Subscribe:

Ads 468x60px

02 June 2011

मुदिता

“मन्द प्रकाशमा फोटो खिच्नुको मजा नै बेग्लै हुन्छ है !”
चुरा बजेको हातको झङ्कारभन्दा पहिल्यै कोइली स्वर फुट्यो । भुसुनाको आवाजले पनि शान्ति बिथोल्ने मौनतामा घेरिएको म त्यो स्वरले झस्किएँ । क्यामेराको सन्तुलन बिग्रेर दृश्य लतपतिएको आयो । यतिबेला म ऊ सँग ठुस्किनुपर्ने । साँझपख जूनको हलुका प्रकाशको संयोजनमा बुद्धको प्रतिमाको तस्बिर कैद गर्दै थिएँ । यतिबेलै उसले बोलाउनुपर्ने !
“हो, कसैले नखजमज्याएको वातावरणमा खिच्न पाए निकै मजा हुन्छ”,
लौ जा, पेच पर्नेगरी मैले पनि जवाफी झटारो हानेँ । प्रहार खेपेर ऊ कटाक्षले खुत्रुक्कै हुनुपर्ने हो, तर ‘हो है’ भनेर खितित्त हाँसेर टारिदिई ।  मापाकी केटी  रै’छे जस्तो लाग्यो ।

तस्बिर खिच्ने बेला मान्छे कति ध्यानमग्न हुन्छ, उसलाई होशै भएन जस्तो छ । Mudida-Tapobanमन एकसुरिएको बेला ध्यान बिथोलिएर ज्यानसँगै हातमा कम्पन आउनु त सामान्य कुरा हो । घमण्ड गरेको होइन, १०-१२ कोणबाट खिच्दा पनि राम्रो नबनेको फोटो अब चाहिं कैद गर्छु भन्दै अन्तिम क्लिक् मार्दै थिएँ, जुन योजना यो जैरीले चौपट पारी ।  म अलिक बढ्तै उत्तेजित भएको पनि हुन  सक्छु । कला पारखीहरू त्यसो त सानो र मिहीन कुरालाई पनि संवेदनशील भएर गहनतापूर्वक हेर्ने गर्छन् रे, म रिसाउनुमा पनि केको अस्वाभाविकता ?

प्रकृतिको मात्र बोली सुन्न पाउँदा बहिरो भइँदो रै’छ । म बहिरो बालक भएको थिएँ प्रकृतिको काखमा । लोरी सुने झैं बेपत्तासँग मदहोसमा हराएको थिएँ । दर्शनका पाना र विवादका अनेक किस्सामा सुनेको नाम- ओशोको ध्यान र ज्ञानभूमि ओशो तपोवनको आँगन पहिलोपटक टेकेको थिएँ । तपोवनमा पाइला सार्दै गर्दा हरियालीको सफा फरिया लगाएर स्नेहले हेरिरहेकी आमा साक्षात् उभिइरहेको अनुभूति भयो । तर यही आँगनमा यस्ता चिरबिरे केटी पनि ठोक्किन आइपुग्ने रै’छन् ! कलेजी गाउन पहिरिएकी ठिटीले कुन बेला कलेजी नै चिरिदिने हो, के ठेगान ! मैं पनि झम्लङ्ग कलेजी गाउन लगाएर अप्ठेरो भावसहित खुम्चिएको थिएँ । सकस लागिरहेको थियो, म्याक्सी पहिरेर दगुर्दै गरेकी निकै थसुल्ली महिलासँग आफूलाई तुलना गर्दै थिएँ ।

