‘जनताबाट लिएर जनतामा देऊ’ भन्ने माओ-वाणी यिनले पक्कै बुझेका छन् । सामान्य अवस्थामा पनि महिनाको एक पटक आफ्नो गृहजिल्ला गोरखा पुग्ने हुटहुटी भट्टराईमा त्यही वाणीले भरेको हुनुपर्छ । तर अब गोरखा जाने फुर्सद कत्तिको पाउलान् उनले, गोरखामा मात्रै सीमित नभई समग्र मुलुकको कित्ता-कित्तामा नजर पुर्याउनुपर्ने दुरबीन यिनको हातमा आइपरेको छ । योग्य र राम्रा मान्छेले अवसर पाउनुपर्छ, बाबुराम त्यही लिकमा उभिएका छन् । तर राम्रो र प्रभावकारी काम गर्ने उनको चाहनासँगै काम गर्न दिने वातावरण पनि आवश्यक हुन्छ । नत्र दौडमा भाग लिएको धावकलाई छिर्के हान्ने लुते प्रतिस्पर्धी त जुनसुकै मैदानमा हुन्छन् । राजनीति झन् कति घिनलाग्दो खेलमैदान हो,व्याख्या गर्नु पर्दैन । यस्तो मैदानको सरसफाइमा बाबुरामको पाइला असरदार बनोस्, यही कामना छ ।
Where words smile ...
August 31, 2011
भ्यागुता जस्तै उफ्रिएर
‘जनताबाट लिएर जनतामा देऊ’ भन्ने माओ-वाणी यिनले पक्कै बुझेका छन् । सामान्य अवस्थामा पनि महिनाको एक पटक आफ्नो गृहजिल्ला गोरखा पुग्ने हुटहुटी भट्टराईमा त्यही वाणीले भरेको हुनुपर्छ । तर अब गोरखा जाने फुर्सद कत्तिको पाउलान् उनले, गोरखामा मात्रै सीमित नभई समग्र मुलुकको कित्ता-कित्तामा नजर पुर्याउनुपर्ने दुरबीन यिनको हातमा आइपरेको छ । योग्य र राम्रा मान्छेले अवसर पाउनुपर्छ, बाबुराम त्यही लिकमा उभिएका छन् । तर राम्रो र प्रभावकारी काम गर्ने उनको चाहनासँगै काम गर्न दिने वातावरण पनि आवश्यक हुन्छ । नत्र दौडमा भाग लिएको धावकलाई छिर्के हान्ने लुते प्रतिस्पर्धी त जुनसुकै मैदानमा हुन्छन् । राजनीति झन् कति घिनलाग्दो खेलमैदान हो,व्याख्या गर्नु पर्दैन । यस्तो मैदानको सरसफाइमा बाबुरामको पाइला असरदार बनोस्, यही कामना छ ।
August 26, 2011
... फलानोलाई !
छातीको आरनभित्र नअटाएर
खोइ कहाँ पो फाल हानेर गयो
घोट्नु थियो चकमक जस्तै
आफ्नो एक थान सादा कलेजी
बेपत्ता नागरिक झैं,
नदेखिने ईश्वर र गुपचुप तस्कर झैं
यस्तो ऐजन ऐजन भएछ आज माया
त्यहाँ
कचौरा-कचौरा
खडेरी छ
जामाचो गुम्बाको सेरोफेरो
ठाडो उकालो अढाइ घन्टा पैदल छिचोलेर गुम्बामा पुगिसकेपछि हामीलाई फर्किन हतार भइसकेको थियो । दिन ढल्दै गएर पश्चिम क्षितिजलाई सिरानी हाल्ने तर्खरमा थियो । त्यसमाथि गेटमा रहेका सैनिक र प्रहरीहरूले साँझ पाँच बजेसम्ममा तल झरिसक्न उर्दी जारी गरेका थिए ।
शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत नागार्जुन सेक्टरको फूलबारी गेटबाट हामी जामाचो गुम्बा ताकेर उक्लिँदैछौं । पहिले कहिल्यै नआएको ठाउँ, बाटो के-कस्तो र कति कठिन भन्ने केही थाहा छैन । घुमघामको गन्तव्य बनाएको गुम्बा पनि कति महत्त्वपूर्ण र मनमोहक भन्ने समेत जानकारी छैन । घुम्नु छ, यत्तिकै हिँडिदिएका छौं । यात्राको रमाइलो भन्नु पनि यही नै हो जस्तो लाग्छ, आँखा चिम्लिएर आफूलाई बगाइदेऊ – ओम् स्वाहा !!
