Subscribe:

Ads 468x60px

13 April 2012

काठमाडौं किताब : पाँच पन्ना [निबन्ध]

साझा प्रकाशनबाट छापिने 'गरिमा' मासिकको २०६८ चैत अंकमा मेरो निबन्ध छापिएको थियो,  पत्रिका पढ्न नपाउने साथीहरुको लागि सोही निबन्ध यहाँ राखेको छु -

कहिलेकाहीं यो समयलाई नै समय दिन मन लाग्छ । अपेक्षा-भयदेखि वितरागी रहेर ओम स्वाहाको शैलीमा आफूलाई त्यसै बगाइदिनु ... । समयकै सिरानी र डस्नामा दैनिकी फिट्दै आए पनि कति जनाले पो समयलाई समय दिँदा हुन् र ? यस्तै भाव आएर मन र मगजमा ओथारो बसिरहेको बेला सहरतिर निश्फिक्री निस्किन मन हुन्छ । उसै पनि मन भनेको मसी जस्तो न हो, यसो छर्किए पुग्ने ।

पन्ना- १ :

मान्छेहरूको बजारमा आफूलाई कतै नभेट्ने गरी हराइदिन र एक कुनामा टुसुक्क बसेर त्यो बजारमा आफैंलाई नियाल्नु छ भने सहर उत्तम मञ्च हो । म भने यसको लागि नयाँ सडक परको वसन्तपुरले पर्खिरहेको पाउँछु । वसन्तपुरमा वसन्त छैन त के भयो, मान्छेहरूको हरियाली त छ ! उः मन्दिरको खाँबोमा आड लागेर गोडा हल्लाउँदै लोलाइरहेका एक जोडीको आँखाभरि पालुवा लहराइरहेको देखिन्छ । तिनको मनमा त अझ सिङ्गो जंगल नै सुसाइरहेको होला । परमाणु बम र तेल कुवाको खिचातानीमा हुनसक्ने सम्भावित विश्वयुद्धको झल्का तिनको मनको दायरामा परेका छैनन् । कामना छ, नपरोस् पनि । अब त्यो जोडीको गोपनीयतालाई सम्मान गरेर अलि फराकिलो बनौं । साँझको बेला घामको मन्द छाप गालामा बोक्दै मान्छेहरू उछिनाउछिन गर्दै छन् । छन् भरिया, छन् मन्दिरका सैनिक गार्ड, छन् लट्टे बाबाजी, छन् घुमघाममा कता-कताबाट आएका गोराहरू ।

'विकासी मान्छे रै'छन् है !',

बेसारे दाँतलाई हावा चखाउँदै सडक बालक फुसफुसाउँछ छेउकै आफ्नो साथीसँग ।

'हुम् ऽऽऽ हो है ! हिहिहि',

अर्को चाहिँको बेसारे दाँतले त जुनी नै फेरुँला जस्तो गरी बाहिरी संसार चिहायो ।

झट्ट सुनेको हुँ संवाद हिँड्दाहिँड्दै । वसन्तपुरको भीडभाडयुक्त परिवेश । राजधानी खाल्डोको विशेषता भनेकै यही भीड हो । पहिले-पहिले यो खाल्डो एउटा पोखरीको रूपमा थियो रे, निश्चय नै यहाँ धेरै भ्यागुताहरू पनि हुँदा हुन् । अहिले तिनको ठाउँ मान्छेहरूले लिएका छन् ।Basantapur

अँ त, विकासी मान्छे !

सडक बालकको बोली सियो बनेर छातीमा उनिइबस्छ ।

यो उपनामको निशाना त्यो बालकले गल्लीछेउ टहलिरहेका एक हुल विदेशीहरुतर्फ ताकेको थियो । निशाना कस्तो भने, अस्वाभाविक अग्ला र परिपुष्ट काँटका गोराहरूमध्ये एउटा झ्यापुल्ले चाहिँ फिस्स हाँस्यो,सडक बालकको नेपाली संवाद बुझे झैं । उनीहरू वास्तवमै विकासी खालका देखिन्थे । झन् सडकछाप बनेर हिँड्ने ती बेसहारा पिलन्धरे केटाहरूको आँखामा त ती गोराहरू भयानक जीवकै रूपमा उभिएको मान्दा हुन्थ्यो । एउटै पृथ्वीका दुई फरक जीव जस्ता उनीहरू । तब त विकासी कुखुरा अनि विकासी बीउकै कोटिमा मान्छेमा पनि विकासी फुर्को गाँसिन कुनै आइतबारको कुरो भएन ।

