एस्ट्रेमा चुरोटजसरी निभ्न र चिसिन कसलाई पो मन हुँदो हो र ? बाफ छुट्ने कप हुन मन लाग्छ सधैँसधैँ । तैपनि बेमनको कुरा भइरहन्छ, दोहोरिरहन्छ । एउटा क्याफे कुनोमा कुनै एक्लो बेन्चमा खुट्टा लतारेर उसले आगामी यात्राको किरमिरे खाका कागती निचोरिएको मनले कोर्यो होला । यो 'ऊ' जो कोही पनि हुन सक्छ ।
कहिले व्यस्तताको जुम्राले लगातार टोकिरहन्छ, कहिले भने फुर्सदको हुल्याहा बारुलाले एकोहोरो डस्छन् । ठीकठीकै व्यस्तता, ठीकठीकै फुर्सद कहिले होला राजै जिन्दगीमा, मन तिरमिराउँदै नाच्छ प्रश्नको तख्तामा अक्सर ! यस्तै त हो जिन्दगीमा भनेर कहिले त मन बुझाउन मन हुन्छ, । मन बुझाउनु भनेको तृप्त हुनु कहाँ हो र आजकाल, यो त सम्झौताको एउटा तह हो । अँ त, आँखाको बिख मार्नैपर्ने हुन्छ, सम्झौताको काउछो गलैँचालाई मखमली सम्झेर त्यसमै गुडुल्किनुपर्छ । कर्मको लेखाले सधैँसधैँ साथ दिँदैन र कहिले त कर्मशील जीवनले पनि भावीको लेखामा अडेसा लगाउन खोज्छ ।
गडबडी आफूमा हुन्छ प्राय: , त्यसलाई मर्मत गरिन्छ, तर फेरि पनि गडबडी देखिन्छ । गडबडी आफूबाहेकको कुरामा, नियन्त्रणबाहिर हुँदा भने ज्यादा मुश्किल हुँदो हो है ! यस्तै मेसोमा निच मारेर बसेको हृदयको सन्दुक खिटिरखिटिर बज्छ, अथवा बोलिहालेछ भने पनि अनायासै ओठको गजबार तोडेर फुसफुसाइन्छ - यस्तै लेखिएको रहेछ । लेखाइका रेखीहरू कति-कति भाग्यको दाम्लोसम्म बाँधेर चित्त बुझाइएको हुन्छ, कति भने यही लेखाइ नै सबल पक्ष हो भन्ने किटानी स्वर बन्न सक्छ ।
कथा, कविता, गजलहुँदी पनि कहिले त मूल फुटेर ओइरिन्छन् यस्ता भावी र कर्मको संयुक्त लेखा ।
हिँड्नु एक्लै-एक्लै पैदल, यस्तै लेखिएको रहेछ
कैले गल्छी कैले जङ्गल, यस्तै लेखिएको रहेछ ।
यात्राको लागि जोरजाम केही पनि पो गरिएन,
खुट्टै थियो बाक्लो चप्पल, यस्तै लेखिएको रहेछ ।
त्यसै बसुन्जेल न भोक थियो न खुराक थियो,
हिँड्नासाथै मिल्यो फसल, यस्तै लेखिएको रहेछ ।
भोको आँखाले मूर्ति भएर कुर्दारहेछन् भगवान्,
गरियो निकै भाकल, यस्तै लेखिएको रहेछ ।
आफन्तको साथ पाउन चटके झैँ रुँदारुँदै,
रुवाइ नै बन्यो अम्मल, यस्तै लेखिएको रहेछ ।
सत्य त यो पनि हो !
ReplyDelete"यस्तै लेखिएको रहेछ"
This comment has been removed by the author.
ReplyDeleteगजल निकै घतलाग्दो छ | यस्तो त नलेखिनुपर्ने हो, तैपनि किन लेखिएको होला !
ReplyDeletenice !
ReplyDeleteनिकै सरल र सामान्य लाग्ने शब्दहरुले असामान्य र जटिलताको घतलाग्दो 'डज' दिएको पाएँ यो गजलमा ।
ReplyDeleteमैले कहीले काहीँ जस्तो सोच्थें, त्यस्तै लेखिएको रहेछ !
आफन्तको साथ पाउन चटके झैँ रुँदारुँदै,
ReplyDeleteरुवाइ नै बन्यो अम्मल, यस्तै लेखिएको रहेछ।
प्रत्येक शेरहरु उस्तै भावपूर्ण, उस्तै मर्मस्पर्शी ... मनले भन्यो - त्यस्तो भावनामा डुबेको बेला कुनै दिन तैले पनि भनिथिस नि "यहाँ यस्तै लेखिएको रहेछ " ।
लेखिनु र लेख्नुमा जति फरक भेटिएछ त्यो भन्दा सत्य र यो भन्दा ठुलो ज्ञान संसारमा अरु कुनै नभेटिएला की ? सायद बाँच्नु भन्दा पनि बाँचिदिनु गार्हो भनेको यही हो कि ?
ReplyDeleteसरल शब्दमा मीठो गजल ।
ReplyDelete