Subscribe:

Ads 468x60px

20 December 2009

हाफ भोल्टेज र किरिङमिरिङ जीवन-अक्षर

यी कीरा जस्ता स्याउँस्याउँती मान्छेहरु के पकाउन यसरी झुत्ती खेलेर लाम लागेका हँ ?

सडकमा धुवाँको मुस्लो र मनभरिको तुवाँलो फ्युजन भएर लामो धर्सो रेखी बन्छ - झ्याउलाग्दो !

एकजना दाइले भन्थे- सडकछेउ उभिएर हेर्नू सडकमा चिप्लेकीराजस्तै हस्याङफस्याङ गर्दै चिप्लिरहेका मोटर र मानिसहरुको लस्करलाई । कहाँ के पाउन गइरहेछ यत्रो लस्कर अचम्म लाग्छ । सबैको आ-आफ्नै ध्याउन्न आ-आफ्नै गुनगुन । आफैँलाई पनि त्यही भीडमा मिसाएर हेर्दा अनौठो बाछिटाले चुट्छ । अस्तित्वको महानतम भेंडीगोठ जस्तो लाग्छ सांसारिक डल्लो ।

धेरै कुराहरु लाग्न थालेको छ अचेल । त्यसो त नलागेका कुराहरु पनि धेरै छन् । तर कस्तो भने लागेका कुराहरुले ती नलागेका कुराहरुको जुलुसलाई छपक्कै ढाक्दा रहेछन् ।
सबै उत्तेजना र उम्लाइ ओर्लिएर रुखमा अन्तिम थोपा पानीमा बाँकी बचेको हिमआँधी झैँ भएको छ मन । यस कारण मनग्य छन् शिथिलताका ढुसीहरु ज्यानको हाँगाभरि ।

लाग्न थालेको छ - हरियालीको तह खुइलिँदो छ उमेरको जङ्गलबाट ।
लाग्न थालेको छ - उप्किएर प्लास्टरयुक्त तह त्यसमा हतारहरुको लेप थुप्रिँदो छ ।
लाग्न थालेको छ - प्रेमिल थर्मोमिटरको तापक्रम ओरालीमा सुरेली खेल्दो छ ।

हुस्सुदार धमिलो बिहानी । मन्द सडकको जाना-पहिचाना मोड । उफ्, नयाँपनको खोजीमा झिम्किने परेली थाकेर खुत्रुक्क बन्छन् । अफिसमा घुस्छु र लिफ्ट उक्लिन्छु, थाहा पाउँछु : तापक्रम १४-१५ डिग्रीमा मात्रै त झरेको छ । र पनि के साह्रो चिल्ने जाडो ! तैपनि बस्नु छ गुम्म कोठामा । समाचार शाखाको कामकाजी कक्ष तर आपैष सबै परिदृश्यबाट वन्चित छ कोही घाम लागेको पत्तो लाग्छ न केही कुराको चहलपहल यहाँबाट देखिन्छ । यो भन्दा चिस्यान झेल्ने असंख्य ज्यान देश-परदेशमा पनि छँदैछन् । अनलाइन भेटमा कुना-कन्दराका साथीहरु माइनसमा ओर्लिएको चिसो अनुभूति सुनाउँछन् । अनि लाग्छ यो ज्यानको ठाडोलाई जे गरे पनि नहुने ! चैते घाममा 'उफ् बज्जे यो गर्मी' र पुसमाघे जाडोमा 'थुइक्क ठिही' भनेर कुर्लिने त मौसमी रीत नै हो हाम्रो ।

अफिसमा काममा डुब्छु सहकर्मीहरुसँग हाँसखेल गर्दै रत्तिने प्रयास गर्छु । तर फेरि मन मान्दैन मेरो आफन्ती दुनियाँ त हुँदै होइन भने झैँ लाग्छ । आत्मीयताको अभावमा कोखा चर्किन्छ । विरानोपनको अनुभूतिमा रुमलिन्छ मन र भारीपन साथमै च्यापेर हरेक सात घन्टाको तापमान कुर्सीमा छाड्दै घरतिरको बाटो तताउँछु । कहिले त म आफैँ 'अफ बिट म्यान' हुँ कि भने झैँ झोँक पनि चल्छ । जीवनमा यस्तो अवस्था कुनै न कुनै बेला धेरैले अनुभव गर्दाहुन् ।

