March 29, 2012

फेरि गुलजार

शान्त समुद्र पनि छालहरुमा पौडिंदै किनारसम्म साउती मार्न आइपुग्छ, आफ्नो चाहिं एकतमासले बित्न थालेका छन् दिनहरु । अचेल आफ्नो प्रतिभा उजागर गर्नेभन्दा पनि अरुकै प्रतिभामा लुटपुटिएर मक्खिंदैछु । फिल्म हेर्ने, किताब पढ्ने, घुमफिर गर्ने ।

यसबीचमा घरैमा निकै फिल्म हेरियो । कहिले त दिनमै दुइटासम्म । अक्सर कस्तो लाग्छ भने एक दिनमा एकभन्दा बढी फिल्म हेरेमा ती फिल्मको प्रभाव आफूमा राम्ररी बस्न सक्दैन र हेरेका ती फिल्मप्रति पनि अन्याय हुन जान्छ । कतिपय त अझ एकसाथ चार-पाँचवटा किताब पढ्ने बानी भएको कुरा सुनाउँछन्, विषय-प्रसंग जुधेर ती कति हैरान हुँदा हुन् जस्तो लाग्छ । तर किताब पढ्ने कसरतभन्दा थपक्क आँखा उघारेर बसिदिए पुग्ने फिल्म हेर्नतिर लाग्दा एकपछि अर्को फिल्मको संख्या बढाउन कुनै हिसाब गरिन्न रैछ ।

यसबीचमा धेरैअघि ल्याएर झोलामा थान्को लगाएर राखिराखेका फिल्म हेरियो : दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको कथावस्तुलाई लिएर आइरिस लेखक John Boyne ले लेखेको उपन्यासमा आधारित The Boy in the Striped Pyjamas, इरानी फिल्मकर्मी Majid Majidi को The Color Of Paradise, चे ग्वेभाराको मोटरसाइकल यात्रामा आधारित The Motorcycle Diaries, Fire जस्तो आँटिलो विषयवस्तुमा फिल्म बनाउने भारतीय मूलकी क्यानडाली निर्देशक दीपा मेहताले भारत विभाजित हुनुअघि हिन्दू, मुस्लिम र सिखबीच देखिएको टकरावको अवस्थालाई समेटेर बनाएको Earth लगायत । भर्खरै ओस्कार अवार्डका विभिन्न विधामा पुरस्कृत Hugo, A Seperation पनि रोजाइमा परे ।

किताब चाहिं धेरै पल्टाइएनछ । नयाँ किताबमा मनु मन्जिलको ‘ल्याम्प-पोस्टबाट खसेको जून’ कवितासंग्रहपछि गुलजारको ‘सेलेक्टेड’ भनिएका कविताको सँगालो किनेँ । 100 Lyrics गीतिसंग्रहपछि गुलजारको दोस्रो किताब समाएको यही नै हो । संग्रहका कविता र गीतहरुको अनुवाद पवन के वर्माले गरेका रहेछन् । मूल प्रति हिन्दी र त्यसैको अंग्रेजी अनुवाद साथसाथ पढ्न पाइने । अघिल्लो 100 जस्तो गहकिलो त यो लागेन, तर गुलजार भन्नेबित्तिकै विशिष्ट रुपमा ग्रहण गर्ने प्रवृत्तिकै एउटा हाँगा म पनि बनेको छु । उनी तारामण्डल झैं छरिएको सबैको आँखाले देखिने सामान्य कुरा नै लेख्छन्, तर छोड्छन् रोटे कमिलाको जस्तो असर । त्यस क्रममा संवेदनाको जराको पल्लो छेउ छुन बाँकी रहँदैन ।

दूरी (फासला) शीर्षकमा गुलजार लेख्छन् -

तू इतनी करीब है कि तुझे देखूं तो कैसे
थोडी-सी अलग हो तो तेरे चेहेरे को देखूं

संग्रहमा 100 Lyrics मै समेटिएका केही गीत पनि छन् । गुलजारको विशेषता के भने उनी गीतमा पनि बेजोड कविता गुथ्न खप्पिस छन् । 

कभी चांद की तरह टपकी
कभी राह में पडी पाई
अठन्नी सी जिन्दगी . . . ये जिन्दगी

फिल्मकर्मी र गीतकारको रुपमा गुलजारले राम्रो स्थान बनाए पनि उनलाई मनदेखिकै कविको रुपमा मानिन्छ । भारतका उर्द्धू कविको रुपमा यिनको छुट्टै पारख गर्नुपर्छ । ७८ वर्षमा हिंड्दै गरेका गुलजारको यौवन अझै पनि फिल्मी गीतमा छल्किरहेको सुन्न पाइन्छ । मुसाफिर हूं यारो, तुझसे नाराज नहीं जिंदगी, कजरा रे, जय हो जस्ता बजार पिट्ने गीत लेख्‍ने उनी जब कवि बन्छन्, मन पिट्न थाल्छन् । चर्चित कविता ‘स्केच’ पढ्नुभएकै होला । Selected Poems मा त्यो कविता छुट्ने कुरै भएन -

याद है इक दिन -
मेरी मेज पे बैठे-बैठे,
सिगरेट की डिबिया पर तुमने,
छोटे से इक पौधे का,
एक स्केच बनाया था -

आकर देखो,
उस पौधे पर फूल आया है !

गुलजारका शब्दहरुमा बग्दा कुनै निकै अन्तरंग साथीसँग बात मारिरहे जस्तो लाग्छ । मन परेका लेखक, किताब यसैकारण मन पर्ने भएर बसिरहँदो हो सायद । तिनको बिलौना र रुवाइ पनि वसन्त ऋतुको शीतल वर्षा बन्छ । प्रिय लेखकलाई हामीले गर्न सक्ने न्याय पनि त त्यति नै हो । ४४ थान कविता र गीतभित्र भग्न मन र मान्छे, दोस्रो पक्षबाट केही पाउने आशा, आफूभित्रै स्वर्ग भेटेको तृप्ति, धनको पोको झैं सञ्चय गरेर राखेको सपना, आदर्श प्रेम, मित्रताको पूजा, सहर र बस्तीको कथाव्यथा आदि सबैसबैको लेखाजोखा छन् संग्रहमा ।

एक से घर हैं सभी, एक से बाशिंदे हैं
अजनबी शहर में कुछ अजनबी लगता ही नहीं
एक से दर्द हैं सब, एक से ही रिश्ते हैं

पक्कै पनि, मान्छेबीचको सम्बन्ध यस्तै व्यथामा त साझा हुन्छ ।

-----------------------------------------
यसअघि लेखेको 100 Lyrics, गुलजार र गीति भक्कानो’ पनि पढ्नुस् ।

1 comment:

  1. dhaibaji liked ur presentation ! and thanks for posting !

    ReplyDelete