सँगको १८ महिनाजतिको अन्तरङ्ग सङ्गतमा मैले देखेँ- उसका आँखा 'झरी' शीर्षकको पेन्टिङले कहिल्यै रङ्गिएनन् ।

एक हिसाबमा म खुसी पनि भएँ, सोचेँ र सन्तोषको सास लिएँ- नरून सक्नु र नरून पाउनु साह्रै जाती कुरा हो, कम्तीमा नरूने व्यक्ति स्वयम्‌का लागि । तर रुने कुरालाई पीडादायी रूपमा व्याख्या गरेर दुत्कार्ने ठेक्का कसैले पाएको छैन ।

'म कति दुब्लाएछु हेर न', मेरा औँलाहरू तानेर आफ्नो कम्मरको हाडखोरतिर चाल्दै ऊ हदै निकटता साट्थ्यो मसँग । हाम्रो प्रारम्भिक ताकाको भेटमा सानेपा (ललितपुर)को लोडसेडिङले छोएको भुताहा उकालीलाई जोर पैँतालाले नाप्दै गर्दा उसले एक साँझ भनेको थियो, 'साँच्ची, आँसुमा के हुन्छ, मान्छेहरू रोएर हल्का हुन्छु भन्छन्, के रसायन हुन्छ त्यसमा ? मलाई अध्ययन गर्न मन लागेको छ ।'

ऊ आँसुको वैज्ञानिक पाटोबारे अध्ययन गरेर एउटा गजबको लेख लेख्‍न चाहन्थ्यो । र ऊ यस्तो ठाउँको खोजीमा थियो, जहाँ आँसु र रुवाइबारे लेखिएका सन्दर्भ ग्रन्थ र लेखोटहरू उपलब्ध होस् । त्यो चाहे धूलो र किराको भीड (पुस्तकालयमा अचेल मान्छेको भीड त कहाँ लाग्छ र मेरो मित्र !) ले व्यस्त उच्चाटलाग्दो पुस्तकालय किन नहोस्, त्यहाँ जान ऊ राजी थियो । तर अनुभवको बहीखातामा उसको अश्रु-अध्याय रित्तोरित्तो थियो । ऊ रोएको कहिल्यै देखिएन । रिसाउँदा, दु:खका बाछिटाले छुलुक्क सिर्कना वर्षाउँदा कि त ऊ गुम्म परेर अनुहारभरि अँगारी धुन भरेर अँध्यारिन्थ्यो, कि त 'ह्याऽऽ केही भएको छैन, टेन्सन भन्या यस्तै हो क्या आउँछ जान्छ' भन्ने नाटकीय थेगो उच्चारण गरेर मनमा चाहिँ थला पर्नेगरी ओइलाउँथ्यो । उसको निम्ति सौभाग्यको कुरा यति नै थियो, ऊ एउटा रून्चे मान्छे (म) सँग हिँड्न पाइरहेको थियो !

ऊ र म बीच खास नाता के थियो, अझैसम्म अपरिभाषित पाउँछु म । अनौपचारिक हुनहुन खोजेर पनि नसकेका हामी सँगै रहेर पनि टाढा भए जस्ता थियौँ । यदाकदा म रहर पोखिरहन्थेँ ऊ सामु- 'तिमी रोएको एकचोटि हेर्ने मन छ, धक फुकाएर भित्रदेखि रोएको र यी भकुल्ले गाला लेकाली छाँगाले निथ्रुक्क पहरो भएको देख्‍ने मन छ ।' खासमा ऊ दु:खी भएको हेर्ने मन त एक अंश पनि हुँदैनथ्यो । तर उसले भन्दै आएको 'म आफू थाहा पाउने भएदेखि अहिलेसम्म रोएको छुइनँ, किन रुनु वित्थामा, रूनु कमजोरी र दुर्बलताको सूचक मात्र हो' भन्ने उसको कठोरता मेरा हेराइमा अमानवीय निष्‍ठूरता थियो । त्यसैले एकचोटि ऊ रोएको कोमल भाव आँखैअघि बेहोरेर ऊ पनि म जस्ते आम मन्छे हो भन्ने समभाव सँगाल्नु थियो । मेरो आग्रहमा ऊ तिनै भकुल्ले गालाबीचमा खाल्डो बसाउँदै किचिक्क हास्थ्यो-'रोइदिऊँ त अहिल्यै ?' तब म एकाएक आत्तिन्थेँ । भर्खरैको अतुल्य किचिक्क मुस्कानको मोहनीको चेपमा परेर मेरो 'रोइदेऊ न' भन्ने फर्माइश निसासिन्थ्यो र म भन्न पुग्थेँ-'भैगो भैगो पर्दैन यार, यसरी नै हाँसिराख सधैँभरि ।' फेरि अर्को-अर्को भेटमा 'रुनु काम नपाउनेहरूको खेती हो, रून्चेहरूको शीर्ष गीत हो' भने झैँ ऊ नाकका पोरा फुलाउँदै पेश हुन्थ्यो र म उही फर्माइश दोहोर्‍याउँथेँ- 'एकपटक रोएको हेर्ने मन छ, तिमी ।'

