Subscribe:

Ads 468x60px

31 May 2009

साहित्य : एक नशा / एक दशा…

तिनताका खुबै लेखिन्थ्यो, कामै लेख्‍ने भने जस्तो । ५८/६० साल ताकाको कुरा । लेखनमा हात बस्दै गर्दा कविता र गजलमै खेलखोर चल्थ्यो । क्याम्पसको पढाइ भर्खर बामे सर्ने क्रममा रहेको र जिल्ला (उदयपुर)को सेरोफेरोमा त्यति कलिलो केटोले कुनै कामधन्दामा बाँधिने संस्कार पनि नभएकाले फुर्सदका किराले उधुमै टोक्ने मौका पाएका थिए । घरको दवाब पनि थिएन कुनै कुरामा, ठीकठाकसँग चलेको मध्यमवर्गीय परिवार भएकोले न त घरभित्र दु:खको खाडल देखेर त्यसलाई पुर्न आफूले सङ्घर्ष गर्नुपर्ने 'चेत' नै खुलाउनुपरेको थियो । पढ्दापढ्दै एउटा पाठक लेखक हुने दुस्साहसमा लिप्‍त भएको थियो । लेखकहरू एकान्तमा हराएर मोती निकाल्छन् भन्ने कुरा सुनेर प्रभाव परेको हुन सक्छ, घरनजिकैको जङ्गल (भित्री मधेसमा पर्ने पहाडी भेगमा हरियालीको प्रचुरता छ उदयपुरमा ।) मा म घन्टौँ हराउँथेँ र कन्थेँ निराकार कविता कोरल्न । हे दैव कसरी लेख्‍छन् होला बूढाहरू बिटाका बिटा कविता, म अत्तालिन्थेँ । जे भए पनि रूपरङ र काँटछाँट केही नमिलेका दर्जनौँ पङ्क्तिहरूको ताँती लगाउँथेँ र बुबाले अड्कलीअड्कली दिएका कापीका पानाहरू ध्वस्त पार्थेँ । डुक्रन्थेँ- 'कविता मेरो पहिलो प्रेम !' (हा !! आज पनि कतिपय भाइ पुस्ता यसरी नै डुक्रँदा हुन् !) भर्खर लेख्‍न जान्दा केके न गरेँ भन्ने सबैलाई हुँदो हो ।

गाउँमा छँदा

जिल्लामा बसेर लेखुन्जेल यिनै हुन् अबका साहित्यिक हस्ताक्षर बने जस्तो खासखुस पनि दाइ पुस्ताले गर्थे । क्रियाशीलता र लगन देख्दा कसो नभइएला भने झैँ आफ्नै फोस्रो नाक पनि अक्करे भिर जत्रो अकासिन्थ्यो । कस्तो लेखेँ भन्नेमा दिमागले ह्याउ नपुर्‍याउने हुँदा लेखैँ बाबै मैले त भन्नेमा मात्रै एकसुर हुन्छ त्यसबेला । सङ्ख्यात्मक रूपमा त भेलबाढी नै आउँछ । साहित्य र लेखनकै नशामा लुटपुटिँदा १५-१५ दिनमा निस्किने गरी (पाक्षिक) भित्तेपत्रिका 'दियालो' प्रकाशनमा ज्यान फालेर लागिएको थियो । साथीहरूको साथ त थियो नै (समूह नै बनाइएको थियो- अनन्तयात्री साहित्य सदन, उदयपुर), तर आफ्नो लगन भने साथीहरूको माझ पनि अझ चौखण्ड थियो । भित्ते पत्रिकामा आ-आफ्नै कामको तनावमा हराएका गाउँलेहरूलाई तान्न यसलाई आकर्षक पनि पार्नुपर्छ भन्ने मान्यताले विभिन्न दैनिक पत्रिकाका चित्र र फूलबुट्टा कटिङ गर्नमा भद्रगोल कोठाबीचमा म गाईजात्रे पाराले लठिभद्र पत्रिकाको छेउ टुक्रिएको हुन्थेँ । तयारी भित्ते पत्रिका लगेर चोकको एउटा कठघराको भित्तामा राखिएको जालीदार बोर्डमा टाँसिन्थ्यो ।

