Subscribe:

Ads 468x60px

22 December 2009

साँढे सम्झौता !


साँढेहरुको बाहुल्य भएको ठाउँमा बाच्छा-बाच्छीको कुरोले थोडी अर्थ राख्ला र ? त्यसैले साँढेहरुको रजाइँमा जाबो बाच्छाहरुको मिचाइको उखान सामान्यकृत बनी किताबी कुनोमा च्यापिएर सजिएको छ । यस्ता महसूर साँढेज्यूहरुबारे कुनै बखान नहुँदा समग्र साँढे समुदायको मानहानि भएको निष्कर्ष निकाल्दै साँढे सरोकारको विषयमा कलमी तीर सोभुयाउन आज करै लाग्यो ।

साँढेहरुको कथा आदिम छ लाग्छ- आदिकवि बाजेको बिर्के टोपीको रेखी नबुनिँदै साँढेहरुको छिप्पट सिङ तिखारिइसकेको थियो । सङ्ख्याको सातअघि जोडिन पुगेपछि साँढे सातको स्वरुपमा तसा्रउने साँढेले धन्न ७७ लाई छुन सकेन नत्र साँढे ७७ भइद्या भए झन् केके विधि महानतम उत्पात हुनेथ्यो होला ! तमाम साँढेहरुको बहुमतसँगै शनैःशनै समाजले साँढे सभ्यताको दिशा लिइरहेको प्रसङ्ग रातको जूनकीरीजत्तिकै छर्लङ्ग छ । बरु लहरे खोकीले झट्ट थामिने नाम लेला, साँढे सभ्यताको गति ज्यान जाला थामिँदैन । साँढे सभ्यताको सामु लुरेभुरे गाई र बाच्छाहरुको अबला गान घट्टमा पिसिने मकैका गेडीभित्र करकराउने घुनहरुको करुण क्रन्दनसमान हुन् ।

साँढेहरुले देशको किल्ला छेडेर वैदेशिक टावरसम्ममा हिमचिम बढाउने हुती राख्छन् । यस्तो साँढे हुतीअघि अन्य आम हुतीहरु चामले केशराशिमा सपक्क मिलेका चायाबराबर हुन् । साँढेहरुको आफ्नै रिवाज हुन्छ आफ्नै समाज हुन्छ साँढेहरु पनि बुट बजार्छन् तिनको आफ्नै कवाज हुन्छ । झन् नेपाली साँढेहरुको गौरवगाथा त कुनै शिलालेखमा अँटाएर बस्ने खालको सीमित र सामान्य गाथा हुँदै होइन । त्यो गाथालाई कुनै शिलालेखमा खिप्न खोजेमा त्यो ढुङ्गा नै विस्फोट हुनसक्छ । अतः स्वतः थाहा हुन्छ विस्फोटक गाथा सिर्जना गर्ने साँढेहरु स्वयम्मा विस्फोटक हुन् । 

साँढेहरुको संसारमा साँढेहरुको सरसङ्गत लुकामारी आहारविहार र यावत् गुणन-भागा साँढे समुदायभित्रै हुनेगर्छ भन्ने कुरा नौलो होइन । तर साँढेहरु पनि सम्झौता गर्छन् भन्ने जान्दा अनौठो लाग्ला । तर सम्झौता गर्ने भनेकै साँढेहरुकै मान्यता, लगनशीलता, जागरुकता, लिप्तता, ठेकेदारिता र उदारताभित्र पर्ने कुरा हुन् । यिनै अनेक'ता' हरुमा साँढे सम्झौता अँडिएको छ । साँढे बराबर सम्झौता भन्दा अन्यथा हुँदैन । तिनले गर्न सक्ने भनेकै यही सम्झौता नै हो भनिदिए अझ सुहाउँदो ।

साँढेले गर्ने सम्झौता काटीकुटी साँढेकै गुण प्रकृति र मत्याइलो मोहनी लिएर हुर्किन्छ । साँढेहरुले सिङबाटै सबै कुराको जोखाना हेर्छन् सिङबाटै विवाद गर्छन् संवाद गर्छन् । हुँदाहुँदा साँढेहरु सिङकै छुरी उध्याएर एक-आपसको पिठिउँमा पानको पात बनाएर मायाको भाषा साटासाट गर्छन् । शान्ति सम्झौतालाई रिमेक भर्सनमा साँढे सम्झौतामा रुपान्तर गर्नमा साँढेहरुलाई कुनै आइतबारको कुरो हुँदैन । साँढेहरुले आफूमा-अरुहरुमा साँढेपनकै खोजी गर्छन् र साँढेपनकै व्याख्या र अपव्याख्या गर्छन् ।

यस्ता साँढेहरु सम्झौतामा गतिशील हुन्छन् - दिनमा कोरिन्छन् रातमा मेटिन्छन् फेरि रातमा पानापाना सजाइन्छन् झिसमिसेमै धर्यातधुरुत पारिन्छन् । साँढेहरु सम्झौतामै सास फेर्छन् , कुल्ला गर्छन् , बकबक दोहोर् याउँछन्, चुम्मा साट्छन्, उपरखुट्टी लगाउँछन् । साँढे महाराज र महारानीहरुको आराधनामा शान्तिभूमिका बासिन्दा ती खुरहरुमुनि धुलो बनिरहन्छन्-बनिरहन्छन् ।  