हाम्रो सरसङ्गत साप्‍ताहिक भेटको रूटिनबद्ध जीवनमा गुँड लगाइरहेथ्यो । भेट्थ्यौँ-छुट्थ्यौँ फेरि भेट्थ्यौँ । सङ्गतको यस्तो रूटिन थियो, छुट्नैको लागि भेटे जस्तो, अनि फेरि भेट्नैका लागि छुटे जस्तो । के थाहा, सङ्गत गुनाको फल मिलेर कतै पुष्‍ट बचेरा कोरलिहाल्ने पो हो कि ? मानौँ, यस्तै विवेचना मनभरि उब्जाएर हामी राजधानीको फरक-फरक स्टेशनमा डेढ वर्षसम्म अविरल भेट्दै रह्यौँ । नतीजा ? यो सङ्गतमा उसको जेलाइमा जेलिएर अनेक आरोह-अवरोहमा जाकिएर म नै रोएँ धेरै- आफ्नै कोठाको नरम सिरानीमा, फोनमा, मन्दिरका धेरै मूर्तिहरूको लस्करमा अर्को मूर्ति बनेर, साँझपख पल्लो घरको आँगनमा धिपधिपाएको बत्ती हेरेर ।

रुनुलाई पीडा र व्यथाको जनाउचिन्ह मानिन्छ समाजमा । यसलाई कमजोरीको रुपमा व्याख्या र वर्गीकरण गरिन्छ । यही कोणबाट एउटा गीत पनि बनाइएको छ- 'लोग्नेमान्छे भएर रुनु हुन्न रे ...' गीतमा पात्र रुन खोज्छ तर सामाजिक मान्यता, कमजोरी-सबलताको मुद्दा, भावनामाथि तर्कको दादागिरीले गर्दा रुनुसाटो घाँटी मात्र खसखसाएर बस्न बाध्य हुन्छ । सायद उसले पनि यो गीत सुनेको र हेरेको हुनुपर्छ । तर रुने 'फुर्सद' उसलाई थिएन । पाका सिनेकर्मी नीर शाहले गरेको अभिनयले गीतमार्फत हाम्रो समाजको रोगी र सङ्कुचित मानसिकताको पीडाग्रस्त पाटो उजागर गरेको छ । रुनुभन्दा नरोएको (र रुन नपाउनुको) दृश्य अत्यासलाग्दो देखिन्छ त्यसमा ।

म कति हदसम्म मान्छे बन्न सकेको छु, कतिसम्म मानवीय भावको छु त्यो त मैले किटेर भन्ने कुरा होइन । तर मेरो हेराइमा रूने मान्छेलाई नै मैले 'मान्छे' भन्ने गरेको छु । रुनु कमजोर हुनु होइन, आफैभित्रको आफूलाई नाघेर अरूसम्मलाई छुनु हो । रुनु खालि आँसु बगाउनु होइन, वेदनालाई सेलाएर नयाँ जोसका लगि आफूलाई सघाउनु हो । रुनु, रुनु मात्र होइन, संवेदना हुनु हो, तरलता हुनु हो । मेरा केही साथीहरू छन् जो अनायासै रुन्छन्, यत्तिकै । खुइय्य गर्छन्, दिक्किन्छन्, न्यास्रिन्छन्, फेरि सानै कुराले फुलेल बन्छन्, खुसीले 'पागल' बन्छन् । ध्यानी-ज्ञानी छैनन् कोही वितरागी हुन सकेका छैनन् । र पनि यति भने भन्न सकिन्छ, मान्छे चाहिँ उनीहरू पक्का मान्छे छन् । मानवीय भावले नै उनीहरूलाई यस परिचयमा टिकाएको हो भन्छु म । तिनको लागि रुनु कुनै सत्सङ्गभन्दा कम छैन । तिनको कामकाज राम्रै चलिरहेको छ, घर-परिवारमा पनि सबै ठीकै छ र पनि भन्छन्- 'यार आज खूब रूने मूड छ, कोठामा आज एक्लै हुन्छु राती मज्जाले रुन्छु ।' यस्तो पनि कुरा ? आज बाहिर खाने प्रोग्राम छ भने जस्तै रुवाइको पनि आयोजना हुन्छ तिनको ।

