बडा दबैंको अवसरमा समस्त पाठक, ब्लगर मित्रहरूलाई 
हार्दिक शुभ कामना !

------------------------------------------------------------------------------------
बाहिर कौसीबाट देखिन्छ कावा खानमा मग्न छन् चङ्गाहरु छेउमै छ आकाशको निधारमा टीका झैं टाँसिएर बसेको खुर्पे चन्द्रमा । चङ्गाहरू चन्द्रमाको हाराहारीमा फरफराएर लहरिएको देखिन्छ।

आफू छु अफिसमा 'अफिसे दशैं' मनाउनमा मग्न ! अर्थात् यसपाला छुट्टी मिलेन। र चङ्गा र चन्द्रमाको लोभलाग्दो जुहारी अफिसकै कौसीको रोमाञ्चक देन हो, त्यही चङ्गाको रङमा पोतिएर रसाएको छ मन।

पातलिएको काठमाडौं काठमाडौं जस्तो छैन । सहरबासीहरु दशैं मनाउन आफूलाई ओसार्दै गाउँतिर ओइरिएको फलस्वरूप सवारीसाधनको चाप सामसुम्म हुनेगरी घटेको छ । सडक एकाएक विस्तार भए झैं भएको छ । सडक विभागले आफूले नगरेको कामको जस काठमाडौंको सडक फराकिलो भएर पाए झैं भान हुन्छ।

पहिलो पटक दशैमा घरदेखि टाढा हुँदाको विरहमा गाँठो परेको छु । घरदेखि टाढा त छु नै यस्तो उल्लसित ठूलो पर्वमा र नितान्त आफन्तविहीन पनि छु यो चक्रपथको चक्करमा बेरिएको सहरमा । र बित्दो छ सप्तमी अष्टमी नवमी गर्दै यसपालीको दशैं अफिसको कामकाजसँगै गुटमुटिएर । चाडबाड के हो घर के हो पारिवारिक जमघट के हो यही एक झमटको दशैंले म केटोलाई पाठ पढाउँदै छ । आह् ! यो पाठ पढ्न पनि कति पो सास्ती रहेछ !! आफूले त जसोतसो चित्त बुझाइयो, घरकाहरूले भने साह्रै न्यास्रो माने । त्यही न्यास्रोपन यता आफूसम्म फर्किएर नुन-चुक छर्‍यो मनभरि।

देशका कुना-कन्दराबाट राजधानी भित्रिएर विभिन्न पेशा-व्यवसायमा बाँधिएका मानिसहरू सर्लक्कै जिल्लातिर हानिँदा काठमाडौं सुनसान त बन्छ नै, एक हिसाबले बन्द झैं हुँदो रहेछ । होटल-पसल बन्द छन् भाडावालको उपस्थितिले चाइँचुइँ गर्ने झ्याल-ढोकाका खापाहरू पनि एकतमास भइदिँदा भूतबंगलाको छनक मिल्छ टोलमा।

अफिसमा तास खेल्नेहरू तास खेल्दै छन् कामलाई व्यवधान नपर्ने गरी । टेलिभिजन मिडियाको काम तासलगायतका मानोराजनात्मक क्रियाकलाप अफिसमा नहोस् भनेर सूचना पाटीमा सचेतना टाँसो टाँसिएको छ । तर यत्रो पर्वमा अफिसियल आदेशलाई के टेरपुच्छर लगाउँथे कर्मचारीहरु ! यसो मौका हेरेर भुइँमै पनि पलँटी कसेर म्यारिज कलब्रेक जमाइहाल्छन् । नत्र चाडमा बिदा गुमाएर घर नगईनगई अफिसमा थुनिएर बस्नु पनि र मन बहलाउने केही उपाय पनि अपनाउन नपाउनु कस्तो उकुसमुकुस हुन्थ्यो ! आफ्नो ताल भने न तास, न पारिवारिक उल्लास ! पूर्णरुपेण अफिसे दशैं।