9 comments:

  1. अब यी सबै साँढेहरुलाई गोरु बनाएर, हामीले अब जोत्नुपर्छ यिनिहरुलाई ।
    पशुपति बाहन भएको भए केही काम लाग्थ्यो होला तर यी साँढेहरु को डुक्राइ को केही महत्व छैन । यी महत्ताहिन साँढेहरुलाई हामीले धेरै महत्व दिएर नै मात्तिएका हुन् ।

    ReplyDelete
  2. हो भन्या, यो बज्जे साँढे यस्तै हुन्छ । कस्तो जानेर लेख्नुभएछ । साह्रै चित्त बुझ्यो । लेखाई पनि त्यै बज्जे साँढेकै जियान जस्तो कसिलो लाग्यो ।

    (पहिलो प्रतिक्रिया डुक्रिने साँढे बनुँला भनेको त अर्को साँढे डुक्रिसकेछ बा!/रिसाउन नपाई है ख्याल गरेको ।)

    ReplyDelete
  3. साँढेको मिचाइमा पिल्सिएका बाच्छाहरुले अब नयाँ सोच र बिचारमा पछार्नु पर्छ अनि जोत्नु पनि पर्छ साढेलाई आकार जी ले भने झैँ।
    परिस्कृत व्यंग्य पूर्ण लेखको लागि धन्यबाद धाइबा जी ।

    ReplyDelete
  4. अन्तर्वार्तामा उत्तर दिने मान्छे आछु आछु हुन्छ प्रश्नकर्ता तगडा पर्यो भने । धाईवाजीको लेखले त यहाँ पाठकलाई नै आछु आछु पारिसक्यो । कस्तो परिष्कृत लेखाई हो !!! मोटामोटी कुरो बुझ्नलाई ३ चोटी पढ्नुपर्यो भन्या ।
    गज्जवको व्यङ्ग्य साढेमार्फत...चित्त बुझ्यो..साह्रै चित्त बुझ्यो ।

    ReplyDelete
  5. अशेषको कुरोमा म पनि सहमत छु - 3 चोटि पढेर पनि पार नपाईने भन्या । अलि सजिलो पारामा धाइबाजीले यसो कलम घुमाउनु पर्यो । नत्र त हाम्रो कन्तबिजोग हुने भयो ।

    ReplyDelete
  6. धाईवाजी
    साह्रै मार्मिक र यथार्थ लेख लेख्नु भयो। झटारो पनि बेस्करी लाग्यो। सुन्तला र नास्पतीको रुखमा हानेको भए एक दुईवटा झर्न पनि सक्थ्यो होला तर साढेँहरुको के नै झर्छ र। बस साढेँ बन्नमै रमाईरहेका साढेँहरु वास्तबमै साढेँ भईरहेका छन् त्यो पनि छोडिएको साढेँ, र साढेँलाई अरु पृथकरुममा बुझ्न र बनाउन खोजियो भने पनि गलत हुन सक्छ।
    सारमा तपाईले भने जस्तो : "साँढेहरु सम्झौतामै सास फेर्छन् , कुल्ला गर्छन् , बकबक दोहोर् याउँछन्, चुम्मा साट्छन्, उपरखुट्टी लगाउँछन् । साँढे महाराज र महारानीहरुको आराधनामा शान्तिभूमिका बासिन्दा ती खुरहरुमुनि धुलो बनिरहन्छन्-बनिरहन्छन् । "
    सही कुरा !!!साढेँमात्र हैन साढेँवादको सहि चित्रण!!! वाह धाईवाजी वाह!!!

    ReplyDelete
  7. लेख जति उत्कृष्ट साथीहरुको कमेण्ट पनि त्यत्तीकै रोचक लाग्यो । मलाई भने यो साँढे पुराँड पढिरहँदा दुईवटा उखानहरु याद आए । यि उखानमा यो समस्याको जड र समस्याको अन्त दुबै छन जस्तो लाग्छ ।

    पहिला एउटा अमेरिकन उखान :

    The end of an ox is beef, and the end of a lie is grief

    तर साँढेका पछिलाग्नेहरुले तलको जापानिज उखान बुझेपछि मात्रै यो यो सम्भव हुन सक्छ :

    It is better to be the head of chicken than the rear end of an ox

    ReplyDelete
  8. अति मन छुने! हाम्रो तितो यथार्थको कलात्मक वर्णन! तिखो ब्यंग्यले छोपेर हाम्रो गहिरो पिडालाई देखाउनुभएको छ धाइबाजीले।

    ReplyDelete
  9. यस्ता साँढेहरु सम्झौतामा गतिशील हुन्छन् ...अब यस्ता साढेहरुलाई त्यतिकै छाडा छोड्ने कुरा पनि भएन, गोरु बनाएर जोत्दा पनि खेतबारी भत्काउने प्रबल सम्भावना भएकोले अत्यन्त सतर्कता अपनाउनु पर्ने देखिन्छ ।

    ReplyDelete