पत्रिका प्रकाशन गर्नमा साहित्यिक चाखले प्रेरणा दिए पनि पत्रिकामा सामुदायिक अभिभारा बोध गर्दै समाजका विसङ्गति र अँध्यारो अवस्थाको केन्द्रविन्दुमा रहँदै चेतनामूलक विषयवस्तु पनि सँगाल्थ्यौँ । पढ्नलाई साझा प्रकाशनको मासिक प्रकाशन 'गरिमा' र गोरखापत्र संस्थानको 'मधुपर्क' कहिल्यै छुट्दैनथ्यो । जागिरै त्यही भने जस्तो महिनपिच्छे तलब बुझेसरि पत्रिका-पसलबाट ती पत्रिका बुझिन्थ्यो । पछि साथीहरू पारिवारिक दायित्व तथा अन्य परिबन्दले थाकेर 'साहित्य बायाँ हात मात्र हो यार, यति मरिमेटेर केही हुन्न' भन्न थाले । आफू भने जोस भरिएको उस्तै लबजमा फूर्ति लगाइन्थ्यो-'के कुरा गरेको ? कहाँ हुनु बायाँ हात, साहित्य त दायाँ हात पो हो त ! यति ऊर्जा दिन्छ जीवनमा । यति आनन्द मिल्छ ….। '

कति सजिलो र आनन्ददायक कर्म लाग्थ्यो भने के बन्छस् भोलि भनेर घरकाले अथवा छरछिमेक र बाहिरकाले सोधेमा जवाफ थेगोसरि जिब्राको टुप्पोमै झुण्डिएको थियो- लेखक । सधैँ पत्रिका नै टाँसटुँस गर्ने 'गैरनाफामूलक धन्दा'मा छोरो लहसिएको देखेर घरमा करकर सुन्नुपर्थ्यो सधैँ- यसले गरिखाँदैन । तिनताका म राम्रै भन्ने खालको चित्र पनि बनाउँथे, प्रायश: पोट्रेट स्केच । झन् बुबालाई खपिनसक्नु हुन्त्यो । बुबा त 'प्रवक्ता' नै बन्नुभएको थियो, घरमा कोही आफन्त र छिमेकी आयो कि त मेरो 'वर्तमान मार्गचित्र' बारे तानतुन पारेर कान भरिदिने । अनि त दिमाग रनक्क तात्‍ने किशोरवयमा के चाहियो र मलाई !? झोँक र इखले पागल भएर म झन् त्यही टाँसटुँसे विद्यामै एकोहोरिन्थेँ । लौ त म झन् बिग्रिन्छु खुच्चिङ् भनेर ज्यान छाडिदिन्थेँ बेमतलबले । अलिकता त ममीको ज्यादा मायाले पनि पुलपुलिएको थिएँ । सानामा बुबाले छुलुक्क सिर्कनाले तह लगाउनुभएकोले ठूलो हुँदै गएपछि पनि बुबाको छेउ पर्न छोडियो । अनि त सबै करकर र प्याउलेपन ममीकै हजुरमा नबिसाई म धर पाउँदिनथेँ ।

