Subscribe:

Ads 468x60px

15 March 2012

घुम्ने मेचका सुहाउँदा मान्छे

लेख्‍नेहरूले लेख्‍न सक्थे, यो देश -
धुपी, सल्ला र हिमालहरूको देश,
भूपी, हल्ला र रिमालहरूको देश ।
तर सम्झिनेहरूले कवि भूपी शेरचनलाई स्मृतिमा रेसारेसा केलाउँदा उनका विभिन्न पाटो खुल्दै जान्छन्, चर्चाको क्रम 'हल्ला'मा गएर टुङ्गिइहाल्दैन । हल्लाको गुप्त तहबाट पार भएर यथार्थका फग्लेटाहरू स्मृतिको झ्यालमा प्रकट हुन थाल्छन् ।

हामी, मेरो चोक, यो हल्लैहल्लाको देश हो लगायतका शक्तिशाली कवितामा बाँचेका भूपीबारे अनेक रङ्गीन प्रसङ्ग उनीसँग उठबस गर्नेहरूको मानसपटलमा आलै छ । भूपीका समकालीन तथा अन्तरङ्ग मित्र कवि तथा गीतकार रत्‍नशमसेर थापाको सम्झनामा भूपी रङ्गीन मिजासका मान्छे हुन् । उतिबेलाको काठमाडौंमा एकातिर नारायणगोपाल, भूपी र रत्नहरूको गीताङ्गे जमघट हुन्थ्यो भने उता कृष्णभक्त, द्वारिका श्रेष्ठ, मोहन कोइरालाहरूसँग मिसिँदा उनै भूपी र रत्न साहित्यिक रौनकमा धुवाँदार बहस गर्थे । भीमदर्शन रोका, शङ्कर लामिछाने र मोहनहिमांशु थापासँगको 'यारोँ दोस्ती' पनि कम थिएन । मिलनसार स्वभावका थिए भूपी र असाध्यै मीठो गरी बोल्थे । बोली नै पिच्छे ठट्टा गरिरहनुपर्ने ।

गर्मी महिनाको एक दिन दिउँसो २ बजेतिर न्युरोडबाट टुँडिखेलतिर आउँदै थिए भूपी, नारायणगोपाल र रत्‍न । हिँड्दै गर्दा भूपीले रत्‍नलाई सोधे, 'कत्तिको गर्मी भा’छ ?'
-    'गर्मीको टाइममा त गर्मी भइहाल्छ नि !', सोझै पारामा रत्‍नले जवाफ दिए ।
-    'होइन, मलाई भन्दा तँलाई अलि गर्मी भा'होला !', भूपीले अझै पछ्याउन छाडेनन् ।
-    'किन !?', मौसमको गर्मीभन्दा साथीको प्रश्नको पर्राले पिरोलिएका रत्‍न जिल्लिए ।
-    'किनभने मभन्दा तँ अलि सूर्यको नजिक छस् नि त अग्लो भएकोले,' भूपीले ठट्टा घोलिहाले । सुनेर नारायणगोपाल र रत्‍न हाँसेकौ हाँस्यै भए । हुन पनि भूपीभन्दा रत्‍नशमसेर अलि अग्ला थिए, अग्ला भएकाले घामको तापले पनि उनैलाई बढ्ता छुने भनेर ठट्टा गरेका थिए भूपीले ।

उतिबेलाको काठमाडौँमा रश्मि रेष्टुराँ, पारस होटल र इन्दिरा रेष्टुराँमध्ये कुनै एकमा साथीहरूसँग अड्डा जमाई 'महफिल' जमाउने भूपी हँसीमजाकमा जस्तै पिउने कुरामा पनि उस्ताद थिए । त्यस्तो बेला हातमा गिलास उठाएर चियर्स गर्दै उनी भनिरहेका हुन्थे-
'भोलिदेखि म नपिउने विचारमा छु,
तर आजसम्म म बारमा छु ।'
त्यही अधिक मदिरापान र स्वास्थ्यप्रति ध्यान नदिने बानीका कारण नै असमयमै एउटा होनहार कवि र असल मित्र गुमाउनुपरेकोमा चुकचुकाउँछन् रत्‍नशमसेर । कतिसम्म भने, बिरामी भई अक्सिजन सिलिन्डर लगाएर बेडमा सुतिरहेको बेला पनि जुरुक्क उठेर तुइँतुइँ चुरोट खान पछि पर्दैनथे भूपी । स्वास्थ्यप्रति खेलवाड गरे पनि मित्रतालाई कहिल्यै ठट्टामा लिएनन् भूपीले । खाने र पिउने आफ्नै ठाउँमा रह्यो, आत्मीयता आफ्नै ठाउँमा अटुट रहिरह्यो । साथी भनेपछि मरिमेट्ने भूपी कतै जमघट हुँदा खानपानमा निकै खुलेर खर्च गर्थे । 'उनको त्यही उदार मन र खर्चिलो स्वभावलाई त्यसबेला कतिपय सँगैका साथीभाइदेखि सरकारी उच्च ओहदामा भएकाहरूसम्मले कमजोरीका रूपमा लिएर फाइदा उठाउनुसम्म उठाए', रत्‍न पुराना दिनमा फर्किए ।

