जिन्दगी धेरै अर्थमा अठोट बिनाकै काम सम्पन्न हुने एउटा अध्याय रहेछ। जस्तो कि 'विरसबाबु' नामलाई लेखिनुपर्ने त्यस्तो खास रूपमा कहिल्यै तौलिएको होइन। आज कसरी उसको वजन ममा गह्रौं भएर छायो र तौल-ट्याग स्वरूप केही हरफ उसको उदास अनुहारले मबाट खोसेरै लग्ने भएछ।
विरसबाबुको जन्मकथा म जान्दिनँ। खोइ उसकी आमा? उसलाई 'आमा' भन्ने सम्बोधनमा जिब्रो उठाउने जरुरत छैन। आमा-छोरा एकबेला सँगै थिए। छोरा संसारको बजारमा हरायो, आमा संसारबाटै हराइन्। विरसकी आमा भगवान् भइदिइन्।
पारिवारिक हिसाबकिताब निकाल्छ ऊ। एक-दुई थान दाजु छन्। बाउसँग पुत्रप्रेम केही मात्रामा छ। तर ... - तर, के? तर फेरि पनि आमाकै गरिबीले उसको आँखामा बादल लाग्छ।
बरु मातातीर्थ औंसीको एक दिन ऊ आमाविहीन संसार स्वीकार गर्ला, नत्र तीन सय ६४ टुक्रा कलेजी त सदा उसकै भाग हो।
जन्मकथाभन्दा उसको जीवनव्यथा वर्णनीय छन्। तर वर्णन गरी साध्य छैन! मान्छेका व्यथा देख्न पावरग्लास चाहिन्न। उसको सुखबारे विश्लेषण गर्ने, भो म त्यो संकट चाहिं नबेहोरूँ क्यार!
उसको बोलीमा चिनी चाख्नु जो कसैको सौभाग्य हुन जान्छ। तर्कमा ऊ पहलमान नै हो। कोही तम्सियो कि पछारिहाल्छ। ऊसँग भिड्ने फुर्सदमा मैले आफूलाई कहिल्यै पुर्याइनँ। एक-अर्काको इज्जतमै हामी व्यस्त रह्यौं सायद।
पूर्वी नेपालको कर्मयात्रामा कहिले मोरङ, कहिले उदयपुर उसको बाटो हो। साँच्चि, उसका कतिवटा खुट्टा छन्?
प्रेमको मामिलामा ऊ पक्का छ। नौ बजेको चुम्बनलाई ऊ साइतमै शुभलाभ गर्ने सामर्थ्य राख्छ।
'अहो, मेनुका कसरी भुल्न सक्छु त्यो पहिलो प्रेम!', विरस बेला-बेलाको मित्रभेटमा रोमान्टिक भावमा गुडुल्किन्छ। उसकी प्रथम मायालु मेनुका, अहिले उही नै छैन। कत्रो विस्मात् छ जिन्दगी! त्यही ज्वरोले बहुलाउँदा ऊ यसो गजल रचनाहुँदी 'मेनुप्रिया' नाममा आफ्नो प्रेमीरूप झुल्काउन पनि पछि पर्दैन। कविता लेख्दा 'स्वघोषित सहिद' उसको आत्मीय पहिचान।
जीवनमा विविधताको रङ छ। जसमा रंगिने क्रममा ऊ अनेक बहाना पिस्ने गर्छ। मसला त त्यसै पनि भइएकै हो विविध परिबन्दको सिलौटामा!
सधैं लाग्छ- उसको जराजरामा पसिसकेको छु, अब जान्नु के छ? तर, विरस रहस्यको अथाह समुद्र हो। जति गोता लगायो, छिचोल्न त्यति नै बाँकी। अरुले नामको अगाडि डाक्टरको फुर्को जोडेर विशेषज्ञता र बौद्धिकतामा चमत्कार गरिसके, आफू चाहिं 'बिरामी' फुर्को जोड्न मात्रै बाँकी छ उसले । बिरामी त सधैंको हुँदै हो। वाणिज्यशास्त्रको पढाइले उसको जीवनले व्यवस्थापन कसरी पाउला?
