Subscribe:

Ads 468x60px

19 August 2012

‘संकटको बेला साहित्यकारले नबोले कसले बोल्ने’ – राजेन्द्र विमल

मिथिलाक्षेत्रका स्वनामधन्य लेखक डा. राजेन्द्र विमल जनकपुरबाट काठमाडौं आएको मौकामा पारस नेपालले उनीसँग लामो कुराकानी गरेका थिए । त्यही कुराकानीको पूरा भाग यहाँ प्रस्तुत छ । यो वार्ता यसअघि सम्पादित रुपमा भदौ २ गतेको कान्तिपुर-कोसेलीमा प्रकाशित छ । शब्द ब्लगका लागि वार्ता उपलब्ध गराउने पारसज्यूलाई धन्यवाद !

Paras_Nepal

        

 

 

 

पारस नेपाल

Rajendra-Bimal.डा. राजेन्द्र विमल बढीजसो जनकपुरमा बसे पनि नेपालभरका भाषासाहित्यप्रेमीले श्रद्धासाथ लिने नाम हो । प्राध्यापनमा चार दशक बिताएका उनी नेपाली र मैथिलीमा समान दक्षतासाथ कलम चलाउने स्रष्टा हुन् । नेपालीमा उनका 'राजेन्द्र विमलका कथाहरू,' 'खहरेको तिर्खा' (उपन्यास), 'मिथिलाको इतिहास, संस्कृति र कला परम्परा,' 'गद्य, पद्य र नाटक' (समालोचना), 'फिस्टी रानी' (बाल साहित्य) आदि प्रकाशित छन् । मैथिलीमा उनले कथासंग्रहहरू 'इतिहासक घाओ,' 'पचास वर्ष मैथिली कथा' र ‘ई हमरे कथा थिक,' गजलसंग्रह 'सूर्यास्तसँ पहिने,' नाटकहरू 'सीता', 'नौटंकी चलिरहल अछि', 'दोहाइ बाबा भुँइयाँ' जस्ता कृति निकालेका छन् । हिन्दी र अंग्रेजीमा समेत कलम चलाउने विमलले टेलिसिरियल, फिल्म, गीत र कविताहरू पनि लेखेका छन् । उनले जगदम्बाश्री पुरस्कार, साझा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, विद्यापति पुरस्कार, गोपालप्रसाद रिमाल सम्मान, कुलचन्द्र कोइराला सम्मान, मिथिला विभूति, वैद्यनाथ सियादेवी पुरस्कार प्राप्त गरेका छन् । ६६ वर्षीय यी स्रष्टा पछिल्लो कथासंग्रह 'समयका आँखा' सार्वजनिक गर्न हालै काठमाडौं आएका थिए ।

'समयका आँखा' का अधिकतर कथाहरूमा मधेश आन्दोलन र त्यसले चुल्याएको जातीय वैमनस्यप्रति तपाईंका औडाहा अभिव्यक्त भएका छन् । यसको कारण के हो ?

नेपाली विषयको प्राध्यापनको सिलसिलामा म कहिले मधेशमा रहें त कहिले पहाडमा । मलाई सबैले अत्यन्तै सम्मान र स्नेह दिए । पहाडे भनिएका समुदायहरूसित पनि मेरो पारिवारिक जस्तो सम्बन्ध विकसित भयो । ती साथीहरूप्रति मधेश आन्दोलनको नाममा दुर्व्यवहार भयो । जतिखेर पहाडे समुदायलाई विस्थापित गरिँदै थियो, तिनका घरमा ढुंगा हानिँदै थियो, छोरीबेटीलाई बलात्कार गरिँदै थियो, त्यसको विरोधमा कसैले चुइँक्क बोल्ने आँट गरेन । समुदाय-समुदायबीचको वर्षौंदेखिको प्रगाढ सम्बन्धलाई, आपसी स्नेह, प्रेम, आत्मीयतालाई नेताहरूले सत्ताको लागि खलबल्याइदिए । विभिन्न सुन्दर नारा दिएर यिनीहरूले नेपाली-नेपालीको बीचमा फुट ल्याए । योदेखि म ज्यादै द्रवित भएँ । मलाई असह्य भयो । यस्तो बेलामा चुप लाग्नु हुँदैन भनेर मैले त्यही औडाहाको अवस्थामा यी कथाहरू लेखेको हुँ । यी कथा काल्पनिक होइनन्, वास्तविक हुन् ।

जस्तो ?

