बेला एउटा ‘कटेज’मा छिर्‍यौँ । कटेजभन्दा बाहिर खुला ठाउँमै राखिएको टेबल र मेच रोजाइमा पर्‍यो । चकमन्न थियो रेस्टुरेन्ट परिसर । चिसोमा तात्तातो म:म: ले पेट सेक्ने मोह जागेर अर्डर गरियो दुई प्लेट चिकेन स्टिम म:म: । भोकको बेला पर्खाइ पनि कति लामो भएको हो ! बल्लतल्ल पौने घन्टामा प्लेटहरू टेबलमा आइपुगे । प्लेटमा म:म: सजाएको पनि कसरी हो, ठूलो प्लेटमा नसुहाउँदो गरी छरेर गोलो घेरा लगाइएको म:म: खोलामा कोसेढुङ्गा जस्तै देखिन्थ्यो ।  फेरि म:म: पनि चोभारको नाङ्गो पाखा जस्तै कस्तो रूखोसुखो हो ! म:म: बडो यातनापूर्वक खाइयो । म:म:को बाहिरी पत्र आगोछेउ सुकाएर ल्याएको जस्तै सुख्खा थियो । अरू रेस्टुरेन्टतिर पनि यस्तै हालत हो कि भन्ने अड्कलमा पुगियो । कुनै पाखाको कमेरो माटो कस्तो छ भन्ने जान्न नमुनास्वरूप कुनै एउटा फग्लेटाबाट माटो लिएर हेर्ने त हो नि ! पैसा तिर्ने बेला पनि मजा आएन । पैसा असुल नभए जस्तो !

नेपाल पर्यटन वर्ष २०११ को दौडमा छ मुलुक । काउन्टडाउन सुरु भइसक्यो । १० लाख विदेशी पर्यटक भित्र्याउने महत्वाकाङ्क्षा राखिरहँदा आन्तरिक पर्यटनलाई पनि उपेक्षा गर्न नमिल्ला । सानो-सानो ठाउँमा पनि घुमघाममा जाने र सहर आसपासको स्थलमा पनि आन्तरिक पर्यटनको अवधारणाबारे स्थानीयबासी तथा व्यवसायीहरू जागरुक हुनु जरूरी छ । त्यो ठाउँ कस्तो हो भन्ने समग्रमा सन्देश जाने भनेको स्थानीय रहनसहन, व्यवहार र खानपानको उपलब्धताले पनि हो । नत्र नाङ्लो पसलमा चुरोट बेच्न बसेजस्तो यस्तो हालतमा त कसरी होला आन्तरिक पर्यटनको प्रवर्द्धन ? आन्तरिक पाहुनालाई खुसी नपारी बाहिरकालाई खुसी पार्ने हाम्रो व्यग्रताको पनि के अर्थ ?