ममी पनि मेरो ताल (खासमा त बेताल) देखेर दिक्किनुहुन्थ्यो- 'के हो तेरो त्यो भित्तेपात्रो-सात्रो !!!!' भित्तेपत्रिका भन्ने ज्ञान पनि कठै मेरी अर्ध निरक्षर आमालाई थिएन । ममी त मेरी अन्तरङ्ग साथी जस्ती । प्राय: बुबाको मप्रतिको कोप ममीले नै ढाकछोप गर्नुहुन्थ्यो । अनि त मलाई के पीर थियो र ! त्यसपछि बुबाको रिस ममीमै खनिन्थ्यो-'छोरालाई पुलपुल्या न अझै ! तैँले नै यसलाई टाउकामा चढाएकी होस् ।' कठै आमा । म दु:ख बुझ्थेँ उहाँको । बुबा कराइरहँदा करूणिक अनुहारको भाव बिगारीबिगारी पुलुक्‌पुलुक्‌ मलाई हेर्दै ममी चुपचाप गाली-उवाच सहनुहुन्थ्यो । तर मेरो लहडी उमेरले क्षणमै त्यो दु:खद् अनुभूतिको सीमा छलाङ लगाएर पार गर्थ्यो, निर्धक्क ! केटो बिग्रियो भनेर बुबाले खुइय्य काढेको देख्थेँ-सुन्थेँ । र पनि म थोडी गाँजा-चरेस र अरू अनैतिक कुर्कममा लागेको हुँ र भन्ने गर्विलो तर्कको सहाराले पङ्ख चाल्दै म आफ्नै मेलोमा दत्तचित्त बन्थेँ । ममीको गलाले 'कान्छा ! काले !!' पुकारेको क्षण म हुरुक्क बन्थेँ । भावुकताको ज्वरो असाध्यै थियो (अझै पनि छ, लाग्छ- यो त रगतसरि मिसिएको छ प्राणको अणुअणुमा ।), सानो कुराले पनि घ्यु कमिलाले जस्तै चिटिक्क टोक्थ्यो । बुबाले गाली गर्दै गर्दा ममीको अगाडि यत्तिकैमा पिलपिलाउन थाल्थेँ । आँसु झार्न पैसा नपर्ने भएर हो कि ?

सहरतिर

यस्तै गर्दागर्दै अभिभावकको आँखामा 'बिग्रिएर' थिग्रिएको मैलो छोरो राजधानीमा तप्कियो, उच्च शिक्षामा आमसञ्चार विषय पढ्न । जे-जसरी भए पनि लेख्‍न नछोड्ने भयो कान्छोले ! छोरी बिग्रिई नर्सले, छोरा बिग्रियो कमर्शले भन्ने चलनचल्तीको उखान यो कान्छाको हकमा सही सावित भयो । जिल्लामा दुई वर्ष कमर्शमा सेलाएर राजधानीको बाटो नाप्नुअघि अभिभावकको सपनालाई घुँडाघुँडासम्म आँसु तपक्क चुहुन बाध्य बनायो यसले । अहिले सम्झिँदा कठै भन्ने हिक्का मात्र बाँकी छ । सहरमा समयको खलाँतीले उमेरको कच्चा धातुलाई परिस्थितिको कोइलाको झिलझिलाकार दहमा फुकेर पकाउँदै गयो । म सानोतिनो टुक्रा फलाम बन्दै गएँ क्यार ! दुनियाँको लीला देखियो, सुनियो । आफ्नो अनुभूतिको धारमा परेर नसिकेको यो बच्चो जीवन अरूको भोगाइको ग्राभेल सडकमा दरालिएर छोडिँदै गयो, नयाँ रङ देखिँदै आयो । तब पो केही नापनक्शा आउन थाल्यो । (तर ओह्ऽऽ अझै पनि त म पूर्णरुपेण कामलाग्दो औजार बन्न सकेको छुइनँ !!)

पछि भने पत्रपत्रिकाहुँदी लेखेर केही पैसाको आम्दानी गर्न थालेपछि छोराले ठीकै सोचेको रहेछ, राम्रै बाटो अँगालेको रहेछ भन्ने बोध बुबा-ममीमा पलायो क्यार ! 'केटो' बाट मान्छेमा गन्न थालेको अनुबव गर्न थालेँ । मीठो लाग्यो बुबा-ममीको युगल स्नेह पाएर । भिन्न-भिन्न पत्रिकामा संवाददाताको फाटफुटे अनुभव पनि बटुलेँ, साहित्यिक जमातमा दाइ-दिदी पुस्ता र समकालीनमाझ राम्रैगरी रत्तिएँ पनि । उहिले जागिरै लेखकको गर्छु भन्ने धोको यथार्थको धरातलमा (नेपालको हकमा) हावा खाने खालको रहेछ बन्ने चेत खुल्दैछ । कलम समाएर बाँचिए पनि साहित्यकै कुवाको भ्यागुता भएर त जीवनले ए बित्ता पनि वेग नमार्ने रहेछ । साहित्य आखिर आत्मरतिकै एक झिल्को बिजुली हो, जसले आत्माको उपत्यकामा उल्लास सञ्चार गर्छ । समाज र देश-दुनियाँमा साहित्यले जागरणको लहर फैलाउँछ, हो सत्य हो । तर पहिलो कुरा लेख्‍ने व्यक्तिलाई नै साहित्यले रस चखाउँछ, चाहे त्यो जागरणको होस् या नहोस् !

