Subscribe:

Ads 468x60px

22 March 2010

समाचारको सेरोफेरोमा बोल्ड म्यान कोइराला

Ktv3 “भोक लागेपछि त पेट्रोल पनि कस्तो फेन्टा जस्तै देखिएको !”
मेरो मुखबाट बजिहाल्यो ।  बेलुका ९ बजे अफिसबाट घरमा ड्रप गरिदिन हिँडेका थिए अफिसका ड्राइभर दाइ । चुहिन थालेको पेट्रोल भरिएको बोतल गाडीमा रहुन्जेल समाइदिन उनले अह्राएपछि मेरो भोक साटिँदै पेट्रोल फेन्टामा प्रतिविम्बित भएको थियो । बिहान होटलमा भात खाएपछि दिनभरि केही नखाँदाको नतिजा थियो त्यो । त्यसो त त्यस्तो भोक पुराण मामूली कुरा थियो । काममा डटेपछि भोक र तिर्खालाई तिलाञ्जलि कति दिनुपर्छ-पर्छ । बेपरवाहका साथ ।
यो थियो रातिको कुरा । यसो हुनुमा दिउँसोको खटाइको रनाहा कारक थियो ।
मार्च १९ शुक्रबारको त्यो दिन स्टान्डबाइ थियो न्युजरूम । काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको जस्तोसुकै अवस्थाको खबर सम्प्रेषणका लागि सबैजना तम्तयार थियौँ कान्तिपुर टेलिभिजनका हामी सदस्यहरू । कस्तो निष्‍ठुर पल र जिम्मेरवारीको तह, सिकारीले सिकार पर्खिए झैँ खासमा त हामी अस्वस्थ रहेका मृत्यु कुरिरहेका थियौँ । सुनिएअनुसार स्वास्थ्य संवेदनशीलता र हल्लाको मात्रा नै त्यस्तै थियो । साँझपख प्रधानमन्त्री माधवकुमार नेपालसहित मन्त्रिपरिषद्का सदस्यहरू कोइरालालाई भेट्न कोइराला उपचाररत छोरी सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा पुगे । त्यसपछि त झन् स्थिति चरम संवेदनशील भएछ भनेर लख काट्न थालियो । नत्र राष्‍ट्र बैंकको गभर्नर र संवैधानिक निकायका प्रमुख नियुक्तिको निर्णय मन्त्रिपरिषद्ले गरिसक्नासाथै साँझको समयमा  हुल बाँधेर मन्त्रिहरू त्यता जानुको अत्यावश्यकता के थियो भन्ने लाग्नु स्वाभाविकै थियो ।

सम्साँझै ‘लाइभ’ रिपोर्टिङका लागि क्यामेरासहितको प्राविधिक र संवाददाताको टोली मण्डिखाटारतिर लाग्यो । रातिसम्म बेला-बेला कहिले टेलिफोन टक र कहिले लाइभ भिजुअलसहितको रिपोर्टिङ गर्दै रहे रिपोर्टरहरूले । गिरिजाप्रसादलाई राखिएको कोठामा बलेको बत्तीमा क्यामेरा फोकस गर्दै चित्त बुझाउँदै गरेका देखिन्छन् क्मामेरा पर्सन । भित्र जाने अनुमति र व्यवस्था छैन । खासमा कोइरालाको अवस्था के छ, चिकित्सकरूले गर्ने ब्रिफिङ्कै आधारमा बुझ्नुपर्ने बाध्यता छ । उपचारमा संलग्न चिकित्सकहरू फेरो हत्तपत्त निस्किने होइनन् ।  म भने स्क्रोल बार अपडेट गर्दै, बेलाबेला ‘फ्लास न्युज’ हाल्नुपर्ने जिम्मेवारी सम्हाल्दै अफिसमै तैनाथ छु । त्यो दिन त्यस्तै हल्का गाइँगुइँमै बित्यो । स्वास्थ्य खराब छ , सुधारोन्मुख नभए पनि स्वास्थ्यस्थिति स्थिर नै छ, कोइराला चिकित्सककै निगरानीमा छन्, नियमित दिइँदै आएको अक्सिजनको मात्र बढाइएको छ भन्ने जानकारी आयो । राति अबेरसम्म सम्भावित आकस्मिक खबर सम्प्रेषणका लागि मण्डिखाटारकै कोइराला निवास बाहिर संवाददाताहरू अड्डा जमाउने भए ।

