April 27, 2009

ढकमक्क काठमाडौँ

देशभित्रको कचिङ्गल देखेर मन एकतमास धुम्मिन्छ, विरक्तिले छोप्छ । यो कचिङ्गलको बारेमा त केही लेख्‍नै मन लागेन, हार खाए जस्तो भइयो । कुकुरको पुच्छर बरू सोझिएला नेपाली निधारको भाग्यमा ऐंठन उमार्नेहरूको कसैगरी होश-चेत खुलेन । कर्णधार युवा पुस्ता भन्छन्, जुरुकजुरुक उचाल्छन्, आफ्नो यो गति छ- जिल्लिन्छु । सोच्यो भने कस्तो हुनुपर्ने र कस्तो भएँ भन्ने दोसाँधमा भक्कानो छुट्न बेर लाग्दैन । एउटा पौडीबाज रहरबश पोखरीमा फाल हालेर पौडीमा रम्न थाले पनि या त हुतिहारापन साबित गर्दै बाध्यतावश मृत्युसामु आत्मसमर्पण गर्न डुबुल्किए पनि अन्तत: पोखरीबाट माथि निस्किनुपरे-उत्रिनुपरे झैँ जति छटपटायो आफ्नै ज्यान र मनलाई सास्ती न हो भन्ने सम्झेर जस्तोसुके दिक्कताबाट कोल्टे फेर्न करै लाग्छ । आखिर सामान्य दैनिकीमा फर्किएर नित्य जीवनगाडी हाँक्नैपर्छ ।

घाम उदाउँछ र उज्यालो हुन्छ, घाम डुब्छ र अँध्यारो छाउँछ । काठमाडौँको सूर्य पनि त्यस्तै लतमा मग्न छ । काठमाडौको रापिलो तापक्रमसँगै राजनीतिको सरसराहट राष्‍ट्रिय प्रसारणमा धुवाँदार बनिरहेको बेला म भने सुन्दरताको पाटोमा चित्त बुझाउन लाग्दैछु । नीला झुप्पादार ज्याराकान्डा र गुलाफी सुर्यास्तमा यतिखेरको मुलुकको व्यथा र छटपटी कुन रूपमा प्रतिविम्बित हुन्छ होला । मैले त्यो अन्दाज गरिनँ । र पनि धेरै शुभ-अशुभ कुरा फुलिरहेको काठमाडौँमा मेरा हेराइमा परेका केही प्राकृतिक झाँकीहरू यहाँ फुकाउँदैछु । यी तस्बिरहरू दरबारमार्ग र रत्‍नपार्क क्षेत्रबाट खिचिएका हुन् ।














8 comments:

  1. भ्रमर चुम्बनमै ओइली झर्ने
    शिरिषको फुल ढकमक्क फुले पनि
    के भर... धाइवा जी...

    ReplyDelete
  2. नेपालको बारेमा केवल 'कू समाचार' मात्रै पढ्दा पढ्दा उदेक लागेको मनमा तपाईले टाँस्नु भएको तस्विरले भने केहि राहत दिए ।

    आनन्द मानेर हेरें । फेरी- फेरी पनि राख्‍नु होला !

    ReplyDelete
  3. साँच्चै नै ढकमक्क भएको छ काठमाण्डौ !!!

    ReplyDelete
  4. आहा ...साच्चै कति राम्रो ढकमक्क फूलेको रहेछ...

    यी फूललाई कटुवालले कु गरोस की सेनाले गरोस ... के चासो है

    ReplyDelete
  5. नीला झुप्पादार ज्याराकान्डा र गुलाफी सुर्यास्तमा यतिखेरको मुलुकको व्यथा र छटपटी कुन रूपमा प्रतिविम्बित हुन्छ होला ? जवाफ तस्विरले नै दिएको छ - माथी रोगी घाम बिचमा ढकमक फुलेको नीला झुप्पादार ज्याराकान्डा र तल बिरामी काठ्माण्डौ ।
    यसैमा सुन्दरता खोज्ने/देख्ने हामीलाई असल भन्नुपर्छ - बाध्यतालाई पन्साएर ।

    ReplyDelete
  6. साच्चै मनहोहक तस्विरहरु । झुप्पादार ज्याराकान्डा र गुलाफी सुर्यास्तमा जस्तै राजनितिको पाटोले पनि ढकमक्क फुलेर यो स्वच्छ अनि हराभरा वातवरणको जगमा ढुंगा थप्ने काम सु-कर्मले हुने भए त अझै कति राम्रो हुन्थ्यो होला है धाइवा जी ।

    ReplyDelete
  7. सुन्दर तस्बीरहरु! धन्यबाद धाइबाजी!
    सुन्दरता प्रकृतिको स्वभाव हो।

    ReplyDelete
  8. धेरै बेर सम्म अरुको देशको फोटो देखेर मक्ख पर्ने म जस्तो मुर्खलाई राम्रो सँग फेरी आभाष गराउनु भयोकी, चेरी नसही, हामी सँग पनि धकमक्क फूलको संसार छ। धेरै धेरै धन्यवाद है तपाईंलाई

    ReplyDelete