त्यतिबेला भित्ते पत्रिकामा गरेको अभ्यास अहिले कति काम लाग्यो, अहिले जप्दैछु । हुन त मेरै जाँगर र लगनको प्रतिफल थियो सबै, तर त्यो विगत कुनै सानो संयोग मात्र थिएन । यस्तो कतिको जीवनमा हुँदो हो ? मेरो जस्तै अन्धो यात्रामा फाल हालेर नशालु साहित्यको क्याप्सुल चुस्दै दशाको हत्तेमा थोरै घातले भए पनि अभिभावक र आफैँलाई थकथक कतिजनाले बनाइरहेका होलान् ? अझै कति होला अनेक सिर्जनशील 'सत्सङ्ग' मा बरालिरहेका ममीका प्याराप्यारा काले र कान्छा ? र बुबाका बिग्रिएका छोराहरू ??

तर उरन्ठेउलो उमेरमा जति नै सही कुरा, विवेकी समझका आशिष्‌हरू सुने पनि चेत खुल्ने त आखिर समयको एउटा निश्‍चित साइतविन्दु हुन्छ । त्यतिखेर त कानमा अर्तीका भुलभुलाहट पुगे पनि विवेकको घ्याम्पोमा त टम्म बिर्को नै हुन्छ ।

त्यो बिर्को आफ्नै हातले नउघारी जीवनमा आँप र केरा गोड्याउन कहाँ सम्भव रहेछ र !?

20 comments:

  1. रमाईलो लाग्यो तपाईँको लेखन-यात्राका कुरा पढ्न! रमाईलो लाग्नुको एउटा कारणचाहिँ बाल्यकालको हाम्रो सपना उस्तै हुनु पनि हो; लेखक बनेर पेट पाल्ने सपना देख्थें म पनि।
    समाजको आर्थिक र बौद्धिक दुबै स्तर नसुध्रीकन त्यस्ता सपना सपनानै रहन्छन्। दुनियाँका अरु देशमा देखिएको छ लेखेर मात्रै पनि शानले बाँच्न सकिन्छ, हामीकहाँ पनि आउला नि त्यस्तो दिन।

    ReplyDelete
  2. dhaibaji tapaiko lekhan yatra paddha ta tapaima thulai josh tiyo rahechha balyekaal dekhinai sahitye ma lagchhu bhanera.

    ReplyDelete
  3. नशा ले दशा त पक्कै निम्त्याएको छैन । पहिले पहिले पत्रपत्रिका मा "जोतारे धाईबा" लेखेको देख्दा, सोच्थेँ, कुनै पाको मान्छे होला । भन्न को मतलब धेरै उमेर खा'को ।

    यसै क्षेत्रलाई नै कर्मथलो बनाउनुस्, जे हुन्छ राम्रै हुन्छ ।

    ReplyDelete
  4. धाईबाजीको साहित्यिक यात्राको भोगाई हरु पढ्न पाउँदा रमाईलो लाग्यो |

    साहित्य लेखेरै जिन्दगी गुजार्न सकिने अवस्था नबने सम्म साहित्यले अर्को ठुलो फड्को मार्न गाह्रो छ |

