लामो समयपछि ब्लगमा झुल्किँदैछु । रहर लाग्दालाग्दै, मन-मगजमा कुरा खेल्दाखेल्दै लेख्न नसक्नु/नपाउनु बडो पीडादायक हुन्छ । सचेत प्राणी भएको नाताले मानव मन-मस्तिष्कले सधैं केही न केही भावना र विचारको गर्भाधान गरिरहेको हुन्छ । त्यस्ता भावना-विचारले निकास पाएन भने प्रसव पीडाले रन्थनी छुट्छ र मानसिक दुर्घटनाबाट गुज्रिनुपर्छ ।
यस हिसाबमा हामी भावना र विचारको गर्भ बोकेर एउटा-एउटा निकास (चाहे त्यो सामान्य र नियमित काम होस् कि गतिलो सिर्जना) को दौडमा आजीवन लम्किरहन्छौं । यसर्थ हाम्रो यो यात्रा मधुमास नै हो । तर यहाँनेर मैले मानवीय मधुमासको कुरो गर्न लागेको होइन । हरेक प्राणीको मधुमास हुन्छ, मधुमासकै बगैंचामा तिनको अस्तित्त्वको कोपिला लाग्छ र फुल्छ । हालै गृहजिल्ला उदयपुर जाँदा प्रकृतिको काखमा यस्तै मधुमासको शीतल ओढिरहेका फट्याङ्ग्रा जोडीहरूसँग जम्काभेट भयो । खेतभरि पहेंलपुर धान झुलेको समय, कतै धान काट्न खेताला लागेका छन् । कतै भने धानको बोझ घरमा थान्को लगाउने चटारो छ । धानखेत नियाल्दै हिंडिरहँदा आलीभरि फट्याङ्ग्राको जुलुस कुनै उत्सव मनाए झैं उफ्रिन्छ ।
तस्बिरमार्फत तिनको गोपनीयता मैले यहाँ भंग गरें, पाप नलागोस् । फट्याङ्ग्राको मधुमासको तस्बिर हेर्न भित्र आउनुस् -