Subscribe:

Ads 468x60px

24 June 2012

एकेडेमी, कविता जात्रा र 'सम्बोधन फूलको'


केही वर्षयता नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय कविता महोत्सव लगातार विवादमा पर्दै आएको छ । नेपाली साहित्यको संवर्द्धन र प्रवर्द्धनको जिम्मा पाएको एकेडेमीको जन्मोत्सव जस्तो पुनीत अवसरमा वर्षेनी हुँदै आएको कार्यक्रम विवादमा मुछिइरहनु त्यसै पनि लाजमर्दो कुरा हो । त्यसमा पनि युवा कविहरुले आफूलाई फुलाउने र फलाउने क्रममा प्रतियोगितालाई सिंढी बनाउन खोज्दा यस्तो विवादले घेरिएको प्रतियोगिताका कारण खिन्नता र निराशा मात्रै हात पार्छन्, भलै प्रतियोगितामा सहभागी हुनु-नहुनु र पुरस्कृत हुनु-नहुनुले कविताको महान्‌ता सावित गर्दैन । 

एकेडेमीको अस्वस्थ चाला देख्‍दा कतिपय साहित्यप्रेमीको त नेपाली साहित्यको वर्तमान धाराप्रति नै मोहभंग हुँदो हो । कविता महोत्सवको पछिल्ला वर्षको झलक हेर्दा नेपाली साहित्यमा भनसुन र आफन्तवादको लालमोहर लगाउँदै आएको देखिन्छ एकेडेमीले । खै यसको गरिमा र मर्यादा ? देख्‍नेहरु त बरु एकेडेमीको कविता महोत्सव पञ्चायतकालमै ओजपूर्ण थियो भन्छन् । यस्तै बनावटी महोत्सवको आयोजना गर्ने हो भने आगामी वर्षदेखि एकेडेमीले कविता महोत्सवलाई 'गाईजात्रे महोत्सव' भनेर आयोजना गरे हुन्छ ।

कविता महोत्सव हुनु महिना दिन अगाडि नै फलानो-फलानो पुरस्कृत हुन्छ रे भन्ने हल्लाको पसल थापिन्छ साहित्यिक र सञ्चारको बजारमा । कसरी सम्भव छ त्यो कुरा ? समाजको ऐना र समाजको मार्गनिर्देशक साहित्यमा यस्तो रोग देखिनु र विवाद हुनु साहित्यप्रति चासो राख्‍ने सबैको  मन दुख्‍ने कुरा हो । पूर्वनिर्धारित टेण्डर प्रणाली जस्तै भएको हो कविता महोत्सव पनि अब ? कति फितलो हो कविता जाँच र गोप्यता कायमको प्रक्रिया ! परीक्षा अगाडि नै नतिजा सार्वजनिक भए जस्तो देखिन्छ महोत्सवको चटक हेर्दा । एकदम पूर्वनियोजित । सबै कुरा अन्तरकुन्तरमै 'काले-काले मिलेर खाऔं भाले' गर्ने हो भने किन पो चाहियो असार नौ गते महोत्सवको नाटक मञ्चन ? दुई चार थान टाउकोको बोक्रे निर्णयको साक्षी बस्न मात्र हो महोत्सवको तामझाम ? कविता जाँच गर्न दिँदा कविको नाम भएको भाग काटेर निर्णायकको हातमा थमाइन्छ भनिन्छ रचना,  त्यति गरिँदा पनि के आधारमा छान्छन् तिनले झुर कविता ?  विवेक कसले पोलेर खाँदो हो तिनको ! 


पुरस्कृत कविता हेर्दा 'राम्रा होइन हाम्रा कवि'को कविताले सधैं टीका थापिरहेको देखिन्छ । अझ महोत्सवमा कविता होइन, अनुहार हेरेर कविलाई पुरस्कार दिएको देखिन थालेको छ । निकटता र चोचोमोचो हुनेले स्थान पड्काउँछन्, बाँकी बबुराहरु गतिलै प्रतिस्पर्धा भयो भन्ठानेर निरीह बन्दै घर फर्कन्छन् । एकेडेमीको महोत्सव कविको तीनपुस्ते चिनेर भेटीघाटी गर्ने महोत्सव हो कि कविताको पारख गर्ने प्रतियोगिता ? पालैशान्ति भाग खान पाउने लोभले बूढा कविहरु पनि नवोदित कविहरुसँगै कुम मिलाएर भिडिरहेछन् अद्यापि । सायद भित्रभित्रै आश्वासन पाउँदा हुन् ती कविले, 'यसपाली तैंले पाउँछस् पदक, कविता हाल्' भनेपछि बल्ल कविता लेख्‍न बस्दा हुन् ती । यस्तै विवादका कारण होला, प्रतियोगिताप्रति युवा कविहरुको उत्साह सेलाएर सहभागिता पनि वर्षेनी पातलिँदै छ । यत्रो  कविता महोत्सवको पुरस्कार राशि पनि १५ हजार रुपैयाँ छ ।