    तर साहित्य बाट भनेजति पैसा नकमाइए पनि आत्मसन्तुष्टि भने भरपुर मिल्छ है |

    ReplyDelete
  5. सोच्दैछु धाइबाजीको जस्तै यस्तो मिठो नशाले मलाई पनि एक पटक मदहोस बनाओस! लट्ठ पारोस र रुझाओस निथ्रुक्क शब्दहरुको झरीमा! र त्यों बेहोशीको अनुभव गरुं एकपटक ! सुन्दर ढंगले निजी वाल्याकालका स्वर्णिम स्मृतिहरु केलाउनु भयो, कति त आफ्नै जस्ता पनि लागे ।यद्यपि वसन्तजीले भने जस्तै अब बिस्तारै यो नशाले दशा हैन दिशानिर्देश गर्न सकोस द्विग्भ्रमित समाजलाइ ! आत्मसंतुष्टि र इज्जतका साथै जिन्दगीको आधार पनि पहिल्याउन सकोस, कामना गरौं !

    ReplyDelete
  6. जोतारे जी, मलाई तपाईको बालककाल खुशीको अनुभति भयो । तपाईको सानैदेखि लगनशिल र मेहनतबाट आखिर यहाँसम्म आइपुग्नु भएको छ ।

    यहि मौकामा मेरो पनि बाल्यकाल सम्भिmन चाहन्छु । सानो करिब ८/९ वर्षहुँदाको बखत हो । पर्ढाईमा तेजिलो म हेरेर नै धेरै सिक्ने गर्दथे । बिभिन्न राजनैतिक लेख रचना, कथाकविता पढ्नु दिनचर्या थियो । आर्थिक विपन्नताका कारणले गर्दा स्थानीय पत्रिका बाड्ने काम गर्दथेँ 'विज्ञपन' ।

    हो त्यतिखेरको कुरा हो । मलाई पनि आफ्नो रचना सो पत्रिकामा छाप्न मनलाग्यो । के गर्नु लेख्न केही आउँदैन् । मेरो पालो अरुकै कवितालाई परिमार्जन गरेर आफ्नो बनाए र त्यो प्रकाशित भयो पनि । त्यो हेरेर म निकै खुशी भएँ अब आफैँ मौलिक लेख्नर्ुपर्छ भन्ने सोच जाग्यो । पत्रिको त्यो सानो स्थानले गर्दा जस्तो भएपनि आफ्नै मौलिक सिर्जना गर्न थाले स्थानीय स्तरका पत्रिकाहरुमा मेरो वर्चस्व कायम भएको थियो ।

    अहिले आफ्नै पत्रिका निकाल्छु 'श्रीजनमत' । सोहि पत्रिकामा समाचार सम्प्रेषणहरु गर्दछु । सो आफ्नो लेखहरुलाइ पहिलो प्राथमिकता दिने गर्दथें। अहिले चाहिँ अरुकै लेखहरुलाई मान्यता दिने गर्छर्ुु जे होस् केहि सिक्ने प्रयासमा छु ।

    अन्त्यमा तपाईको छोरी बिग्रिई नर्सले, छोरा बिग्रियो कमर्शले भन्ने लाइन सार्‍है मन पर्‍यो ।

    ReplyDelete
  7. अनुभूतिको मेरो अतीतकालीन अभिव्यक्तिमा अनुभूतिपरक टिप्पणीहरूले लेखक बन्ने सपना च्यातिएको मनलाई राहत दियो । लेखन (मूलत: साहित्यिक) पेसा बन्न नसकेको घाउ पत्रकारिता र ब्लगिङको आडमा सुमसुम्याउन पाउँदा पनि असीम आनन्दलाभ गरिरहेको छु ।

    तर लेखक बनेर पछि यसबाट बाँच्न सकिएन, राज्यले केही व्यवस्था गरेम भन्ने बिलौना गर्नु नै फजुल कुरा लाग्छ मलाई । आत्मतृप्‍तिको लागि रहरले लेख्‍ने कर्म छान्ने आफू, र यो भएन ऊ गरिदिएन भनेर करकर गर्ने मानसिकता नै दरिद्र हो । सके आफैँले मुकाविला गरेर देखाउनु नत्र यो गरिदिएन, गरिदिए लेखकलाई बाँच्ने आधार मिल्थ्यो भनेर भर खोज्ने प्रवृत्ति लेखकलाई सुहाउने कुरो होइन ।

