Subscribe:

Ads 468x60px

26 September 2012

सहरको किनारामा रामकुमारी

Ramkumari
'आज जून १७ (२०१२), बाबु पाँच महिना पुगेर ६ महिनामा लाग्यो । अब त बाहिरी संसार देख्न पाइएला कि !'
आफ्नो फेसबुक स्टाटसमा केही समयअघि रामकुमारीले घरभित्रै गुम्सिराख्नुपर्दाको उकुसमुकुस पोखेकी छिन् ।
एक समय खरो विद्यार्थी नेतृका रूपमा जोशिएर प्रस्तुत हुने रामकुमारी झाँक्री अहिले लगभग गुप्तबासमा छिन् । भूमिका नै फेरिएको छ – तोते बोल्न थालेको बच्चाकी आमा, घरकी बुहारी, माया साट्ने पत्‍नी । घरव्यवहारको सानो संसार नै उनको जिन्दगी । सक्रिय राजनीतिक जीवनमा विभिन्न कार्यक्रम लिएर जिल्ला-जिल्ला दौडाहामा जाने उनी पछिल्लो समय काठमाडौं खाल्डोबाट बाहिर निस्किएकी छैनन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूकी अध्यक्ष छँदै २०६६ माघ २९ मा बिहे गरेपछि जिन्दगीले अर्कै मोडको कथा माग्यो । उनी सबैकी रामकुमारीबाट पुरी परिवारकी बुहारी बनिन् । विद्यार्थी जीवनको जल्दोबल्दो समयमै उनले ललितपुर जिविसका योजना अधिकृत पशुपतिबाबु पुरीसँग लगनगाँठो कसिन् । केही वर्षको 'छुपेरुस्तम प्रेम'लाई आकारमा ढाल्दै गुल्मेली ठिटीले धनकुटाको युवकलाई बिहेका लागि रोजेकी थिइन् ।
बिहे भए पनि उनलाई अहिले बच्चा भइसक्दा पनि जिन्दगीमा ठूलै परिवर्तन भयो भन्ने केही लाग्दैन । भन्छिन्, 'समाज र संस्कारअनुसार बिहे गरेपछि अलि फरकपना आउनु त स्वाभाविक कुरा हो ।' त्यही फरकपनास्वरूप सम्पूर्ण सार्वजनिक जीवनबाट छुट्टी लिए जस्तै यतिखेर उनी सहरको किनारामा सुस्ताएकी छिन् ।
 
***
दोस्रो जनआन्दोलनमा काठमाडौं सहरमा प्रहरीको लाठी खाएर रगत बगाएकी रामकुमारीको यही सहर थियो 'ड्रिम सिटी' । गुल्मीको पुर्कोटमा छँदा काठमाडौं सहरको नाम आउनासाथ उनको कल्पनामा भव्य र सुन्दर सहरको चित्र आउँथ्यो । आफू नपुगेको ठाउँ भए पनि अहिले टेलिभिजनतिर जोहानेर्सवर्ग, केपटाउन देख्दा मैले त्यतिबेला सोचेको काठमाडौं यस्तो पो हो त भन्ने लाग्छ उनलाई ।
कहिले पुग्न पाइने हो सपनाको सहर, व्यग्र बन्थिन् ।
तर जब २०५१ साल मंसिर ११ गते उनी काठमाडौं आइन्, आफ्नो ड्रिम सिटी उनलाई साह्रै 'थाङ्ने' लाग्यो ।
आकर्षणको कुरा केही छैन !
 