भन्थ्यो- राजधानीमा जीवन साँच्चै ओखर रहेछ।
उदयपुरको भूमि। एकदिन अनायासै ऊ मेरो जीवनमा देखा पर्यो। चर्चा उसको पहिल्यैदेखि चल्दै आएको थियो। 'सन्ध्या' साहित्यिक पत्रिका प्रकाशनको सिलसिलामा आमनेसामने हुन्छौं। हेर्छु उसलाई- गर्धनसम्म लर्किन आइपुग्ने उसको झ्यापुल्ले कपाल छ। पहिरन उस्तै अल्लारे पाराको। धत्, के छ यसमा प्रतिभाको पाटो? मनैमन आफैंलाई खिन्नताले हिर्काउँछु। तर जब बोल्न थाल्छ ऊ, मक्ख पार्दै जान्छ र प्रवेश गर्छ एउटा आत्मीय अनुहारसहित। त्यसअघि पनि एउटा कविता प्रतियोगितामा पहिलो जम्काभेट सम्झिन्छु ऊसँगको।
मनीब्यागमा उसको पैसा कति हुन्छ, मैले कहिल्यै गनेको छुैन। हुन पनि पैसाभन्दा उसले त्यहाँ अनुहारहरू पट्याएर साँच्ने रहेछ। फुर्सदमा सम्झनाका लागि खर्च हुने पलहरू। एकदिन आत्मीय जमघटमा एक-आपसको प्रेमिकाको बारेमा सोधखोज चल्छ। म लुकाउँछु। एक समय 'अविदित ऐंसेलु' नाममा कलम चलाउने भीमेन्द्र खड्का ऐंसेलु झैं डल्लो पर्छ।
त्यस्तैमा विरसबाबु उदारतासाथ आफ्नो मनीब्याग खोतलेर फटाफट तस्वीरहरु हामीसामु बिछ्याउँछ, भावुक मुद्रामा। एक-एक गरी विवरण पेश गर्छ- यो मेरी प्रथम प्रेम, यो दोस्री मायालु, ... ... र यो तेस्री ... ...'
हामी दंग! थान-थान नारीरूपमा उसका प्रेम खोजिरहन्छौं। ऊ यतिबेला भावुकता पन्छाएर कुतकुतिंदै खुम्चिन्छ।
उसको मंगोलियन लाम्चो अनुहार, केही चिम्सा आँखा, फुंग उडेका पातला लामा कपाल, पहलमानको भव्य ज्यान। देख्दा लाग्छ- अहो क्या गुन्डा र दादा आकृति!
तर खोज्नुपर्छ, सिर्जनशीलताको नमुनामा ऊ उर्वर भूमि हो, केही न केही उब्जाइरहन्छ।
यति धेरै सिर्जनशीलताको खानीमा आफू के हो, आफैं अन्योलमा छ ऊ। शक्तिशाली हनुमान आफ्नो तागतबारे बेखबर भए जस्तो! कविताकृतिको पाण्डुलिपि 'चिहानको देशमा' तयार पारेको छ। ज्या है, पैसा छाप्ने मेसिन त ऊसँग छैन। कत्रो हत्ते! ऊ कुनैबेला भुराभुरीलाई कालोपाटीको सहारामा पाठ घोकाउँथ्यो। आज संघर्षको पाठ घोक्न कहिले नाट्यकर्म र कहिले साहित्यकर्मको स्वयंसेवा बाटो छ। यसले 'घरसेवा' चल्छ कि? ऊ बुद्धू बनिदिन्छ।
गुरुकुलको डाँडा, सुनील पोखरेल। सांस्कृतिक संस्थानको उजाड कोठा, वीरेन्द्र हमाल। प्रज्ञा डबली र कृष्ण साह यात्री। विरसबाबु शाही कहाँ-के मा मिल्छ होला? जोडा मिलाऊ अभ्यास गरिरहेछ ऊ। जोडा मिलाउने रनाहामा जति नै दौडिए पनि जीवनसँगको सम्बन्धमा ऊ सधैं अलमोस्ट सिंगल! धेरै भयो ऊसँग नभेटेको। समस्यादेखि नभाग्ने ऊ साथीहरूबाट तर्किन थालेपछि के लाग्छ?
