* तस्बिर : मरील्यान्जेलिल.कम
फ्नै ब्लग भएपछि घाटाको कुरै छैन, विज्ञापन गर्न पनि आफ्नै हात जगन्नाथ ! आजको जमाना भनेको एउटै कुरालाई बहुउपयोगितामा लिएर दशतिर भागदौड गर्ने टन्टाबाट मुक्ति पाउने हो । झोलीमा बोरा अटाउने जस्तो ! ब्लगको यात्रालाई पनि आँसु-हाँसो, गुनासो-संवेदना, चिन्ता–चासो (वैयक्तिकदेखि सामाजिक हुँदै राष्‍ट्रिय–अन्तर्राष्‍ट्रिय सम्मको सन्दर्भमा है !) को प्रकटीकरणबाट मनको खुनखुन मेटाउँदै सानोतिनो सामाजिक कर्तव्य पनि पूरा गर्नमा मात्र सीमित नराखी विज्ञापनमा पनि उपयोग गर्न सक्यो भने त स्वादमा सुवास नै थपिन्छ । यही कारण हो, व्यस्त सडकछेउ ढ्याप्प ढाक्ने होर्डिङ बोर्डलाई बिर्साउने छाँटमा ब्लगको भित्तामा मान्छे हराएको पर्चा छर्न लाग्दैछु । यस्तै बहुउपयोगीताको अभ्यस्तताले होला, 'पश्‍चिमा हावा'ले छोएपछि श्रीमतीमै आमाको गुण भेटेर 'आमा-बहिष्कार' भने झैँ एकोहोरो लुटपुटिन पुग्ने सन्तानहरू भटाभट देखिँदैछन् । यान्त्रिक हतारोको बतासे भूतले सताएर भावनात्मकता गुमाएका सहरिया परिवेशमा यस्तो आमा-बहिष्कार अझ व्यापक देखिन्छ ।

अरूको कुरो के गर्नु, आत्मीयताको खडेरी परेर बल्ल कुनै मायालु काख भेटाएको पल यही पङ्क्तिकारले नै प्रियसीको प्रेम अझै बाक्लिने लोभमा परेर उताको कानमा फुसफुसाएको थियो- 'साँच्ची हो, तिमी मेरी ममी जस्तै लाग्छ ।' हुन पनि अनुभूतिको साँध र सीमा नै कहाँ पो हुन्छ र ! हामीमध्ये कतिपयलाई कोही चिनजानै र बोलचालै नभएको मान्छे पहिलोचोटि बल्ल देखिँदैछ भने पनि झनक्क रिस उठ्छ । अनि कोहीप्रति भने एक झलक देख्दैमा मोहनी र प्रभावको शीतलु छायाले छपक्क छोप्छ ।

मान्छे हराएको दुखेसो गर्न बसेको म मान्छे भेटिएको रौनकतामा पो बतासिएछु । लेखाइको नागबेली भनेको कहिलेकाहीँ यस्तै हो । खासमा मान्छे हराएको सूचना दिमागमा दौडिएको जुग भयो । हराएको मान्छे आफू फेला परिएला कि भने झैँ दौडिरहेको थियो होला कि ! यसैले नभेटिएको क्यारे त्यो मान्छे ।

साँच्चै हराएको छ बस्तीबाट मान्छे । यो उच्चारण भावुकताको घोडामा बतासिएको उच्छ्‌वास लाग्न सक्छ । हतासाले भरिएको । तर यो सत्यता त समयकै सिउरमा पाकेको कपाल हो, जसलाई 'वाह पाक्यो !' भनेर गजब मान्ने फुर्के पाटो पनि कतै छैन । देशभित्र खुला रूपले कागताली नजर दौडाउने हो भने आज दिन दुगुना रात चौगुना (यो अब वाक्य सजाउने प्रगतिसूचक सजिलो थेगो नभई मुटुछेड यथार्थ नै भइसक्यो ।) बढ्दै गएको विशृङ्खलता र अराजकताको केन्द्रविन्दुमा मान्छेविहीनताको रापिलो तीर छ । जुन तीरले देखाउँछ मान्छेले आज न त सु, न त कु कुनै कर्म गरेको छैन ।

