Subscribe:

Ads 468x60px

26 March 2010

राराको सङ्लो पानी… (प्रेमबाहिर पत्रहरू)

Rara--Cafe
मा ऽ याऽ लु ऽऽ !!!

यो शब्द खर्चेर अब चिच्याउने छुइनँ म ।
मसँग आवाजहरू त छन्, तर त्यो आवाजमा ब्रेक लगाएकै सही । कम्तीमा अबको तिम्रो कानको लागि । तिम्रो कान परिवर्तनै त भएको होइन, अछुत झैँ व्यवहार किन गर्न लागेको भन्ने लाग्ला । सके अर्को टप वा रिङसम्म फेर्‍यौ होली ।

साँच्चि मैले उपहारमा थमाएको नाकको त्यो टिलिली फुली त कतै सेलाइसकेकी छैनौ होला है । त्यही फुलीमा तुकबन्दी मिलाउँदै तिमी र मैले साँझपखको सडकमा भाका हाल्थ्यौँ “मनभित्र के छ ठूली किन बोल्दिनौँ ?” … … 

त्यो गीति गुञ्जन त म अझै पनि कतै भीडमा रहँदा पनि हृदयको सन्दुकभरि तरङ्गिरहेको पाउँछु ।

“साह्रै कमलो मन भईकन पनि तिमी कडा छौ”, तिमीले ती दिनहरूमा त्यसै भनेकी रहिनछौ । अँ त, सम्झना साँगाल्ने कुरामा पनि म यतिन्जेल कडै रहेछु ।

तिम्रो भाका त मसिनो-मुलायम नै थियो, समयको यति टाढा पनि डोरिएर किन आउँछ हँ !?

अचेल प्रेमका कुरा गन्थनसिबाय केही लागिरहेको छैन । हेर न, फौजीको जस्तो रुखो र सिलसिलेवार जीवन छ । म त्यही जीवनको रिङमा रिँगटा छुटाइरहेछु ।

यो पत्रमा प्रेम हुनेछैन । र पनि हो त यो पत्र नै । प्रेमको घर न त बनाउने, न त केही कसैसँग आँखमिचौली खेलेर मन साट्ने, कुनै कुनासँग मितेरी साइनो नभएको यो पत्र कसरी हुनसक्ला प्रेमपत्र ? र पनि प्रेमबाहिर रही-रही पनि प्रेमको ताजमहल हेरेरै भए पनि आफ्नै छातीमा हलुका मुक्का हान्दै पत्रहरू लेखिरहिएकै छ क्यारे संसारमा । यो त्यस्तै एक पत्र – तिमीलाई ।

(के-के लेख्छु भन्थेँ, यसबेला केही नै पो शब्द फुट्न छाडे । अँ त, म अचेल अलि हुस्सु पनि हुँदैछु ।)

छोड्छु भन्छु, सुसेलीहरू ओठकै जोर चुल्ठोमा बाटिएर आउँछन् । अब त केही सोच्दिनँ भन्छु, झन् झन् गहिरिँदै गए जस्तो तलाउमा छाल उछालिइरहन्छ । र यसैले अचेल स्वतन्त्र छाडिदिने गरेको छु सबै कुरा । ध्यानविधिमा “आफ्नो शरीरको अनुभूति भोक्ता भावले होइन, द्रष्टा भावले अवलोकन गर” भन्ने तरिका पछ्‌याए झैँ सबै स्वतन्त्र हेर्ने गरेको छु ।

स्वतन्त्र यादहरू …
स्वतन्त्र मातहरू …
तिमीलाई त अन्दाजै सम्म पनि नहुन सक्छ । बाहिर रहेर पनि म कहाँ बाहिर छु र !?

೯  ೯  ೯

Swan3
प्वाँखहरू सबैलाई मन पर्छन् । नरम-न्याना भुवा । तिमीलाई पनि । मलाई पनि । तिम्री आमा पनि त बूढी भएर गल्न थाल्नुभो, उहाँलाई त झन् जरूरी । चिसोमा खेलेर हातको के बिरामी हुनुभएको होइन ?

प्वाँखले कति हेरचाह गर्छ है । रजहाँसले बच्चालाई पखेटामा लुटपुटाएर पागल हुन्जेल ममता दिएको कति इर्ष्यालाग्दो ! हामी मान्छे कति मात्रामा रजहाँस हुन सकेका हौँला !!? मान्छेले पनि बच्चाबच्चीको फोहोर हत्केलैमा थापेर फाल्दै घच्चीमच्चीको लामो यात्रा निर्धक्क पार गरेको देखेको छु मैले । म पनि त्यसै गर्नेछु । तिमी पनि गर्नेछ्‍यौ सायद । भन्न त हाँसोमा भन्नेगर्थ्यौ- “म त केटाकेटीले कल्याङमल्याङ गर्न थाले भने पाटपिट पारिहाल्छु !” तर भने जस्तो कहाँ हुन्छ र हजुर ? निकटता भन्ने कुरा मासुमा छाला टाँसिएभन्दा अझै तातोपन हो ।  सबैले भन्छन् । त्यस्तै लाग्छ यसो अनुभूतिमा बहकिँदा । अँ त, अलि बहकाइ चाहिँ बढी नै भएको होला सायद ।

मन खिच्ने लगाम किन हुन्न साथी ?