आज मानवता लोकल कुखुरामा समेत टिक्न नसकेको बेला मान्छे भने विकासी र उत्तरआधुनिक विराट्तामा फैलिएको छ ।

पन्ना- २ :

'करुवा, थाल, गाग्री लाने हो बैनी ?'

धोद्रो स्वरले कान चिर्छ । असनको गल्ली हिँड्दा पसलहरूको रूप थरीथरी । ग्राहकहरू थरीथरी । पसल र ग्राहकबीचको ठुँगाइ पनि थरीथरी । 'सामान लाने हो ?' भन्ने कतिपय प्रश्नमा 'मेरो इमान लैजाने हो ?'भन्ने निरीहता पनि गाँसिएरै नआउँला भन्ने के ग्यारेन्टी ? म प्यार बेचिदिन्छु भनेर गीतको बोलमा त बजिरहेछ वर्षौंदेखि, त्यो बोलको व्यावहारिकता यता आएर हाम्रो समयमा कतिपयको जीवनमा पनि बजिरहेको नहोला र ? अक्सर हामीले महानगरमा वेश्यावृत्तिमा मात्र मान्छे बेचिएको तथ्य निकालेका छौं । वृत्ति, अर्थात् काम । चाहे बाध्यता, चाहे रहरको मेलो । कुनै रोजगारी वा वृत्तिमा आजका मान्छे जेलिएकै छन् । चाहे बाध्यता, चाहे रहरले ।

यस हिसाबमा हामी सबैले आफूलाई पल-पल बेचिरहेका छौं । वेश्यावृत्तिको दोष समाजले शरीरको नाङ्गोपनको मोलमोलाइका कारण एउटा जमातमा भिराइदियो । तर जो मनदेखि नाङ्गो छ, नैतिकतादेखि मोलमोलाइमा पग्लिएर ठ्याम्मै आफूमा टिकेको छैन, उसको परिचयात्मक हिसाब कुन रूपमा उतार्ने हो ? बेकार छ वृत्तिको कित्ता विभाजन । बेकार छ इलमीहरूको नैतिक र अनैतिक सीमारेखा । बेकार छ । मान्छे लुगाभित्र नाङ्गो हुनु फुच्चे दर्शनको कुरा । कोठाभित्र, सभा-सम्मेलन, विशिष्ट कक्ष र अति गोप्य बैठकमै पनि नाङ्गोपन अझ सघन हुँदै जानु चाहिँ आजको सत्य !

त्यो पसलेले बैनीको सम्बोधनले आत्मीयता बोध गराएर चाहे करुवा र थाल बेच्ला । भाउ कसेर मुनाफा मिल्ला उसलाई । तर व्यापारिक रणनीति अपनाएर गरेको मोलतोलका कारण इमानको परीक्षामा ऊ विफल नै भएछ भने पनि सहरका कैयन् सुग्घरीहरूको दाँजोमा घिनलाग्दो कहलिनेछैन । कारण, तुलो समाएपछि दायाँ वा बायाँ तख्तामध्ये कुनैमा उँचनीच पारेर केही अतिरिक्त लाभ निकाल्नु व्यापारले दिएको अघोषित प्रमाणपत्र हो । तर व्यापार नगर्नेहरूलाई लाभदायक अधिकार कसैले थमाएको छैन ।

सडक सुतिरहेको छ सामुन्नेमा, गोही जस्तै छ आतुर- केही निल्न झैं ।

पन्ना- ३ :

साँझहरू चोर जस्तै हुन्छन् । तर कता-कता चिनाजाना जस्ता पनि । अर्थात् चिनाजाना चोर ! चिनाजाना लागे पनि हरेक साँझ भिन्नाभिन्नै अनुभूति बोकेर गुँडमा जुरेली बनेर आइपुग्छन् घरको आँगनभरि फन्को मार्न । पाहुनालाई बिर्साउने या भनौं सम्झाउने गरी । सडकमा भेटिने साँझ भने संयोगको जम्काभेटमा आउने पुराना मित्र जस्तो लाग्छ ।

