Subscribe:

Ads 468x60px

17 April 2008

धुवाँ

- गीता त्रिपाठी

झ्यालबाट पर तानिन्छु म । बाहिरको शान्त बिहानीले मेरो अशान्त उपस्थितिलाई खिस्याइरहेजस्तो लाग्छ । होइन यो चैतको हुरी मेरै मनमा समेटिएर किन मलाई यसरी आन्दोलित बनाइरहेछ । बाहिर हेर्छु- बिहान नौ बजेको किशोर घामले लपक्कै बेरिएको प्रकृति अचल-अचल उभिएको छ । प्रेममा समाधिस्थ सपनाहरू फूलका पत्रपत्रमा फक्रिन खोजिरहेछन् तर मभित्र अर्कै प्रकृति छ यतिखेर । केही थाके-थाकेजस्तो, केही हराए-हराएजस्तो । म ती हाँगाहरू सलबलाएको हेर्न पर्खिरहन्छु, तर पातहरू श्वास रोकेर उभिरहन्छन् मेरो सामुन्ने । म धैर्य गर्न सक्दिनँ र निस्किन्छु बिस्तारै भर्‍याङ्‌का खुड्किलाहरू हुँदै, धुलाम्मे कङ्कट आँगनतिर अघि बढिरहन्छु । टक्क एउटा ऐनाअगाडि पुगेर रोकिन्छन् मेरा पाइलाहरू । पूरै शरीर एक निमेषमा अटाउँछ ऐनामा तर छोडिन्छ एउटा दुःखी मन मसँगै ।

म एकाएक मेरो आकृतिको सगरमाथातिर दुखद् अनुभूतिको दृश्य आरोहण गर्छु हिउँका रेखाहरू जम्नथालेको मेरो शिर म आफैँलाई एउटा उचालिनसक्नुको वजनझैँ लाग्छ । मिथक हुँदै गइरहेको एउटा कथा म आफ्नै आँखामा पढ्न पुग्छु । खै त मैले जति नै स्याहारे पनि, जति नै कोरेर सम्याए पनि यी कपालहरूमा वसन्तको कुनै गीत उमार्न म किन असफल बन्दै गइरहेछु - सिसिफसको पहाडजस्तो मेरो जीवनमा एउटा सिङ्गो पतझड उभिएको छ र मस्तिष्कभरि आँधीका सुसेलीहरू खेल्दै छ यतिबेला । सधैँको व्यस्तताले कुँजिएको मनलाई अलिकति फुकाउन खोज्छु तर निधारमा बन्दै गएका साधुरेखाहरूले खुसीहरू पलायन हुँदै गएको सङ्केत दिन्छ । संघारमा वसन्तले टेकिसकेको भए पनि म यतिबेला कुनै नयाँ ऋतुको आमन्त्रण गर्न सक्दिनँ ।

रिसेप्सन अगाडिबाट छुटेको उन्मुक्त युवती-हाँसोले मेरो भावनालाई केही चञ्चल बनाएर जान्छ । होइन, ऐना अगाडि निकैबेर उभिइएछ कि क्या हो ? जस्तो मै थिएँ कि तिनीहरूको हाँसोको कारण । यो मेरो भ्रम पनि हुनसक्छ । यहाँ मानिसहरूलाई अरूका निम्ति हाँस्ने-रुने फुर्सद हुँदो रहेनछ अब । बिस्तारै झोल्लिँदै गएका मांसपेशीहरू अर्थहीन लाग्न थाल्छन् मलाई । उनीहरूको हाँसोको विषय थाहा पाउँदिनँ म । मभित्र एउटा हाँसोले भने मलाई नै खिस्याएर बिलाएजस्तो लाग्छ तर त्यसको प्रतिविम्ब कुन्नि किन हो ऐनासम्म ठोक्किनै पाउँदैन । म ऐनाभित्रबाट धुवैँधुवाँ उठेको अनुभव गर्छु र बिस्तारै छेकिँदै जान्छु आफ्नै चेतनाको स्पर्शबाट । मेरो अवचेतनले प्रकृतिका हरेक रूपहरूमा ईश्वरवल्लभ दाइको अचल उपस्थितिलाई आफैँभित्र टाँसेर राखेजस्तो लाग्न थाल्छ । रूग्ण दुब्लो शरीरमा खोपिएका करूण सजल आँखाहरू कमलादीस्थित एकेडेमीको गेटबाट स्व. धुस्वाँ सायमीको अन्तिम विदाइमा प्रवेश गरिरहँदा धर्मराउन पुगेका ती पाइला, दौडँदै गएर उहाँलाई भर दिँदाको त्यो पितृवत् स्पर्श मेरो मानस र हृदयमा अहिले झनै नजिक महसुस भइरहेछ । त्यसपछि त उहाँलाई सजीव भेट्ने अवसरै पो मिलेको रहेनछ, आज सम्झिन्छु- "यी यसरी गल्दै जाँदै छु, बहिनी ! त्यसैले पनि धेरै कार्यक्रमहरूमा हिँड्नै छाडिसकेँ, आज त मनले मानेन, आएँ ।" पर एकेडेमीको छेवैको रुखमुनि फूलैफूलमा बेरिएको कवि धुस्वाँको अचल देहतिर हेरेर त्यतिबेलै मेरो मनले अर्को नजाती अनिष्टको सङ्केत पाएजस्तो बोध गरेको थियो ।

