March 29, 2010

‘हिँड्नुअघि’मा कवि सुको साइबर

पाहुनाको कलमलाई क्याफेमा प्रस्तुत गर्ने क्रममा 'अतिथि आसन' स्तम्भमा यसपालि कवि सुको साइबरलाई लिएर आएको छु । सुको अर्थात् सुदिप कोइराला । कवि साइबर मेरा समकालीन हुन् । उनको कवितामा मैले सधैँ अनुभूति गर्ने पाटो अभिव्यक्ति शिल्पमा बिछट्टै नयाँपन नै हो । सरल विषयवस्तु र कथ्यमा गम्भीर चाबुक दिनु साइबरको कलमको जग हो । यो एउटा कविको लागि (जो कोही लेखककै लागि) अपेक्षित गुण हो । यसैले समकालीन युवा कविहरूको भीडबाट कवि सुकोलाई नै अतिथिको रूपमा उभ्याउन मलाई लोभ लाग्यो । उनी हाल नयाँ कविताकिताब प्रकाशन तयारीका लागि कविताहरूको जोरजाममा लागेका छन् । निकट भविष्यमै उनको कृति आउँदैछ । त्यो उनको गन्तीको हिसाबले दोस्रो र एकल लेखनको हिसाबले पहिलो किताब हुनेछ ।
कविता लेखनमै समर्पित रहँदै आएका उनको एउटा ताजा कविता क्याफेमा प्रस्तुत छ :


Suko


हिँड्नुअघि

घामले पोल्न सक्छ
पानीले निथ्रुक्कै रुझाउन सक्छ

बाटोमा
धुलो उड्न सक्छ
बाटो
हिलो हुन सक्छ
बाटो हो
कसैले
नछोड्न सक्छ
कसैले
छेक्न सक्छ
कसैले
घचेट्न सक्छ
ठोकिन सक्छ
ठेस लाग्न सक्छ

हिँड्ने-नहिँड्ने
हिँड्नुअघि नै सोच्नुपर्छ

हिँडिसकेपछि हिँड्नैपर्छ

फर्कँदा
बाटो उही हुन्छ
तर
हिँड्ने मान्छे
बदलिसकेको हुन्छ ।

6 comments:

  1. सुको साइबर को कविता, यथार्थ को वरिपरि नै घुमेको छ ।

    फर्कँदा
    बाटो उही हुन्छ
    तर
    हिँड्ने मान्छे
    बदलिसकेको हुन्छ ।

    ReplyDelete
  2. वाह ! कवी जी को कविता ! गजब को छ ... दमदार रहेको छ ! छोटो ...मिठो अनि निकै सरल रहेको छ (एक दम )!
    कवी जी लाइ एकल कविता लेखनको अग्रिम शुभ- कामना !!

    ReplyDelete
  3. गजब छ सुकोजी । चोटिलो कविता । कुनै दिन तपाईँबाट सुन्नु मन छ ।

    ReplyDelete
  4. चोटिलो कविता! र कविताको निष्कर्ष त झन् गज्जब छ;

    फर्कँदा
    बाटो उही हुन्छ
    तर
    हिँड्ने मान्छे
    बदलिसकेको हुन्छ

    जीवन‍-सत्यको अनुपम अभिब्यक्ति!

    ReplyDelete
  5. Dear Sukoji,
    Very Good!

    -Bibhor

    ReplyDelete
  6. suko pakka kavi hun.

    ReplyDelete