यही साँझमा कोही ठेलागाडामा दिनभरि धुस्नो भएको ज्यान तङ्ग्राउँदै घरतिरको बाटो नाप्छन् । कोहीसाँझमा घरबाट निस्किन्छन् उदासीको 'ह्याट्रिक' सहेर । घरमा पोखिएको साँझ र घर बाहिरको साँझनिश्चय नै निकै फरक हुन्छ कि त ? अँ, कोही घरको स्विमिङ पुल छाडेर हाम फाल्छन् बाहिरको ताल-तलैयातिर । नजिकको तीर्थ हेला पनि त त्यसै बनेको उखान होइन ।

एक प्रिय कवि छन् रमेश क्षितिज । भीडभाडमा उति निस्किँदैनन्, रुख-टोड्काको कोइली चरी जस्तै । तरसुर उत्तिकै महक भरेर निकाल्छन् कविताको कुहुकुहुमा । उनले 'अर्को साँझ पर्खेर साँझमा' कविताकृतिमा खुलेर माया गरेको आभास हुन्छ साँझलाई । त्यस कृतिलाई उनको मास्टरपिस भनेर बखान्दा साँझ अझ चहकिलो हुन्छ युवा कविहरूको । खासगरी उमेश अकिञ्चन, चन्द्रवीर तुम्बापो, सुको साइबर, बाबु त्रिपाठी आदिको जमघटमा दिन कुप्रिएर बूढो साँझ बनिसके पनि साँझको कायामा जवानीका भुल्काहरू प्रकट हुनथाल्छन् ।

साँझ खासमा केही होइन, र सबैथोक पनि हो । मनोभावको तरङ्गसँगै साँझको पाउजु फरक-फरक झङ्कारमा थर्किनु नौलो लाग्दैन । देशमा आज कस्तो साँझ परेको छ, खुट्याउँदा आँखैपिच्छेको फरक खुट्याइ हुँदो हो । तर त्यो खुट्याइको एउटा परेलीमा आँसुको चुकले दाग परेको पक्कै छ । देशको आँखामा एक मुठी कसिङ्गर कसलाई बिझाइरहेको छैन र ?

यो साँझको ऐजन ऐजन सिलसिला हामीले नपर्खिए पनि साँझ त पाइलाभरि नै बल्छी बनेर बिझिरहेको भान हुन्छ ।

पन्ना- ४ :

उज्यालोको चक्की गाडीहरूको ताँतीबाट टपक्क सडक र फुटपाथमा खस्नु त एउटा उदाहरण मात्रै हो । यसैगरी खस्छ सपनामय फुल, आँखाको गुँडबाट । गाउँघरमा र सहरतिरै पनि घरको भित्ताको खोपीमा रहेको गुँडबाट भँगेराको बचेरा खसेको देखेको छु थुप्रैपल्ट । आँखा नउघ्रिएको, पखेटाको नाममा सामान्य आकार मात्र रहेको बचेरा गुँडबाट कसो-कसो भित्ताको सतहतिर सर्न पुग्छ र फेरि गुँडतिरै फर्किने असफल प्रयास गर्दागर्दै भुइँतिर टप्किन्छ । माउ कुन दिशामा आहारा बटुल्ने रनाहामा रहँदै गर्दा यता बचेरा चाहिँ कमिलाको आहारा बनेर खोस्टामा परिणत भइसक्छन् .... ।

खस्नुको अर्थसँग धेरै त ट्राजेडीहरू मात्र जोडिएका हुन्छन् । फरक यति हो - प्यारासुटमा एउटा मानिस खस्दा जीवन जोगिन्छ, किसानको खाँदिएको शरीरबाट पसिना खस्दा प्रकृतिको बालीले खुसियालीमा आकार हाल्छ । नत्र प्रायजसो त खसाइको अर्थले गाडीको हेडलाइटबाट प्रकाश खस्नुको साधारण घटना मात्र बोक्दैनन् । सहरमा त्यस्ता खसाइहरू हरेक अस्तित्वसँग नहुँदा हुन् त सहर नै बन्ने थिएन ।