೯  ೯  ೯

“हदै दुब्लायौ दुब्ले, अलि मोटाउ न !” भाषणमा नेताको गर्जिएको गला जस्तो नाडीमा अस्वाभाविक फुलेर निस्किएका नसा छाम्दै तिमीले कति-कति भन्थ्यौ । रिसाए-रिसाए जस्तो त्यो झोक्काइ । तर पूरै मायाको जाममा लपेटिएको । तर सकिनँ । म मोटाउनै सकिनँ । नसक्नुको पीडा कस्तो हुन्छ भने, म झन् त्यो ‘दुब्ले’ भनाउँदो स्तरदेखि खस्किएँ क्यार ! मोटाउनु मेरो नियन्त्रणभित्रको कुरो पनि त थिएन । सकभर, म खानपानमा उत्ति ध्यान नदिने, कुनै काममा लागेँ भने अरू कुरातिर फिक्री नै नगर्ने मेरो बानीलाई एउटा स्याहारिलो लिक दिन खोजेकी थियौ । म लिकबाहिरै बुर्कुशी मारिरहेँ ।

उही छ सबै कुरा । देश पनि । नेताहरू कोही बदलिएका छन् । खेल उही जारी छ । पुस्ता-पुस्तापिच्छे सय जोडी प्रेमीहरू बदलिँदैमा प्रेम बदलिन्छ र ? त्यस्तै त हो देशको खेल । जसरी बदलिन्छ थाहै नपाई आफ्नो अनुहार, अनि पनि ऐना छुट्दैन साथबाट । हुँदो हो- “यो फेरिएको अनुहार पहिलेको अनुहारभन्दा कति दागयुक्त, कति बेदाग भन्ने लेखाजोखा बन्छ क्यारे हाम्रो जीवनसंसारमा । हामीले पनि त के-के कुरा साटिसक्यौँ होला जिन्दगीको हाटबजारमा । आफूलाई भनेर बनाएको बाटोमा कोही पसे झैँ ।

सङ्लो मन रारा तालको झैँ बनाउन कति-कति भाकलमा घोप्टिँदा हुन् है यो सांसारिक चक्रमा मान्छेहरू । तर आफैँ पालिस कहाँ पुछ्‌दा हुन् र कोही ? मैले पनि जुत्ता त खुब पुछेँ, लाग्यो- जिन्दगीको राजमार्गमा/प्रतिस्पर्धाको सर्कसमा यही हो असली अभिनेता । पुछिरहेँ जुत्ता , घोटेँ खुबै मस्का लगाएँ । तर फाटिजाने जुत्ता कतिबेर घोटेर हुन्छ र ? गन्ती-गन्ती फेरिँदै जान्छ एकपछि अर्को .. .. ।

तर मन त आजीवन रहिरहन्छ । त्यसलाई कतिपल्ट मस्काउँछौँ हँ हामी ?

೯  ೯  ೯

समय मध्यरातको बुइ चढिसक्यो । पत्र पढ्दै गरेका तिम्रा आँखाहरू पनि त थकाइले चुर भइसके होलान् ।
सधैँ पत्र लेख्दा भन्थेँ म, यो पत्रपछि फेरि कुनै पत्र लेखिन पनि सक्छ, नलेखिन पनि ।
यस्तै हो ।

मन हो कुन बेला बहकिन्छ, थामिन्छ ।

बाँधबिनाको तेस्स्सिमा हुल्याहा मन !!

2 comments:

  1. असाध्यै बहकाइमा डुबेर लेख्नुभएको छ है!(कतै ...)! पत्र पाउने पात्रको मन पग्लिजाने खालको छ| सम्हाल्नुहोस है, नपगाल्नुहोस |

    ReplyDelete
  2. प्रेम बाहिर पत्र लेखिन्न । लेखियो भन्ने लाग्छ भने त्यो भ्रम मात्र हो । त्यस्तो भ्रमको खेती नगर्नुस् जहाँ अन्नको नाममा भुस समेत फल्दैन । हरेक शब्दहरुले प्रेमिल अनुरागको आरती गाउने अनि त्यसलाई फेरि त्यो गन्थन बाहेक केही होइन रे ! सत्य स्वीकार्ने हिम्मत छैन भन्दैमा खुल्लेआम झुट बोल्दै हिड्ने ! यसले त झुटलाई पनि न्याय गर्दैन शायद ।

    ReplyDelete