साथीहरु आफूदेखि टाढिँदै छन् कि साथीहरुदेखि आफू टाढिँदैछु कहिले त जिल्लिने रहेछ दिमाग पनि । जिन्दगीको हिसाब मिलाउने ध्याउन्नमा जिन्दगीमा रहेका धेरै कुराको हिसाबकिताब बिग्रिँदै जाने कुरा सामान्य हो कि भने जस्तो पनि लाग्छ । हाफ भोल्टेज आँखा फटाईफटाई अध्ययन हाक्नु जस्तै प्रतीत हुन्छ जीवन बाँच्नु । अर्थात् हात लाग्छ धमिलो दृष्टिअघि आकार र चिनारीबिनाका किरिङमिरिङ हरफहरु । र पनि पढ्नु त छ नै कनीकुथी भए पनि ।

8 comments:

  1. हरेको युवाको जीवनमा सोचाईले मौसमी फेरबदल लिई रहन्छन | सँधै मुटु ठिहिर्याउने चिसो हुँदैन धाईबा जी, चिन्ता नगर्नुस बसन्त ऋतु फेरी आउँछ |

    विरक्तिको कहानी पढ्न नि रमाईलो लागेर आयो, यहि लेखनको जादुले म पटक पटक फर्केर आउँछु धाईबा जी | लेख्दै गर्नुस |

    ReplyDelete
  2. चित्त बुझ्यो दाजू साह्रै चित्त बुझ्यो । जाडोले जीउ काम्दै काम्दै पढ्दै छु तपाईको लेख । तर अनुभुतिको चिस्यान झन् यति कठोर छ कि मेरो त मुटु पनि काम्न थाल्यो । यि भावनाका सिरेटाहरू सिधै मन छेड्नेगरी नै आए । आफ्नै सोचाई पढेजस्तो लाग्यो । धेरै धन्यवाद यति राम्रो लेखको लागि ।

    ReplyDelete
  3. जाडो र गर्मीको भिन्नतालाई मात्रै छोड्ने हो भने, तपाईको लेख भित्र मेरा पनि धेरै भोगाई र बैचारिक समानता भेटेजस्तो लाग्यो ।

    धेरै दिनपछि ब्लगमा झुल्किनु भयो तर "ढिला होस छोरा होस" भनेझैं रोचक पोस्ट लिएर आउनु भएछ । निक्कै रोचक लाग्यो ।

    ReplyDelete
  4. "सडकमा धुवाँको मुस्लो र मनभरिको तुवाँलो फ्युजन भएर लामो धर्सो रेखी बन्छ - झ्याउलाग्दो !"

    र सबै सबै नै झ्याउ लाग्छ । त्यहि झ्याउ लाग्दो रेखीमै असती तेह्रौं राशि उदय भएजस्तै म केहि बुझ्दिनं आजभोली र पनि पचाउँदैछु जाडो झण्डै घटाउको हाराहारीमा ।

    सान्त्वना भर्यो जे होस् तपाईंको लेखाईले ।

    ReplyDelete
  5. धाइबा, लामो समयपछि फेरी तपाईको ब्लगमा डुबुल्की मार्न पाइयो । कहाँ विलीन हुनुभएको थियो ? केही अत्तोपत्तो थिएन त ? अब चाहिँ ब्लग लेखनलाई निरन्तरता दिनुहोला ।

    जीवनका भोगाईहरु सबैका फरकफरक हुन्छन् । त्यो फरकपना तपाईको ब्लगमा पाएँ मैले । टाँसोसँग म पनि टाँसिएको छु शब्द–शब्दहरुमा र सधैं हिँडिरहन्छु समीप्यताको खोजीमा.... ।

    ReplyDelete
  6. dilip daai ko ukhaan majjale suneko rahenachhu ... liked it..he he

    ReplyDelete
  7. उफ्, नयाँपनको खोजीमा झिम्किने परेली थाकेर खुत्रुक्क बन्छन् ....हो यि आँखाहरु नयाँपनको लालसामा झिम्किन एकरत्ति छाडिरहेका छैनन् ..आज नभए भोलिको सुर्योदयको आशमा ।।।

    साथीहरु आफूदेखि टाढिँदै छन् कि साथीहरुदेखि आफू टाढिँदैछु कहिले त जिल्लिने रहेछ दिमाग पनि ....मनकै कुरो लेख्नु भयो ।

    ReplyDelete
  8. yata ni ekpatak herau dhaiba ji..


    http://damadol.com/

    ReplyDelete