रिङरोडबाट फन्को मार्दै आउँदा कहीँ गतिलो घर छैन, बगर जस्तो ! जाडोले काँप्दै दाजुको डेरा पुगिन् । नर्सिङ पढ्ने सपना साँचेर सहर पसेकी उनलाई एउटी चिनेकी दिदीले पर्सिपल्टै पद्यकन्या क्याम्पस पुर्‍याइन् । उनी सम्झन्छिन्, 'थोत्रे काठमाडौंमा पद्यकन्या क्याम्पस त क्या भव्य र राम्रो !' क्याम्पसको अगाडि सुन्दर बगैंचा, खुला चौर, सारीमा सजिएर ठमठम हिंडेका केटीहरू देख्दा ट्वाल्ल परेर हेरेको हेर्‍यै भइन् उनी । नर्सिङको सपना पन्छाएर यही पद्यकन्यामै पढूँ कि भन्ने लोभ पनि लाग्यो । गुल्मीमै छँदै उनले शंकरदेव, अमृत साइन्स र पद्यकन्या क्याम्पसको नाम सुनिसकेकी थिइन् । नर्सिङ पढाइपछि कतै जागिर खाउँला भन्ने सोच भए पनि त्यसका लागि प्रवेश परीक्षा दिएर छनोट हुने प्रक्रिया र दुई-तीन महिनापछिको कुरा भएकाले त्यसबीचमा के गरेर बस्ने भन्ने अन्योल भयो । त्यसै क्रममा आफ्नै दाजु र अन्य निकटहरूको सल्लाह बमोजिम उनले तत्कालका लागि पद्यकन्यामै भर्ना लिएर पढ्दै गर्ने भइन् ।

काठमाडौं आएको २० दिन जतिपछि क्याम्पसमा नवागन्तुक विद्यार्थीका लागि अनेरास्ववियूले स्वागत कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा उनले धन्यवाद ज्ञापनको भाषण गरिन् । 'जिन्दगीकै टर्निङ प्वाइन्ट त्यही भयो, म त नेता नै भइहालेँ', सबैले हाइहाइ गरेपछि उनलाई क्याम्पसमा संगठित हुन करै लाग्यो । त्यसभन्दा अघि पनि स्कुले बेलामै सात कक्षादेखि नै राजनीतिको ज्वरोले छोएकै थियो । गर्दै जाँदा १० कक्षा पढ्दासम्ममा त अखिलकी गुल्मी जिल्ला कमिटि सदस्यसम्म भएकी थिइन् ।

***
Ramkumari 2.अहिले छोरा स्याहारिरहँदा रामकुमारीलाई विगतको अनुभव पनि काम लागेको छ । दाजुहरूको बच्चाबच्ची हेरेकी थिइन् । यसैले बच्चा हुर्काउन गाह्रो लागेको छैन । तीन दाजु र चार बहिनीमा उनी साहिंली छोरी । कृषिमा आश्रित परिवार थियो । आज तराई भेग र भारततिरबाट तरकारी र तुलफुल आयात गरेको देख्दा उतिबेला आफ्नै खेतबारीमा टन्नमन्न तरकारी फलेको सम्झन्छिन् उनी । 'त्यतिबेलाको जीवन पो सम्पन्न रहेछ', उनलाई लाग्छ । तर गाउँको हिसाबले उनको परिवार सम्पन्न थिएन, दुःखजिलो गरेर जीवन गुजारा गर्न पुग्थ्यो ।
 
सानामा जिद्दी स्वभावकी थिइन् उनी । त्यही जिद्दीपनले उनले विद्यालय जान पाइन् । दाजुले पढेको देख्दा र सुन्दा अक्षर फुटाउन सिकेकी थिइन् । छोरीलाई पढ्न पठाउने चलनै नभएको बेला कर गरेर उनले काठको कालोपाटी च्यापिन् । उनी विद्यालय जान थालेपछि त्यस भेगका धेरैले 'मगरकी छोरी त स्कुल जान थाली' भनेर आफ्ना छोरीहरूलाई पनि पढाउन थाले । विद्यालयमा केटीहरू थोरै संख्यामा भए पनि प्रायजसो कक्षामा केटीहरू नै हावी भएर केटाहरूलाई वशमा राख्ने गर्थे । हल्लै गरेर केटीहरू टिक्न दिँदैनथे । नेतृत्व गर्ने अग्रसरता सानैदेखि भएकी उनी प्राय हरेक कक्षामा मनिटर भइन् । कुनै विद्यार्थीलाई बाहिर जानुपरे उनीसँग पासको चिट लिएर जानुपर्थ्यो । केटाहरू कस्ता भने, केटीसँग अनुमति लिएर पनि के बाहिर जानु भनेर टिफिन टाइमसम्म कुरेर बस्थे ।
  