    हामीमध्ये धेरैजनाको किशोरवयमा यस्तै सपना हुने गर्छ, केही नबुझी लेखक, गायक, चित्रकार र हिरो बन्ने 'धुन' मा मस्किने ! राजेशजीको सङ्घर्षका कथा पनि उस्तै मार्मिक रहेछ । साहित्य, लेखन नशाबाट आफूप्रति अपेक्षाभाव पाल्ने घर-परिवार र अरू आफन्तजनको हकमा दशा भए पनि आफ्नो लागि अब जीवन नै भइसक्यो ।

    ReplyDelete
  8. सर्ब प्रथम त ईमान्दारीताका साथ आफ्नो निजि जिन्दगीका सर्बस्व हामीसबैलाई खुला दिलले बाँढनु भएकोमा हार्दिका आभार प्रकट गर्दछु ।

    कुनै बेला सायद म मा पनि त्यो 'शनक' भएकोले यो टाँसो २-३ फेर पढें ।

    हुन त मूल टाँसो बाहेक टिप्पणीमा तपाईले लेखी सक्नु भएको छ, तैपनि नेपालमा लेखनले पेशाको स्थान ओगटन अझै निकै समय लाग्ला जस्तो लाग्छ मलाई पनि र यसबारेमा राज्यमात्रै लाई दोष दिनु तपाईकै शब्दमा 'फजुल' नै हो । (यस बारेमा कुनै दिन मिलेमा आफ्नो बिचार पनि लेख्ने बिचार गर्दैछु)

    पक्कै पनि ब्लग लेखनमा "अफलाईन लेखन' भन्दा छिटो र सिधा टिप्पणी पाईने भएकोले लेखक बन्नु र व्याबसायीक लेखक बन्नुको फरकलाई भिन्दै राख्ने हो ब्लग लेखनमा साँच्चै आत्म सन्तुष्टी मिल्छ ।

    तपाईकै भाषामा 'आफन्तजनको हकमा दशा' होस भन्न त सक्दिन, तर तपाईको यो नशाको भने तारिफ गर्छु म र यो नशाको निरन्तरता साथै व्याबसायीक सफलताको समेत कामना गर्दछु ।

    ReplyDelete
  9. तपाईंको यो जिवनी को एक खण्ड पढेर मलाई एउटा नेपालको बारेमा जापानी टिभि वृतचित्र याद आयो ।जसमा एउटा जापानी जादुगरले नेपालको विकट स्कूलमा बच्चाहरु सँग प्रश्न गर्छ ?तिमिहरु पढेपछि के हुने ? र त्यो प्रश्नको उत्तर धेरै बिध्यार्थीले चुप रहेरनै टार्छन् किनकि धेरैलाई यो थाहा छैनकि पढेर के भइन्छ या के को लागि पढ्ने हो ? १-२ जना ले स्कूलमा सर या घरमा बा आमाले पढेर डाक्टर, ईन्जिनियर बन्नु पर्छ भन्ने सुनेका हुँदा हुन् त्यहि दोहोर्याए । त्यो जादुगरको जादु हेरे पछि १-२ जना बिध्यार्थीले आफू जादुगर बन्ने रहर ब्यक्त गर्छन् । र त्यो जादुगरले कार्यक्रमको अन्तमा भन्छकि "मैले सपना नदेख्ने बालबालीकाहरुमा एउटालाई नै किन नहोस् मैले सपना देख्न सिकाएँ ,त्यहि मेरो नेपाल भ्रमणको उपलब्धी हो ।"
    यसले हाम्रा बालबालिका कुन अबस्थामा अझै छन देखाउँछ ,तर तपाई थोरै ति मान्छेहरुमा पर्नुहुन्छ जसले सपना देखेका छन् भबिष्यको केटाकेटी बेलामानै ,त्यसैले तपाईको सपना साकार हुन्छ जस्तो लाग्छ मलाई ।

