November 17, 2010

गुरुकुलमा मङ्सिर १ देखि २१

रेक Aarohan-International-Dramaदुई वर्षमा  अन्तर्राष्‍ट्रिय नाटक महोत्सव गर्ने आरोहण नाट्य समूहको गुरुकुल (स्कुल अफ थिएटर)  यस पटक पुन: जुर्मुराएको छ । दुई वर्षअघि २००८ को महोत्सवमा नेपालसहित आठ वटा मुलुकका नाट्यसमूहले सहभागिता जनाएकोमा यस पटक भने सहभागी मुलुकको सङ्ख्या बढेर १६ पुगेको छ । नेपालका दुईवटा नाट्यसंस्थाका दुई नाटकसहित २१ दिनमा विभिन्न २१ वटा नाटकको रसास्वादन गर्न सकिने मञ्च गुरूकुलको सम र रिमाल नाटकघर बन्नेछ । महोत्ववको अवधि पनि पहिले १६ दिन थियो भने यो पालि २१ रहेको छ । २००८ मा भएको  नाटक महोत्सवबारे पढ्न यसै ब्लगमा अनिता सिवाकोटीले लेख्‍नुभएको र २००८ नोभेम्बर २७ मा पोस्ट गरिएको यो ब्लग  को लिङ्कमा जानुस् । 

नेपालमा हुने रङ्गकर्मको कुरा गर्दा, आरोहण नाट्य समूह र यसले गुरूकुलीय अवधारणा स्वरूप स्थापना गरेको थलो गुरुकुलको अग्रणी भूमिका छ, यो स्विकार्नैपर्छ । जे-जस्तो स्रोतबाट, दाताबाट सहयोग लिएर होस् वा संस्थाले हाल अड्डा जमाएको स्थान संस्थाकै मातहतमा सधैँका लागि ल्याउन सरकारसामु आफ्नो दयनीय अवस्था देखाएर होस्, यसले गर्दैआएको प्रयास स्तुत्य छ । यो सबै गर्नुमा पक्कै पनि नाटकक्षेत्रप्रति आरोहण गुरुकुलको समर्पण, श्रद्धा र लगाव गाँसिएको छ । आज राज्यले यस क्षेत्रमा गर्नुपर्ने काम आफ्नो दायित्वबोध गरेर गुरुकुलले काँधमा लिएको छ । 

बेलाबेला मिडियामा अन्तर्वार्तामार्फत नेपाली नाट्य क्षेत्रका सुख, दु:ख र सम्भावनाका कुरा कहन्छन् आरोहणका पण्डित सुनील पोखरेल । कहिले नेपालमा राम्रा नाटक नै छैन, त्यसैले विदेशी नाटक अनुवाद गरेरै भए पनि मञ्चन गर्नु आफ्नो बाध्यता हो भन्छन् । कहिले भने नेपालमा पनि रङ्गकर्म गरेर पेट पालिने दिन आए, यस क्षेत्रमा लाग्ने युवाहरूले नआत्तिए हुन्छ भन्दै आशाको बत्ती बाल्छन् र पुलकित हुन्छन् । त्यसो त काम गर्नेले नै हो अपजसको पनि भारी बोक्ने । एक समय विदेशी नाटकको पिछलग्गु भएर नेपाली भाषा-साहित्य र यहाँका लेखकलाई उपेक्षा गरेको भन्ने आरोप पनि खेप्यो । बर्तोल्त ब्रेख्तको ‘खरीको घेरो’,  अल्बर्ट कामुको ‘न्यायप्रेमी’, हेनरिक इब्सेनको ‘पुतलीको घर’ लगायतका नाटक मञ्चनमा आएकै हुन् र दर्शक पनि बटुलेकै हुन् । सम्भवत: त्यसपछिकै नतिजा होला, नयाँ नाटकसहित प्राध्यापक अभि सुवेदीहरूको कलम तात्‍न थाले । उनको ‘अग्निको कथा’, ‘आरूका फूलका सपना’, ‘मायादेवीका सपना’ सफल मञ्चनमा आए । साहित्य-कलाप्रति चाख भईकन राजनीतिक विषयमा स्तम्भ लेख्‍ने सीके लाल पनि पछिल्लो समयमा ‘सपनाको साबिती’ सहित नाटक लेखकका रूपमा उदाए ।

Doll's-House. तस्बिर स्रोत : www.rajankathet.blogspot.com

पूर्णकालीन कलाकार, नाट्यकर्मीको रूपमा अनुप बराल, वीरेन्द्र हमाल र कृष्‍ण शाह यात्रीहरूले पनि आफ्नो व्यक्तिगत एवम् संस्थागत प्रयासबाट नेपाली नाटकलाई जनस्तरमा भिजाउन र यस क्षेत्रको विस्तारका लागि जाँगर लगाउँदै आएका छन् । पाँच-दस वर्ष अगाडिको अवस्था भन्दा त अहिले निश्‍चय नै नेपाली नाट्य क्षेत्रले शिर ठाडो गरेको छ । दर्शकहरू पनि नाटक घरसम्म डोरिन थालेका छन् । अझ दर्शकहरूको झुन्डमा तन्नेरीहरूको आशलाग्दो लहरले यो क्षेत्र यत्तिकै त मरेर नजाला भन्ने आश उम्रेको छ । तर खाँचो छ अब रङ्गकर्मीहरूबीचमै आपसी समन्वय । छुट्टाछुट्टै रूपमा छरिएर रङ्गकर्मीहरूले गरेको प्रयासले नेपाली नाट्यक्षेतरलाई जेनतेन परिचयको तहमा अहिले उभ्याएको होला । तर दीर्घकालीन रूपमा यस क्षेत्रलाई पेसागत र बौद्धिक विधाको हिसाबमा समृद्ध पार्न रङ्गक्षेत्रकै सहयात्रीबीच हातेमालो नगरी हुँदै हुन्न । संस्थागत रूपमा गरिएको छुट्टै प्रयास पनि चाहिन्छ, नयाँ-नयाँ रङ्गकर्मीलाई नाट्यक्षेत्रमा अभ्यस्त गराउन र तिनलाई एकत्र पार्न ।  यो बाटो देखोस् नेपाली रङ्गकर्मले । 

गुरुकुलमा २१ दिनसम्म चल्ने काठमाडौँ अन्तर्राष्‍ट्रिय महोत्सवमा प्रदर्शन हुने नाटकहरूको विवरण यसप्रकार छ :

(ठूलो पारेर हेर्न तलको तस्बिरमा क्लिक गर्नुहोला)

Festival-1. Festival-2.

1 comment:

  1. I feel so great that I am able to taste Nepali theater through gurukul and plays shown over there. There are also many theatrical groups working however their works comparatively to gurukul are not that captivating.

    Its nice to see translated plays in Nepali context. However, after seeing Agni ko katha I say....phewww translated plays are much better than meaningless plays which is like baseless hindi movies...

    I wish this festival a grand success.

    ReplyDelete