***

विचार र संगठनको समष्टिगत अभिव्यक्ति नै राजनीति हो, उनको परिभाषा । विद्यार्थी राजनीतिको २० वर्षे कालखण्डमा अखिलमा क्याम्पसको साधारण सदस्यदेखि केन्द्रीय अध्यक्षसम्म भएको गर्विलो सिँढी छ उनको । विद्यार्थी आन्दोलनमा लाग्दाको उपलब्धि सोधियो उनलाई, 'हाम्रो पुस्ताको ठूलो पंक्ति ६२/६३ को आन्दोलनमा होमियो । सक्रिय भएर लागेका युवा विद्यार्थीको संख्याले पनि परिवर्तनका लागि बल दियो ।' तर नेपालको विद्यार्थी आन्दोलनको अवस्था उनी क्षत-विक्षत देख्छिन् । मुलुकको नेता जन्माउने मुहान भनिने विद्यार्थी राजनीतिलाई कतिपयले कमाई खाने ठाउँ बनाएका छन् । आफ्नो संघर्षको बेला जम्मा आठ रुपैयाँले खाना-खाजाको नाममा दुई पटक समोसा-तरकारी खाएको दिन बिर्सिएकी छैनन् उनले, त्यो पनि आफ्नै खल्तीको पैसाले । राजनीतिक दलहरू आफैं संकटमा भएकाले अहिले त्यसको प्रभाव विद्यार्थी संगठनमा परेको ठान्छिन् उनी । माउ पार्टीका नेतामा लिडरसिपको अभाव हुँदा विद्यार्थी नेतामा लिडरसिप खोज्नु कसरी ? तर पार्टीले हस्तक्षेप गर्‍यो भनेर क्रन्दन गर्नेहरूमा उनी 'लुरे नेतृत्व' देख्छिन् । 'कतै ढुंगा हान्नु छ भने अहिले पनि म क्याम्पसका सय जना लगेर हान्न सक्छु,' दुई दशक राजनीति गरेर कमाएको साथीभाइको झुन्डप्रति उनको पकड अझै छ 'तर ढुंगा हान्न लगाउनु ठूलो कुरा होइन, व्यवस्थापन गर्नु मुख्य कुरो हो ।'

संगठनको काममा उनलाई धेरै पटक उपेक्षित विभागको जिम्मेवारी दिइयो । फालिएकामध्ये कुनै एक विभाग पाइन्थ्यो । तर उनले प्रचार विभाग, सम्पर्क विभाग लगायतका त्यस्ता कसैले दावी नगर्ने ठाउँमा कडा मिहिनेत गरेर तिनलाई स्थापित बनाउँदै लगिन् । नत्र उनी आउनु अघिसम्म त केटीका लागि पदका नाममा निकै निस्क्रिय पद मात्र थिए । जुन ठाउँलाई छोएँ, सुन बनाएँ जस्तो लाग्छ उनलाई । पहिले बेकामी भनेर हेपाइमा पर्ने ती विभाग पाउन अहिले विद्यार्थी नेताहरूबीच होड चल्ने गर्छ । पछिल्ला समयमा भने म चाहिं किन नहुने भनेर प्रश्न गर्दै जुनसुकै पदमा नेतृहरूले दावी गर्न थालेका छन् । उनलाई यसमा सन्तोष लाग्छ ।

*** 

पारिवारिक हाँगामा अल्झिएर अहिले किनारा लागे जस्तो देखिए पनि राजनीतिलाई नै निरन्तरता दिने सोच छ रामकुमारीको । अहिले बच्चा हुर्काउनमा व्यस्त भए पनि त्यसमा उनी आफ्नो सरोकार मात्र देख्दिनन्, 'मैले आफ्नो लागि मात्र छोरा हुर्काएकी हुँ र ! यसमा त परिवारदेखि राष्ट्रसम्मको दायित्व छ ।' बाहिरी संसार देख्न पाउने भोक मेट्दै विस्तारै कार्यक्रमहरुमा देखिन थालेकी छिन् उनी ।  राजनीतिक गतिविधिदेखि किनारा लागे पनि राजनीतिबाट आफू टाढिएको भने लाग्दैन उनलाई । छोरा भविष्यमा नेता बनोस् भन्ने चाहना होला कि अरु नै बनाउने सोच होला ?

सुत्केरी भएयता झन् मोटाएकी उनले त छोराको नाम समेत जुराएकी छैनन् ।

No comments:

Post a Comment