उमेरमा ऊ मेरो दाइ। तर, समानान्तरमा हामी दुईको यात्रा कस्तो छ भने ऊ जस्तै प्रेममा असफल म र बेटुंगोको जीवनक्रम। कविहृदय जस्तो संवेदनशील अवस्थामा रहनु सानो चोटमा पनि कति पीडादायी कुरा हुन्छ, ऊ यस्तो पीडाको नियमित उपभोक्ता हो। त्यसैले गोरेटोहरूमा बग्दै गर्दा असंख्य ढुंगाहरूदेखि बच्न ऊ बडो होशियार बन्छ। तर बिचरोको के लाग्छ, ढुंगाहरू नै आफैं गुडुल्किँदै उसका पैताला चुम्न आइपुग्छन्। आह्, कति चरम चुम्बन!
नयाँ-नयाँ प्रयोगको सदा ऊ प्यासी नै हो। यस मानेमा यथास्थितिवादको कडा शत्रुकै रूपमा प्रस्तुत हुन्छ ऊ। हाँसोको यात्रामा आफ्नो मंगोल आँखा ट्याप्प बन्द गरेरै सामेल हुन्छ, मानौं ध्यानको गहिराइमा पसेको होस्। आक्रोशको बेला निधार चाउरिन्छ, ओठ बटारिन्छ र त्यहाँ विरसबाबु आफ्नो 'शाही स्वरूप' मा पेश हुन्छ।
भेटघाट बन्द भएको निकै अन्तरालमा सुन्छु- विरसले बिहे गर्यो रे! विरस पारिवारिक तानाबानामा हरायो रे! विरसले सबै साथीभाइसँगको सम्पर्क सेतु नै तोड्यो रे! नरम मुटु र माटोको कुरा गर्ने ऊ कुनै डेन्टल हस्पिटलसँग आबद्ध भई काम गर्दै छ रे!
यी तमाम 'रे' का कुरामा पुरिएर एउटा हितैषी चेहरा धूमिल भइरहेछ।
भन्थ्यो एक भेटमा, केही वर्षअघिको कुरा- 'यार धाइबा, काठमाडौंमा जब म आउँछु, तब हाम्रो साहित्यिक सक्रियताले चराकै उडान लिनेछ।'
ऊ काठमाडौं आयो। उसले थाहा पायो। मैले थाहा पाएँ। खै, काठमाडौंले त उसको हिसाब राख्नै भुलेछ। साहित्यिक सक्रियता पनि चलिरहृयो। तर अरुहरूको। उसको चाहिं राजधानीमा जिन्दगीको पसल चलाउने प्रयासमा नमस्कारको हात चल्यो वरिष्ठ कुर्सीअघि। कविता उसले नलेखेको होइन। पछिल्लो समयमा भूपीको सोझो प्रभावबाट हटेर मौलिक बन्दै थियो। र, नेपाली साहित्यको के कुरा? एउटा कविता लेखेर १० वर्षपछि काव्य आन्दोलनको गफ हाँक्दा धुरन्धर साहित्यिक योद्धा भइने यहाँ उसले कविताको सस्तो टुपी समाइरहन सकेन। अहिले कविता उसकी बूढी श्रीमती। पहिला त ऊ नाटककै बैंसालु रङमा रम्छ। आफ्नै लेखन र निर्देशनमा नाटक 'त्यो सपना यो देशलाई' विरसले मञ्चन गरिछाड्यो।
सोच्दो हो ऊ आफू चाहिं- मेरो सपना खै कुन लाशघरमा?
1 Comments
निशब्द
ReplyDelete