बालाजुबाट ओशो तपोवन र ककनीतिर जाने बाटोमा छ फूलबारी गेट, बालाजुदेखि नजिकै । नागार्जुन जंगलभित्र छिर्नुअघि गेटमा पहरा दिइरहेका सैनिक र प्रहरीसँग एकछिन भलाकुसारी गरियो । सुनसान जंगल भएकोले सुरक्षाको हिसाबले चाँडै आइपुग्नू भनेर समय तोकेका रहेछन् उनीहरूले । तर उनीहरूकै नियन्त्रणमा रहेको जंगलमा खतरा कुन कुराको ? त्यसमाथि त्यहाँ तैनाथ सुरक्षाकर्मीको अनुमति नलिईकन जोसुकै छिर्न नपाउने त्यस क्षेत्रमा कसको डर ? उन्मुक्त छाती फैलाएर हिँडेका हामी फिरन्तेलाई यस्तो कुनैपनि सीमा र बन्धन मन पर्दैन, चाहे त्यो हाम्रै भलाइको लागि निर्धारण गरिएको होस् । साँझ पाँच बजे जसरी पनि तल झरिसक्नु भन्ने उर्दीले हामीलाई पनि चिडचिडाहट पैदा गर्यो । तर केही कारण भएर त भनेका होलान् भनेर फटाफट पुगौं, फटाफट फर्कौं भनेर प्रतिजन १० रुपैयाँको टिकट काटेर उकालो खुड्किलो गन्न थालियो ।
August 20, 2011
सम्बन्ध र मौसम बदली
- “आजकाल किन चुपचाप हुनुहुन्छ ?
चाड मनाउनु भयो त ?”
एक समय थियो, उनको लेखिका मुहारसँग भर्खर सीधासीधी परिचय बन्न पुगेको थियो मेरो । र, त्यो पनि कुनै मध्यस्थकर्ताको सहाराले । उनको औपन्यासिक कृति बजारमा छाएर चलेको गर्मागर्मी देखेर निक्कै अन्तरालमा म कायल बनेथेँ । तर कस्तो भने, पुस्तक-कृतिभन्दा अघि नै उनको मुहार-कृति सामुन्नेमा आइदियो । नतिजा, बल्ल मेरी पाठकीय भोक उनैको कृति खोज्दै बुक सपसामु प्रकट भएथ्यो । त्यसपछि म चुप बस्न सकिनँ, एकै बसाइमा आद्योपान्त उधिनेँ त्यो औपन्यासिक डायरी । अर्थात् उपन्यास कृति- वल्लीको डायरी । पढाइको संयोग खुब जमेथ्यो त्यसबेला । लेखिका र पाठकलाई एक्कैचोटि न्याय भएथ्यो सायद ।
बीचमा उनी अखबारी लेखनमा आक्कलझुक्कल उपस्थित हुन्थिन् र कहिले भने डेरा सरेर लठिभद्र हाल टुङ्ग्याउँदैछु भन्ने खबर दिन्छिन् । कहिले आफैं खबरदाता बनेर कुनै टेलिभिजनमा झुल्किन्छिन् । सबै आँगन कहाँ फाप्छ र मान्छेलाई, कहिले त चौकुना आँगनले लखेटेरै कायल पार्छ र अर्को-अर्को विकल्पको खाता खोल्न परीक्षामा उभ्याउँछ । उनै मनीषा गौचन निकैबेर समयको नेटोमा निलिएर बसिन् र आज मौनता तोड्दै अकस्मात् देखा परी उल्टै सोध्छिन्- 'आजकाल किन चुपचाप हुनुहन्छ ?'
