भनिन्छ, आत्मप्रकाशनमै छ आत्मिक तृप्ति । लेखेर-बोलेर मनभित्रका उहापोह बाहिरी संसारलाई पढाउँदा-सुनाउँदा अपार खुसी मिल्छ रे ! सत्य हो एक हदसम्म । तर यो सत्य आंशिक मात्र हो कि भन्ने लाग्छ । आफूलाई अभिव्यक्त गराउने खुसीभन्दा पर अरूको उकुसमुकुसले पनि मुखरित हुने पुल बन्ला कि भनेझैं हामीलाई पर्खिरहेको हुन्छ । हामी कति त्यो उकुसमुकुसको नजिक पुगेर हावा खुस्काएर त्यसमा ताजगी भर्न सक्छौं भन्ने मूल प्रश्न हो । अरूको भाव उतारेर त्यसमा बोली भरिदिनुमा चाहिँ झन् दोब्बर खुसीको भेल उर्लिने रहेछ । भोकले आकुल-व्याकुल कोही मान्छेलाई खान्की दिएपछि त्यो व्यक्तिको मुहार छाएको तृप्ति देखेर तपाईं आफैं पनि मुस्काउनुभएको छैन र कुनै बेला ? अरूको खुसीमा भागीदारी भएर तपाईँले पनि सुखद अनुभूति गरेको हुनुपर्छ केयौं पटक । समाजसेवाको थालनी पनि यस्तै आनन्दको लाभ लिने ‘लालसा’का साथमा भएको हुनुपर्छ । यहाँनेर समाजसेवामा लालसा शब्द जोडिएकोमा आपत्ति पनि मान्न सकिएला, तर यो लालसा अरूलाई दिएर आफू टन्न भएको प्रफुल्ल भाव सञ्चय गर्ने चाह मात्र हो । यो कुनै भ्रष्टाचार होइन ।
भ्रष्टाचार हो भने त्यस्तो खुसीको एउटा लुटेरा म पनि हो । सन्दर्भ फेसबुक सञ्जालमा रहेको मेरो फोटो एल्बम Creator’s Corner को हो । [हेर्न आफ्नो फेसबुक एकाउन्टमा लग इन गरिसकेपछि यहाँ क्लिक गर्नुहोला ।]