केही समययता कोठा सरेको छु सहरको बीच भागबाट किनारातिर । गोठाटार गाविसमा पर्ने काँडाघारीमा गाउँकै बसाइ जस्तो आनन्द चाखिरहेको छु । गुम्म सहरबाट खुला फाँट भएको गाउँ उक्ले जस्तो । तर, यो गाउँ पनि नगरोन्मुख छ । दिनानुदिन थपिंदै गरेका घरको संख्या हेर्दा यो ठाउँको नाम काँडाघारीबाट अब ‘घरबारी’ राख्‍नुपर्ला जस्तो देखिन्छ । पहिले स्याल दगुर्ने अनि काउली र साKandaghariग फल्ने बारीभरि घरैघर ठडिएका छन् । नयाँ घर नथपिएको अवस्थामा पनि बनिसकेको घरमाथि तला थप्ने उत्कण्ठासहित छडको सिङ र जुरो पलाएका हुन्छन् (वरिपरिका अकाशिएका घरहरुले चुनौती पनि त बेस्मारी दिन्छन् !) । र पनि काठमाडौं सहरको अगाडि गाउँ नै हो यो ।  अफिस रहेको तीनकुने कटेर नयाँ वानेश्वरतिर लाग्दा हाटबजार भर्न सहर पसे जस्तो भान हुन्छ । आजकाल हत्तपत्त ‘सहर’ पस्न छाडेको छु । साथीभाइसँगको सम्बन्ध नवीकरण गर्ने तलतलले मात्रै बेलाबेला तान्ने हो । प्रायः गाउँमै मन भरिन्छ ।

साथीहरु फोनमा कराउँछन् – ‘कता हराइस् ? यसरी त भएन है !’

म मनमनै फुसफुसाउँछु – ‘भेटिंदै छु, आफ्नो बाहुपासमा छु । ’

गाउँको वातावरण यसकारण पनि मन पर्छ, त्यहाँ तपाईंले भीडसँगै भेलबाढीमा बगेर बेफुर्सदी बन्नु पर्दैन । सास फेर्नै  फुर्सद निकाल्नुपर्ने जस्तो हतारोमा फस्नु पनि पर्दैन । सहरमा मानिसको झुत्ती भए पनि तपाईंले गाउँमै सामाजिक जीवन जिउनुहुन्छ । आफूसँग कुरा गर्ने मौका पनि पाउनुहुन्छ । आफ्नै नजरमा  Unnoticed भएर बाँच्नु निकै पीडा हो । सहरी व्यस्ततामा मैले कमाएको अनुभूति हो यो । यही पीडालाई तिलाञ्जलि दिन कुनै समय दिनमा दोहोरो जागिर धाउने आफ्नो ज्यानलाई विश्राम दिन चाहें, अतिरिक्त कमाइको मोह त्यागेर एउटालाई हाप्ने प्रयास गरें । विदेशबाट निस्कने पत्रिकाको खटाइ बोझ बनिरहेको बेला पत्रिका नै बन्द भएपछि हाइसन्चो भयो । उपरीमाथि थुपरी पारेर पनि कसलाई पो पुगेको छ र ! जीवन खाली हात र ऊर्जाहीन रुपमा बिताउनु हुँदैन भन्ने आत्मप्रेरणाबाट अग्रसर हुँदै आए पनि अनावश्यक बोझले किचिने गरी गधा पनि बन्नुहुँदैन भन्नेमा प्रस्ट भएको छु ।