कथा आजको होइन र होइन धेरै परको पनि । हिजैको बिहानजस्तो, सायद दशबजे पछिको एउटा बिहानमा प्रकाश सायमी दाइको एसएमएस आयो । कलेज उही भए पनि उभिएको ठाउँ मात्र फरक थियो मेरो । हिजो म कक्षाकोठैमा थिएँ, तर त्यो दिन भर्खरै पर्ढाईसकेर बाहिरिएको मात्रै थिएँ । तर खबर उही थियो र खबर दिने पनि उही । "धुस्वाँ सायमी पास्ड अवे" कै अर्को संस्करण थियो ईश्वरवल्लभ दाइका सन्दर्भमा पनि । दुवै समय म उस्तै विचलन बोध गरिरहेको थिएँ । दुवैको स्नेहवत् सामीप्य जुरेको थियो । ६२ सालको कात्तिक २४ गते पल्पसा दिदी र प्रकाश दाइसँग धुस्वाँको स्नेहको छहारीमा बिताएका केही क्षण एउटा अविस्मरणीय कथा बन्यो मेरो जीवनमा । फेरि-फेरि पनि यसरी नै भेट्न आउनेछौँ भनेर गरेको वाचा मैले त्यसपछि कहिल्यै पूरा गर्न सकिनँ तर उहाँले हस्ताक्षर गरेर दिनुभएको उहाँका सुन्दर कृतिहरू आज पनि मेरो वरिपरि बेलाबखत उहाँका सम्झनालाई ताजा बनाएर दृश्यभरि छरिन आइपुग्छन् ।

यस्तै भयो यसपटक पनि । 'दुई हरफ ओठहरू'का लागि ईश्वरवल्लभ दाइका अमूल्य शब्दहरू माग्न मञ्जुल दाइ र यादवजीसँग यसै सालको असारतिर गएकी थिएँ- उहाँको निवासमा । उहाँलाई त्यो दिन कुनै कार्यक्रममा जानुथियो । सँगै चिया पिउने रहरलाई थाती राख्दै हामी अर्को पटकको लागि वाचा बाँधेर फर्कियौँ । भाउजूले पनि इच्छा जाहेर गर्नु भएको थियो, मैले पूरा गर्न सकिनँ । त्यसैको दुःखले आज पनि मनको कुना करकर खाइरहेछ । यादवजी भने मलाई 'निरन्तर खुला ढोका'को कार्यक्रमस्थल आर्ट काउन्सिलमा छाडेर एक हप्ता अगाडि मात्रै दाजुलाई भेट्न जानुभएको रहेछ । अचम्मको स्वभाव छ यादवजीको । मनमा कसैप्रति श्रद्धा लागेपछि उहाँ मन नै अर्पण गरिदिनुहुन्छ, त्यसमा पनि अझ देउरालीमा दुइटा फूल सँगै राख्न मन गर्ने ईश्वर कहाँ खाली हात जान मन लागेनछ उहाँलाई । त्यसैले सुन्तला बोकेर जानुभएको थियो रे । दाइ बित्नुभएको दिन जब उहाँ भाउजूलाई भेट्न जानुभएको थियो, भाउजूले रुँदै भन्नुभयो रे- "बाबु ! तपाईंले ल्याइदिनुभएको सुन्तला पनि उहाँले खान भ्याउनुभएन ।" यो सुनाउँदा र उहाँका सम्बन्धमा पत्रिकामा छापिएका दुखद् समाचारहरू सुन्दा यादवजीको अनुहारमा विषादका रेखाहरू कुदिरहेको देख्छु म ।

