Subscribe:

Ads 468x60px

09 September 2013

गोठाटार मिनी फुटबल टिम !

काठमाडौंमा जारी साफ च्याम्पियनसिपमा नेपाली टिमले एकपछि अर्को जितको झन्डा गाड्दै थियो । रातो जर्सीमा नेपाली खेलाडीहरु मैदानमा चम्किरहँदा मेरो स्मृतिमा भने केही कलिला अनुहार छाइरहेथे । सेमिफाइनल भिडन्तमा नेपालको यात्रामा विराम लाग्दा ती अनुहारले झन् ठूला आकार लिए ।
Ground

त्रिभुवन विमानस्थलभन्दा ठीक पछाडि काठमाडौं जिल्लामै पर्ने एउटा गाविस छ, गोठाटार । घरिघरि आँखामा आएर बस्ने ती रहरलाग्दा अनुहार त्यही ठाउँका किशोरहरुको थियो । चम्किला आँखामा राष्ट्रिय स्तरको फुटबल खेलाडी बन्ने सपना पाल्दै खेल अभ्यासमा जुटिरहेको अवस्थामा एक साँझ भेट भएको थियो । गाउँघरमा मोजामा कपडा कोचेर भकुण्डो हिर्काउने र फुटबल नै किनेर पनि साँझ-बिहान शारीरिक तन्दुरुस्ती र समय कटाउन खेल्ने युवा निकै हुन्छन् । तर गोठाटारका यी चार किशोर अलिक फरक लागे । भेट भएको पहिलोचोटि नै विशेष छाप पार्दै गए ।
उमेरभन्दा निकै परिपक्व कुरा गर्दै आफ्नो जीवनका सपना सुनाउँदै थिए उनीहरु, खुब जोशसहित । मोबाइल फोनमा रेकर्ड हुँदै गयो उनीहरुको बोली । संयोगले क्यामेरा बोकेको बेला परेछ, उनीहरुले स्पोर्ट्स स्टारको पोज दिए । रोमाञ्चित बनाउने क्षण थियो उनीहरुसँगको भेटघाट र वार्तालाप । बोल्दा उनीहरुको गला सफा भएकाले तेजिलो आवाज निस्किएको थिएन, बरु त्यसमा आत्मविश्वासको वजन देखिंदै थियो ।

तिनको खँदिलो सोचका अघि म आफ्नो बालापनको उटपट्याङ योजना सम्झेर थकथक मान्दै थिएँ । उतिबेला सोच्थें म, अहिलेदेखि नै पैसा जम्मा पार्दै एउटा टेम्पो किनेर त्यसमै सयर गरुँला । अनि अर्को रहर थियो, घरबाट सहरतिर भागेर खुब संघर्ष गरेपछि गन्यमान्य गायक बन्ने । त्यस कुरामा गायक रामकृष्ण ढकाललाई आदर्श पात्र मानेर सन्किएको रैछु । ती जम्मै सोच अन्धाधुन्ध र निराधार रुपमा फाल हाल्ने स्तरका थिए ।
Goathatar-F-Club-2उमेरको कुरा गर्ने हो भने नौ देखि १३ वर्षका छन् किशोरहरु । छिमेकका एक अंकलले फुटबल सिकाउँदै आएका रै’छन् । पछिल्लो समयमा अंकलले नभ्याउने भएपछि आफैं अभ्यास गर्न थालेका रे । स्कुल टाइमपछि हरेक दिन दुई घन्टाजति विमानस्थल पछाडिको चउरमा फुटबल खेल्ने गरेको सुनाए । यो दुःख गर्नुको पछाडि उनीहरुमा राष्ट्रिय खेलाडी बन्ने सोच हुर्किरहेको थाहा पाउँदा कताकता हाँसो पनि उठ्छ । तर, यति कलिलो उमेरमा हरेक दिन बल समाउँदै गम्भीर भएर लागिपरेको जान्दा मर्ममै छुन्छ । हालैको साफमा एकाएक हिरो खेलाडी भएर उदाएका १५ वर्षे विमल घर्तीमगरको छनक देखाउँदै थिए उनीहरु । खासमा राष्ट्रिय तहमा परिपक्व खेलाडी तयार हुन गाउँ र वडा स्तरसम्ममा फुटबलले व्यापकता पाउनुपर्छ ।  चार जनामध्ये अलिक टाठा र पछि गएर कप्तान नै बन्ने छाँटका आस्मिन दाहाल (१३) ले बताए, ‘भोलिपर्सि राष्ट्रिय खेलकुदले खेल्न दियो भने खेल्ने, नदिए हेरेर बस्ने ।’