सहरको भागाभाग र यान्त्रिक जीवनशैलीबाट फुर्सद लिएर एकैछिन ढुक्कले सास फेर्न ओशो तपोवनको वनक्षेत्रमा आइपुगेको हुँ । योजना हो, एक रात र एक दिनको बसाइ । कताकता आत्मिक शुद्धीको बाटो अध्यात्म पनि व्यापारिक शैलीमा मोडिए जस्तो कतिपयलाई लाग्न सक्छ, ध्यान केन्द्रमा बस्ने नीति-नियमलाई पनि फरक-फरक ‘प्याकेज’ मा तपाईं‌सामु पस्किएको छ । तीन दिनको प्याकेज उपभोग गर्ने कि साताको ? एक्लै बस्ने कोठा लिने कि साझा कोठामै काम चलाउने  ? बस्, आध्यात्मिक लाभको नाममा तपाईं  खल्ती टकटक्याउन तयार भए पुग्छ । बाँकी, सेवा आफैं हाजिर हुनेछ । 

“ओ मुदिता'”, झम्के साँझमा तपोवनको शान्ति हल्का बिथोल्ने गरी कसैले आवाज दियो । कोमल प्रकाशमा तपोवन झनै मादक बनेको हेर्न ‘अष्‍टावक्र’ कक्षबाट निस्किएको थिएँ । मुदिता रै’छ मेरो एकसुरलाई बिथोल्नेको नाम । उता गुनगुन चल्दै थियो 'स्वामी' अनि 'मा' हरूको । अँध्यारोमा उसको अनुहारको ‘भ्वाइस’ ठम्याउन नसके पनि बोली अझ मनमा बस्दै जाने खालको सुरिलो लाग्न थाल्यो । टाढैबाट उसको मादकताले होश गुम होला कि जस्तो भयो आफ्नो । अघि फोटो खिच्ने बेलामा मैले बढी नै झम्टिएँ कि भनेर थकथकी पनि लाग्यो । परैबाट सुनियो- भोलि बिहानतिर सहर जाने रै’छे । गाउँको अमनचैन र प्रकृतिको लुकामारीको स्वाद लिन जंगल छिरे पनि सहरप्रतिको निर्भरता हटाउन अहिलेको समयमा असम्भव नै हुन्छ । यो केटीको मात्र के कुरा, म पनि त्यस्तै जीव त हुँ । 

ध्यानको सागरमा डुबुल्की मार्न तपोवन छिरे पनि खासमा त हामी यसो ‘झलक दिखलाजा’ को शैलीमा फरक अनुभूति गर्न पाइन्छ कि भनेर पुगेका पाहुना थियौं । यसैले भौतिक सुखसुविधाको मोबाइल सिउरिएकै थिएँ साथमा । रोशन शेरचनको निबन्धसङ्ग्रह ‘चम्पारन ब्लुज’ पनि ब्यागमा थिग्रिराखेको थियो ।

‘मजाको ठाउँ छ यार, सो पिसफुल !’, सहरको साथीलाई टेक्स्ट ठेलेँ । जवाफ आएन । सके  कुनै खानी नै पत्ता लगाउँला भने झैं टेलिभिजनमा आँखा जोतिरहेको होला । म भने चम्पारनमा आँखा गहिर्‍याउन थालेँ । ‘भ्यागुतासँगै उफ्रिंदै आएका खुसीहरू’ शीर्षकको निबन्धले हत्तपत्त होशै नगरिने सामान्य विषयवस्तुमा सन्तान र परिवारसम्मको खुसीको प्रसङ्ग जोडेर चमत्कारिक लय पैदा गरेको पाएँ । कति मसिना तर गम्भीर कुरा यसरी नै हरेकको जीवनमा खाँदिएर तहतह परेका हुँदा हुन् । कोट्याउने र खित्का छाड्ने फुर्सद कसलाई ? यादै नहुने गरी कन्सिरीका कपाल बढे झैं तिनले उत्तिको ध्यान नतान्लान् सबैको ।