अब कसैले यहीँनेर केरकार गर्ला आफूसँग मानवीय संवेदना भएको प्रमाण दिन रूनैपर्ने हो त ? मान्छे ठोस भए पो त्यो सबलताले सफल यात्रा तय गर्न सक्छ त भन्ने टिप्पणी आउला । तर्कै गर्ने हो भने त तर्कको तीरले नछेड्ने क्षितिज कहाँ पो होला र ? संवेदनाको प्रमाणचिन्ह रोदन हुन नसक्ला, यहाँ रुने कुरा गर्दा धर्धरी आँसु बगाउने गोहीप्रसाद र गोहीमाया पनि खोजिएको होइन । तर अरूको पीरमा दुई थोपा आँसु सट्याकसुटुक नआउने मान्छे, आफैँलाई दु:ख पर्दा पनि स्वाभाविक बह पोख्दै हिक्का नछाड्ने मान्छे के मान्छे ? हाँस्न जान्नु ठूलो कला हो, विद्वान्‌ले भनेका छन् । रुनु पनि कला हो, तर यो नौटङ्की अभ्यासको चाहिँ कुरो होइन । नौटङ्की भयो भने त रुनु र टुथपेष्‍टको विज्ञापनमा हाँस्नुमा के नै अन्तर भयो र ? दुवै तुकविहीन ।

अँ त, उसको सङ्गतमा परेर म धेरै रोएँ । सम्झिनुपर्दा मेरा अश्रुदाता भनेर मैले सम्झिनुपर्ला उनलाई ।

त्यसपछि उसले मलाई ख्वाउनुपर्ने जागिर सकियो सायद, अन्तिम गोलाधागो सकिएको चर्खाबाट अन्तिम फन्को डोरोसरि च्वाट्टै चुँडिएर हरायो ऊ । ऊ र म एउटै सहरमा थियौ, आज पनि यहीँ छौँ । खबर नसोधेर पनि एकचोटि रसायन जोडिएको मान्छेको खबर कसोकसो रहँदोरहेछ आत्माकै एन्टेनामा । तर न त अब मेरो ऊ सँग चिनजान छ, न त उसको मसँग सरोकार नै छ । एउटै चुम्बकको दुई फरक ध्रुब झैँ फाटेका छौँ हामी । यतिखेर यस्तो लाग्दैछ मलाई- यो सबै उही आँसुको खेल हो । रुनु-नरुनुको करामत हो । भावुकता र कठोरताको दूरी हो । उसको नरूने कुराले मलाई रूखासुखा बनायो, मेरो रोइदिनुपर्ने 'नरमपन्थी' आग्रहले उसलाई दिक्यायो । दोषी नम्बर दुई । सायद जलन दुवैको मनमा । फरक यति छ, उसको आँखा कहाँकहाँ फड्को मारेर खितखित गाइरहेको हुँदो हो, म भने रूमाल वा सिरानीको तिर्खा मेटाउन आँसुको शीर्ष भाकामा रोइरहेछु । के यसरी रोइरहेर म मान्छे भइरहेछु ?

यो जवाफ दिन अहिले ऊ साथमा छैन । तर उसलाई बताउनु छ मैले यसरी रुँदा म कति हल्का भएको छु, बिना रङ बिना रोगन सादा हाउभाउमा पनि कति मज्जाले खुलेको छु ।

ऊ यही सहरको कतै कुनामा हाँसिरहेको होला उसैगरी … किचिक्क ! हाँस्दा ती भकुल्ले गालामा कस्तरी खाल्डो परेको हुँदो हो !