केही गुमाउनु र केही पाउनुहरूझट्टै हराउनु र फेरि आउनुहरू ।
अन्त्यानुप्रासमा सर्लक्क मिलेका हाम्रा यी- 'हरू' कर्म र कर्तुत ।
यी थुप्रै हरूमध्ये यतिबेला चाहिँ मलाई मेरै एकवचन कथाको पेटारो खोल्न हतार छ ।
हुन त कसैले सोधेको छैन, किन हराएको भनेर ? (नसोधिनु आफैँमा पनि यतिन्जेल मेरो बचाउको रक्षाकवच छँदै थियो) ;) तैपनि भन्न मन लागेको छ हराउनु र आउनुभित्रका यावत् कथा-व्यथा । अचम्म पनि लाग्दैछ, सोधाइबिना जवाफको बटुलो लिएर एकाएक आउने म संसारको प्रथम प्राणी त बनिनँ ? र पनि खोइ कुन अनुभूतिको पहाडमा उचालिएर हो, म आफ्नै आकाशमा प्रश्नको बादल-गुम्फन बनेँ, र आफ्नै आकाशमा यतिखेर उत्तरको बतास-ताजगी लिएर हलुका हुन खोज्दैछु । के त उसोभए प्रश्नोत्तरी खेलमै पूर्ण हुने रहेछ सृष्टिको लीला !? लीला अपरम्पार !
फुर्सदी मान्छे कुनै काममा अल्झिएपछि केही समय माकुरेजालमा फसेको माखोसमान हुँदो रहेछ । ठीक त्यस्तै नियति मेरो भयो पछिल्लो समय । फुर्सदको बेला जे-जे कुरामा मनमौजी समयको टिकट च्यात्दै बस्यो, व्यस्तताको काँडेतारमा उनिएपछि समयको त्यो च्यातिने टिकटलाई जोड्दै-जोड्दै लैजानुपर्ने हत्तेको अभ्यासमा रत्तिनुपर्ने रहेछ । एक समय थियो, व्यस्त कामकाजी दुनियाँबाट फुर्सदको दुनियाँमा 'फर्किनुपर्दा' म पागल झैँ बनेथेँ । यो 'पर्ने' कुरा आफ्नो हातमा नहुनु पनि ठूलो लीला हो ।
अँ त, म काममा फर्किएँ । एउटा नियमित रूटिन, नुनको सोझो बन्ने 'भान्सा', जिम्मेवारीमा बाँधिएको प्रहर … जे भन्नुस् । त्यसअघि एउटा मासिक म्यागेजिनमा काम गर्थेँ, (अहिले पनि गर्दैछु) तर पेटको दमाहा त्यसले नबज्ने, साथीभाइसँग बसिबियाँलो र आत्मीयताको सहयात्रामा त्यो एउटा मनखुसी काम थियो, निरन्तरता दिएँ । पत्रकारिताको नशा उतार्ने भूत सवार भएपछि कोठामा कैद भएर बसिरहूँ भने पनि त नहुने, मन नमान्ने । अलिअलि दैनिक र मासिक पत्रिकाहरूतिर बेलाबेला रचनात्मक बिस्कुन छर्थेँ, र बटुल्न पाएको थोरतिनो पारिश्रमिकले कुनै असम्भव युद्ध जिते झैँ उत्सव मनाउथेँ । पत्रपत्रिकामा पढेर मान्छेहरूले मलाई चिन्थे, तर अस्तित्वको लडाइँमा मैले सम्मानजनक रूपमा मैँलाई चिन्न सक्ने अवस्थामा तैनाथ गराउन बाँकी नै थियो । मानौँ, म त दौडिरहने तर कतै नपुगिने र डेग नचल्ने चिप्लेटी म्याराथन-सतहमा थिएँ ।
र अहिले म पाइला बग्ने त्यो गोरेटो पैल्याउने प्रथम मोडमा छु भन्ने सोच्दैछु । यति निजी कुरा यो ब्लगमा लेख्दा यस्तो लाग्दैछ, मेरो आदिम प्रेम, जोसँग म नसाको हाँगाहाँगासम्म गाँसिएको छु, उसैलाई सुनाउँदैछु मुटु टक्टक्याएर आफ्ना कुरा ।
जागिर खानु सबथोक होइन, जीवनको सम्पूर्णता होइन, तर नखानु जीवनको अपूर्णता त रहेछ । यति मैले भोगेको सत्य । कोही स्वरोजगार गर्छन्, उद्यमशीलताको अपूर्व नमूना बन्छन्, लघु व्यवसाय र घरेलु उद्योगबाट त्यस क्षेत्रमा सम्मानजनक परिचयसँगै अर्थलाभ गरेका छन् । मलाई भने बाजे-जीबाले नपैल्याएको नौलो काम गरेर नामको तृप्ति लुट्ने नशा र लोभ जाग्यो, र पसेँ अक्षरको खेतमा । पत्रकारिताको औपचारिक पढाइले कुत्कुत्यायो फेरि रहर र पेट दुवै हाँस्ने लेखनकै हरियालीतिर । यो हरियो फाँटमा मैले मेरो दुब्लो कायामा पनि अथाह भरिलोपन देखेँ, यसैले लोकसेवा पढ्ने पारिवारिक करकर एक कानले सुन्दै अर्कोले उडाएर आफ्नो पेसागत सोचबाट टसको मस भइनँ ।
केही समय भयो, तर युग भयो जस्तो लाग्दैछ ब्लगको दुनियाँबाट टाढिएको । जागिरे जीवनमा हेलिएसँगै मुहार पुस्टिए पनि मनमा भने चाउरीका पत्र खात लागिरह्यो ;) कतिखेर यो जागिरे उपद्रोबाट मौका मिलाएर ब्लगमा फैलिऊँ भन्ने सोचले आकुलव्याकुल बनाइरह्यो यस बीचमा । न आफ्नै ब्लग थपथाप गरेँ, न अरू साथीसङ्गीकै ब्लग जपजाप गरेँ । निमग्न म जागिरे हरिलट्ठक भएँ । पक्का तेल खाने मेसिन झैँ म जागिर खाने राष्ट्रिय जन्तु !
- समय छ्यालब्याल हुनु फुर्सदको जुम्राले तिरीमिरी खेलाउने महासङ्कट ।
- कामकाजी व्यस्ततामा च्यापिएर समय नहुनु बेफुर्दको जालोले गाँजेर मर्नु न गर्नुको उकुसमुकुस हालत ।
मुख्य कुरा हो- सन्तुलन मिलाउन सक्नु ।
फुर्सद र बेफुर्सदको बीचमै खेलिरहन सक्नु बच्ने उपाय हो ।
यही सूत्रमा रत्तिने प्रतिबद्धतापत्र हो मेरो यो हराउनु र आउनुको कथा ।
सुन्नेलाई सुनको माला …. ।
--------------------------------------------
* तस्बिर: एब्सेन्स एन्ड प्रेजेन्स.इन्फो