Subscribe:

Ads 468x60px

02 May 2011

विन लादेन

Laden त आफैं मरेको थेँ, आफैं ...
छिया-छिया पारेँ भन्यौ
मैले नै मारेँ भन्यौ


तिमी सदियौंदेखिको खेलाडी


मेरो मृत्‍युमा पनि
खेल्यौ लङ्गुरबुर्जा
टकटक्यायौ मेरा गुच्चा जस्ता आँखा
र घोषणा गर्‍यौ विरोधी सपनाहरु स्वाहा !

चिर्दै चट्टानी पहाड
कहिले
तिम्रो महाशक्तिको पुच्छर निमोठें
कहिले नापेँ
त्यो कमजोर मुटुको तनाव
तर्साइरहेँ सेतो दरबारमै आएर
सपनाको दैलोसम्म ढकढक्याएर

अरबको तातो भावरमा
हुर्कियो नाङ्गैभुतुङ्गै
अल्लाहको यो छाउरो
खियाइरह्‍यो पसिनाले
ज्यानको समुद्रमा डुङ्गा, खियाइरह्‍यो

जिस्किरहेँ बाँचुन्जेल
घमण्डको चिप्लो-चिप्लो शिरसँग 
मुसारिरहेँ पाइलैपिच्छे मृत्युको गाला
यसकारण तिमी लोभियौ -
मेरा आँखामा देख्यौ भरिभराउ तेलकुवा

विश्‍व नै छोप्‍ने बाजको पखेटा
काट्न तम्सिने मैं हुँ
यो बाटोमा आएन कहिल्यै
थकाइको खस्रो कछुवा
छोएन व्यवधानका लेउले
बगिरहेँ कुलकुलाएर, बगिरहेँ …

तिम्रो ट्याङ्कले छोड्ने
महँगो गोलाबारीभन्दा
महँगो गीत गाएँ विद्रोहको
विद्रोहकै बिछ्‌यौनामा
सुतेँ तिमीले जुगौंजुग नपाउने महँगो निद्रा

म त आफैं मरेको थेँ, आफैं ...
छिया-छिया पारेँ भन्यौ
मैले नै मारेँ भन्यौ
मेरो मृत्युको सिरानीमा तिमीले खसालेको हकदाबीको आँसु
कति दयनीय तर आत्मीय !

तिम्रो तमाम तरलतालाई
हार्दिक समवेदना !

1 comment:

  1. एउटा पृथक नजर ...
    उ यति मिठो कविताको लायक चाहिँ थियो या थियन त्यो वेग्लै अध्ययनको बिषय हुनसक्छ .. तर कविको आँखा चाहि फूलको आँखा हो भने मैले ।

    ReplyDelete