तर, अहिले भने उनीहरु हेरेर मात्रै बसिरहेका छैनन् । उमेर र अवस्थाअनुसार सक्नेजति गरिरहेका छन् । दिनको १० रुपैयाँ जम्मा पारिरहेका छन् । यसको योजना - सबैले एकैखाले जर्सी किन्ने । ‘अहिले त कसैको चेल्सी र कसैको म्यानचेस्टर सिटी लेखिएको जर्सी छ’, आस्मिनले टिमको ‘हालत’ बताए । अहिले खेल्दै आएको फुटबल चाहिं सेक्युरिटीमा काम गर्ने उनको बुवाले दुई सय रुपैयाँ सहयोग गरिदिएपछि त्यसमा क्लबले ४ सय ५० रुपैयाँ मिसाएर किनेको रै’छ ।

कुराकानी बढ्दै जाँदा रमाइला किस्सा फुक्दै जान्छ फुच्चे खेलाडीहरुबाट ।

स्कुलमा हाउस कम्पिटिसनहरुमा खेल्दा जितेकोमा जति खुसी छ, त्यति दुःखद सम्झना रै’छ एकफेरा टिमबाट खेल्दा सय रुपैयाँ हारेकोमा । सानो उमेर र सानो संसारमा स-साना कुराले ठूलो अर्थ राख्छन् । सय रुपैयाँ हार्नु पनि त्यस्तै सम्झना हो उनीहरुका लागि । ५-६ वटा टिम मिलेर चार-चार सय रुपैयाँ उठाएर भिड्ने च्याम्पियनसिप कहिल्यै जित्न नसकेको तीतोपन पनि छ समूहसँग । त्यो प्रतियोगिता विमानस्थल बायाँछेउको फेदीमा रहेको मैदानमा हुने गरेको रै’छ ।

कुनै समय टनाटन खेलाडी रहेको किशोर क्लब अहिले खेलाडी अभावमा बुच्चो छ । कतिपय सदस्य खेलाडीको परिवार गोठाटार छाडेर जिल्लातिर फर्किएकाले क्लबका साथीहरु गुमाउनुपरेछ । अहिले स्कुल छुट्नासाथ चार जना भेट्छन् र बलसँग जिस्किन थालिहाल्छन् । बिस्तारै टिमले पूर्णता पाउने आशामा छन् ।

रहरलाग्दो उमेरमा रहरलाग्दो सपना पालिरहेका छन् उनीहरु । व्यावहारिक जीवनका जटिलताको कुनै अनुमानसम्म छैन यतिबेला । के-कस्ता मोड आएर जीवनमा आफूलाई नाग जसरी तोडमोड पारेर हिंडाउनेछ भन्ने कुनै हिसाब-किताब पनि छैन । जागिर र करिअरको पासोले सिकिस्त बनाउने लाठे उमेरमा पुग्दा उनीहरु फुटबल भनेरै बस्लान् ? अहिले समान रुपमा लगाव रहे पनि सबैजना रहरको क्षेत्रमा  स्थापित त नहोलान् ! आस्मिनले १२ कक्षासम्म पढेर त्यसपछि फुटबलतिरै लाग्ने बताइरहँदा रोहन दाहाल (१२) ले सच्याए, ‘पढाइ पनि, फुटबल पनि ।’

फुटबल क्लबका ती सारथिहरुलाई हामी पनि भेटौं न त !
Gothatar-Lions-Football-Club-Mainबायाँबाट क्रमशः रोहन, प्रभात, आस्मिन र विवश ।

Aasmin-n-Prabhat
Bibas-n-Rohan










गोठाटारको जस्तै किशोर फुटबल टिम देशका कुना-कन्दरामा बाक्लै होलान् । ती सबैले खेलका लागि राम्रो वातावरण पाऊन् र देशले भविष्यमा त्यस्ता स्रोतबाट क्षमतावान् खेलाडी पाउन सकोस् ।

किशोर टिमका ती चार खेलाडीसँगको रमाइलो अनौपचारिक कुराकानीको अडियो रेकर्ड तल सुन्नुहोला :

1 comment:

  1. Great Story. All the best to the new emerging players.

    ReplyDelete