'ऐंजेरु' का कथाका मुख्य पात्र प्रभु ढुंगेल अहिले त्रिचन्द्र क्याम्पसमा प्राध्यापनरत मेरा मित्र ईश्वर ढुंगेल हुन् । कल्पिता उनैकी छोरी हुन् । वीणा मेरी श्रीमतीको नाम हो । 'लंकाकाण्ड' कथाको नायक मै हुँ । त्यो आन्दोलनको बेला मैले दुवै समुदायलाई सम्झाउने धृष्टता गर्दा दुई थप्पड खानपर्‍यो । म त्यति बेला नेपाली टोपी लाउँथें । मलाई देख्नासाथ मधेसी आन्दोलनकारीहरू 'पहाडी दलाल मुर्दावाद' भन्थे र गाला चड्काइदिन्थे । जनकपुरकै एक छिमेकीले 'टोपीमा मात्रै थोडी राष्ट्रियता हुन्छ र ? अब नलाउने गर्नुस्, ज्यान त जोगाउनुपर्‍यो नि' भनेकाले मैले ढाकाटोपी लाउन छोडेको थिएँ । त्यहीताका तथाकथित पहाडेहरूको अर्को समूहले एक दिन बाटोमा देखेपछि 'उः मधेसे आयो' भन्यो, सम्झाउन खोज्दा अर्को चड्कन खानुपर्‍यो । वातावरणै त्यस्तो थियो । मेरा कथाहरू स्वानुभूतिबाट, त्यही अनुभवको सत्यबाट जन्मेका हुन् । मैले तिनलाई उद्घाटन गर्ने कलात्मक चेष्टा मात्रै गरेको हुँ ।

जनकपुरमै बसेर मधेस आन्दोलनका नकारात्मक पक्षलाई मुखर पारिरहँदा जीउज्यानको धम्की पनि पाउनुभएको थियो, होइन ?

सबै जातिलाई एकजुट गर्नुपर्छ, सम्मान गर्नुपर्छ भन्ने धारणा मैले निकै पहिलेदेखि राख्दै आएको हुँ । यसको प्रतिफलको रूपमा मधेस आन्दोलनभन्दा अगाडिदेखि धम्की पाइरहेको हुँ । त्यति बेला जनकपुर साहित्य परिषद्को म अध्यक्ष थिएँ, मुन पौडेल सचिव हुनुहुन्थ्यो । पिडारी चोकमा महाकवि देवकोटाको सालिक राख्नुपर्छ र त्यो ठाउँलाई देवकोटा चोक भनाउनुपर्छ भनेर हामीले पहल गर्‍यौं । एक दिन मलाई मधेशका लागि परम श्रद्धेय गजेन्द्र बाबूको फोन आयो । उहाँले भन्नुभयो, 'तपाईंहरूले त्यस्तो धृष्टता गर्नुभयो भने हामी जनकपुरमा रगतको खोलो बगाइदिन्छौं ।' अरे बाप रे बाप ! मैले उहाँलाई सोधेको थिएँ, 'जुन सालिक हृदय-हृदयमा ठडिएको छ, त्यसलाई तपाईं के गरी ढाल्नुहुन्छ ?' मान्छेहरू अहिले पनि मदेखि चिढिएकै छन् । यौटा छोरो मारिन्छ, आमा चिच्याउँछिन्, त्यो सुनेर कुद्दै आउँछन् थरीथरीका चस्मा लगाएका मान्छेहरू । माओवादीको चस्माले त्यो छोरोलाई सामन्त देख्छ, मधेसवादी चस्माले त्यसलाई पहाडे देख्छ र ठीकै भयो भन्छ, पहाडवादी चस्माले मारिने मधेसे हो भन्छ र ताली बजाउँछ । कति दुर्भाग्यपूर्ण कुरा हो यो ! सबै यौटा न यौटा कित्तामा बाँडिएका छन् । सबैले नेपाली चस्मा पो लगाउनुपर्छ त ! यी सत्तालोलुपहरू किमार्थ नेपाली होइनन् । हामीले नेपाल कहिल्यै गुलाम भएन भनेर गलत इतिहास पढिरहेका छौं । सत्य के हो भने यो देश सुरुदेखि नै गुलामको गुलाम नै छ । यस्तो संकटको अवस्थामा साहित्यकारहरूले सत्य नबोलिदिए कसले बोल्छ, भन्नुस् त ?

