- जन्मदिनको शुभ कामना बच्चा ! २५ वर्षे पट्ठोपन पूरा गरिस् ।
जन्मतिथिको अघिल्लो दिन नै ऊ बेलुकीपख बिछ्यौनामा घुस्रिँदै गर्दा आफैँसँग फुसफुसायो । 'आफैँलाई माया गर्नु' भन्ने जीवनसूत्र ऊ भर्खर त बुझ्न थाल्दैछ, यसैले शुभ कामनाको एक डाली आफैँतिर हुर्याएर छ्याप्प हान्यो । कस्तो रे भने, आफैँलाई माया गर्न नसक्ने-नजान्नेले अरूलाई पनि माया गर्न सक्दैन रे । यसरी ऊ पृथ्वी-पाठशालामा अभ्यासी चेला बनिदिएको छ । सिक्दैछ ऊ- मायासँगै घृणा, धोकाधडी, चाबुक, छिर्केखेल, लोलोपोतो, स्याहार, स्वानुभूति … ।
आफैँलाई शुभ कामना अर्पण गर्ने त्यो रातअघिका दिनहरूमध्ये कुनै एक दिन ऊ सडकमा थियो । सडक, जहाँ पहिलो पटक परेला खोतल्दै अस्तित्व जाग्छ, पहिलो पटक कलिला कुर्कुच्चामा टाप जड्न नपाई-नभ्याई छिप्पट यात्राको बिस्कुन सामुन्नेमा छरिइसक्छ । यस्तै सडकमा ऊ थियो ।
'यो सहरमा साह्रै एक्लो भइयो यार !',
खित्रिक्खित्रिक् मोबाइलको बटन थिचेर कसैलाई पठाउन ठिक्क पारेको एसएमएम उसले त्यत्तिकै मेटिदियो । सोच्यो होला, यसरी विरह बाँड्न कोही लायकको मान्छे बचेको छ र संसारमा ?
फेरि के सोच्दै हो कुन्नि, टोलायो बतास खेलिरहेको सडकभरिको लम्बाइमा । सडक-सडक उसको रहर खितखिताउँदै वेग मार्छ । के ऊ सडकको बासमा तिहुनको सपना नै पकाईपकाई अघाउने सर्वहारा हो ? होइन । उसोभए सडकमा सवारी गडगडाएर हुइँक्याउने प्रतिष्ठित पुरुष हो ऊ ? यो पनि गलत । तर ऊ सडकमै छ । सडकैले प्राण धाने जस्तो । कस्तो भने, सडकैबाट उदाउँछ, सडकैमा अस्ताइदिन्छ । उदाउने र अस्ताउने चक्रमा मानौँ ऊ 'घाम-मानव' । त्यही सडकको फुटपाथमा पाइला गाड्दै मन सुलसुले भएर नाचेको महसुस गर्छ ।
'हा ! के भयो आज यो एक मुठी रगत उमाल्ने मुटुलाई ?' जाबो एक मुठी रगतको यस्तो सकसक ! उसले प्वाक्क आफ्नो छातीमा हिर्कायो । स्वाभिमान जाग्यो एक्कासि, अघि एसएमएसमा एक्लोपनको विज्ञापन गरेर आफूलाई झन्डै दयाको पात्र बन्ने कठघरामा उभ्याएको उसले । एउटा मोबाइल-मेसेज डिलिट गराइसँगै उसको पौरुष जोगियो धन्न !
