Subscribe:

Ads 468x60px

25 February 2013

जीवन ‌= Life

केही समययता कोठा सरेको छु सहरको बीच भागबाट किनारातिर । गोठाटार गाविसमा पर्ने काँडाघारीमा गाउँकै बसाइ जस्तो आनन्द चाखिरहेको छु । गुम्म सहरबाट खुला फाँट भएको गाउँ उक्ले जस्तो । तर, यो गाउँ पनि नगरोन्मुख छ । दिनानुदिन थपिंदै गरेका घरको संख्या हेर्दा यो ठाउँको नाम काँडाघारीबाट अब ‘घरबारी’ राख्‍नुपर्ला जस्तो देखिन्छ । पहिले स्याल दगुर्ने अनि काउली र साKandaghariग फल्ने बारीभरि घरैघर ठडिएका छन् । नयाँ घर नथपिएको अवस्थामा पनि बनिसकेको घरमाथि तला थप्ने उत्कण्ठासहित छडको सिङ र जुरो पलाएका हुन्छन् (वरिपरिका अकाशिएका घरहरुले चुनौती पनि त बेस्मारी दिन्छन् !) । र पनि काठमाडौं सहरको अगाडि गाउँ नै हो यो ।  अफिस रहेको तीनकुने कटेर नयाँ वानेश्वरतिर लाग्दा हाटबजार भर्न सहर पसे जस्तो भान हुन्छ । आजकाल हत्तपत्त ‘सहर’ पस्न छाडेको छु । साथीभाइसँगको सम्बन्ध नवीकरण गर्ने तलतलले मात्रै बेलाबेला तान्ने हो । प्रायः गाउँमै मन भरिन्छ ।

साथीहरु फोनमा कराउँछन् – ‘कता हराइस् ? यसरी त भएन है !’

म मनमनै फुसफुसाउँछु – ‘भेटिंदै छु, आफ्नो बाहुपासमा छु । ’

गाउँको वातावरण यसकारण पनि मन पर्छ, त्यहाँ तपाईंले भीडसँगै भेलबाढीमा बगेर बेफुर्सदी बन्नु पर्दैन । सास फेर्नै  फुर्सद निकाल्नुपर्ने जस्तो हतारोमा फस्नु पनि पर्दैन । सहरमा मानिसको झुत्ती भए पनि तपाईंले गाउँमै सामाजिक जीवन जिउनुहुन्छ । आफूसँग कुरा गर्ने मौका पनि पाउनुहुन्छ । आफ्नै नजरमा  Unnoticed भएर बाँच्नु निकै पीडा हो । सहरी व्यस्ततामा मैले कमाएको अनुभूति हो यो । यही पीडालाई तिलाञ्जलि दिन कुनै समय दिनमा दोहोरो जागिर धाउने आफ्नो ज्यानलाई विश्राम दिन चाहें, अतिरिक्त कमाइको मोह त्यागेर एउटालाई हाप्ने प्रयास गरें । विदेशबाट निस्कने पत्रिकाको खटाइ बोझ बनिरहेको बेला पत्रिका नै बन्द भएपछि हाइसन्चो भयो । उपरीमाथि थुपरी पारेर पनि कसलाई पो पुगेको छ र ! जीवन खाली हात र ऊर्जाहीन रुपमा बिताउनु हुँदैन भन्ने आत्मप्रेरणाबाट अग्रसर हुँदै आए पनि अनावश्यक बोझले किचिने गरी गधा पनि बन्नुहुँदैन भन्नेमा प्रस्ट भएको छु ।

दौडधुपको यात्रामा जीवन एकान्तको खोजीमा छ  । जहाँ, आफू पनि अस्तित्वमा छु् भनेर नियाल्न सकियोस् । भागदौडको जीवनमा घडीको सुईसँगै चक्कर लगाउने क्रममा आफ्नो नजरमा आफैं गुमनाम बनिरहेको अवस्था निकै भोग्नुपर्छ । आफूलाई खोज्नुपर्ने अवस्थामा धेरै पटक पुगेको छु म । यस्तै अवस्थामा पाँच वर्षअघि विपश्यना ध्यान शिविरमा सहभागी हुन बुढानीलकण्ठको मुहानपोखरी गएको थिएँ । १० दिने मौन शिविरमा साधना गर्दा धेरै हदसम्म लाभ मिलेको थियो । बिहानदेखि हरबखत सामूहिक ध्यानमा पलेंटी कसेर बस्यो । सास आएको छ, गएको छ – हेर्‍यो । बेलुका भिडियोमा एस एन गोयन्काको एकघन्टे प्रवचन सुन्यो । अनि दिनभरि दुई-चार गह्रा बाँझो फोरेको हलिया झैं निकै लखतरान भएर भुसुक्क निदायो । पूर्ण दिन । सुखद अनुभूति । स्वर्गीय आनन्द त्यस्तैलाई भन्दा हुन् ।  फुकाल्नुअघि लगाइराखेको लुगा झैं जीवन क्षणभंगुर हो, तमाम आवेग र उत्तेजना बेकार रहेछ भनेर थोरतिनो बोध हुन थालेको थियो । पूरै दीक्षित त कहाँ हुनु !  तर, फर्केर फेरि सांसारिक यात्रामा मिसिंदा ध्यानको धार भुत्ते बन्दै गयो । ध्यानको नियमितता टुटेर उही ‘म, मेरो र मलाई’ को अहम्‌ र लुछाचुँडी प्रवृत्तिले दास बनाइहाल्यो पूर्ववत् ।