यस वर्षको महोत्सवमा पनि त्यस्तै देखियो । पहिले नै चर्चामा आएको थियो पुरस्कृत हुनेहरुको नाम । सबैजना बकुधम्म साक्षी बनिरहेका थिए निर्णायकका छली निर्णयको । नभन्दै हल्ला र चर्चा चलेअनुसारकै नामहरु पुरस्कृत भनेर सार्वजनिक भए । कविहरुको नामको वर्णानुक्रमअनुसार कविता वाचनका लागि बोलाइएको थियो एकेडेमीको हलमा । सुरुमै छानिए अर्घाखाँचीका कवि असीम सागर । नाम त्यति चल्तीमा आएको होइन साहित्यिक बजारमा । तर उखरमाउलै छुरा कविता लेख्‍दा रहेछन् ती । कविता वाचन गरिरहँदा ताली नै ताली खायो उनको 'सम्बोधन फूलको' शीर्षकको कविताले । त्यसो त सस्तो र हल्काफुल्का रचनाले पनि वाहवाही पाउँछ भीडमा । तर सागरको कविता साहित्यिक मूल्यका हिसाबले पनि निकै उम्दो थियो । नत्र कविता महोत्सव सकिइसक्दा पनि प्रायः सबैजसोले उनलाई भेटेर 'ल गजबको कविता, बधाई' भनेर ओठेभक्ति जसरी सराहना गर्नु जरुरी थिएन होला । केहीले त प्रस्ट ठूलै आवाजमा 'प्रथम हुने कविता तपाईंकै हो, तर के गर्ने निर्णय पहिले नै भइसक्यो' भनेर हलभित्रै विडम्बना पनि जाहेर गरे । आखिरमा त्यही शुभकामना र सराहनाका बोली मात्र नै उनका लागि पुरस्कार बन्यो । पहिलो पुरस्कार त परको कुरा, उनले महोत्सवमा कुनै पनि स्थान ल्याएनन् ।


अर्को कोणबाट हेर्दा, भीडको आग्रह सधैं ठीक हुन्छ भन्ने छैन भन्न पनि सकिएला । बहुसंख्यक मान्छेलाई मन पर्दैमा कविता पुरस्कृत हुनुपर्छ नै भन्ने जरुरी पनि छैन । जाँचकीको आँखा र विवेकमा कसको पल्ला भारी ठहर्छ, उसैको पक्षमा जान्छ नतिजा । जाँचकी बनेका मान्छेलाई रद्दी कुरा नै सही लाग्छ भने कसको के लाग्छ ? यसमा पुरस्कृत हुने व्यक्ति आलोचना र खिसीटिउरीको पात्र बन्नुभन्दा विशिष्ट संस्थाको आयोजनामा हुने कविता महोत्सव आफैं सिस्टममा चल्नुपर्छ । मासले गर्ने चर्चाले निर्णायक अर्थ राख्दैन भन्दैमा जनमतको अवमूल्यन कदापि गरिनु हुन्न । जनमतको मूल्य पक्कै हुन्छ र त्यसले किटान नै गर्न नसके पनि संकेत पक्कै गर्छ । सही मूल्यांकन नहुने प्रवृत्तिले पुरस्कृत कविता उत्कृष्ट हुनेमा स्वत: शंका जन्माउँछ । यस हिसाबले पुरस्कृत नहुँदैमा कुनै कविता कमसल पनि हुन्न । 

राष्‍ट्रिय कविता महोत्सवमा यस वर्ष पहिलो भएको ठाकुर बेलबासेको कविता र कुनै स्थान ल्याउन नसके पनि स्रोताले धेरैधेरै रुचाएका कवि असीम सागरको कविता अब यहाँ राख्दै छु । संयोगले दुवै कवि अर्घाखाँचीका रहेछन् । ठाकुर दाइ मेरा प्रिय दाइ हुन्, दाइप्रति मेरो कुनै पूर्वाग्रह छैन । तर साहित्यको पारखीका हिसाबले भने असीम सागरकै कविताले बेस्कन चिमोट्यो । ठाकुर दाइको कविता पनि सशक्त र विचारप्रवाहमा अगाडि छ । यद्यपि काव्यिक मिठास र सन्देशपरक भएको तथा सहज रुपमा बगेकाले मन रमायो 'सम्बोधन फूलको' सुनेर ।

पुरस्कृत र अपुरस्कृत दुवै कविता पढेर पाठकहरु आफैं गर्नुस् मूल्यांकन, कुन कविता कस्तो ?


समयसँग युद्ध
- ठाकुर बेलबासे












बिहानीसँगसँगै
उदाएका हजारौं सूर्यहरू
कहाँ हराउँदै छन्

कहाँ हराउँदै छन्
सपनाका लाखौँ ताराहरू

किन आकाश यसरी रित्तो बन्दैछ ?

