अफिसे दशैं!

बडा दबैंको अवसरमा समस्त पाठक, ब्लगर मित्रहरूलाई 
हार्दिक शुभ कामना !

------------------------------------------------------------------------------------
बाहिर कौसीबाट देखिन्छ कावा खानमा मग्न छन् चङ्गाहरु छेउमै छ आकाशको निधारमा टीका झैं टाँसिएर बसेको खुर्पे चन्द्रमा । चङ्गाहरू चन्द्रमाको हाराहारीमा फरफराएर लहरिएको देखिन्छ।

आफू छु अफिसमा 'अफिसे दशैं' मनाउनमा मग्न ! अर्थात् यसपाला छुट्टी मिलेन। र चङ्गा र चन्द्रमाको लोभलाग्दो जुहारी अफिसकै कौसीको रोमाञ्चक देन हो, त्यही चङ्गाको रङमा पोतिएर रसाएको छ मन।

पातलिएको काठमाडौं काठमाडौं जस्तो छैन । सहरबासीहरु दशैं मनाउन आफूलाई ओसार्दै गाउँतिर ओइरिएको फलस्वरूप सवारीसाधनको चाप सामसुम्म हुनेगरी घटेको छ । सडक एकाएक विस्तार भए झैं भएको छ । सडक विभागले आफूले नगरेको कामको जस काठमाडौंको सडक फराकिलो भएर पाए झैं भान हुन्छ।

पहिलो पटक दशैमा घरदेखि टाढा हुँदाको विरहमा गाँठो परेको छु । घरदेखि टाढा त छु नै यस्तो उल्लसित ठूलो पर्वमा र नितान्त आफन्तविहीन पनि छु यो चक्रपथको चक्करमा बेरिएको सहरमा । र बित्दो छ सप्तमी अष्टमी नवमी गर्दै यसपालीको दशैं अफिसको कामकाजसँगै गुटमुटिएर । चाडबाड के हो घर के हो पारिवारिक जमघट के हो यही एक झमटको दशैंले म केटोलाई पाठ पढाउँदै छ । आह् ! यो पाठ पढ्न पनि कति पो सास्ती रहेछ !! आफूले त जसोतसो चित्त बुझाइयो, घरकाहरूले भने साह्रै न्यास्रो माने । त्यही न्यास्रोपन यता आफूसम्म फर्किएर नुन-चुक छर्‍यो मनभरि।

देशका कुना-कन्दराबाट राजधानी भित्रिएर विभिन्न पेशा-व्यवसायमा बाँधिएका मानिसहरू सर्लक्कै जिल्लातिर हानिँदा काठमाडौं सुनसान त बन्छ नै, एक हिसाबले बन्द झैं हुँदो रहेछ । होटल-पसल बन्द छन् भाडावालको उपस्थितिले चाइँचुइँ गर्ने झ्याल-ढोकाका खापाहरू पनि एकतमास भइदिँदा भूतबंगलाको छनक मिल्छ टोलमा।

अफिसमा तास खेल्नेहरू तास खेल्दै छन् कामलाई व्यवधान नपर्ने गरी । टेलिभिजन मिडियाको काम तासलगायतका मानोराजनात्मक क्रियाकलाप अफिसमा नहोस् भनेर सूचना पाटीमा सचेतना टाँसो टाँसिएको छ । तर यत्रो पर्वमा अफिसियल आदेशलाई के टेरपुच्छर लगाउँथे कर्मचारीहरु ! यसो मौका हेरेर भुइँमै पनि पलँटी कसेर म्यारिज कलब्रेक जमाइहाल्छन् । नत्र चाडमा बिदा गुमाएर घर नगईनगई अफिसमा थुनिएर बस्नु पनि र मन बहलाउने केही उपाय पनि अपनाउन नपाउनु कस्तो उकुसमुकुस हुन्थ्यो ! आफ्नो ताल भने न तास, न पारिवारिक उल्लास ! पूर्णरुपेण अफिसे दशैं।

Post a Comment

5 Comments

  1. विजयादशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना...

    ReplyDelete
  2. विजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु धाइबा र क्याफे मंगलममा पाइला टेक्नु हुने सबै मित्र हरुलाई !

    ReplyDelete
  3. देशमा हुनुले पनि यति पीडा ओकल्नु भएको छ भने हामी प्रवासमा बस्नेले त झन कति गाठो परेको होला यो मन धाइबा जी समय र परिस्थिति संग लहराउनु नै जीवनको रीत रहेछ ।
    अफीसमै भएपनि बडा दसैँको हार्दिक मंगलमय शुभकामना यो भरिलो क्याफे र तपाइको जीवनप्रति ।

    ReplyDelete
  4. वास्तवमा आफुले कसरी लिइन्छ त्यसरी नै आउने र जाने गर्छ दशैं (होस् वा अर्थोक केहि) । लगातार ७ वटा दशैं भएछ मैले घरमा नमनाएको - र पनि हरेक दशैंमा मलाई त रमाईलो लाग्छ । आफुलाई जहाँ छु र जस्तो छु त्यस्तैमा स्विकार्न सकेकैले हो कि त ? मैले दशैंमा अचाक्ली घर मिस नगरेको ?
    Happy Dashain !

    ReplyDelete
  5. यस्तै हो धाइबाजी, परिवार र समाजको महत्ताबोध हुने क्षणहरु यस्तै हुन्! दुई पटकको विदेश बसाई गरेर कूल १२ दशैं विदेशमा बितिसके मेरा। अबको दशैं भने जसरि हुन्छ परिवारमै मनाउने तिब्र तृष्णा बोकेर बसेको छु मनमा।

    ReplyDelete