मार्क्सवादी झुकावबाट 'नयाँ झ्याउरे' काव्यकृतिमा भूपेन्द्रमान र्सवहाराको नाममा लेखन थाल्ने भूपी विस्तारै कोमलता र स्वतन्त्र गद्यमा फैलिँदै गए । मुस्ताङ जिल्लाको थाक टुकुचेमा जन्मिएका धुरन्धर व्यापारी परिवारका सदस्य उनी कसरी कविताको क्षेत्रमा हेलिन आए भन्नेबारेमा चाहिँ उनको सम्बन्धमा चासो राख्नेहरूले आजसम्म पनि अचम्म मान्ने गरेको पाइन्छ । नभन्दै परिवारको व्यापारिक विरासतलाई बेवास्ता गरेर भूपी कविता लेख्नमै एकोहोरिए, साहित्यिक भीडमै लुटपुटिए । थोरै लेखेर गहकिलो चिज दिने भूपीका बारेमा धेरै नकारात्मक टीका-टिप्पणी पनि भएका छन् । खासगरी पञ्चायतकालमा उनी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हुँदा उनले त्यस बेला आफ्नै समकालीन तथा बुज्रुकहरूको माझमा आलोचना खेपे । कम्युनिष्ट मान्छे राजावादी भयो भन्नेसम्मको आक्षेप आइलाग्यो । लगभग उनी भीडबाट एक्ला नै भए ।

उनको निधन भएपछि पनि शवयात्रा र घाटमा मलामहरू ज्यादै थोरै सहभागी थिए भनेर चर्चा चल्ने गरेको छ । यसको कारण कतिपयले उनी पछिल्लो समयमा आएर एकेडेमीको सदस्य हुनु र साहित्यिक जमातबाट टाढिँदै जानुलाई ठान्छन् । यस कुरामा भूपीको सङ्गतमा एक समय राम्रैगरी झ्याम्मिएका साहित्यकार कृष्णप्रसाद पराजुलीका अनुसार, मृत्युबारे खबर नपाएर पनि मान्छेहरू मलाममा भेला नभएको हुन सक्छ । आफू नपिउने भएकाले पिउनेहरूको जमघटमा रत्तिन नसक्दा भूपी जस्ता प्रतिभाशाली र रसिक कविसँग अन्तरङ्ग घुलमिल गर्न नपाएकोमा थकथकी उत्तिकै छ पराजुलीमा । तर रत्‍नशमसेरका अनुसार, भूपी एकेडेमीको सदस्य हुँदा मान्छेहरूले आह्रिस गर्नु आपत्ति जनाउनुको कुनै तुक छैन । 'भूपी आफ्नो खुबीले प्राज्ञ भए, तर हाम्रो समाजमा कोही अलिकति माथि उठ्न खोज्यो कि त त्यसलाई नकारात्मक कुरासँग जोडेर हेर्ने गरिन्छ,' रत्‍न भन्छन्, त्यही दृष्टिकोणको सिकार भएका भूपी पहिले खुवाउँदा-पियाउँदा सबैको हाइहाइ भए पनि पछि खर्च गर्न छाडेपछि उनै भूपी आँखाको कसिंगर भए ।'

1 comment:

  1. भूपिको बारेमा धेरै रमाइला प्रसंगहरु भरिएको बडो राम्रो लाग्यो यो लेख!

    ReplyDelete