यी कीरा जस्ता स्याउँस्याउँती मान्छेहरू के पकाउन यसरी झुत्ती खेलेर लाम लागेका हँ?

सडकमा धूवाँको मुस्लो र मनभरिको तुवाँलो फ्युजन भएर लामो धर्सो रेखी बन्छ - झ्याउलाग्दो!

एकजना दाइले भन्थे- सडकछेउ उभिएर हेर्नू सडकमा चिप्लेकीरा जस्तै हस्याङफस्याङ गर्दै चिप्लिरहेका मोटर र मानिसहरूको लस्करलाई । कहाँ के पाउन गइरहेछ यत्रो लस्कर अचम्म लाग्छ । सबैको आ-आफ्नै ध्याउन्न आ-आफ्नै गुनगुन । आफैंलाई पनि त्यही भीडमा मिसाएर हेर्दा अनौठो बाछिटाले चुट्छ । अस्तित्वको महानतम भेंडीगोठ जस्तो लाग्छ सांसारिक डल्लो।

धेरै कुरा लाग्न थालेको छ अचेल । त्यसो त नलागेका कुरा पनि धेरै छन् । तर कस्तो भने लागेका कुराले ती नलागेका कुराको जुलुसलाई छपक्कै ढाक्दा रहेछन्।

सबै उत्तेजना र उम्लाइ ओर्लिएर रुखमा अन्तिम थोपा पानीमा बाँकी बचेको हिमआँधी झैं भएको छ मन । यस कारण मनग्य छन् शिथिलताका ढुसीहरू ज्यानको हाँगाभरि।

लाग्न थालेको छ - हरियालीको तह खुइलिँदो छ उमेरको जङ्गलबाट।

लाग्न थालेको छ - उप्किएर प्लास्टरयुक्त तह त्यसमा हतारहरुको लेप थुप्रिँदो छ।

लाग्न थालेको छ - प्रेमिल थर्मोमिटरको तापक्रम ओरालीमा सुरेली खेल्दो छ।

हुस्सुदार धमिलो बिहानी । मन्द सडकको जाना-पहिचाना मोड । उफ्, नयाँपनको खोजीमा झिम्किने परेली थाकेर खुत्रुक्क बन्छन् । अफिसमा घुस्छु र लिफ्ट उक्लिन्छु, थाहा पाउँछु : तापक्रम १४-१५ डिग्रीमा मात्रै त झरेको छ । र पनि के साह्रो चिल्ने जाडो ! तैपनि बस्नु छ गुम्म कोठामा । समाचार शाखाको कामकाजी कक्ष तर आपैष सबै परिदृश्यबाट वञ्चित छ कोही घाम लागेको पत्तो लाग्छ न केही कुराको चहलपहल यहाँबाट देखिन्छ । यो भन्दा चिस्यान झेल्ने असंख्य ज्यान देश-परदेशमा पनि छँदै छन् । अनलाइन भेटमा कुना-कन्दराका साथीहरू माइनसमा ओर्लिएको चिसो अनुभूति सुनाउँछन् । अनि लाग्छ यो ज्यानको ठाडोलाई जे गरे पनि नहुने ! चैते घाममा 'उफ् बज्जे यो गर्मी' र पुसमाघे जाडोमा 'थुइक्क ठिही' भनेर कुर्लिने त मौसमी रीत नै हो हाम्रो ।

अफिसमा काममा डुब्छु सहकर्मीहरूसँग हाँसखेल गर्दै रत्तिने प्रयास गर्छु । तर फेरि मन मान्दैन मेरो आफन्ती दुनियाँ त हुँदै होइन भने झैँ लाग्छ । आत्मीयताको अभावमा कोखा चर्किन्छ । विरानोपनको अनुभूतिमा रुमलिन्छ मन र भारीपन साथमै च्यापेर हरेक सात घन्टाको तापमान कुर्सीमा छाड्दै घरतिरको बाटो तताउँछु । कहिले त म आफैँ 'अफ बिट म्यान' हुँ कि भने झैं झोंक पनि चल्छ । जीवनमा यस्तो अवस्था कुनै न कुनै बेला धेरैले अनुभव गर्दाहुन्।

साथीहरू आफूदेखि टाढिँदै छन् कि साथीहरुदेखि आफू टाढिँदै छु कहिले त जिल्लिने रहेछ दिमाग पनि । जिन्दगीको हिसाब मिलाउने ध्याउन्नमा जिन्दगीमा रहेका धेरै कुराको हिसाबकिताब बिग्रिँदै जाने कुरा सामान्य हो कि भने जस्तो पनि लाग्छ । हाफ भोल्टेज आँखा फटाईफटाई अध्ययन हाक्नु जस्तै प्रतीत हुन्छ जीवन बाँच्नु । अर्थात् हात लाग्छ धमिलो दृष्टिअघि आकार र चिनारी विनाका किरिङमिरिङ हरफहरू । र पनि पढ्नु त छ नै कनीकुथी भए पनि।