August 15, 2011
गाईजात्रा : दुई जोडा च्वास्स !!
पृथ्वीमा चाहिं के लोप हुने हो फेरि
प्लटिङ गरिसकियो यता सबै जमिन,
चन्द्रमातिर भाग लाउने हो कि घडेरी !
गरिबी, विभेद र बेरोजगारी
एक घर एक सभासद् भए
ढुक्कको सामाजिक रखबारी !
म चुम्बक भएर नजोडिने कुरै भएन
अर्को ध्रुवको चुम्बक भेटिए
ज्यान त्यतै नमोडिने कुरै भएन ।
सभासद्की छोरी झन् मापाकी होली
संविधानसभाको म्याद सारे जस्तै
भन्ली सुहागरात भोलि ! भोलि !!
------------------------------------------------
गाईजात्राको अवसरमा सबैलाई शुभ कामना ।
August 13, 2011
अस्पतालको घनचक्कर
‘पैसाको काल – अस्पताल !’
अन्नपूर्ण पोस्ट दैनिकमा जतिबेला व्यङ्ग्य स्तम्भ लेख्थेँ, स्वामी रामदेवलाई पत्र भन्ने एउटा लेखमा नेपालका ‘रोगी अस्पताल’का थलिएको चालाबारे झाँको झार्ने प्रयास गरेथेँ । हुनत ती स्तम्भलेखहरूमा मेरो कोठे गफकै भरमार चल्थ्यो, न वस्तुगत अध्ययन, न यथार्थ तथ्याङ्क र न त कुनै स्थलगत अनुसन्धान नै ! समसामयिक राजनीतिक र सामाजिक परिवेशमा जे-जस्तो हुन्डरी चलेको छ, त्यसमै छेडखानी गर्न विषयवस्तु पर्याप्त हुन्थ्यो ।
“ चितवनको भरतपुर क्यान्सर अस्पतालमा नयाँ ‘लीला’ भएछ । अस्पतालको यस्तो लीलामध्ये कतिपयमा बिरामीको इहलीला छिनमै समाप्त हुन्छ । भरतपुरमा चाहिं, एक महिलाको घाँटीको अपरेशन गर्नुपर्नेमा पाठेघर निकालेर फालिएछ । चिकित्सा पद्धतिले उपचारको नयाँ शैली त पत्ता लगाएको होइन होला ! पाठेघर निकाल्दा घाँटीको रोग कसरी निको होला !? ”
सेवाभन्दा पैसामुखी हुँदैगएका अस्पताल र त्यहाँका डक्टरहरूको जूका प्रवृत्तिले सर्वसाधारणहरूलाई कसरी डसेको छ र ती निर्धाहरूको मनस्थिति आधुनिक चिकित्साशास्त्रबाटै कसरी विकर्षण हुँदैछ भन्ने झलक उतारेको थिएँ त्यो व्यङ्ग्यात्मक पत्रमा । लेखमा कतिपय प्रसङ्गमा काल्पनिकताको प्रचुरता र अतिशयोक्ति पनि भयो होला, तर नेपालको चिकित्सा सेवामा अझै पनि जनसाधारणको सहज पहुँच बन्न सकेको छैन । भव्य अस्पतालको ‘पसल’भित्र एकोहोरो व्यावसायिकताको पखेटा फिँजाउँदैछ चिकित्सा क्षेत्रले । कर्णालीमा चामल लिनका लागि लाइन लागे जस्तै जहाँ पैसाको मुठो लिएर पंक्तिबद्ध भए पनि सही उपचार पाउने ग्यारेन्टी हुन्न ।
August 6, 2011
बल्छी #NotPoem
मणि हराएको सर्प जस्तो
कसले च्यात्यो सात चिरा इन्द्रेणी,
निराशा आफैं चकित पर्ने गरी
यो नौजवान
