साँढेहरुको कथा आदिम छ लाग्छ- आदिकवि बाजेको बिर्के टोपीको रेखी नबुनिँदै साँढेहरुको छिप्पट सिङ तिखारिइसकेको थियो । सङ्ख्याको सातअघि जोडिन पुगेपछि साँढे सातको स्वरुपमा तसा्रउने साँढेले धन्न ७७ लाई छुन सकेन नत्र साँढे ७७ भइद्या भए झन् केके विधि महानतम उत्पात हुनेथ्यो होला ! तमाम साँढेहरुको बहुमतसँगै शनैःशनै समाजले साँढे सभ्यताको दिशा लिइरहेको प्रसङ्ग रातको जूनकीरीजत्तिकै छर्लङ्ग छ । बरु लहरे खोकीले झट्ट थामिने नाम लेला, साँढे सभ्यताको गति ज्यान जाला थामिँदैन । साँढे सभ्यताको सामु लुरेभुरे गाई र बाच्छाहरुको अबला गान घट्टमा पिसिने मकैका गेडीभित्र करकराउने घुनहरुको करुण क्रन्दनसमान हुन् ।
साँढेहरुले देशको किल्ला छेडेर वैदेशिक टावरसम्ममा हिमचिम बढाउने हुती राख्छन् । यस्तो साँढे हुतीअघि अन्य आम हुतीहरु चामले केशराशिमा सपक्क मिलेका चायाबराबर हुन् । साँढेहरुको आफ्नै रिवाज हुन्छ आफ्नै समाज हुन्छ साँढेहरु पनि बुट बजार्छन् तिनको आफ्नै कवाज हुन्छ । झन् नेपाली साँढेहरुको गौरवगाथा त कुनै शिलालेखमा अँटाएर बस्ने खालको सीमित र सामान्य गाथा हुँदै होइन । त्यो गाथालाई कुनै शिलालेखमा खिप्न खोजेमा त्यो ढुङ्गा नै विस्फोट हुनसक्छ । अतः स्वतः थाहा हुन्छ विस्फोटक गाथा सिर्जना गर्ने साँढेहरु स्वयम्मा विस्फोटक हुन् ।
साँढेहरुको संसारमा साँढेहरुको सरसङ्गत लुकामारी आहारविहार र यावत् गुणन-भागा साँढे समुदायभित्रै हुनेगर्छ भन्ने कुरा नौलो होइन । तर साँढेहरु पनि सम्झौता गर्छन् भन्ने जान्दा अनौठो लाग्ला । तर सम्झौता गर्ने भनेकै साँढेहरुकै मान्यता, लगनशीलता, जागरुकता, लिप्तता, ठेकेदारिता र उदारताभित्र पर्ने कुरा हुन् । यिनै अनेक'ता' हरुमा साँढे सम्झौता अँडिएको छ । साँढे बराबर सम्झौता भन्दा अन्यथा हुँदैन । तिनले गर्न सक्ने भनेकै यही सम्झौता नै हो भनिदिए अझ सुहाउँदो ।
साँढेले गर्ने सम्झौता काटीकुटी साँढेकै गुण प्रकृति र मत्याइलो मोहनी लिएर हुर्किन्छ । साँढेहरुले सिङबाटै सबै कुराको जोखाना हेर्छन् सिङबाटै विवाद गर्छन् संवाद गर्छन् । हुँदाहुँदा साँढेहरु सिङकै छुरी उध्याएर एक-आपसको पिठिउँमा पानको पात बनाएर मायाको भाषा साटासाट गर्छन् । शान्ति सम्झौतालाई रिमेक भर्सनमा साँढे सम्झौतामा रुपान्तर गर्नमा साँढेहरुलाई कुनै आइतबारको कुरो हुँदैन । साँढेहरुले आफूमा-अरुहरुमा साँढेपनकै खोजी गर्छन् र साँढेपनकै व्याख्या र अपव्याख्या गर्छन् ।
यस्ता साँढेहरु सम्झौतामा गतिशील हुन्छन् - दिनमा कोरिन्छन् रातमा मेटिन्छन् फेरि रातमा पानापाना सजाइन्छन् झिसमिसेमै धर्यातधुरुत पारिन्छन् । साँढेहरु सम्झौतामै सास फेर्छन् , कुल्ला गर्छन् , बकबक दोहोर् याउँछन्, चुम्मा साट्छन्, उपरखुट्टी लगाउँछन् । साँढे महाराज र महारानीहरुको आराधनामा शान्तिभूमिका बासिन्दा ती खुरहरुमुनि धुलो बनिरहन्छन्-बनिरहन्छन् ।
अब यी सबै साँढेहरुलाई गोरु बनाएर, हामीले अब जोत्नुपर्छ यिनिहरुलाई ।
