February 9, 2013

अलिखित डायरी

गुनासो र आरोपको जोर मुठी उचाल्ने ए हजुर,
छक्कै पो पर्छु तिम्रो मुठी खानुपरेर

मैले प्रेमको नाममा
एक अक्षर कोरिनँ ?
कुनै प्रेम कविता लेखिनँ ?

फुर्सद पो कहाँ भयो र !
प्रेम गर्दै व्यस्त भइयो

तैपनि
प्रेमका नाममा केही लेखेन भन्नु
कवि होइन भन्दै बरबराउनुको सीमा हुन्छ नि मेरो हजुर
जस्तो कि म केही पनि होइन

तरंगै तरंगको  सुरुङबाट घस्रँदै आएर
मुटुले मुटुमा लगाइदिएको रातो ल्याप्चे बिर्सियौं ?
चुम्बनको बाढीले
ज्यानभरिको ल्याम्पपोस्टमा दगुरेको करेन्ट
मुहारमा बलेको दूधिलो चिम
सप्पैसप्पै भुल्यौ ?

अब पनि कसरी भन्न सकेको
एक अक्षर लेखेन प्रेम !

माफ गर्नू ए हजुर,
प्रेम नगर्नेहरुले अक्षरमा पोखेको मुटुमा
म देख्छु - पानको पात बनाउने कालिगढी कला मात्र ।

3 comments: