Subscribe:

Ads 468x60px

06 April 2010

100 Lyrics, गुलजार र गीति भक्कानो

100%20lyrics
साथीबाट सापट पाएको किताब अक्सर भारी हुने गर्छ मलाई । पढ्नुपर्ने किताबको खात घरमै चिसिएर बसेका हुन्छन्, अरूको किताब ल्याएर कहिले पढिसक्नु कहिले बुझाउनु, त्यसै-त्यसै धैर्य टिक्दैन र सरसापटको व्यवहारै गर्दिनँ ।

तर यसपालि नलिन चाहँदा-चाहँदै पनि एउटा किताब हातमै मडारिन आयो । ‘100 LYRICS’ ! नाइँ भन्नै आएन । कारण थियो- किताबको नाममा अनौठो आकर्षण बोकेर बसेका भारतीय गीतकार, कवि गुलजारको परिचय जोडिनु । फिल्मको गीतमा यदाकदा उनको नाम गाँसिएर आउँदा एक किसिमको महक अनुभूति हुन्थ्यो । र फेरि छिनमै अर्को सन्दर्भ आउँदा त्यो प्रसङ्ग दिमागी पत्रमा कता पुरिन्थ्यो । एक सास फेराइमा उच्चरित हुने, एक शब्दको नाम । निकै सजिलो-रसिलो लाग्ने नामै पनि । आफैँमा अनुपम गीत जस्तो ! यस्ता ‘गुलजार साब’ का एक सयवटा गीति रचनाहरू एउटै किताबभित्र समेटिएको पाउँदा पढ्न लालायित किन नहोऊँ म ? पानाहरूमा आँखा छर्दै अघि बढे, आँखासँगै मन पनि गाडिँदै गएको अनुभूतिमा रम्न थालेँ ।
जति-जति पाना पल्टिँदै गयो, चिरपरिचित गीतहरूको वाणीले मनको पर्दा हल्लाउँदै गयो । ए, यो त गुलजारले लेखेका रहेछन् भनेर पुरानो बेलामा सुनेर यादको चोकेमा अड्किएका भाकाहरू अझ आदरको खुड्किलोमा चढ्दै गयो ।
नाम गुम जाएगा, चेहरा ये बदल जाएगा
मेरी आवाज ही पहचान है, गर याद रहे  …"
(किनारा, १९७७)
सांसारिक शाश्‍वत पाटोलाई सरल गीति स्वरूपमा ढालेर कुनै आहानमा स्थापित गरे झैँ लाग्छ सङ्ग्रहभित्रका कतिपय गीतहरू । र नेपाली चलचित्रका प्राय: गीतमा नभेटिने कुरा (खोज्नु पनि कहिले त मूर्खतै लाग्छ) : ती गीतमा काव्यिकताको गहना, साहित्यिकताको उँचाइ भरपूर देखिन्छ, बुझिने कोटिमा । यसैले सायद गुलजारहरू गुलजार छन् जनमानसमा । सुनिरहेको गीत शब्दमा गेडा केलाई पढ्दा त्यसको अर्थमा गहिराइ भेटिँदो रहेछ, भाव न्यायमा जाग्दो रहेछ । चञ्चले बान्कीमा घन्किने ‘कजरा रे’ गीत ‘पढेपछि’ त्यस्तै लाग्यो । सुन्दा बाजा र लयको सुर लाग्थ्यो, पढ्दा हरियाली अझ घना भयो ।

“ऐसी नजर से देखा उस जालिम ने चौक पर
हमने कलेजा रख दिया, चाकू की नोक पर … "
(बन्टी और बब्ली, २००५)

सन् ६० को दशकदेखिका (गुलजारले ‘बंदिनी’ फिल्म, १९६३ बाट चलचित्रको गीत लेखनमा डेब्यु गरेका रहेछन्) गीतहरूलाई सँगालिएको किताबमा विशेष गीतहरू रच्दा/रेकर्ड गर्दाका तत्कालीन प्रसङ्ग, घटनावस्तु र अविस्मरणीय पलसहित प्रस्तुत गरिएको । ती अतिरिक्त पानाले किताबलाई अझ खँदिलो सुरुचिकर बनाएको छ । ‘कजरा रे’ बोलको गीतकै कुरा गरौँ, जसमा फिल्मभित्र नायिका ऐश्वर्या राय अतिथि कलाकारको रूपमा नाचेको सन्दर्भमा गुलजार सङगीतकार शङ्कर महादेवनलाई सम्बोधन गर्दै खुसी साट्छन्, “ तिमी मान नमान, यो गीत शत प्रतिशत ऐश्वर्याको कारण हिट भएको हो ।” ‘बीती न बिताई रैना/बिरहा की जाई रैना’ (परिचय, १९७२) गीत निर्माता जितेन्द्रले मन नपराइरहेको बेला अमिताभ बच्चनले सोही गीत सुनेर आँखाभरि आँसु पिलपिल पारेको प्रसङ्ग पनि गुलजारले अर्को ठाउँ राखेका छन् ।
अभिव्यक्तिमा नयाँपनको खोजी गर्नेहरूले गुलजारको हरफहरूमा फैलिँदा निराश हुनुपर्दैन । उनको आगमन साहित्यिक वृत्तबाट भएकोले हुनुपर्छ, फिल्मको खास कथानक, विषयवस्तु र बाँधिएको परिधिमा रहेर लेखे पनि तिनमा प्रशस्त काव्यको गुदी भरेका छन् ।
“इस दिल में बसकर देखो तो
ये शहर बड़ा पुराना है …" (माया मेम साहब, १९९३)
होस् या
“रोज अकेली आए
रोज अकेली जाए
चांद कटोरा लिए भिखारन रात …”  (मेरे अपने, १९७१)
या त
‘छैंया छैंया‘ (दिल से, १९९८) भनेर एक जमानामा बजार पिट्ने
“जिनके सर हो इश्क की छांव
पांव के नीचे जन्नत होगी …"
२७५ पृष्ठको किताबमा १०० गीति भाकामा मानवीय भावनाकै उहापोह प्राथमिक रूपमा उठेको छ । जसलाई एउटा संवेदनामयी लेखकको हार्दिकतासँग जोडेर हर्न सकिन्छ । हार्डकभरको किताबको ४९९ भारु खर्चन कसलाई कतिको सहज-असहज हुन्छ आफ्नो ठाउँमा छ । तर पढ्न थालेपछि किताबमा खडेरी देखापर्दैन । रसले नुहाएरै निस्किन पाइन्छ । ‘तुझसे नाराज नहीं जिंदगी’, ‘मुसाफिर हूं यारो’, ‘हमने देखी है उन आंखो की’ लगायतका परिचित हरफमा डुब्दा मादकता शिर उठाएर लरबराउन सक्छ ।