भोलिपल्ट अन्य दिन पुग्ने समयभन्दा अलि बिहानै जिम्मेवारी सम्हाल्न पुगियो अफिस । शनिबारको दिन, धपेडी, कुदाकुद, कार्यक्रमहरू भइरहने, नेताहरूले बोलिरहने अन्य व्यस्त दिनभन्दा खबरहरूको चाप स्वत: कम हुने दिन हो । तर, विशेष सक्रियताबाट मुलुकमा संविधानसभाको चुनाव सम्पन्न गराई शान्ति प्रक्रिया र संविधान लेखनको कार्यमा नेतृत्वदायी भूमिका दिँदैआएका राष्‍ट्रिय राजनीतिका मूल खम्बा नै बिरामी भएको बेला अन्य दिनको झैँ तनाव थियो न्युज रुममा । जे पनि हुन सक्थ्यो, तम्तमार भएर बस्नु नै बुद्धिमानी थियो । कोइरालालाई राति पखाला लागेको र थप कमजोर भएको खबरहरू आउन थाले । राति कोइरालाको स्वास्थ्य नाजुक भएर छातीमा पम्प दिनुपरेकोसम्म हल्ला फैलियो । श्‍वासप्रश्‍वासको गति मन्द हुँदै गएकोले अक्सिजनको मात्रा शरीरमा कम भएको चिकित्सकहरूले बताउन थाले । सबै टेलिभिजन र रेडियोहरू कोइरालाकै स्वास्थ्यको सेरोफेरोमा घुमिरहेका थिए । सोझै कोइरालाको हाल चित्रण गर्ने पहुँच कसैको नभए पनि मिडियाहरूले कुनै न कुनै रूपमा ताजा विवरण छरिरहेका थिए ।

एकीकृत माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराई, सरकारका मन्त्रीहरू, काङ्ग्रेस नेतागण आलोपालो आउँदै जाँदै गरिरहेका देखिन्थे । कोइरालालाई हेरेर/भेटेर फर्किएका तिनै नेताहरूसँग प्रतिक्रिया लिएर आम दर्शक स्रोतालाई आश्वास्त पार्नुभन्दा विकल्प थिएन ।  कार्यकर्ता एवम् शुभेच्छुकहरूको भीड पनि मण्डिखाटार निवास बाहिर बढ्दो थियो । “मैले दुई चोटि बोलाएँ, केही बोल्नुभएन”, प्रचण्डले प्रतिक्रिया दिए, “उहाँ जसरी पनि ठीक हुनुहुन्छ, देशलाई अझै उहाँको खाँचो छ । साथमा बाबुरामले पनि थपे । भेटेर फर्किएका युवा तथा खेलकुदमन्त्री गणेश तिवारी नेपालीले ‘आश भएको विश्वास नभएको’ रूपमा कोइरालाको स्वास्थ्यस्थितिलाई उल्लेख गरे । झन् के हो के हो भन्ने उदेक भो । बिहान ११ बजेतिर पछि खबर आयो, बिहान ५ बजेदेखि कोइराला अचेत छन् । पखालाको कारण कमजोरी बढ्यो । राति ११ बजेदेखि नै कोइराला अचेत अवस्थामा रहेको एभिन्युज टेलिभिजनले समाचार बुलेटिन र ब्रेकिङ न्युजमा प्रस्तुत गरिरहेको थियो । स्रोत थिएन विश्वास दिलाउने, चिकित्सकको प्रतिक्रिया कुर्नु नै आधिकारिकता र पत्रकारिताको आचारसंहितालेको कोरेको रेखा सम्झेर प्रतिक्षा गरियो ।