    ReplyDelete
  10. लेख्नु यौटा कुरा लेखेर गुजारा गर्नु अर्कै कुरा । तपाईंको निरन्तर ध्याउन्नले निश्चय नै केहि अर्थ राख्छ । आकारजीले भन्नुभएझैं पहिले पहिले जोतारे धाईबा नाम पत्र पत्रिकामा पढ्दा म पनि पाको वयको कवि सम्झन्थें ।

    ReplyDelete
  11. धाइवा जी को गाँउ देखि श्हर सम्मको अनुभुति र यात्राको पाटोहरु पढन पाउदा अति नै मज्जा लाग्यो ।

    ReplyDelete
  12. धाईबाजी को बारेमा स्पन्दन तथा सुसेलीका संचालक हेम भण्डारीको भेटमा कीर्तिपुरमा सुनेथें | साथमा सुमन राई पनि थिए | मलाई पनि कुनै पाको मान्छेको परिकल्पना भएथ्यो | तर जब ब्लगमा धईबाजी संग भेट भयो उहाँ सिर्जनामा मात्र पाको हुनुहुँदो रहेछ | जैविक भोगाईमा त म भन्दा कान्छो पाएँ मैले | मिलनजी संग मेरो कुरा पनि भए थ्यो | साहित्य नसा जरूर हो, दशा पनि होला तर नसा जतिको दशा होईन भन्छु म | हुन त जिन्दगि स्वयंमा एउटा नसा हो | र त बाँच्न कै मोह हुन्छ हरेक पल्ट |भोगाई कतिको सजिलो थियो कुन्नि मलाई पढ्दा भने मज्जा आयो धाईबाजी | यो दोष मेरो होइन तपाईं कै लेखनको हो |

    ReplyDelete
  13. धाईबाजी तपाँइको गाँउ देखि शहर सम्मको अनुभुति र साहित्यिक यात्राको भोगाई हरु पढ्न पाउँदा ज्यादैनै रमाईलो लाग्यो | तँपाईको लेखन यात्रा निरन्तर रहोस।

    ReplyDelete
  14. one can not survive writing literature
    it can be hobby
    not the profession

    ReplyDelete
  15. बुवा आमाले छोरो बिग्रीयो भन्नु स्वाभाविकै हो । हुन त तपाईँले यो क्षेत्रमा धेरै काम गरेर बुझिसक्नुभएको कुरा होला त्यहिपनि बुवाआमाको चाहना भनेको छोराले पैसा कमाओस् भन्ने नै हुन्छ धेरैजसो । र साहित्य यस्तो क्षेत्र हो जहाँ इज्जत पनि साहित्यकारको बिचमा नै हुन्छ । बाहिर पनि यो त कवि अरे भन्दै खिल्ली उडाएको सुनिन्छ । न इज्जत हुन्छ न त आयआर्जन नै । त्यहि भएर बुवाआमाको कुरा उहाँहरूको दृष्टिकोणबाट हेर्दा एकदमै सहि लाग्छ मलाई ।

    अब आफ्नो इच्छाको कुरा गर्दा मन लागेपछि जे पनि ठिक लाग्ने बेला हुन्छ त्यो ।

    जे होस् एकदमै रमाईलो लाग्यो तपाईँको यो सानो साहित्यिक जीवनी पढेर र एकदमै प्रेरणादायक पनि छ ।

    ReplyDelete
  16. तपाइकै लाइन सापटी लिएहै।
    "सहरमा समयको खलाँतीले उमेरको कच्चा धातुलाई परिस्थितिको कोइलाको झिलझिलाकार दहमा फुकेर पकाउँदै गयो । म सानोतिनो टुक्रा फलाम बन्दै गएँ क्यार ................