जस्तो कि,यही किताबमा टोलाइरहँदा हत्तपत्त कहिले गीत नलेख्‍ने म गीत लेख्‍नमा जुर्मुराएँ । चलनचल्तीको मिटरवाला गीत होइन हो । थाहा छैन, सङ्गीतकारलाई पनि धुन रचना गर्ने बेला केही छिन भाउन्न हुँदो हो कि ?

पुछारमा त्यही आफ्नै गीत पस्किन्छु :

लेखेका थियौँ कि पानीमा नाम
भुलेछौ मलाई
भुलेछु तिमीलाई

सहरको किनारामा छुटेको रेल
कक्षामा मानौँ कोही भो गयल
अब त यही सुनसान साथी भएछ
बोल्ने चाह पनि कोही हुन्जेल रहेछ ।
लेखेका थियौँ .. ..

सास फेर्ने हावा कहाँ आड लाग्ने भित्ता कहाँ
अब उठ्छु भन्दै थिएँ आफ्नै जोर खुट्टा कहाँ
बाटो त भुइँचालो न हो कतिखेर फाटिगयो
भुल्छु भन्नेको आँखा मोती जस्तै छाइरह्‌यो ।
लेखेका थियौँ .. ..

(धन्यवाद गुलजारलाई मसम्मन् ल्याइदिने साथी समृद्धि सायदमा ।)

4 comments:

  1. गीतहरु प्राय सुनेकै भए पनि गीतकार उही एउटै मान्छे भन्ने थाहा थिएन|बडो रमाइलो लाग्यो पढेर|धाईबाजीको मीटरबेगरको गीत पनि कम्ताको छैन|धेरै धेरै धन्यबाद यहाँलाई |

    ReplyDelete
  2. गुल्जारका गीतहरुको म पुरानै प्रशंसक हुँ भन्दा फरक पर्दैन होला ।

    अन्तमा आएको तपाईको गीत पनि अब्ब्ल दर्जाकै लाग्यो मलाई। विशेष गरी:
    सास फेर्ने हावा कहाँ आड लाग्ने भित्ता कहाँ
    अब उठ्छु भन्दै थिएँ आफ्नै जोर खुट्टा कहाँ


    मा गज्जबको शब्द संयोजन छ वाह!

    ReplyDelete
  3. गीती पुस्तक पढ्दापढ्दै यस्तो मिठो गीत रचना गर्न पुग्नुभएछ, तपाईंलाई बधाई। मिटरको कुरा त आफूलाई पनि कसरी थाहा हुनु र:) तर पनि माथि दिलिप सरले उल्लेख गर्नुभएका पंक्ति भने बेजोडकै छन्।

    ReplyDelete
  4. पहिलेदेखिनै मन पराईने गीतहरु गुल्जारकै हुन् भन्ने कुरा मैले पनि पछि आएर जानेको हुँ। गुल्जारका बारेमा सचेत ढंगले बुझ्न थालेको गजलमा रस बसेपछि हो। गजल सुनेर मात्रै होईन, त्यसको 'कविता'लाई पढेर-गुनेर पनि चाख्नुपर्छ भन्ने सिकियो कतैबाट र गुल्जारका अक्षर-अक्षर खोतल्न थालियो भ्याएसम्म।
    यो परिचयका निम्ति तपाईँलाई साधुवाद!
    गुल्जारको जादूको शक्ति प्रत्यक्ष देख्ने मौका मिल्यो तपाईँको सुन्दर गीतबाट। अलि-अलि मिलाउँदा यो अब्बल गेयात्मकताको गीत बन्छ भन्ने कुरामा कुनै शंका छैन।

    ReplyDelete