आआफ्ना गीत गाउँदै
चराका बथानहरू एकसाथ उड्न सक्ने
झुल्कँदै गरेको बिहानी कहाँ गयो

थाकेका नानीहरू
निर्धक्क सुस्ताउन सक्ने
हरेक आमा-बाले भोलिको सपना देख्‍सक्ने
न्यानो लाग्दै गरेको साँझ कहाँ गयो ?

कहाँ जाऊँ शरणार्थी जस्तै
यो माटो छोडेर
कहाँ हराऊँ हावा जस्तै
यी मान्छे बिर्सिएर

आफूभन्दा
प्रिय लाग्छन् यी बस्तीहरू

कोसँग जुधौँ
समानताका नाममा
एक्लो सारङ्गी जस्तै बनेको , जिन्दगी
कोसँग आक्रोश पोखौँ
न्यायका नाममा
भत्केको पँधेरो जस्तै बनेको मन

भीर बनेर बाटोमा
उज्यालो बनेर आगोमा
दुःख,
मान्छेलाई लखेटिरहेको

संसारमा सत्यदीप निभेका बेला
तिमी मसँगै उभिदेऊ
दुःखको थाप्लो फोडेर
तेजिलो सूर्य निकालिदिन्छु

जून पृथ्वीमा झरेका बेला
तिमी आकाश निर्माण गर  
चारैतिरबाट हामी जुटेका बेला
मान्छेको हाँसो पुन:निर्माण गर्छु ।

----------------------------------
 
सम्बोधन फूलको
- असीम सागर












महोदय,
तिमीले सुँघ्दैमा मेरो बास्ना रित्तिन्न
तिमीले छुँदैमा मेरो सौन्दर्य मर्दैन
तिमीले चोर्दैमा मेरो मुस्कान चोरिन्न
मन्दिरमा जो-जो जान्छन्
मलाई होइन, मेरो लाश लिएर जान्छन्
भगवान् सम्झेर चढाउँछन् जब ढुंगालाई
उम्रेको माटो मेरो हुन्न
फुलेको बोट मेरो हुन्न
मैले सजाएको देश मेरो हुन्न

महोदय,
सुनगाभा फुल्ने ठाउँमा लालीगुराँस नफुल्ने हल्लाले
सयपत्री फुल्ने ठाउँमा गोदावरी नफुल्ने हल्लाले
मेरो निद्रा बिथोलिरहेछ
आँखामा नाचिरहेछ सम्भावित एउटा महासंग्राम
त्यसैले महोदय,
मेरा लाशहरूको फोहोर थुप्रिनुअघि
रगतको आहालमा देश डुब्नुअघि
मेरा हाँगाहरू काट
लाठी देऊ अन्धाहरूलाई
मेरा पातहरू टिप
टपरी देऊ भिखारीहरूलाई
मेरा हाँगाहरू भाँच
बार लगाऊ यो देशको सिमानामा
मलाई चुँड
बाँड ती मलिन अनुहारहरूलाई मेरो मुस्कान
जो रुँदारुँदा हाँस्न बिर्सेका छन्
रंग देऊ ती खुइलिँदै हराउँदै गएका टोपीहरूलाई
जसले
अचानोबाट थुतेर बचाउन खोज्दै छन् देश

9 comments:

  1. कविता नारा होइन ।
    विचार थुपारेर मात्र कविता बन्दैन ।
    विचारलाइ सिँगार्ने कला भएन भने खुल्लामञ्चमा नेताले गरेको भाषण मात्र हुन्छ ।

    ReplyDelete
  2. Malai pani Asim jee kai manparyo................

    ReplyDelete
  3. न्वारन गर्नेहरु गर्भबाट नै नाम जुराउन सुरु गर्छन अनि न्वारन कार्यका लगि फूल निमोठ्छन । यहाँ पनि त्यस्तै भयो जस्तो लाग्यो । बोल्नेको बोल्नेको पिठो बिके जस्तो ।

    ReplyDelete
  4. jiban, lekh ramro lagyo, ra dosro kabita pani.

    ReplyDelete
  5. निर्णय जे भए पनि ठाकुर जीको कविता पनि कमको चाहिँ लागेन ।

    ReplyDelete
  6. Thakur ji kavita sakaratmak bhav ko chha ..

    ReplyDelete
  7. bibek adhikari.June 24, 2012

    your analysis is just absurd.the poem by Mr Belbase is really with a good theme.but second one is not bad too.i am fully satisfied with the decision.sorry for your poor analysis mr.....

    ReplyDelete
  8. असीम सागरको कविताले कुनै पुरस्कार पाएन भन्ने दुःख त छ तर ठाकुर बेलवासेको कविता त्यहाँ प्रत्यक्ष सुन्दा भन्दा यहाँ पढ्दा कमजोर भने लागेन ।

    ReplyDelete
  9. AnonymousJune 24, 2012

    सबै पढें | मन बुझ्यो |

    ReplyDelete