म अलि पछि फर्किन्छु फेरि । झन्डै तीन वर्षघि शान्ति सङ्गीत यात्राको कार्यक्रमस्थल भक्तपुरमा पहिलो भेटको सम्झनास्वरुप एउटा कलम दिनुभएको थियो प्रकाश दाइले । कलम र किताब उपहार दिने संस्कृति औधी मनपर्छ मलाई । संभवत: मैले यसलाई जतन गरेको रहेछु र आज अँध्यारोमा बिलाउन लागेको एउटा ज्योतिलाई हृदयभरि लेख्न संयोगवश त्यही कलम हात पर्‍यो । अहिले सुक्न लागेको मसी धुवाँमय त्यो अन्तिम दृश्यको पानाभरि बिस्तारै-बिस्तारै रसाइरहेछ । दुखाई-दुखाई म लेखिरहेछु- एउटा धुवाँको कथा । हिजो अर्थात् चैत्र १०, २०६४ को मध्यान्हतिरको एउटा दुःखान्त इतिहास ।

प्रकृतिका रुख-पात र फूल-कोपिलाहरूमा यसरी नै बेरिएको थियो किशोर घामको स्निग्ध सपाट म्वाइँ हिजो पनि । चञ्चल बतासले झुलाइरहेका कोमल पत्रपल्लवहरू मसँग जिस्किन खोज्दै थिए, दुःखको कुनै आभास थिएन । म निश्चिन्त मेरा विद्यार्थी-प्रसूनहरूसँग भावनात्मक ज्ञानको लुकामारी खेलिरहेकी थिएँ । बाहिर मृदु उज्यालो फैलिएको थियो, भित्र तिनका अनुहारहरू उज्याला थिए, म अर्को उज्यालो थपिरहेको थिएँ । मलाई खुसी देखेर रमाउने ती फूलहरू अनायासै चुपचाप भए, जब मोबाइलको एक ढकढकमा मैले त्यसको ढोका खोलेँ र उही उल्लिखित खबर पढेँ । फेरि तुरुन्तै फोन आयो घरबाट । यादवजीले उदासीपूर्वक सुनाउनुभयो दाहसंस्कारका लागि दशबजेतिरै आर्यघाट लगिहाल्ने कुरो । मलाई आश्चर्य लाग्यो र सोधेँ- "श्रद्धाञ्जलीका लागि एकेडेमीमा नराखिने रहेछ ?" नराखिने नै रहेछ उहाँलाई यो भूतले खाजा खाने बेलामा कुनै आडम्बरी सभ्यताको देखावाका निम्ति । संभवतः उहाँको पनि यही इच्छा भएको हुनुपर्छ ।

मैले आर्यघाट जाने चाह व्यक्त गरेँ, यादवजी र म भेट्यौँ र उतै पुग्यौँ साँढे दशबजेकै आसपासमा । हामी श्रद्धाञ्जलीका निम्ति फूल किनिरहेका थियौँ, त्यही बाटो भएर अन्तिमयात्राको वाहन आइपुग्यो । अरू केही मोटरसाइकल र एकाध ट्याक्सीमा थोरै तर प्रिय उपस्थितिबीच वल्लभदाइको अनन्तको प्रस्थान-यात्रा अघि बढिरहेको थियो । अस्पतालको स्ट्रेचरबाट निकालेर उहाँको पार्थिव शरीरलाई बाँसको खटमा राख्ने प्रक्रिया सुरु हुँदा छेवैमा उभिएको मेरो मन एकोहोरो बन्न थालिसकेको रहेछ । निर्जीव भएर दरिएको शून्य अनुहारमा आँखा अडिँदा वरपरको समय पनि यन्त्रवत् यन्त्रणाजस्तो मात्र लागिरहेको थियो । अब सहृदयीहरूका काँधमा चढेर वागमती किनारको पहिलोस्थलतिर लगिँदै हुनुहुन्थ्यो वल्लभ दाइ । उपस्थित सबै त्यही छोटो यात्रामा स्वचालित हिँडिरहेका थियौँ, बहृमनालछेउमा पुगेर यात्रा केहीबेरको लागि बिसाइयो, म त्यतिबेला एकछेउमा उभिएर मेरा पिताजीलाई सम्झिरहेकी थिएँ ।