बाँच्दा बाँच्नेहरुलाई दुःखले बाँसुरी बनाइदिने अनि हिंड्दा ठेस लाग्ने जीवनको विशेषता नै होला । दुःखको आँखाबाट छलिन र ठेसबाट जोगिन सबै चाहान्छन् । तर, जिउने सूत्र सिकाउने कुनै विद्यालय र विश्वविद्यालय कतै छैन । जीवनबारे विभिन्न बाबा र साधुहरुको प्रवचन र दर्शनका ठेलीले हामीलाई निकास देला भन्ने लाग्न  सक्छ । ती ठेली र प्रवचनका धारा त कसैको उद्धारको तम्तयारीभन्दा तिनै साधुबाबाहरुकै जीवनको निरन्तरताको खेतीपाती हो एक अर्थमा । मान्छे एउटा न एउटा उद्यम गर्न अभिशप्त छ पनि । निरुपाय हुँदा आफ्नै जीवनलाई प्रयोगशाला बनाएर जिउन सिक्दै अघि बढ्छ । सहरको किनारामा रहेको यो काँडाघारीमा मैले पनि सायद यस्तै प्रयोगशाला चलाइरहेको छु । शान्त वातावरणको मौका छोप्दै पढ्छु । हुटहुटी जाग्दा केही लेखि पनि हाल्छु । एयरपोर्टछेउको वारि डाँडामा निरुद्देश्य टहलिंदै गएर जहाज उचालिएको र थेच्चारिएको दृश्यपान गर्छु । जीवनमा खोजेको कुरा के रहेछ त भन्ने सोचले घुमाउँदा अक्षर नै अक्षरको मियोमा पछारिन पुग्छु । लेखनकै लागि हो कि मेरो जीवन भन्ने मोहनीले तान्छ, तानिरहन्छ । जीवनको  प्रयोगशालाको उपलब्धि गणितमा निकाल्नु सम्भव त हुन्न । अनुभूतिको तहमा के-के लेखाजोखा निस्किने हो, बाँच्दै जाऊँ ।

जीवन जिउँदै जाने र रहस्य बुझ्ने कुरामा कवि दाजु उपेन्द्र सुब्बाले एक दिन साथीहरुको हुलमा निकै गम्भीर भावसहित भनेछन् – ‘मैले त जीवन बुझें नि !’

साथीहरु सबै जिल्ल ! यति चाँडै यसले जीवनको रहस्य कसरी जानेछ भनेर उनीहरुमा ईर्ष्याको ढुसी पनि पलायो होला ।

सबैले सोधेछन् कुतूहलसहित – ‘के रै’छ त जीवन ?’

जवाफ दिएछन् सुब्बा दाजुले – ‘जीवन भनेको Life त रै’छ नि !’

यति बाँचेँ, अब त मेसो पाएँ भनेर जीवनबारे बोल्नु साँच्चै कठिन छ ।

7 comments:

  1. आनन्द आयो पढिरहँदा ।

    ReplyDelete
  2. प्रखर प्रतिभा र संबेदनशीलताले धेरै पीडा दिनेछ अझै, आफ्नो भूँवरीमा डुब्नु भएन भने तपाईलाई केहिले डुबाउन सक्ने छैन| गहिरो बिचारमा डुब्नेहरु सधैं एक्लै हुन्छन्|

    ReplyDelete
    Replies
    1. धन्यवाद टिप्पणीको लागि । ब्लगमा स्वागत छ ।

      पीडामा पाक्दै छु । तर आफ्नो आलोकाँचोपन नै प्रिय लाग्ने रहेछ, मानवीय स्वभाव नै यही होला । अचेतनमा अड्किन मन लागिरहने । एक्लोपनको बोध धारिलो बाटोको यात्रा जस्तो रै'छ, जसलाई अबका दिनमा मैले रगत सफा गर्दै जाने रुपमा हेर्ने अभ्यास बसालेको छु । तर, चिन्तनको बाटोमा मन एकनास नहुने पीडामा रहनुपर्छ । त्यो पनि खपिएला ।

      तपाईंको ब्लग पनि हेरें । शीतल लाग्यो ।

      Delete
  3. aafnai kathaa laagne gari lekhnu bhayeko lekh dherai aatmiya laagyo. dhaiba ji lai saadhubaad!

    ReplyDelete
  4. "जीवन खाली हात र ऊर्जाहीन रुपमा बिताउनु हुँदैन भन्ने आत्मप्रेरणाबाट अग्रसर हुँदै आए पनि अनावश्यक बोझले किचिने गरी गधा पनि बन्नुहुँदैन भन्नेमा प्रस्ट भएको छु ।"
    आहा ! कति सुन्दर कुरा .... कति मिठासपूर्ण लेखनशैली !

    ReplyDelete
  5. kotha ta ma pani sareko chhu
    tara........
    kapan ko khalto bata baneshwor ko hieght maa

    ReplyDelete
  6. AnonymousJune 28, 2013

    कँही नभेटिने कँही नदेखिने गुमनाम क्षणहरुको काख कतिन्जेललाई मिल्ला ? जीवन बाँच्ने निहुँमा जीवन हार्दै गरेकाहरुले सर्ने डेरा भए त्यो पनि देखाइदिनुस् न !!!

    ReplyDelete