Subscribe:

Ads 468x60px

10 June 2011

झापड खानेले जुत्ता नखाऊन्

प्रधानमन्त्रीको कुर्सीमा बसेको एक सातापछि बिबीसी नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिँदै झलनाथ खनालले भनेका थिए, “कतिपय जनता राजनीतिक दलहरुप्रति अलि बढी आक्रोशित पनि छन् । तर जुन मान्छेले मलाई झापड हाने, तिनले मलाई झापड हानेर आज बालुवाटार ल्याइपुर्‍याइदिएका छन् । त्यसो हुनाले मैले त उनलाई धन्यवाद दिएको छु ।”

Jhalanath-khanalसात महिनासम्म प्रधानमन्त्री चयन हुन नसकेको रिक्तता मेट्दै आसीन भएका उनलाई तै जे-जस्तो भए’नि मुलुकले प्रधानमन्त्री त पायो  भनेर त्यतिबेला धेरैले मन बुझाएका थिए । रिक्त स्थान पुरयेतको अर्थमा । अब चाहिँ गतिलो मान्छे आयो भनेर हिसाब गर्ने ठाउँ त कतै थिएन । जे होस्, प्रधानमन्त्री निर्वाचनको एकपछि अर्को नौटङ्कीबाट छुटकारा मिलेको थियो ।

शान्ति र संविधानको राष्‍ट्रिय मुद्दालाई सबैले अर्जुनदृष्‍टि बनाएर अघि बढ्नुपर्छ भन्ने उनको महावाणी नै हो । अघि बढ्ने चाहिँ कसले हो, दैव जानून् । राजनीतिक वृत्तमा थेगो बनेको छ - यस्तो गर्नुपर्छ, बनाउनुपर्छ, हुनुपर्छ भन्ने । मानौं कुनै अदृश्य शक्ति वा दूत आएर गरिदिन्छ सबै । अरूलाई खेताला लगाए जस्तो उर्दी र आह्‌वानमा पड्किदिए भयो ।

देवीप्रसाद रेग्मीको झापडले गति परेर झलनाथ प्रधानमन्त्री बनेको उखान पनि खुबै चल्यो । संयोग पनि त्यस्तै मिलेको थियो । माओवादीले निर्वाचनमा काँध थापिदिएपछि झट्टै मुलुकको कार्यकारी प्रमुखमा विराजमान हुन पुगे । नत्र कुनै दिन झलनाथ प्रधानमन्त्री बन्लान् भनेर को सज्जनले चिताएको थियो होला ?बोल्दा पनि जुम्से पारा झिक्ने, कुरै बुझ्न नसकिने मान्छे के क्षमताले प्रधानमन्त्री बन्थे पनि !? तर नेपालको राजनीति, कुन-कुन तिकडमले कतिखेर कसको कोर्टमा बल पर्छ, उसैले गोल हान्छ । व्यक्तिको क्षमता, देशको आवश्यकता र जनताको मान्यताले कुनै मूल्य राख्दैन । कुर्सीको खेलमा मात्र लाग्यौ लट्ठक हो, देशको समस्यामा गम्भीर बनेनौ भनेर सुनसरीका देवीप्रसादले इटहरीमा आयोजित सार्वजनिक कार्यक्रममा झलनाथलाई चड्कन चखाएका थिए । नेतालाई झापड हानेको कुरालाई बढावा दिंदा अराजकतालाई अनुमोदन गरेको ठान्ला कसैले । तर भद्रगोल र निराशापूर्ण मुलुकको अवस्था र सत्ताको ‘म्युजिकल चेयर’मा फन्को मार्ने नेताहरूको ताल देख्दा जनताको आक्रोश र असन्तोष स्वाभाविकै हो ।

झलनाथ जस्तै अर्का झ – माओवादीका सभासद् झक्कु सुवेदी पनि संविधान किन समयमै बनेन भनेर एक चियापसलेको झापडको घानमा परे । एमालेका तत्कालीन महासचिव माधव नेपाललाई काठमाडौंमा हराएर  संविधानसभामा निर्वाचित हुँदा चौपट्ट खुसी भएका झक्कुले झापड खाएपछि त्यस्तै खुसी प्रकट गरेछन् । झापड खाएर झलनाथ प्रम चुनिए, मैं पनि केही न केही भाग कसो नपाउँला भन्ने सोचले मक्खिएछन् । भाग्यको डोकामा थुन निचोरेर बस्ने यस्ता लट्ठक नेता भएपछि देशको हविगत के होस् ! डोकामा दूध त अडिन्छ, तर प्याकेटको दूध हुनुपर्छ भन्थ्यो रे एउटाले ।

झापड खाएपछि चेतबाबा काशी भएको भए एउटा कुरा हुन्थ्यो । तर पारा उही नै छ । सहमतिको सरकारको आवश्यकता छ भन्दै एउटा दलको भरोसामा जुरुक्कै सरकारमा हुत्तिएका उनै झलनाथ अहिले दलहरूले राष्ट्रिय सहमतिको सरकारको उम्मेदवार ल्याए कुर्सी छाडिहाल्ने बताउँदैछन् । मानौं उनी राजनीति बाहिरका प्राणी हुन् र सहमतिको नयाँ सरकार बनाउनमा उनको केही जिम्मेवारी छैन । “लौ बनाओ त सहमतिको सरकार, हेरुम् हामी पनि” भन्ने झोंक छ सायद उनको । नत्र यसरी अगाडि बढौं भन्ने सल्लाह र पहल गर्न सक्दैन प्रमुख तीन दलमध्येको एउटा दलको अध्यक्ष जस्तो मान्छेले ? दोस्रो पटक संविधानसभाको म्याद थप्नुअघि तीन दलबीच भएको सम्झौतालाई लालबुझक्कड नेताहरूले मुसा झैं खेलाइरहेछन् । यस्तै हो भने झापड खानेलाई अझ सबक पुगेको रहेनछ भनेर अर्थ लगाउन सकिन्छ । अनि त के र, झापड खानेले जुत्ता खान के को आइतबार ?

चोक-चोक र सडक-सडकमा तम्तयार  छन् सदियौंदेखि ठीक नभएको, खुकुलो भइराखेको, जनताका जुत्ता-चप्पल । तैपनि यति सदिच्छा छ – झापड खानेले जुत्ता नखाऊन् । नेताहरू पनि मान्छे नै हुन् भन्ने राम्ररी बुझेका छन् सर्वसाधारणले, मानवताको नाताले उनीहरू सोच्न जान्दछन् ।

1 comment:

  1. त्यो दिन नआओस् भन्ने हाम्रो कामना हो तर नेताहरुको पारा देख्दा जुत्ता संकलन् कार्य सुरु गर्दा हुने देखिँदै छ है धाइबा जी।

    ReplyDelete