कति-कति कर्मीहरूको लाशको पाइला टेक्दै-टेक्दै एउटा दुर्गम गाउँसम्म बाटो पुगेको हुन्छ । बाँदर लड्ने अक्कर भीडमा सिकर्मीहरू गैँती र घन वर्षाउँदा-वर्षाउँदै मृत्युको मुखमा पुग्ने दुर्घटना कहाली अखबारका एक-दुई कोलमको समाचारमा पढेर हामी कहाँ मर्मबोध गर्न सक्दा हौं र ? र पनि त्यसै गरी बाटो निर्माणको काम भइरहेछ । हामी पनि 'फलानो नेतृ र ढिस्कानो अभिनेताको बोलचाल बन्द' कै स्तरमा अति सामान्य तहमा ती तमाम दुर्घटना र कहाली पढिरहेछौं, क्षणमै भुलिरहेछौं । फगत मसालाको रूपमा लिइरहेछौं, 'हो त, कोही सगरमाथा चढ्दाचढ्दै बित्छन्, कोही अरूको लागि बाटो बनाउँदा बनाउँदै आफैं बाटो हुन्छन् ।' खासमा हाम्रो अनुभूतिको तह नै सगरमाथा जस्तै चिसो भइसकेको छ, कुनै कुरामा प्रतिक्रिया दिने सस्तो हतारो त्यही बाटो जस्तै वेगवान बनिसकेको छ । चिसिएको पाङ्ग्रा झैं ।

पन्ना- ५ :

काठमाडौंमा खेत छैनन्, खेती छ । रुखहरू छैनन्, गुँड छ । अझ भनौँ न, घर छैन, मात्र कोठाहरू छन् । थकाइको उडानपछि अवतरणको सुस्केरा छैनन्, केवल बेचैनी र अत्यासको भुनभुनाहट छ । एक पाटोबाट हेर्दा यस्तै-यस्तै हो । हेर्ने आँखा र झेल्ने देहअनुसारको व्याख्या न हो ! किटिएकै परिभाषाको कुरा गर्नेहो भने पानीलाई के भनेर चिनाउने ? पानी जस्तै पानी ... । यो भन्दा बढी के ?

खासमा पानी जस्तै पानी भए झैं मान्छे जस्तै मान्छेको आयाममा बस्न जाने/सकेको भए संसार अर्कै भइसक्नेथ्यो क्यार ! त्यही नभएर अहिलेको संसार त्यो अर्कोको पनि अर्को भइसकेको छ सायद । त्यही नहुनाले नै त्यो हुनुपर्ने भनेर खोजी, चाह र अपेक्षामा त्यसको मूल्य स्थापित भएको हो क्यार !

पानीकै कुरा गर्दा सहरमा पानी पर्दा सडकमै कुलकुल नदी देख्‍न पाइन्छ ! मान्छेहरू छतको एउटा कुनामा बगैंचा रच्ने गर्छन् । सहरमा मान्छेहरू सार्वजनिक सवारीसाधनलाई पनि कुनै प्रतियोगिता र परीक्षाकै स्तरमा महत्वका साथ लिन्छन् । गुरुम्म हुलमा उछिनाउछिन गर्दै को झुन्डिन सक्ने पहिले, चढ्न नसकेरको छुट्ने ? कस्तो भने, एकदिन त्यस्तै ठेलमठेलमा यात्रुहरू कोचिए बसमा । कन्डक्टरलाई मान्छेहरू जति खाँदिएर बसून्, उति धेरै थप मान्छे चढाउन पाउने हाइसन्चो । करायो ढोकाबाट, 'हेलो दाइहरू, अलि पछाडि सर्नू त पछाडि, त्यत्रो खाली ठाउँ छ त्याँ !'