बिहान ठीकै बेलामा उठियो । कूम्भकर्ण हुन तपोवन आइएको पनि थिएन । तर ‘साझा कोठा’ मा रहेका अरू ६ जनामध्ये कोही मुख धुने, नित्यकर्म सक्ने र कोही नुहाउने तयारीमा झिसमिसेदेखि नै खलबली गरेर निद्रा खाइरहेका थिए, यो देखेर ध्यानको सुरमा रहेको दिमाग पनि रनक्क भएर आयो ।

तपोवनमा हरेक कुराको नाम छ । किचेनको नाम पनि सुजाता किचेन ! चियाको चुस्कीमा बिहान झान्न त्यतै झरियो । नजिकै रहेको ओशो समाधि र शिवपुरी बाबाको मन्दिरले निकैबेर अलमल्याए । फर्किँदा मुदिता सहरतिर जाने तरखरमा रहिछ । स्वाभाविक हो, नयाँ आउने साधकहरूप्रति उनीहरूको पनि चासो हुन्छ नै । चिनजान गरियो । काठमाडौंकै एक अस्पतालमा नर्सिङ पेशा गर्ने रहिछे । अस्पतालको नाम भन्न जति कर गर्दा पनि अटेर गरी । बिरामी भएको बहानामा पछ्‌याउँदै अस्पतालमै टुप्लुकिन्छ भन्ने डर भयो कि ?  म बारम्बार बिरामी परिरहन्छु भन्ने कुरा खिरिलो ज्यान देखेरै अन्दाज गरी जस्तो छ । मा ध्यान सिर्जना, तप्पो मा हरूको पङ्क्तीमा तर उसको आकर्षण मेरो मन-मगजमा झ्याङ्गिँदै जान थालेको थियो । लौ, ध्यानबाट कपास जस्तै हलुका हुने ध्याउन्नले आएको केटो झन् अटेसमटेस भएर पो फर्किएला जस्तो भयो ।

यही अटेसमटेसमा बिहानभरि ध्यान मन्दिरमा ध्यान र योगा गरियो । एक घन्टाको डाइनामिक ध्यानमा उफ्रिंदै ज्यानलाई गिटार जस्तै बजाइयो ! सिङ्गो काया मादलको खरी र करङ-‍हाडखोर गिटारको तारमा परिणत भएको थियो । ‘यति कसरत गरेको भए त गाउँको बाँझो खेतमा कति अन्न फल्थ्यो होला काजी’ भनेर चस्का लागिरह्‌यो ।

“आइराख्‍नु न बेला-बेला है”,  फेरि भेट होला कि नहोला भन्ने दुविधा मडारिएको बेला मुदिताले माकुरे जाल बिछ्‌याई ।

“अफिसको कामकाजी दुनियाँमा अल्झिएको मान्छे परियो, छुट्टी मिले त हो नि  !”, भाउ खोजे झैं मेरो प्रतिक्रिया ।

“छुट्टी हुने बित्तिकै आइहाल्नू न‍ !”, लापरवाहीपूर्वक बोली आयो । मानौं मेरो सोझो बाटो काठमाडौं र तपोवन नै हो अबदेखि । मा मुदिताकै चक्करमा मेरो पृथ्वी घुम्ने हो त ?

आइराख्‍नू भन्ने आह्‌वान गरेर मुदिता हिंडी । उकालोको खुड्किला चढ्दै बिलाई । नमीठो लागिरह्‌यो । तपोवनको शान्ति पनि सुनसानमा परिणत भयो ।  ध्यान के हो, साधना के हो, जिल्लिरहेँ । ऊ यहीँ हुन्जेल कुनै मतलब नमान्ने मन अहिले भने बगरमा पछारिएको माछा जस्तो भयो । उखरमाउलो छटपटी । पहिलो भेटमा रिसउठ्दी लागेकी केटी कस्तरी एकाएक मायालाग्दी  भएकी ! आफैंदेखि चकित भएँ । तपोभूमिमा आएको मान्छे म, घाम लागे जस्तै खुला हत्केलाले आशीर्वाद तेर्स्याउने गुरुको प्रभाव पर्नुपर्ने । तर लुकाउनुपर्ने कुरा केही छैन भन्दै सेक्सको मात्र कुरा गर्ने भनेर एकथरीले नराम्रो रूपमा बुझ्ने गरेका 'सेक्स गुरु'को नभई भर्खरकी चेलीले प्रभाव पारेकी थिई । अचम्म ! मुदिता नभएको तपोवन अब तापभूमि लाग्न थाल्यो । साँझसम्म बस्ने सुर कसेर आएको मान्छे अहिल्यै हिंडिहाल्न मन भयो । झोला टिपेर गेटतिर हान्निएँ ।