जिन्दगीको लमतन्न सडकमा
आमाले कति बालिन् होला दीर्घायुको बाती
यता आफ्नो छाती भने
मैं हराएको हुँ कि
म जस्तो जवान सपना हराएको हो,
खोजिरहन्छु सहरको बगरमा
धुलोका कणहरूसँगै उडिरहन्छु ।
थाप्नुपर्छ रे जिन्दगीमा बल्छी
जोहो गर्नुपर्छ रे सक्दो धेरै सिकार
हेर्छु पृथ्वीको कुण्डमा -
चिन्तन होइन चिन्ताको बल्छीमा
(Photo : Kalpana Rai)
August 5, 2011
आरुघाटको उज्यालो
गत वर्ष जनवरीको जाडो याममा अझ सिरेटो खोज्दै गोरखा जिल्लाको ग्रामीण भेगतिर पुगिएको थियो । व्यस्ततालाई क्रमभङ्ग गरेर यसो बेलामौकामा आफूलाई नचियाए जिउनुको सार के हुन्छ र भन्ने लाग्छ । हामी नेपालीहरूमा पनि पछिल्लो समयमा घुमफिर गर्नुपर्छ भन्ने सोच जाग्दैछ, आफैंलाई ताजगी तुल्याउन र मुलुकको साथै जनजीविका बुझ्न । सिङ्गापुरदेखि थाइल्यान्ड टुरसम्मको योजना बनाउने कति नेपालीहरूलाई नेपालभित्रकै घुम्न लायक ठाउँबारे थाहा छैन । थाहा भए पनि ती ठाउँ तिनलाई उस्तो चिज लाग्दैन । घुम्नु कुनै बेलामा समय र पैसाको बर्बादी मान्थे नेपालीहरू । अझै पनि कतिपयलाई यस्तै लाग्दो हो । तर घुमघामबाट बटुलिने ज्ञान र आनन्द कुनै बन्द कोठामा पुस्तक पढेर, टेलिभिजन र सिनेमा हेरर पाउन सकिंदैन । त्यस्तै सोचले कर्मयोगलाई थाती राखेर उतिबेला तीर्थाटनमा निस्किएका थियौं ५-६ जनाको टोली । त्यही यात्राको सम्झना उतार्दैछु :-
टाढैबाट आँखा तान्ने हिमटाँकुरामुनि थुम्को बस्ती । गोरखा बजार पुग्दा चराहरू गुँड पस्ने साइतमा थिए । साँझपख मान्छेहरू पनि सामसुम्म हुने तर्खरमा लागेका बेला हामी भने बजारदेखि चुचुरोमा रहेको गोरखा दरबार पुग्ने हतारमा होमिएका छौँ । बेसार झैं पहेंलिएको सूर्यास्तबेलाको किरणमा गोरखा निन्याउरो मुख लाएको जोगी जस्तो देखियो ।
बल्ल जुरेको घुमघामको मेसो, त्यसमा पनि गोर्खाली साथीबाटै पाएको निम्तो । यसैले पनि ६ जनाको टोलीमा यात्राभरिको बोझ उनै जिल्लाबासी यदुकिशोरमा पर्ने निश्चित छ । गोरखा जिल्लाकै भित्री गाउँ आरुपोखरीमा रहेकी नवविवाहिता पत्नीसँग भेट्ने उनको व्यग्रता आफ्नै ठाउँमा होला, अहिलेलाई पाँच साथीहरूको लर्कोले उसको होश कब्जा गरेको छ । आरुघाट र आरुपोखरी पुग्ने भोक यतिखेर भने गोरखा दरबारको थुम्को चुम्ने ध्याउन्नमा एकत्रित छ । भोककै कुरा गर्दा, काठमाडौँबाट गुड्दै आउँदा पोखरा र गोरखातर्फ फाट्ने तनहुँको आँबुखैरेनीमा खाएको खाजाले थेगेकै छ ।