April 17, 2008

अबको नेपाल : फेरि कुरो क्रान्तिकै !

- 'हेलो कमरेड, लौ गणतान्त्रिक शुभ कामना तपाईँलाई ।
- 'पक्का नयाँ नेपालको जहाजमा हामी सबैलाई स्वागत है !'
नयाँ वर्ष२०६५ को पूर्वसन्ध्यामै साथीहरू मोबाइलको एसएमएस, भेटघाटको अभिवादनमार्फत नयाँ नेपाल, गणतन्त्र अनि समृद्घ जनता आदि कुरालाई समेटेर यस्तैयस्तै मङ्गल कामना साट्दै थिए । कतिसम्म भने, नयाँ नेपालको पट्यारलाग्दो 'थेगो' पक्का, साँच्चिकै अनि वास्तविक नयाँ नेपाल आदिका रुपमा व्याख्या हुँदै थियो । निर्वाचन आयोगसँग कुनै सम्बन्ध नभएर पनि आफ्नै हिसाबमा चैत २८ को दिन निर्वाचनको 'पर्यवेक्षण' गर्दै साथी मनबहादुर बस्नेत र म राजधानी काठमाडौँका गल्ली र चोक छिचोल्दै थियौ । त्यसै क्रममा बाटोभरि भेटिएका अनुहारहरूमा हामीले देख्यौँ- ती अनुहारका आँखाहरूमा देशको उज्यालो काँचुलीको कति मीठो सम्भावना छ भने, सबैमा सपनाको गहिरो आभा प्रतिविम्बित छ ।
चैत २८ (२०६४) पछि तमाम भूतपूर्व सुस्तताहरूलाई अब हाम्रासामु अटेर गरेर बस्नलाई अनुमति छैन । जनताका बीचमा हस्ती बनेर ढुक्कको जीवन जिउँदै आएका भूतपूर्व नायकहरूको विरासतलाई त क्षणभर टिक्ने अनुमति भएन भने सुस्तताको के नै कुरा ! समयको पङ्खा कस्तो रहेछ भने, यसले प्राणीका लागि धेरै अर्थमा शीतल त दिन्छ नै, साथमा ढुसी परेर पत्रपत्र जमेका धूलोमैलो पनि उडाएर सफाइ अभियान देखाउँदो रहेछ । यस्तै भयो, २०६५ सालको लगभग पहिलो खुडि्कलोसँगै । कस्तो भने, एउटै साइतमा यो खुडि्कलोबाट कोही पक्ष देशको नक्शासँग आफ्नो प्रयोग खेल्न आरोहणतिर उक्लिँदै थिए भने, कोही चाहिँ वर्षौँको यात्राबाट पनि शक्तिको सर्वस्वीकार्य वर्चस्व बनाउन नसकी ओरालोतिर वेग मार्दै थिए ।

'जङ्गलको भूत'को रुपमा जनमानसमा हाउगुजीको परिचय बनाएको भनिएको नेपालका माओवादीलाई, त्राहि-त्राहि भएका तिनै जनमानसले संविधानसभाको म्याराथनमा रिबन काटेर अनुमोदन गरिदिए । जनयुद्घको दशक लामो कालखण्डमा धेरैले द्वन्द्वको आच्छुआच्छुलाई आफ्नै जीवनजत्तिकै नजिकबाट भोगे । धेरैले ज्यान गुमाए, त्यो ज्यान गुम्नुसँगै धेरैले जीवनयात्राको सहाराको रुपमा रहेका आफन्तजन गुमाए । मुटुलाई कर्‍याप्प आफैँले निचोरेर गाउँघरको सानो-सुन्दर संसार छाडी कतिपय पलायनको भूमरीमा बगे । गरिब देशको छँदाखाँदाका भौतिक संरचना धूलोपिठो भएर नष्ट पारिए । र यद्यपि त्यसलाई जनताले चाहेको क्रान्तिको नाम स्वेच्छिक रुपमा दिँदै निमुखा जनतामाथि अनवरत् युद्घ लादियो ।

कर्णालीको भित्तामा बसेर 'आयो है आयो नुन' भन्ने विज्ञापन सुनेजस्तै सम्वत् २००७ देखि संविधानसभाको गफ सुन्दै आएका नेपाली बल्ल दशकौँपछि यसको जरामा पुगे । तर यो जरा जेलिनको लागि थिएन, थियो निस्किनको लागि । बारम्बार खबरदारी गर्दा पनि प्रजातन्त्र पुनःस्थापनापछि पनि आफ्नै राइँदाइँमा हराएका राजनीतिक दलबाट देशको ढोका खुलेन, धोका भइरहृयो । फलत यसपाली संविधानसभा निर्वाचनको परीक्षामा मूलधारमा ठिङ्गिएका देखिने ती दलहरू किनारामा उछिट्टिए । यसको विकल्पमा जनयुद्घताका जति नै सास्ती दिए पनि जनताले अत्यधिक मतले माओवादी शक्तिलाई नयाँपनको भोकसहित स्वागत गरे ।

आज माओवादीको जीतसँगै यसलाई अप्रत्यासित नतीजा एवम् अन्तर्राष्ट्रिय जगत्‌को असली प्रतिक्रिया र अपनाउने सम्भावित भूमिका के-कस्तो होला भन्ने कौतूहल सतहमा उम्लिएको छ । यसका साथै देशभित्रको राजनीतिक वृत्तमा राज्यको संरचनामा आमुल परिवर्तन र आर्थिक क्रान्तिमार्फत समृद्घ नेपालको निर्माणको कुरा पनि चर्को रुपमा फैलिएको छ । अब हेर्ने छन् नेपाली जनताले- विद्रोहीको रुपमा बाहिरबाट पुरानो सत्ताको उपमा भिराउँदै बन्दुके क्रान्ति छेड्ने माओवादीको जिम्मेवार राजनीतिक तागत र आर्थिक क्रान्तिमार्फत मुलुकको आमुल कायापलट ।

***
अप्रिल १४, २००८ (नक्साल)

No comments:

Post a Comment