मलाई आजै भेट्नु छ मुदितालाई, अहिल्यै भेट्नु छ ।
कुन अस्पतालको कुन वार्डमा पो बुर्कुशी मारिरहेकी होली ? कता मात्र पो खोज्ने ?

10 comments:

  1. Rachana BhattaJune 01, 2011

    I loved it jeevan.......
    Some lines are really touchy............

    ReplyDelete
  2. Such a wonderful story.. :) :) :) so real..the feelings expressed so wonderfully...

    ReplyDelete
  3. कथाकार मुदितासंग जसरी प्रभावित भयो म त्यसरी नै प्रभावित भएँ धाइबाजीको कथाकारितासंग,उनको शव्द खिप्ने शैली संग ।

    ReplyDelete
  4. मेरो नि ! मन चोर्यो यो मुदिता ले यानी मुदिताको कथाले .......
    भनेपछी शान्ति तपोवनमा होइन मनको खुसीमा भेटिदो रहेछ - जीवन जी, होइन र ?

    ReplyDelete
  5. मुदिता बिनाको तपोवनमा कथाकारलाई भएको छट्पटी मलाई पनि अनुभुती दिलाउन सफल भयो यो कथा। माथिका दुबै टिप्पणीकर्ता साथीहरु सँग मन मिलाउँदै थप भन्न चाहन्छु मुदिता सँग कथाकारको छिट्टै पुनर्मिलन होस् ।

    ReplyDelete
  6. साँच्चीकै मापाकी केटि हो रहेछ,,, मन शुन्यको स्थिति राखेर हिडेको बेलामा आउने झिनामसिना पात्रहरुले पनि दिमागलाई निकै कसरत गराउछ साथी....

    ReplyDelete
  7. AnonymousJune 08, 2011

    is it good to write the real name of real people?....hare....dhayn sahyan garnu chhaina....taruni tira heryo....nanabhati saochyo...nanabhati lekhyo

    ReplyDelete
  8. Thanks to all of you for your lovely comments ...

    @ वेदनाथ जी : मनको खुसीमा भेटिन्छ शान्ति, पक्कै हो ।
    @ प्रकाश समीर जी : छिट्टै पुनर्मिलन हुने आशामा लेखेको होइन सर । एउटा आख्यानको वहाब सम्म कोरेको छु । पहिलो कथा लेख्ने अभ्यास हो खासमा यो । धन्यवाद ।

    @ Anonymous : हो, मुदिता दुनियाँमा धेरै छन्, ती मध्ये एउटालाई लिएर कथामा उनेको हुँ । के अपराध गरेँ ? कसको मुखमा कालो पोतें ? अश्लीलता र बेइज्जत कहाँ छ ? ध्यानको महान् कुरा गर्ने तपाईंबाटै आयो बरु तरुनीको कुरा । त्यो पनि लुकेर कमेन्ट लेख्नुभएछ । तैपनि तपाईंको छायासम्म चिन्छु म । परिचयसहित आउनुभएको भए निकै सविस्तार प्रतिकृया पाउनुहुने थियो ।

    ReplyDelete
  9. अनी , यो होनी तरिका , छोयो है छोयो !

    ReplyDelete
  10. perfect!!!! khatra chha ho dai mulai maan paro

    ReplyDelete