ऊ आफूलाई बच्चै ठान्छ (अहिले त विधाताले उसका औँलाका चक्रहरूसम्म पनि कहाँ छिप्याउन बाँकी छाडे र !), ऊ आफ्नो सोचाइमा बच्चै रहिरहँदा उसलाई कमजोरको रूपमा कुल्चिन अरूहरू कति तयारी अवस्थामा हुँदा हुन् ! बच्चापनको सन्दर्भमा हिजै त हो, जलपानमा साथीहरूको दिवा जमघटमा एउटाले आफ्नैबारे प्वाक्क भनेको थियो - "मैले यतिखेर जीवनको २८ वर्षको उमेरमा जिम्मेवारी लिन सक्दिनँ भने अब ३८ वर्ष हुँदा पनि सक्दिनँ ।" उसको आशय थियो- २७-२८ वर्षको उमेरसम्ममा एउटा युवाले आफ्नो परिपक्वताको सफल परीक्षा दिन सक्नुपर्छ सांसारिक लोकमा ।
उ: भर्खरै भत्किने छाँटको साइकल लरखराउँदै आँखामा फुलो परेको एउटा केटो यही सडकबाट गयो । यो सडकको विविधता यही हो । हातमा हजार रुपियाँको फूलको बन्डल सजाएर हाइ प्रोफाइलको प्रियतमलाई भेट्ने युवती पनि यही सडकबाट पार हुन्छे, एउटा छ यो केटो- निरुपाय आँखामा फुलो बोकेरै जीवनको उत्सव मनाइरहेछ । आह् ! फूल र फुलो परेको आँखा … । फूल बोकेर धाउन्जेल प्रेमीले त्यस युवतीलाई कति भाउ दिँदो हो, तर आँखामा फुलो रहुन्जेल त्यस केटाले भने सयौँ सुग्घरी आँखाको सामुन्ने कुरुपता र अशुभताको लाहाछाप किटिँदै दूर्दूर् को पात्र बनिरहला ।
जीवनमा कठिनताका पर्वतहरू कति छन् कति । सहजताका समथरता कति छन् कति । हिँड्दाहिँड्दैको एउटा गोरेटो कतिखेर लुटिन्छ, यो समय गोरेटोसम्मलाई पनि लुट्न बाँकी नराख्ने तन्नम लुटेरा रहेछ, उसले बुझेको छ । बुझेर के गर्नु, आफ्ना गोडाहरूको शुभ साइत वा अशुभ साइतले कुन बाटो रङ्ग्याउने हो, के पत्तो !? यही अड्कल काट्न मुश्किल !
अब ऊ यहीँनेर बच्चा रहँदैन । बच्चा रहे पनि ऊ बच्चैमा बूढो भएको छनक मिल्छ । उसलाई बूढो हुन हतार छ । वरिपरिका बूढो समाजको बीचमा ऊ कतिन्जेल पो बच्चो रहन सक्छ र !? यो बूढो समाजमा बच्चो भइरहने अनुमति छैन । चाहे कपाल नपाकोस्, चाहे ओठका कलिला जलपबाट दूध ननिख्रियोस्, चाहे बिहेको भारले पिठिउँ ठसठस कन्ने उकालीमा नजोतियोस्, बच्चा भइरहन पाइने यहाँ आँगन छैन । कुबेलामै बेलाको बोली बोल्नु सही बेला बनाउनुपरेको छ ।
अब ऊ बच्चा रहेन ।
यो
कथा होइन,
व्यथाको पत्र भने
घाँटीघाँटी छ ।
यही घाँटीघाँटीको जीवन-उवाच कहिसक्न ऊ यो सडकमा माइक फुकिरहेछ - हेर, बाँच्नु भन्या बाँच्नु मात्र होइन रहेछ … ।
जन्मदिनको हार्दिक मंगलमय शुभकामना!!
ReplyDeleteतपाईंका हरेक पाइलाहरु प्रगतिको बाटोतिर लम्किरहुन।तपाईको हरेक पल सुखमय होस्।
बच्चै मा बुढो भयो भन्ने शीर्षक अनि यसको विषयवस्तु चाँहि अलि चित्त बुझेन है !
ReplyDeleteजन्मदिन को शुभकामना !
के के नै होला भनेर मस्की-मस्की पढेको त घुमाई फिराई जन्मदिनमा पो पुरयाउनुभएछ धाइबा जी ले त । हा! हा!! हा!!!
