केही बोलिसक्यो र पनि छुटफुट कुराहरू ओठकै डिलमा लरबराइरहे जस्तो ।
बिदाइमा आफन्तसँग मिलाएको हात वा न्यानो अङ्कमाल साथसाथै ज्यानमा लामो समयसम्म खिपिएर तापमान रहे जस्तो । पोल्ने । मानौँ, सूर्यलाई अर्घ्य दिन बाँकी रहेको एउटा काँचो बिहानी आँखामा उम्लिरहेको होस् ।

जमाना नयाँ भन्छन्, बदलियो भन्छन् । समय बदलिएको हो कि मान्छेको मन र दृष्टिकोण बदलिएको हो, अचेल कुरा गरौँ त शब्दले भन्न खोजेको भाव बोक्दैन, नबोलौँ त भीडसामु एकलकाँटे, अभिमानी र विचारहीनको बिल्ला लाग्ला भन्ने डर । यस्तोमा, नगरौँ त कसरी नगरी बस्ने र गरौँ त के-के मात्र गर्ने ?

विज्ञानको यो युग रे ! (हुनलाई त यो युग के-के मात्र हुन बाँकी रहेको होला र) यसैले त एकपछि अर्को आविष्कार भइरहे पनि हामी कुनै एउटा त्यस्तो आविष्कारलाई अझसम्म पनि पर्खिरहेछौँ । जसले गरोस् आजसम्मका सम्पूर्ण समस्याका समाधान । सम्याओस् सम्पूर्ण उबडखाबड । हरोस् सबैसबै बैचैनी, विरक्ति र विवशताहरू । आह् त्यो अचूक आविष्कार ! तर के त त्यो सम्भव छ ?

बाँचिरहेर पनि बाँच्न छुटे-छुटे जस्तो, मरिसकेर पनि कतै यतै केही बाँकी रहन्छु कि जस्तो पूर्वाभास । जीवन किन छ ? यो सृष्टिकै कुरा गरेको नि मैले । चाल नपाएर केही गर्नु पनि केही नगर्नु बराबर हो कि लाग्छ । होइन त ? मानौँ एउटा भूमरीको गीतमा हाम्रो जीवनले बेताले सङ्गीत भरिरहेछ । यस कुराको लागि बाँचिरहेको हामी भन्ने तथ्य कुरो आफ्नो तर्फबाट राख्न सकिन्छ, ल न त त्यो स्वतन्त्रता छ । तर त्यो त 'एउटा आफू'ले दिएको विचार र मान्यता भयो । एउटा आफू । त्यस्ता कति-कति आफूहरू छन् लोकमा । एउटा आफूले राखेको विचार अन्तिम र जड सत्य त कसरी भयो र ? कसैले पूरापूर कसैको प्रतिनिधित्व र ठेकेदारी गर्न सक्दैन ।

यसैले त जति चम्किए पनि, जति प्रस्ताव पास गरे पनि, जति बुँदे सहमति गरे पनि, जति चुम्बन गरे पनि, जति पारिश्रमिक पाए पनि, जति इनार खनाए पनि, जति बोतल ठाडो घाँटी लगाए पनि, जति आन्दोलन गरे पनि, जति भात पकाए पनि, जति घाम लागे पनि, जति ओथारोबाट चल्ला कोरलिए पनि, जति ट्राफिक जाम भए पनि, जति मालिकलाइ तेल घसे पनि, जति वन फँडानी गरे-नगरे पनि, जति, जति कुमारी जात्रा गरे पनि, जति फिल्म खेले पनि, जति मधुरात्रि मनाए पनि, जति खुच्चिङ भने पनि, जति फोटो खिचे पनि, जति ज्योतिष विद्यामा डुबे पनि, जति मुख धोए पनि, जति लेखे पनि, जति हुन्छ हजुर भने पनि, जति घरमा कड्किए पनि, जति तमसुक फट्टा गरे पनि, जति दमकलमा पानी भरे पनि, जति माया लाए पनि, जति तरकारी किने पनि, जति भकारीमा धान थुपारे पनि, जति धोका खाए पनि, जति बत्ती निभाए पनि, जति इमर्जेन्सी कक्ष सफा गरे पनि, जति पुष्‍टकारी खाए पनि, जति घडी हेरे पनि..... जति..... उफ् !!! उति नै फेरि फेरि गर्न बाँकी नै रहिरहने र केही न केही छुटिरहने कुरा अपूरा, कुरा अधुरा ।
-----------------------------------------------------------
* तस्बिर: बिजनेसओल.कम