सत्र वर्षपहिलेको असारको एक बिहान बाढी आएको वागमतीको यही किनारमा उभिएर यसरी नै बिदा दिएका थियौँ हामीले उहाँलाई । लागेको थियो अब यो संसार हाम्रो लागि एकदम विरानो भएको छ । हामी छानोविहीन हुन पुगेका छौँ । तर आज यत्तिका वर्ष बिते, मेरो सत्रवर्षको उमेर दुगुना भयो, तर अन्य कुराहरू उसरी नै चलिरहेछन् । मेरो उत्पत्तिको यो वास्तविक कथा पनि एकादेशको हुँदै हराउनेछ, समय सधैँ नयाँनयाँ गीत गाइरहनेछ, समयको अगाडि कसैको केही लाग्दोरहेनछ । वागमतीको पानीको रूप फेरिएला-नफेरिएला तर मानिसहरू चोला फेर्न यही तीर्थस्थलमा अन्तिम विश्वासका साथ उपस्थित भइरहलान् । वागमतीको किनारमा वारि उभिएका थियौँ हामी । केही दाजुलाई पारि पठाउने तयारीमा जुटिरहनुभएको थियो । ईश्वरमय भइसक्नुभएका ईश्वर दाइको मूर्तिवत् देहलाई नुहाइधुवाइ गरेर जल-चन्दन र फूल अर्पण गर्ने काम केहीबेरमै समाप्त भयो । एकदेखि तीनसम्मको चिता खाली थिएन । हामी पुन: चार नम्बरतिरै झर्‍यौँ, त्यो दिन यो किनारमा आँसुको अर्को वागमती बगिरहेको देखेँ मैले, मचाहिँ जसोतसो सम्हालिएकै थिएँ । सायद वियोगले वाफिएको मन सामुन्नेको अर्को पहाडसँग ठोक्किन बाँकी थियो, हामी सम्हालिँदै ईश्वर दाइलाई बिदा गर्ने निर्णायक धाममा आइपुगिसकेका थियौँ ।

केही पत्रकारहरू थिए, पीताम्बरले ढाकिएको शरीरमाथि फूलमालाका हातहरू थपिँदै थिए । म देख्दै थिएँ- वैरागी दाइ र मञ्जुल दाइको आपस्तको आलिङ्गन र नचाहँदा नचाहँदै पनि छुट्नुपर्ने जीवनकहानीको अन्तिम सत्य । उपस्थिति बाक्लिँदै गइरहँदा महिलाहरूको सङ्ख्या पनि बढेर गएको थियो । शैलेस सिंह भाइको आँखामा छाएको उदासीमा गीतको दुःखान्त पार्श्वध्वनि घाट परिसर छिचोलेर कतै दूरप्रदेशतिर प्रसारित भएझैँ अभिभूत भइरहेको थियो मभित्र । पछिल्लो समयमा खासगरी वृद्ध सहकर्मीहरू अन्तिम दर्शनमा जुट्दै हुनुहुन्थ्यो । सङ्गीतज्ञ अम्बर गुरूङ एउटा लामो यात्रापछि छुटेको सहयात्रीलाई बिदाइ गर्न द्रवित मनले अलि ढिलो गरेर आइपुग्नुभयो ।

विश्ववल्लभ दाइ र आनन्दका साथमा कवि गोवर्द्धन र यादवजीका थर्थराइरहेका पाइलाहरू चिताको तीन फन्को मार्न थाले । चितामा उहाँलाई सुताएर मौनधारणमा प्रवेश गरेका हामी उहाँका अपूरा सपनाहरूमा बग्न थाल्यौँ । कठै ! फूलले सजिएको यो मृत देह कुनै बेला युवक सपनाहरूको तेज बोकेर आफ्नो यो अधूरो कहानीकी नायिकासामु कति साहसका साथ अग्निपरीक्षा दिइरहेथ्यो होला ! कति सुन्दर थिए होलान् ती सपनाहरू, जसलाई उहाँले शब्दमा उतार्दा त यति जीवन्त लाग्छ भने उहाँले नै अनुभूत गरेको त्यो सपनाका बारेमा के यहाँ यसबेला व्याख्या गर्न सकिएला ?

त्यही व्याख्यातीत छायाले मेरो आजको बिहान पनि खल्लो बनाइरहेछ । कता-कता त्यही एकमुस्लो धुवाँभित्र म हराइरहन्छु । सेताम्मे कपाल पाकेका केही हरफ नामहरू म सम्झिरहेछु । आपस्तमा अँगालो हालेर रोइरहेका ती पहाडजस्ता स्मारकहरूका बीचबाट मडारिँदै गएको त्यो धुवाँले मेरो अनुभूतिलाई एउटा खाली कागजजस्तो बनाएको छ ।
- चैत १४, २०६४
बालुवाटार ।

No comments:

Post a Comment