एभिन्युजले नै कोइरालाको निधन १२ बजेर ११ मिनेटमा भयो भनेर फुक्यो । पहिलो बन्ने होड कसरी फस्टाइरहेछ इन्डियन टेलिभिजन च्यानल जस्तै नेपाली च्यानलमा पनि । कोइराला खबर अपडेटमा सामेल हामी कान्तिपुरकर्मीहरूले हामीले अचम्म मान्यौँ । जे कुरालाई पनि बिनासोच र आफूले ब्रेक गरेको हो या होइन भन्ने समझ नराखी ‘ब्रेकिङ न्युज’ का रुपमा पिलिकपिलिक स्क्रिनमा छर्ने इन्डियन छ्यानल हेर्ने हो भने बेहोस भइन्छ । कति हो कति ब्रेकिङ न्युज !  केही छिनमा उसैले कोइराला पुत्री सुजाताले जानकारी दिएको भनेर खबर पुष्टि गर्ने प्रयास गर्यो । स्रोतको अभावका साथै चिकित्सकले क्लिनिकल्ली र अफिसियल्ली डेथ भएको घोषणा नगरी यस्तो संवेदनशील समाचार दिनु आचारसंहिता बाहिरको र जोखिममूलकअन्तर्गतकै कुरा थियो । काङ्ग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक मण्डिखाटारमै बस्ने समाचारले फेरि रन्थनी छुटायो । केही गडबड नै भइसकेको हो कि क्या हो ? हल्ला त पहिले-पहिले कोइराला बिरामी हुँदा पनि चल्ने गरेकै थियो- कोइराला गइसके भन्ने किसिमको । तर यस्तो बिरामी तारन्तार भइरहेथे कोइराला । एक त जीर्ण उमेर, त्यसमाथि रोगको भार । फोक्सोको सङ्क्रमण, पिसाबको पनि । अक्सिजनको सिलिन्डरबिना एक घण्टा टिक्न गाह्रो पर्ने भन्ने हिसाबले ठट्टामा पनि कोइराला छाए ।

अधैर्य प्रतीक्षाले आम जनमानसलाई त घेरिरहेकै थियो, त्यो भन्दा दायित्व र धर्मले खबर दिनुपर्ने हतारमा मिडियालाई जकड्याएको थियो ।  अन्तत: २ बजेतिर खबर आयो – कोइरालाको निधन । १२ बजेर १० मिनेटमा । काङ्ग्रेस केन्द्रीय समिति तथा चिकित्सकहरूको बैठकले गर्‍यो निधनको आधिकारिक पुष्टि । न्युजरूममा कम्प्युटर खिटखिटाइरहेकै थिए, इन्जिनियरिङ विभागका दाइहरू पनि न्युज कन्ट्रोल रुम (एनसीआर) मा मेसिन दबाइरहेकै थिए ।
तर कता-कता सन्नाटा भने बाक्लिँदै गएको थियो ।

शनिबारको फुर्सद तोडेर निस्किए कोइराला महाप्रस्थानमा । 
तल भोलिपल्ट २१ मार्च आइतबारका दिन भएको कोइरालाको शवयात्राका झलकहरू हेरौँ :

Gp-view3
 शवयात्रा आउने समय कुरिरहेका सर्वसाधारण

Crowd33
शवयात्रामा लस्कर डिल्लीबजार उकालोमा

Gp-corpse22
कोइरालाको पार्थिव शरीर लिएर अघि बढेको वाहन

Crowd23
पशुपति आर्यघाटतर्फ अघि बढ्दै शवयात्रा

6 comments:

  1. ..त्यो घटनाको विस्तृत विबरण (तस्विर सहित ) प्रस्तुत गरिदिनु भएको मा - धन्यवाद !
    अनि मेरो पनि उहा लाइ हार्दिक श्रद्दान्जली छ !

    ReplyDelete
  2. उहा लाइ हार्दिक श्रद्दान्जली छ !