ReplyDeleteशुभकामना जन्मदिनको अनि दिर्घायुको कामना पनि
फलोस फूलोस जिन्दगी
काँडा पन्छाएर कसैलाई नघोची
उडिरहेको चरालाई एक्कासी गोलीलागे झै भयो,मिठा कुराहरु खादाखादै सकिन्छन,अझ धेरै भईदिएको भए असन्तोषी मान्छे !!!
ReplyDeleteशिर्षक सँग म चाँही पुरै सहमत् छु,बच्चैमा बौदिकताले परीपक्वता पाइसकेको छ । यो बौदिकताको बुढेउली हो।
हरेक पाइलाहरु प्रगतिमय मार्गमा हिडिरहुन, शुभकामना जन्मदिनको धाईबा जि लाई ।
मानिसको उमेर दुई थरीको हुन्छन। एउटा शारीरिक, अर्को बौद्धिक वा मानसिक ।
ReplyDeleteत्यसैले म पनि बच्चैमा बूढो हुनु सम्भव देख्छु । (वा यसैलाई उल्टा गर्दा बूढो हुँदासम्म बच्चै रहन पनि सक्छन कोही-कोही)
जे होस बौद्धिक र मानसिक रुपमा सधैं पाको र शारीरिक रुपमा सधैं जवान रहनुहोस ! जन्मदिनको शुभकामना ।
जन्मदिनको मंगलमय शुभकामना, मित्र धाइबाजी । तपाईंका प्रत्यक पाइलाहरु हरपल सफलतातिर मात्र लम्किरहुन, यही कामना छ, परदेशबाट । राम्रो लेख, रमाइलो लाग्यो ।
ReplyDeleteधाइबा जी सर्वप्रथम २४सौ बसन्त पार गरी २५सौ बहारमा पाइला राख्नुभएको जन्मदिनको बिशेष अवसरमा तपाईंको उन्नती,प्रगती र सु-स्वास्थ्यको निम्ती हार्दिक मगंलमय शुभकामना तथा बधाई ब्यक्त गर्न चाहन्छु ।
ReplyDeleteलेख चाखलाग्दो छ, उस्तै परिपक्वताको अनुभुती मिल्छ । तपाईंको लेख्ने शैलीको बयान नगरिरहन सक्दिन ।
माफ गरिदिनुस् है बर्षमा गल्ती हुन गएछ, हुन त मान्छेलाई कहिले पनि बुढो हुन मन पर्दैन रे अब जे भएपनी प्राकृतिक प्रकृयालाई स्वीकार नगरि अलग हुन कहाँ सकिन्छ र :)
ReplyDeleteधाईबाजी, जन्मदिनको हार्दिक मंगलमय शुभकामना! तपाईँको जिन्दगीका सबै आयामका सबै यात्राहरु सफल र सुखमय रहुन्!
ReplyDeleteजन्मदिनको साँच्चै धेरै शुभकामना !
ReplyDeleteहो बाँची ल्याएका धेरै मोडहरुमा एउटा बच्चा बच्चा रहँदैन बरु अर्को मोडमा उ अझै अलिकति बुढो हुन्छ । तपाईंको अनुभूतिमा डुबेँ कि तैरिएँ म खै कुन्नि तर आज जति महत्वपूर्ण हिँजो त थिएन नै भोली पनि हुने छैन । प्राप्ति र प्रयत्न त टेकिसकेको पाईला र टेक्नुपर्ने पाईला न हुन् ।
शुभ कामनाका लागि सबैलाई हार्दिक धन्यवाद ।
ReplyDeleteआकारजी, मैले एउटा मान्छे समयको अनेकौँ घम-पानीले रापिएर
अनुभवी र वैचारिक रूपमा पाको हुन्छ भन्नेतर्फ इङ्गित गर्न खोजेको हुँ, अर्थ नखुलेकोमा माफी दिनुहोला है ।
धाईबाजी, जन्मदिनको शुभकामना!
ReplyDelete