ReplyDeleteपशुपति बाहन भएको भए केही काम लाग्थ्यो होला तर यी साँढेहरु को डुक्राइ को केही महत्व छैन । यी महत्ताहिन साँढेहरुलाई हामीले धेरै महत्व दिएर नै मात्तिएका हुन् ।
हो भन्या, यो बज्जे साँढे यस्तै हुन्छ । कस्तो जानेर लेख्नुभएछ । साह्रै चित्त बुझ्यो । लेखाई पनि त्यै बज्जे साँढेकै जियान जस्तो कसिलो लाग्यो ।
ReplyDelete(पहिलो प्रतिक्रिया डुक्रिने साँढे बनुँला भनेको त अर्को साँढे डुक्रिसकेछ बा!/रिसाउन नपाई है ख्याल गरेको ।)
साँढेको मिचाइमा पिल्सिएका बाच्छाहरुले अब नयाँ सोच र बिचारमा पछार्नु पर्छ अनि जोत्नु पनि पर्छ साढेलाई आकार जी ले भने झैँ।
ReplyDeleteपरिस्कृत व्यंग्य पूर्ण लेखको लागि धन्यबाद धाइबा जी ।
अन्तर्वार्तामा उत्तर दिने मान्छे आछु आछु हुन्छ प्रश्नकर्ता तगडा पर्यो भने । धाईवाजीको लेखले त यहाँ पाठकलाई नै आछु आछु पारिसक्यो । कस्तो परिष्कृत लेखाई हो !!! मोटामोटी कुरो बुझ्नलाई ३ चोटी पढ्नुपर्यो भन्या ।
ReplyDeleteगज्जवको व्यङ्ग्य साढेमार्फत...चित्त बुझ्यो..साह्रै चित्त बुझ्यो ।
अशेषको कुरोमा म पनि सहमत छु - 3 चोटि पढेर पनि पार नपाईने भन्या । अलि सजिलो पारामा धाइबाजीले यसो कलम घुमाउनु पर्यो । नत्र त हाम्रो कन्तबिजोग हुने भयो ।
ReplyDeleteधाईवाजी
ReplyDeleteसाह्रै मार्मिक र यथार्थ लेख लेख्नु भयो। झटारो पनि बेस्करी लाग्यो। सुन्तला र नास्पतीको रुखमा हानेको भए एक दुईवटा झर्न पनि सक्थ्यो होला तर साढेँहरुको के नै झर्छ र। बस साढेँ बन्नमै रमाईरहेका साढेँहरु वास्तबमै साढेँ भईरहेका छन् त्यो पनि छोडिएको साढेँ, र साढेँलाई अरु पृथकरुममा बुझ्न र बनाउन खोजियो भने पनि गलत हुन सक्छ।
सारमा तपाईले भने जस्तो : "साँढेहरु सम्झौतामै सास फेर्छन् , कुल्ला गर्छन् , बकबक दोहोर् याउँछन्, चुम्मा साट्छन्, उपरखुट्टी लगाउँछन् । साँढे महाराज र महारानीहरुको आराधनामा शान्तिभूमिका बासिन्दा ती खुरहरुमुनि धुलो बनिरहन्छन्-बनिरहन्छन् । "
सही कुरा !!!साढेँमात्र हैन साढेँवादको सहि चित्रण!!! वाह धाईवाजी वाह!!!
लेख जति उत्कृष्ट साथीहरुको कमेण्ट पनि त्यत्तीकै रोचक लाग्यो । मलाई भने यो साँढे पुराँड पढिरहँदा दुईवटा उखानहरु याद आए । यि उखानमा यो समस्याको जड र समस्याको अन्त दुबै छन जस्तो लाग्छ ।
ReplyDeleteपहिला एउटा अमेरिकन उखान :
The end of an ox is beef, and the end of a lie is grief
तर साँढेका पछिलाग्नेहरुले तलको जापानिज उखान बुझेपछि मात्रै यो यो सम्भव हुन सक्छ :
It is better to be the head of chicken than the rear end of an ox
अति मन छुने! हाम्रो तितो यथार्थको कलात्मक वर्णन! तिखो ब्यंग्यले छोपेर हाम्रो गहिरो पिडालाई देखाउनुभएको छ धाइबाजीले।
ReplyDeleteयस्ता साँढेहरु सम्झौतामा गतिशील हुन्छन् ...अब यस्ता साढेहरुलाई त्यतिकै छाडा छोड्ने कुरा पनि भएन, गोरु बनाएर जोत्दा पनि खेतबारी भत्काउने प्रबल सम्भावना भएकोले अत्यन्त सतर्कता अपनाउनु पर्ने देखिन्छ ।
ReplyDelete