June 25, 2012

कवि कृष्णभूषण र काठमाडौंलाई हाँक दिने कविता

[ २००४ चैत १ - २०६९ असार ११ ]
 Photo  ©  Jotare Dhaiba
असार ११ । कवि  एवं प्राज्ञ कृष्णभूषण बलको ६५ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ । गत शुक्रबार मस्तिष्काघात भई विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको कवि बलको उपचारकै क्रममा सोमबार साँझ साढे सात बजे निधन भएको हो । २००४ साल चैत १ गते इलामको माल्टेनी रविमा जन्मिएका उहाँका 'दाज्यु तिम्रो हात चाहिन्छ' खण्डकाव्य, 'भोलि बास्ने बिहान' नामक कवितासंग्रह र अङ्ग्रेजीमा अनुदित कविताको सँगालो 'द फुल मुन एट द रिभर ब्याङ्क' प्रकाशित छन् । वाणी प्रकाशनका अध्यक्षसमेत रहेका कवि बलको 'काठमाण्डू एक्लैले काठमाण्डू बोक्न सक्दैन' भन्ने कविता निकै चर्चित छ । शुक्रबार मर्निङ वाकबाट घर फर्किएर नुहाउन लाग्दा बाथरुममा बेहोश भएपछि उहाँलाई न्यूरो अस्पताल लगेर सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । 

मस्तिष्कको अगाडिको भागमा रगत जमेकाले शल्यक्रिया गर्न नमिल्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका थिए । बेहोशै अवस्थामा बलको निधन भएको जनाइएको छ । उहाँमा उच्च रक्तचापको पनि समस्या थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।
-------------------------------
कवि बलप्रति श्रद्धाञ्जलिस्वरुप उहाँकै चर्चित कविता 'काठमाण्डु एक्लैले काठमाण्डु बोक्न सक्दैन' पाठकहरुको लागि -

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन

नाघ्नुपर्छ पैंतालाहरुले अब भञ्ज्याङहरु
टेक्नुपर्छ आँखाहरुले अब सारा पहाडहरु
उड्नुपर्छ निश्चित लक्ष्यहरुमा अब यो छिमलका चराहरु
ज्वालामुखी झैं फुट्नुपर्छ अब यो पिढीका स्वरहरु
छाम्दै हातहरुले काँडाहरु अब टेक्न सक्नुपर्छ
काठमाण्डू त अब डाँडाहरुमा बिछिन सक्नुपर्छ
एउटै ढुङ्गाले कुनै घर बनिन सक्दैन ढुङ्गाको तह तह हुनुपर्छ
एउटै पोखरीको कुनै ताल हुँदैन थुप्रै दह दह जम्नुपर्छ
हुटिट्याउँले सगर थाम्न खोजेर-थामिन सक्दैन सगर
बर्खे भेलको सानो चपेटले-मेट्न खोजेर मेटिन्न बगर
पहाड मधेस थुम्काथुम्की र उकाली-ओरालीको देश
कसैको पेवा होइन कसैले ठेक्का लिएर पनि हुने हैन
मुहान जो बग्नुपर्छ जम्नु यसको कुनै अर्थ हुँदैन ।

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।

खोरमा थुनिएर पनि बिहानीको सङ्केत दिन्छ कुखुराको भाले
निरर्थक प्रयासमा युग हाँस्छ बलिसकेको दिनलाई हुस्सुले ढाक्न खोजे
टुँडिखेलका प्रत्यक सुरहरुमा घोडा छादेर त्यतिकै डटेकै छ इतिहास
टाप बजारेर कुदिरहेको घोडालाई त्यतिकै चाबुक लगाइरहेछ एउटा उपहास ।
अनिष्‍ट भन्छन् सपनामा देख्‍नेहरु पनि यस्तो कालो घोडा र कालो मान्छे
तर काठमाण्डू छातीमाथि बोकिरहेकै छ यस्ता कति कति इतिहासका मान्छे
किन थाहा भएन तिमीलाई एउटा रौंलाई मात्र भनिन्न केश
किन थाहा भएन तिमीलाई एउटै इतिहासको मात्र हुँदैन देश
- काठमाण्डू वास्तवमा भित्रभित्रै छटपटिएको छ
- काठमाण्डू वास्तवमा भित्रभित्रै गुम्सिएको छ
माजुश्रीको अर्को तरबारको विकास खोजिरहेको छ ऊ
युगका गह्रौं पाइलाहरु अब धेरै बोक्न सक्दैन -
यसैले बग्ने निकास खोजिरहेको छ ऊ

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।


No comments:

Post a Comment