पछाडि दुई-तीन जना तन्नेरीहरूको लहरमा मैं पनि उभिएको थिएँ झिल्टुङको यात्रामा छतको डन्डी समाउँदै । खलासीको आदेश आउनासाथै तीमध्येको एउटा तन्नेरी फुसफुसायो, 'जिन्दगीमा पनि कहिल्यै अगाडि जान सकिएन, हुँदा-हुँदा बसमा धरी पछाडि फेला परियो हे दैव !!' तन्नेरीहरूले विवशताको हाँसो फिस्स हाँसे । यस्तो सहरमा जो पनि रोल नम्बर एक ल्याएर पहिलै बन्ने दाउमा हुन्छन्, तर दाउ लागे पो !

दाउ छोप्ने प्रयासमा कथाहरूको लम्बाइ बढ्दै जान्छ एउटा-एउटा पाइलाको ।

पन्ना थपिँदै जान्छ कथाहरूको ।

जस्तो कि, कति कुरा लेखेर उतारेँ भन्ने भावमा फुरुङ्ग पर्नु मैले बेकार छ यहाँनिर, लेखिन त कति-कति यहाँका कुरा बाँकी नै छन् ।

बाँकी लेखाइ कलम र की-बोर्डबाट लेखेर सग्लो रूपमा उत्रिने पनि होइनन् । तिनलाई बाँचेरै उतार्नुपर्छ । खासमा यसैले सहर जीवितै छ । हामी बाँचिरहेछौं । कति सय वर्षपछि काठमाडौँको अन्तिम पन्ना पल्टाउने कोही त जरुर होला, भाग्यमानी र अभागी दुवै । यतिखेर हामी भने बीचकै पन्नाहरूमा रुमल्लिने फुर्सदमा छौं ।

सङ्क्रमणको एउटा अपूरो कालखण्ड जस्तै ।

7 comments:

  1. तपाइको स्तरीय लेखन कलाको म सधैं प्रसंशक हुँ, 'काठमाडौं किताब : पाँच पन्ना' दोहोर्याएर पढें ।

    ReplyDelete
  2. सहर पढ्न सजिलो होला यदि कसैले पढ्न चाहन्छ भने तर पाँच पन्नामा यति गहिरो सहर अँटाउनु चैं अहिले मैले पढिरहेजस्तो सजिलो नहोला । निबन्ध पढ्नुको धीत मेटें ।

    ReplyDelete
  3. शहर मेरो पनि प्रीय विषय हो, दृश्य हो, सर्वनाम हो। र शहर मेरा लागि पनि भ्रम हो, हिलो हो र अप्रीय विशेषण हो। शहर जति लेखेपनि नसकिने मसी हो, जति कैद गरेपनि नभरिने हार्ड डिस्क हो र जति पीए पनि नमेटिने प्यास हो। यति धेरै पाना पढेर पनि बुझिएन शहर। अझै लेख्नुस्।

    ReplyDelete
  4. हो यसैगरी खस्छ सपनामय फुल, आँखाको गुँडबाट यो सहरमा, घरको भित्ताको खोपीमा रहेको गुँडबाट भँगेराको पखेटा नउम्रिएको बच्चा जस्तो ...

    ReplyDelete
  5. बाँकी लेखाइ कलम र की-बोर्डबाट लेखेर सग्लो रूपमा उत्रिने पनि होइनन् । तिनलाई बाँचेरै उतार्नुपर्छ । खासमा यसैले सहर जीवितै छ । हामी बाँचिरहेछौं । कति सय वर्षपछि काठमाडौँको अन्तिम पन्ना पल्टाउने कोही त जरुर होला, भाग्यमानी र अभागी दुवै । यतिखेर हामी भने बीचकै पन्नाहरूमा रुमल्लिने फुर्सदमा छौं ।


    सङ्क्रमणको एउटा अपूरो कालखण्ड जस्तै ।

    एकै सासमा काठमाडौँ किताबको पाँचै पन्ना पढे । लाग्दै छ मानौ पुरै शहर पढे । किताब लेखकको प्रशंशक नबनी रहन सकिन ।

    ReplyDelete
  6. भेटेपछि त हो नि उत्सुकता झन् बढेको । तपाईँका किताबका पन्ना स्वाट्टै पढेँ । क्या गजबको परस्तुती, भाषसैली । कठमान्डौ किताबका पन्ना अझै थप्नुस् । बनाउनुस् आफ्नो किताब अनि सबैको किताब ।

    ReplyDelete