खासमा मान्छे भन्ने अस्तित्वको स्पेस नै रिक्त छ । मान्छे आज मान्छे रहेन । मान्छे, मान्छे नरहेर अरू नै विवेकहीन जन्तु-जनावरको तहबाट व्यवहार गर्छ भने त्यो कर्मलाई मान्छेले गर्‍यो भनेर कसरी किट्ने ? लुछाचुँडी, मारमुङ्ग्री, धोका, हेलाहोचा, षड्यन्त्र, विश्‍वास र मानमनितोको बदला घात र घृणा, आँखै सामुन्ने उल्लूचाला, दायित्व र कर्तव्यको बेलुनमा काँडाखेती, भ्रमको कारोबार आदिमा आजका सर्वसाधारण जनलाई उपल्ला नेता-महात्माहरू खुला प्रशिक्षण दिइरहेछन् । घर-परिवारसँग मिलेर बस्न नसक्नेहरू, कोठा व्यवस्थित बनाउन नसक्नेहरू टोल, समाज र देशको उल्झन मिलाउन टाठिएका छन्, नयाँ काइदा-कानुन व्यवस्थित गर्न कुतकुतिएका छन् । आफूभित्र एउटै नयाँ विचार उमार्ने हुती नभएकाहरू हावामा औँला नचाउँदै नयाँ विश्‍वको उपदेश ओकलिरहेछन् । एउटा सीधासीधी बनोट र बान्की भत्काएर सिर्जनशील जमात अकथा, अकवितातिर उन्मूख भए जस्तै मान्छे आज अमान्छेमा रूपान्तरित हुन थालेको छ । यो समयको लीला हो कि मान्छेको आफ्नै दृष्टिकोणको, केलाउन-छुट्याउन स्वतन्त्र छौँ ।

आज कोहीसँग मानवीय संवेदना नहुनु उसले हाकाहाकी बताउने परिचय जस्तो भएको छ । नाकका पोरा फुलाउँदै सजिलै भनिदिन्छन्- 'सडकछेउ रूग्ण शरीर अड्याएर माग्दै गरेको मगन्ते देख्यो भने पनि चुपचाप आफ्नै मेलोमा हिँडिन्छ आफू त, एक कौडी दिइन्नँ ।' यसै गरी कतै सुनिन्छ- 'कोही मर्‍यो भने बल गरेरै पनि आँसु निस्किँदैन, देशमा यति धेरै मान्छे मरिसकेर हो कि क्या हो अभ्यस्तताले मुटु प्लास्टर गरे जस्तो !' ल, ठीकै छ, संवेदनाको मात्रा व्यक्तिपिच्छेको आन्तरिक रसायन र पारिवारिक-सामाजिक संस्कार, रहनसहन तथा मान्यताले फरक हुन सक्छ । तर मान्छे हो भन्नेमै प्रश्‍नचिन्ह उठ्ने स्थिति आयो भने चाहिँ कुनै बहानाबाजीको ल्याप्चेले काम गर्दैन । खासमा आफ्नो गल्ती र पशुत्वबारे अरूबाट शङ्का उठेमा त्यसको प्रतिकारस्वरूप बाहिर जति नै गर्जन छाडे पनि ऊ स्वयम्‌ले भने भित्रभित्रै आफैँलाई नै चिथोरिरहेको हुँदो हो, माफी दिएर पनि माफी नपाइरहेको हुँदो हो ।

हाम्रो छेउछाउको परिवेशमा नहुनुपर्ने कुरा यति भइरहेका छन्, अब हुँदाहुँदा तिनै कुकृत्य नै मूलधार, प्रामाणिक हुने छाँट देखिँदैछ । हाम्रै नेपालको कुरा गरौँ न ! यहाँ हुने राजनीतिक, सांस्कृतिक, जातीय, सामाजिक घटना-परिघटनाको प्रतिक्रियामा हुने विरोधको शैली, कट्टर ट्याग भिरेका कार्यकर्ताको कुरा एक क्षणलाई छेउमा राख्‍ने हो भने पनि सर्वसाधारण जनताको शिथिलता अर्को जीवनशून्यता लाग्छ । उता कार्यकर्ताको उखरमाउलो चकचक, यता जनसाधारणको निरीहता ।

भगवान् होइन मान्छे । मान्छे, मान्छे नै भए पनि त्यो आजीवन अपूरै रहन्छ, मान्छे हो ऊ यसैले केही न केही त खोटदार हुन्छ । भूल गर्छ तर साथसाथमा सच्याउने विवेक र सामर्थ्य पनि बोकेर हिँड्छ । तर आज समयको बधशालामा उसको शिर आफैँद्वारा गिडिए झैँ प्रतीत हुँदैछ । मानवीय संवेग, हार्दिकता, भावनात्मक सदाचार उसबाट छुट्टिएका अङ्गहरूको निर्जीवतासँगै प्राणहीन बन्दैछन् । उसको मुटु अब रगत प्रवाह गर्ने कारखाना मात्र हो । विज्ञानले अझसम्म खोज र प्रमाणमा पत्ता नलगाएको मान्छेको 'मन' साँच्ची नै यो २१ औँ शताब्दीको वैज्ञानिक क्रान्तिको युगमा गल्पकथाको भाँतीमा बिलाएसरि भएका छन् ।


संसारै सुनाइदेऊ सुनाइदेऊ-
ओ मान्छे, म कहाँ कुन गर्तमा छु- हराइरहेको ?