भात खाने लतले राम्रैगरी गाँजेपछि मैले जागिर खान थालेँ । अहिले भात र जागिर दुवै कुराको अम्मल छ ।
आजकाल जागिरको दौडमा अमिलो पसिनाले गुम्स्याउँछ । पसिनालाई संसारकै महँगो अत्तर ठान्ने म यो बगिरहेको पसिना र अलमलिंदै बगिरहेको बागमतीमा खासै फरक देख्न छाडेको छु ।
महिनाभरि रगतलाई श्रममा पोतेर म आफ्नो अनुहार नियाल्ने गर्छु जिन्दगीको फ्रेममा । त्यहाँ आफ्नै चित्र सधैँजसो केही अपूर्ण देख्छु । कि त चोसो नमिलेको चित्र बन्छ । कि त छिटा रङले कतै न कतै फोहोर पारेको हुन्छ । त्यो एक थोप्लो छिटालाई ‘सेक्सी कोठी’ भनेर मक्ख पर्न पनि सक्दिनँ । खुसी हुने नाममा ‘फेसन शो’ कहाँ हो र जिन्दगी !
सबैले खान्छन् जागिर । जागिर नरुच्ने र नपच्नेले आफ्नै उद्यम र व्यवसाय थालेर मालिक बन्छन् । आफ्नै उद्यम थाल्ने जुक्ति र शक्ति नहुँदा मैले पनि धेरैले जस्तो जागिर नै खाएँ । अखाद्य फल पनि थिएन यो, नखाएर बस्नलाई । यस्सै सुरक्षित हुनलाई भविष्य कतै र कसैबाट ‘स्पोन्सर्ड’ थिएन पनि । लगानी र सम्पत्तिको नाममा भएको एउटा ज्यानलाई पसले बनाएँ र थालेँ जागिरको मादक पसल ।