Subscribe:

Ads 468x60px

17 February 2013

कान्छा कविको जेठा कविता

साहित्यको बजार विस्तार हुँदै जाँदा पछिल्लो समय बजारको उपभोग्य वस्तुसरह बन्न थालेको छ साहित्य । बजारको निर्देशन र फर्माइशअनुसारको लेखन र पाठक नामको उपभोक्तालाई लट्ठयाउने गरी आकर्षण छर्ने अहिलेको होड त्यसैको उदाहरण हो । यही क्रममा हाम्रो साहित्यले बजार हल्लाको रूप पनि लिएको छ । तर, अधिकांश आधारबिनाका यी होहल्लादेखि पर शान्त र उपेक्षित कुनोमा फुट्ने गर्छ साहित्यको खास बीज । त्यस्तै बीज लिएर यसपटक देखिने भएर आएका छन् अनुज पुस्ताका कवि छम गुरुङ  । २४ वर्षे ठिटोको कविता किताब 'पोर्टर बा' का कविताहरू पढ्दा समकालीन कवितालेखनमा उनको हस्तक्षेप एक कदम अघि बढेर कुम मिलाउने खालको देखिन्छ । 'पोर्टर कविताहरू'को भारीले धेरैलाई किच्न सक्छ । यस हिसाबले कान्छो पुस्ताको कविको जेठोजाग्दो कविताहरू लाग्छन्, छमका कविता ।

उमेरअनुसार कवि छमले छाती छेड्ने गरी घरीघरी टुसाइराख्‍ने आफ्नो प्रेमिल मुटुको महाशक्तिPorter Ba साबित गर्दै मायालुको सिउँदोलाई दर्जन कोणबाट तारिफ गर्नुपर्ने हो । सुन्दरीको कपालको चायाँमा मोतीको दर्शन गर्नुपर्ने हो । तर उनी देशको सुरक्षाकवचमा आफूलाई काँडे तारबारझैं उभ्याउँछन्, समाजका हरेक वर्गको संघर्ष र सपनाको लेखाजोखा गर्छन् र अस्तित्वबोधको दैलोबाट आशावादी नजरले चियाउँछन् ।

नवीन उपमा र विम्बबाट सुसज्जित कविताको लहरमा उनका कतिपय कवितामा आवेगको हुत्याइ नदेखिने पनि होइन । कतिपय कवितामा सिकारु कविले जसरी एउटा पूर्ण वाक्यलाई भाँचभुँच पारेर कवितात्मक पंक्तिको तला थपेको भान पनि पर्छ । तर अधिकांश कविता चोखा विम्बहरूको सटीक र लोभलाग्दो प्रयोगले सम्हालेर सन्तुलित बनेका छन् । आफू बाँचिरहेको समयको शल्यक्रियामा विशेषज्ञ देखिएका छमले देशबासीको ताजा मर्म यसरी छामेका छन् -

एक गेडा चामलले लोकतन्त्र थिचिरहेको बेला छ
एक ढिको नुनमा राष्ट्रियता पग्लिरहेको बेला छ

राइसकुकर जस्तो जिन्दगीको आवाज
कीराले पनि सुन्दो रहेनछ ...

कुराकानी गरिरहे जस्तो छमको कथ्यशैली पाठकलाई साथीजस्तो लाग्न सक्छ । चित्रमय विम्बहरू चल्ने चित्र बनेर हात मिलाउन र अँगालै मार्न समेत आउन सक्छन् । वर्तमानलाई पोर्टर-सुज जस्तो ह्वास्स गन्हाउने रूपमा चित्रण गर्ने कविले जिन्दगीलाई चर्पीको ढोका जस्तो उभिन बाध्य भनेका छन् । अनि उनले देखेको 'ट्वाइलेट-पेपर जस्तो सेतो कमजोर सपना'सँग धेरैको सपना मिल्न सक्ला । तर यतिविघ्न युगीन पीडामा छटपटिएको माछो बन्नुपरे पनि आजको मान्छे जस्तै चुनौतीको मुक्केबाजसामु मुक्केबाज नै बनेर देखा पर्छन् उनी -

बाँच्न चैं म छोड्दिनँ
दुःखको टापुमा रविन्सन क्रुसो बाँच्नै परोस्
चाहे बाँच्ने इच्छा नै सहिद होस्

ट्वाइलेटको एकान्तबारे समेत कविता लेख्‍ने कविले द्वन्द्वकालमा आफ्नै दाजुभाइको निशानामा परेर हातगोडा गुमाएका एक्लाहरूको चीत्कार पनि प्रखर रूपमा उतारेका छन् । देशको सामान्य र स्वाभाविक वहाबमा सरकार र नागरिकबीच युगौंदेखि कायम दूरी पनि कवितामा दीनहीनको व्यथामार्फत नापिएको छ । संग्रहका ४८ थान कवितामा समसामयिक मूल्य र मूल्यहीनताको बोध यत्रतत्र छन् । त्यसबाहेक एक हुल कविता शीर्षकभित्र कविले हानेको १३ लघुकविताको किक निकै असरदार लाग्छन् । त्यसमध्येकै साबुन शीर्षकको कवितामा देशको अवस्थाको चित्रण यसरी गरेका छन् -

फगत एउटा देश पखाल्न
बनेको
रगतको साबुन
भइरहेका छन् - यहाँ सहिदहरू !

(नेपाल साप्ताहिकमा प्रकाशित)

No comments:

Post a Comment