यो मामिलामा आफू एक्लो परे जस्तो लाग्दैन ?

सत्यको उद्बोधनमा कोही न कोही त लाग्नैपर्ने हुन्छ । यो देश कुनै जातजातिको पनि होइन, सबै जातजातिको पनि हो । नेपाली जनताको संघर्षको कथा खोइ ? त्यस्ता कथा लेख्ने बेला हो यो । गुलामीलाई स्वेच्छाले वरण गर्नेहरू थोरै छन् । नेपाललाई साँच्चै माया गर्नेहरूको संख्या विशाल छ । सबै एकजुट भएर यी मुठीभर गुलामहरूलाई पो बाटोमा ल्याउनुपर्छ । यिनलाई यो घरको मायै छैन, उत्तर वा दक्षिणलाई साँचो बुझाउन जो पनि तयार छन् । सत्य प्रकटीकरण गर्दै हिँड्दा कुन भूमिगत गिरोहले आएर मलाई हान्दिन्छ, ठेगान छैन । तैपनि म आफ्नो आत्मासँग बेइमानी गर्न सक्दिनँ ।

जातीय विखण्डनको त्यो पानी झन् धूमिल हुँदै गएको छ कि अलि सङ्लिँदै आएको छ ?

पहिलेको भन्दा निकै सङ्लिएको छ । तराई मधेसका आम जनताले धेरै पश्चात्ताप गर्न थालेका छन् । मधेशवादीहरूले त्यो आन्दोलनलाई सत्ताको सिंहासनसम्म उक्लिने बाटो बनाएका रैछन् भन्ने बुझिँदै आएको छ । त्यतिखेर मैले जनकपुरतिर ठट्टा गर्ने गरेको थिएँ, जसको नामै (मधेशी जनअधिकार) फोरम छ, त्यसले जोड्ने काम किमार्थ गर्दैन भनेर । नभन्दै त्यो पार्टीभित्रै सत्र टुक्रामा विभाजित भएको छ । त्यहाँका जनताले बुझे नि, त्यो यौटा राजनीतिक खेल थियो र सत्तामा जाने मेलो मात्रै थियो भनेर । तर अहिले वातावरण सामान्य हुँदै आए पनि खाटा मेटिन सकेको छैन । तीज, दसैं जस्ता चाडपर्वको रौनक हराएको हरायै छ । त्यस्ता पुराना सम्बन्धहरूलाई सम्झेर मान्छेका आँखाहरू रसाउने गरेका छन् । धमिलो पोखरीमा सानैदेखि उजीउजी (लुकामारी) खेलेका, आँपघारीमा हिँडेका, सँगै काँक्रा चोरेका साथीहरू फर्कन सकेका छैनन्

मूलधारको साहित्य लेखनमा यस्ता विषयले कत्तिको ठाउँ पाए जस्तो लाग्छ ?

मधेसका कुरा मैले जुन कोणबाट उठाउने गरेको छु, त्यही कोणबाट त्यस्तै मुखर रूपमा विषयहरूको उठान हुन सकेको छैन । यद्यपि नेपाली साहित्यमा त्यो भेगले निकै अघिदेखि ठाउँ पाउँदै आएको छ । ध्रुवचन्द्र गौतमको 'अलिखित,' सनत रेग्मीका कथाहरू, नयनराज पाण्डेका 'उलार' र 'लू' उपन्यास केही उदाहरण हुन् । साहित्य मूक इतिहासको मुखर सहोदर हो । जसरी वनस्पतिशास्त्रीले कुनै पातलाई छोएर त्यसले कति घामपानी पाएको छ भनिदिन सक्छ, त्यसरी नै कुनै पनि जातिको साहित्य हेर्‍यो भने त्यो जातिले कस्तोकस्तो चरण पार गरेछ भन्ने छर्लंग हुन्छ । त्यसैले साहित्यको स्वरूप संश्लिष्टात्मक हुन्छ । इतिहास, भूगोल आदि पढ्दा तपाईंले तत्तत् विषय मात्रै पढ्नुहन्छ, तर साहित्य पढ्दा इतिहास, भूगोल, समाजशास्त्र, मनोविज्ञान सारा कुरा समष्टिमा पढ्नुहुन्छ । अहिलेका लेखकहरूमा समकालीनताको स्वर प्रखर रूपमा पाइन्छ ।