दौडधुपको यात्रामा जीवन एकान्तको खोजीमा छ  । जहाँ, आफू पनि अस्तित्वमा छु् भनेर नियाल्न सकियोस् । भागदौडको जीवनमा घडीको सुईसँगै चक्कर लगाउने क्रममा आफ्नो नजरमा आफैं गुमनाम बनिरहेको अवस्था निकै भोग्नुपर्छ । आफूलाई खोज्नुपर्ने अवस्थामा धेरै पटक पुगेको छु म । यस्तै अवस्थामा पाँच वर्षअघि विपश्यना ध्यान शिविरमा सहभागी हुन बुढानीलकण्ठको मुहानपोखरी गएको थिएँ । १० दिने मौन शिविरमा साधना गर्दा धेरै हदसम्म लाभ मिलेको थियो । बिहानदेखि हरबखत सामूहिक ध्यानमा पलेंटी कसेर बस्यो । सास आएको छ, गएको छ – हेर्‍यो । बेलुका भिडियोमा एस एन गोयन्काको एकघन्टे प्रवचन सुन्यो । अनि दिनभरि दुई-चार गह्रा बाँझो फोरेको हलिया झैं निकै लखतरान भएर भुसुक्क निदायो । पूर्ण दिन । सुखद अनुभूति । स्वर्गीय आनन्द त्यस्तैलाई भन्दा हुन् ।  फुकाल्नुअघि लगाइराखेको लुगा झैं जीवन क्षणभंगुर हो, तमाम आवेग र उत्तेजना बेकार रहेछ भनेर थोरतिनो बोध हुन थालेको थियो । पूरै दीक्षित त कहाँ हुनु !  तर, फर्केर फेरि सांसारिक यात्रामा मिसिंदा ध्यानको धार भुत्ते बन्दै गयो । ध्यानको नियमितता टुटेर उही ‘म, मेरो र मलाई’ को अहम्‌ र लुछाचुँडी प्रवृत्तिले दास बनाइहाल्यो पूर्ववत् ।

बाँच्दा बाँच्नेहरुलाई दुःखले बाँसुरी बनाइदिने अनि हिंड्दा ठेस लाग्ने जीवनको विशेषता नै होला । दुःखको आँखाबाट छलिन र ठेसबाट जोगिन सबै चाहान्छन् । तर, जिउने सूत्र सिकाउने कुनै विद्यालय र विश्वविद्यालय कतै छैन । जीवनबारे विभिन्न बाबा र साधुहरुको प्रवचन र दर्शनका ठेलीले हामीलाई निकास देला भन्ने लाग्न  सक्छ । ती ठेली र प्रवचनका धारा त कसैको उद्धारको तम्तयारीभन्दा तिनै साधुबाबाहरुकै जीवनको निरन्तरताको खेतीपाती हो एक अर्थमा । मान्छे एउटा न एउटा उद्यम गर्न अभिशप्त छ पनि । निरुपाय हुँदा आफ्नै जीवनलाई प्रयोगशाला बनाएर जिउन सिक्दै अघि बढ्छ । सहरको किनारामा रहेको यो काँडाघारीमा मैले पनि सायद यस्तै प्रयोगशाला चलाइरहेको छु । शान्त वातावरणको मौका छोप्दै पढ्छु । हुटहुटी जाग्दा केही लेखि पनि हाल्छु । एयरपोर्टछेउको वारि डाँडामा निरुद्देश्य टहलिंदै गएर जहाज उचालिएको र थेच्चारिएको दृश्यपान गर्छु । जीवनमा खोजेको कुरा के रहेछ त भन्ने सोचले घुमाउँदा अक्षर नै अक्षरको मियोमा पछारिन पुग्छु । लेखनकै लागि हो कि मेरो जीवन भन्ने मोहनीले तान्छ, तानिरहन्छ । जीवनको  प्रयोगशालाको उपलब्धि गणितमा निकाल्नु सम्भव त हुन्न । अनुभूतिको तहमा के-के लेखाजोखा निस्किने हो, बाँच्दै जाऊँ ।

जीवन जिउँदै जाने र रहस्य बुझ्ने कुरामा कवि दाजु उपेन्द्र सुब्बाले एक दिन साथीहरुको हुलमा निकै गम्भीर भावसहित भनेछन् – ‘मैले त जीवन बुझें नि !’

साथीहरु सबै जिल्ल ! यति चाँडै यसले जीवनको रहस्य कसरी जानेछ भनेर उनीहरुमा ईर्ष्याको ढुसी पनि पलायो होला ।

सबैले सोधेछन् कुतूहलसहित – ‘के रै’छ त जीवन ?’

जवाफ दिएछन् सुब्बा दाजुले – ‘जीवन भनेको Life त रै’छ नि !’

यति बाँचेँ, अब त मेसो पाएँ भनेर जीवनबारे बोल्नु साँच्चै कठिन छ ।