    मनिसको व्यबहार र उस्को जिबनको हरेक ..... लोहारको हातको काँचो फलाम वा कुमालेको हातको काँचो माटो।।।

    समय र परिस्थिती रुपी हातहरुले हाम्रो जिबनको आकार तय गर्दो रहेछ शायद नजानिदो, र कल्पनै कल्पनाको एक अमुर्त औजारको पर्खाइमा। सानो सानो टुक्रा भएपनि जिबनलाई व्याबहारिक आगोमा पगाल्नु पर्छ साएद फेरी केही रुप लिन्छ जिबनले ।।।।।।।। खुब जमाएर लेख्नु भयो।।। तपाईंको लगन र सपनाहरुसँग हामीलाईपनि हिडाउन सफल हुनु भयो।
    साहित्यबाट अरु केही नभएपनी जिबनमा आत्मसन्तुष्टि भने मिल्छ है ...
    सुन्दर लेख।

    ReplyDelete
  17. धाइबा जि का बल्यकाल,गाँउदेखी शहरसम्मको साहित्यीक यात्राको अनुभुती पढ्न पाउदा खुशी लाग्यो। वास्तवमै सपना बिना जीवनको अस्तित्व शुन्य हुने भएर होला सानो होस् वा ठुलो, ढिलो वा चाँडो जो सुकैले जीवन प्रती सपना सजाएकै हुन्छन र हरदम प्रयासरत हुन्छन सपना साकार पार्नको लागि तर दुर्भाग्य नै भन्नु पर्छ सबैको यात्राले गन्तब्य चुम्न सक्दैन। धाइबा जि तपाईंको अजिब इच्छा शक्ती र तपाईंले सजाउनु भएको सुन्दर सपना साकार पार्न तपाईंले गर्नु भएको त्याग ले नै त तपाईं आज गन्तब्य नजिक पुग्न सफल हुनुभएको छ र यो पनि तपाइको कम्तिको सफलता हो जस्तो मलाई लाग्दैन।
    अझै अगाडी बढ्दै जानुस् तपाईंका सिर्जनाहरुले साहित्यप्रेमीहरुको मनमा दर्हो स्थान बनाउन सकोस मेरो शुभकामना!

    ReplyDelete
  18. ए भने पछि त्यो भीता संगै भीते प्रत्रिका लिएर तन्ग्रिनु भएको रहेछ |
    - हुन त सबै तपाई आफ्नैको मिहनतको फल हो - अनि अथक परिश्रमको उपज हो धाइबा जी को आफ्नो छुटै पहिचान |

    पुरा गाउ देखि शहर सम्मको आफ्नो नालिवेली प्रस्तुत गर्नु भएकोमा साधुबाद !

    ReplyDelete
  19. सबै शुभेच्छुकहरूमा प्रतिक्रियाको लागि आभार व्यक्त गर्छु ।
    अवश्‍य पनि साहित्य आजीविकाको सवालमा दशा भए पनि यो नशा हत्तपत्त टुटिजाने हुँदै होइन । मलाई पनि लाग्छ- बाचुन्जेल लेख्छु । मैले लेख्न छोड्ने अवस्था भनेको तयो मृत्यु नै हो । तपाईँहरूका मीठा र आत्मीय हुटहुटीले लेखनयात्रामा ऊर्जा दिइरहनेछ । यस्तो शुभ कामना र मायाका लागि सदा ऋणी रहनेछ मेरो हृदय ।

    म पनि कामना गर्छु अब आउने पुस्ताले लेखनमा व्यवसायिकताको खडेरी देखेर जिल्लिनु नपरोस् । उचित अवसर पाऊन् तिनले ।

    ReplyDelete
  20. धाइबा जी,
    बिम्ब र प्रतिक दुबैको स्रोत कल्पना हो।
    कल्पनाबाट बिम्बहरु जन्माउनु भएकोछ
    तपाईंको प्रतेक गजलका हरफहरुमा।
    रसिलो,सजिलो र सरल बोलचालको
    भाषा प्रयोग गर्नुभएकोछ । मलाई त
    यी हरफहरुमा मान्छे बोलिरहेजस्तो लाग्छ।
    शुभ कामनाछ है।

    ReplyDelete