नेपाली भाषाले अन्य मातृभाषाहरूलाई उठ्न दिएन भन्ने आरोप लाग्ने गरेको छ । तपाईंको अनुभव समान छ कि भिन्न ?

त्यस्तो आरोपमा म पूर्णतया सहमत हुन सक्तिनँ । सबभन्दा ठूलो कुरा सम्बन्धित साहित्यको स्तरवृद्धि हो । त्यसको लागि हामीले साधना गर्नुपर्छ । साहित्यमा आएका नवीनतम प्रवृत्ति र शैलीहरूलाई चिन्न सक्नुपर्छ । त्यसपछि तिनको समकक्षतामा पुग्न लेखन साधना गर्नुपर्छ । तर यसमा अप्ठयारो के रहेछ भने, हामीलाई लेखेरै बाँच्न सक्ने अवस्था आइसकेको छैन । पाठकहरूमा आफ्नो भाषासाहित्यप्रति स्नेह त बढेको छ, तर त्यो अपेक्षा अनुरूप छैन । यसमा हामीले बंगालीहरूबाट सिक्न सक्छौं । सम्पूर्ण भारतको जनसंख्याको तुलनामा बंगालीहरूको संख्या निकै थोरै छ नि, तर उनीहरू आफ्नो भाषासाहित्यप्रतिको प्रेमले सबैभन्दा बढी भरिएका छन् ।

हाम्रो समाजमा चाहिँ साहित्य कस्तो लेखियो भन्दा पनि कसले लेख्यो भन्ने कुराले बढी महत्त्व पाएको गुनासा सुनिन्छन् नि ?

सबैतिर यही प्रवृत्ति छ, मात्राको मात्रै भिन्नता हो । वर्डस्वर्थका कविता उनी मरेको सय वर्षपछि धेरै प्रचलित भए । कुनै लेखक पढिनु-नपढिनुमा व्यावसायिकताको कुरा पनि आउँछ । नाम नचलेका लेखकलाई छाप्न प्रकाशकले आनाकानी गरिहाल्छ नि । नामै नसुनेका लेखकको राम्रै कृति रहेछ भने पनि पाठकहरूले भेट्नेबित्तिकै पाना पल्टाइहाल्दैनन्, सुरुमा आफू नठगिनेमै आश्वस्त हुन चाहन्छन् । तर रचनामा सामर्थ्य छ भने समय क्रममा त्यसले यथोचित स्थान अवश्य पाउँछ । भवभूतिले भनेका छन् :

उत्पत्स्यतेहि मम कोऽपि समनधर्मा

कालोह्यंनिर्वधिरं विपुला च पृथ्वी ।

अर्थात्, समय अविच्छिन्न हुने भएकाले यत्रो ठूलो पृथ्वीमा मेरा रचनाले कोही न कोही पाठक अवश्य पाउनेछन् ।

आफूलाई ढाडस दिन मैले पनि मैथिलीमा यौटा प्रतीकात्मक शेर बनाएको छु :

चाहे त हमर खून के, इतिहास लिखय पानी

नशा हमर उतरत नहि हम ओ शराब छी ।

अर्थात्, मेरो रगतलाई इतिहासले पानी भने पनि म त्यस्तो रक्सी हुँ, जसको नशा उत्रिंदैन ।

प्राध्यापकीय जीवनबाट अवकाश पाउनुभएको दुई वर्ष हुन लाग्यो । लेखनलाई निकै समय पाइरहनुभएको होला ।