    ReplyDelete
  3. म सुजाता कोइराला निवास नजिकै बस्छु । बिहान घरभेटीकी आमा जसलाई गिरिजा बाबुले दिदी भन्नु हुन्थ्यो सुजाता निवास पुगेर आउनु भएछ । म बाथरुमबाट निस्केपछि गिरिजा बाबु त थलिनु भएछ । बाबु नजाने भन्नु भो । मेरो स्वास्थ्यका कारण म हिडिहाल्न सकिन । १० बजेतिर निस्केँ । कोइराला निवासमा भीड थियो । भित्र जाने सोच थिएन त्यसैले बाहिर बसिरहेको थिएँ । चित्रलेखा यादवले यी व्हीलचेयरवाला भाइलाई भित्र जान देउ भनेर प्रहरीलाइ भनेपछि म भित्र पसेँ । ११ बजेतिर । गिरिजाबाबुका चिकित्सकहरु ओहोर दोहोर गर्ने क्रम जारी थियो । कांग्रेस उपसभापति सुशील कोइराला रामचन्द्र पौडेलसहितका नेता धमाधम आए । डा अर्जुन कार्कीसँग सोधेँ किनकी गिरिजाबाबुको कोठा भएतिर व्हीलचेयर जाँदैन । उहाँले सं‍केतले पख भन्नुभयो । धुकधुकी फर्काउने प्रयास भइरहेको एक जना नेताले बताउनु भयो । शेरबहादुर देउवा त पछि आउनु भयो । त्यसपछि कांग्रेस बैठक बस्यो । आज औपचारिक रुपमा नभन्ने सहमति भयो । सवा १२ बजेति एभेन्यूजका भाइहरु नजिकैको घरको छतमा देखिए । मतिर हात हल्लाए मैले पनि जवाफ फर्काएँ । त्यतिखेरै उनीहरुले ब्रेकिङ न्यूज हालेको हुनुपर्छ । बल्ल १ बजेतिरमात्र कांग्रेस केन्द्रिय समितले मृत्युको खबर दिने निर्णय गर्यो । त्यतिखेरसम्म बाहिर कार्यकर्ताको भीड बढिसकेको थियो । अनि शनिबारलाई शब सुजाता निवासमै राख्ने र भोलिपल्ट मात्र रंगशालामा राख्ने निर्णय गरियो । त्यसपछि शब राख्न आइस मगाइयो । तर ३ बजेमात्र आइस पुग्यो । सवा ३ बजेमात्र एक एक गरी कार्यकर्ताहरुलाई भित्र पठाउँदा पनि भित्र ठेमलठेल भयो । गिरिजाबाबुको शबलाई उहाँकै मोटर राख्ने गरिएको ग्यारेजमा राखियो । शब राख्न एउटा पुरानो खाट प्रयोग गरियो ।
    गजेन्द्र बुढाथोकी

    ReplyDelete
  4. यो वर्णात्मक लेखसँगै नेपाली मिडियाको रवैया पनि लेखिदिनुभएछ । खुसी लाग्यो मलाई त । त्यो दिन म पनि रनभुल्लमै परेको थिएँ । एभिन्युज लगायत अन्य च्यानलहरूले कोईरालाको निधनको खवर टेलिभिजन स्क्रिनमा पिलिक् पिलिक् पारिरहेका वेला कान्तिपुरले भने स्वास्थ्य स्थिति स्थिर रहेको र कोईराला अचेत मात्र रहेको भनिरहेको थियो । नेपाली च्यानलहरू त न्यूज कभरेजमा धेरै चुस्त भईसकेछन् कान्तिपुर त ढिला भयो है भनेर गफ पनि गरियो घरैमा । तर आधिकारिक पुष्टिविना यस्ता समाचारहरू प्रशारण गर्नु राम्रो कुरो हुँदै होईन । मिडियाको आचारसम्हिता मिचेर प्रथम वन्ने होडवाजीमा लाग्नाले जनताहरू सत्य तथ्य समाचारवाट वञ्चित रहन्छन् ।

    ReplyDelete
  5. पढ्न ढिलो भएछु। तपाईँको यो रिपोर्टिङ्ग पनि राम्रो लाग्यो।

    ReplyDelete
  6. धन्यवाद धैवजी । आलेख राम्रो लाग्यो । वास्तवमा सन्चारमाध्यमहरुबीचको अस्वस्थ प्रतिस्पर्धा र प्रेसको धर्मको अल्पज्ञानले पुरै सन्चारजगत बेला बेला अलमलमा परेको हामी बेला बेला देख्न पाउँछौँ । त्यस्तै त्यो एक दिन रह्यो, जसले केहि हदसम्म मैँ हुँ भन्ने सन्चारविदहरुसमेत समेत सोचमग्न बन्न पुगेका थिए, हाम्रा सन्चारमाध्यमहरुको रवैयाले ।

    ReplyDelete