प्राध्यापनको कालखण्डमा मैले लेख्ने समय नपाएकै हुँ । त्यतिखेर मेरो यौटै मात्र लक्ष्य अत्यन्त लोकप्रिय शिक्षक, प्रोफेसर हुने थियो । हरेक विद्यार्थीका ओठमा मेरो नाम रहोस् भन्ने हिसाबले मैले प्राध्यापन गरें । नभन्दै त्यसमा केही हदसम्म सफल पनि भएँ । रिटायर्ड भएपछि एकदम घुँडा धसेर लेख्छु भनेको, दुई वर्ष पुग्न पाएको छैन, अनेक रोगहरूले गाँज्न थालेका छन् । तर लेखन नै मेरो साहस हो, मेरो जीवन हो । मेरो अर्को कुनै आकांक्षा छैन । मैले देखेको नेपाल, मिथिलाको समाजका सत्य अनुभूतिहरूलाई छोडेर जान चाहन्छु, आउँदा पुस्ताहरूको लागि ।

मैथिल भाषासाहित्यको वर्तमान अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

मिथिलाको समाज कुहिएको सुन्तला जस्तो छ । बाहिरबाट हेर्दाखेरि लोभलाग्दो छ, भित्र चैं खान नसकिने छ । मैथिल भाषासाहित्यको उन्नयनमा धीरेन्द्र प्रेमर्षि, रमेश रञ्जन, रोशन जनकपुरी, अशोक दत्त, अमरेन्द्र यादव, दीपक झा आदिको यौटा वर्ग समर्पित छ । यो आत्मघाती दस्ताले भोकभोकै बसेर पनि मैथिलीमा लेखन गरिरहेको हुन्छ । तर मिथिला समाजको ठूलो हिस्सालाई मैथिली तेरो पनि साहित्य, संस्कृति हो भनेर बुझाउन अझै पनि बाँकी छ । मैथिली मिथिलावासीमध्ये पनि उच्च वर्गको मात्रै भाषा हो, दलित वर्गको होइन भन्नेहरू पनि छन् । मैथिलीको उन्नति भयो भने अभिजात वर्गको मात्रै उन्नति हुन्छ भन्ने भ्रम पाल्नेहरू पनि छन् । मैथिली आफ्नो मातृभाषा हुँदाहुँदै पनि मेरो मातृभाषा हिन्दी वा बज्जिका वा अंगिका वा मगयी हो भनेर आफ्नो आमाको लागि सौता खोज्नेहरू पनि छन् । कुनै राजनीतिक लाभ पाउन वा अन्य कारणले कसैकसैलाई सत्य स्वीकार्न अहिले गाह्रो भइरहेको होला । मालिकहरूलाई रिझाउन पनि त्यसो भनिरहेका होलान् । तर सत्य सत्य नै हुन्छ ।

तपाईंका रचनाहरूमा हास्य रसको छोप बढी पाइन्छ । यसको रहस्य के हो ?

साहित्य जीवनको प्रतिविम्बन हो । त्यसैले लेखन विश्वसनीय हुनुपर्छ । हाम्रो समाजमा जति सकारात्मक पक्षहरू छन्, विद्रुपता र विसंगतिहरू पनि त्यति नै छन् । ती विद्रुपताहरूले हास्य भाव पनि प्रकट गरिरहेका हुन्छन्, तर सबै स्रष्टाको नजर त्यता नपरेको हुन सक्छ । म चाहिं तिनमा ध्यान दिइरहेको हुन्छु । तर मेरो सेन्स अफ ह्युमर हास्यात्मक र रसात्मक मात्रै छैन, यो विचारोत्तेजक र उद्बोधक पनि छ ।

'समयका आँखा' मा संगृहीत 'घर' कथा प्रेमचन्दको 'दो बहनें' बाट निकै हदसम्म प्रभावित लाग्छ नि ?

मैले भारतका पनि धेरै साहित्यकारहरूलाई पढेको छु । प्रेमचन्द, रवीन्द्रनाथ टैगोर, शरच्चन्द्र चट्टोपाध्याय, मोहन राकेश आदि मेरा प्रिय लेखक हुन् । तर लेखनमा मैले आफ्नै शैली, शिल्पलाई अघि बढाउँदै आएको छु । 'घर' त्यही विशेषता भएको कथा हो । मैले प्रेमचन्दको त्यो कथा पढेको छैन । विषयवस्तु मिले जस्तो लाग्छ भने त्यो संयोग मात्रै हो ।

No comments:

Post a Comment